राजसी ‘मोज’मा गणतन्त्रका प्रधानमन्त्री

राजसी ‘मोज’मा गणतन्त्रका प्रधानमन्त्री

न्यूयोर्क । २०६१ माघ १९ को ‘कू’मार्फत सत्ताको कार्यकारी अधिकार लिएपछि राजा ज्ञानेन्द्र २०६२ सालको राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क आए । नेपाल वायु सेवा निगमले त्यसबेला उडाउने बोइङ ७५७ लिएर आएका ज्ञानेन्द्र महासभामा भाषण गरिसकेपछि अफ्रिकातर्फ हान्निए । नेपालबाट लिएर आएको जहाजमै अफ्रिका लागेका राजाको भ्रमणको खास उद्देश्य केही पनि थिएन । बिशुद्ध घूमघाम र छुट्टी मनाउन उनले गरेको सयरको नाम नेपालमा भने औपचारिक भ्रमण दिइएको थियो । नेपाल टिभीमा अफ्रिकाका सहरमा ज्ञानेन्द्र हल्लिँदै डुलेको भिडियो खतरै कूटनीतिक उपलब्धिका रुपमा देखाइएको थियो । निर्वाचित सरकारलाई अपदस्थ गरेपछि अमेरिकी र युरोपेली लोकतान्त्रिक मुलुकको साथ नपाएका राजा ज्ञानेन्द्र आफ्नो समर्थनमा विदेशी हुँदै नभएको भने होइन भन्ने सन्देश पनि अफ्रिका यात्रामार्फत दिन चाहन्थे ।

ज्ञानेन्द्रको त्यो यात्राको १३ वर्षपछि अहिले प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क आइपुगेका छन् । उनले यहाँ महासभालाई सम्बोधनका अलावा केही सरकार प्रमुखसँग साइडलाइन मिटिङ र प्रवासी नेपालीसँग अन्तरक्रिया गर्नेछन् । न्यूयोर्कमा उनको अर्को महत्वपूर्ण कार्यसूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभामा भाग लिन आएका सरकार प्रमुखहरुलाई दिने सामूहिक रात्रिभोजमा सहभागिता हुनेछ, जहाँ होष्ट ट्रम्पलाई ओलीले पालो पर्खिएर भेट गर्नेछन्, हात मिलाउनेछन् र तस्वीर खिचाउनेछन् । अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापित भएको सात दशक पुगिसके पनि धेरै वर्षदेखि नेपालका सरकार प्रमुख र यताका राष्ट्रपतिको हात मिलाउने अवसर त्यही महासभाका बेला आयोजना हुने भोज बन्दै आएको छ । दिल्लीसम्म पुग्ने यताका राष्ट्रपतिलाई न काठमाडौं उतार्न पाइएको छ, न त ह्वाइट हाउसबाट नै नेपाली प्रधानमन्त्रीलाई निम्ता पुगेको छ ।

अमेरिकी राष्ट्रपति लगायत अरु प्रभावशाली देशका सरकार प्रमुखसँग खासै अर्थपूर्ण भेटको मौका जुरोस्–नजुरोस् प्रधानमन्त्री ओलीले यस पटक औपचारिक भ्रमणको निम्तो पाएका छन्– दक्षिणी अमेरिकी मुलुक कोष्टारिकाका राष्ट्रपति कार्लोस अल्भरादोबाट । त्यसैले उनी न्यूयोर्कबाट सिधै दक्षिणतर्फ लाग्दैछन् चार दिनका लागि । परराष्ट्र मन्त्रालयले ओलीको कोष्टारिका भ्रमणलाई औपचारिक संज्ञा दिएको थियो । अहिलेसम्म राष्ट्रपति अल्भरादोसँग भेट, राजधानी सान होजेस्थित एक विश्वविद्यालयमा प्रवचन एवम् सम्मान लगायतका प्रधानमन्त्रीका कार्यक्रम मन्त्रालयले सार्वजनिक गरेको छ ।

कोष्टारिकासँग नेपालले दौत्य सम्बन्ध कायम गरेको छ । वासिङ्टन डिसीस्थित राजदूत नै नेपालका लागि कोष्टारिकाका गैरआवासीय राजदूत रहन्छन् । यो विशुद्ध औपचारिक कूटनीतिक सम्बन्धबाहेक कोष्टारिकासँग नेपालको कुनै लेनदेन छैन । न त त्यहाँ नेपालीको ठूलो उपस्थिति छ, न त  नेपाल र उक्त मुलुकको कुनै खास व्यापार या बजारीकरणको अवसर छ । कुनै देशको सरकार प्रमुख भइसकेपछि दौत्य सम्बन्ध कायम भएका मुलुकसँग मित्रवत व्यवहार गर्नु एउटा सामान्य कूटनीतिक मान्यता हो । तर, सम्बन्धको हार्दिकता उक्त मुलुकसँगको कारोबार या सरसहयोगबाट नै बिस्तार हुँदै जाने हो । मुलुकहरुको सम्बन्ध पनि समाजमा दुई घर या परिवारको सम्बन्ध जस्तै हो । छरछिमेक या समाजमा जुन घरसँग ऐँचोपैँचो, सरसापटी, मेलापात चल्छ त्यही घरमा बढी आउजाउ हुन्छ । खासै चिनजान पनि नभएको र सामान्य हाई–हेलो मात्र रहेको घरमा फुर्सदमा बाहेक जाने चलन हुँदैन ।

र, प्रधानमन्त्री केपी ओली अहिले फुर्सदमा छैनन् । घरभित्र र बाहिरका कैयन् समस्याले जेलिएका उनलाई सरकारी खर्चमा छुट्टी मनाउँदै हिँड्न पटक्कै सुहाउँदैन, जसरी २०६२ मा ज्ञानेन्द्रको अफ्रिका सयर आलोचित बनेको थियो । रोम जलिरहेछ, निरो बाँसुरी बजाउँदैछन् भन्ने उक्तिसँग यो हर्कत हुबहु मिल्छ । प्रधानमन्त्री ओलीले केही महिना अघि आफ्नो सरकारले कर्मचारी एवम् उच्चपदस्थहरुको अनावश्यक विदेश भ्रमण कटौती गरेर करोडौँ रुपैयाँ बचाएको दाबी गरेका थिए । अहिले आफ्नो कोष्टारिका यात्रा चाहिं कसरी आवश्यक भयो, उनले बताउन सकेका छैनन् । २० जनाको जम्बो टोली होलिडे मुडमा सरकारी खर्चमा डुल्दा राम्रै रकम उड्ने निश्चित छ ।

मुलुकमा एकातिर शान्तिसुरक्षाको गम्भीर समस्या देखिएको छ भने अर्कोतिर सुशासन पनि उस्तै पेचिलो छ । पाँच वर्षका लागि चुनिएको स्थायी सरकारले दुई महिनादेखि एक बालिकालाई बलात्कारपछि हत्या गर्ने अपराधी फेला पार्न सकेको छैन । काठमाडौंको धूलो–हिलोदेखि पिउने पानीसम्मको खाँचो त नियमित भइहाल्यो । नेपालीहरु वैदेशिक रोजगारीमा जाने खाडी एवम् मलेसिया लगायतका मुलुकको समस्या अर्कै छ । प्रधानमन्त्रीलाई औपचारिक विदेश भ्रमणकै रहर हुँदा एक पटक खाडी पुगिदिएका भए त्यहाँका लाखौँ नेपालीले मरुभूमिका चरम गर्मीमा पनि केही न केही शीतल पक्कै अनुभव गर्ने थिए । त्यस्तै, लगानीका लागि कुनै मुलुकको निजी क्षेत्रलाई कन्भिन्स गर्न सके रोजगारी कुरेर बसेको देशभित्रका लाखौं युवाले उनकै गुणगान गाउनेछन् । तर, दुई तिहाईको शक्तिले प्रधानमन्त्रीको सोचलाई यसरी धमिल्याएको छ कि उनी आम नेपालीले देख्न नसक्ने दक्षिण अमेरिकाको एक कुनामा पुगेर छुट्टी मनाउँदै छन् ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार