विदेशमा बस्ने नेपालीले अनलाइनबाटै आईपीओमा लगानी गर्न सक्ने

विदेशमा बस्ने नेपालीले अनलाइनबाटै आईपीओमा लगानी गर्न सक्ने

न्यूयोर्क । शेयरबजारको स्थापनाले कुनै पनि अर्थ–व्यवस्थालाई आर्थिक गति प्रदान गर्न मद्दत गर्दछ । यसले व्यक्तिगत तथा संस्थागत बचत तथा लगानीलाई एकीकृत गरी ठूला लगानीमा सञ्चालन गर्नुपर्ने किसिमका उद्योग तथा व्यवसाय सञ्चालनका लागि आवश्यक पूँजीको परिपूर्ति गर्ने माध्यमका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । शेयरबजारको विकासले नयाँ व्यापार–व्यवसाय स्थापनाका लागि उत्प्रेरणा, लगानीकर्तालाई विभिन्न लगानीका अवसर, तथा देशलाई समग्र आर्थिक विकासको बाटोमा अगाडि बढाउनका लागि मद्दत गर्दछ । शेयरबजारको दिगो विकास र विस्तारका लागि सबल राष्ट्रिय नीति, आवश्यक कानुनको निर्माण र कार्यान्वयन, नियामक निकायहरुको नीतिगत तथा कार्यगत स्पष्टता, नियामकहरुमा नयाँ सूचना र प्रविधिको पहुँच तथा अद्यावधिकरण, लगानीकर्ताहरुमा लगानी शिक्षाको व्यापकीकरण, बजार संयन्त्र तथा पूर्वाधारहरुको विकेन्द्रीकरण, सरोकारवालाहरुमा परिवर्तनको महसुस आदि आजको नेपाली शेयरबजार विकासका लागि गर्नै पर्ने अति आवश्यक कार्यका रुपमा लिनु पर्दछ ।

विगत केही समयदेखि नेपाली शेयरबजारमा केही नयाँ प्रविधि तथा प्रक्रियाको प्रयोगले पुरानो कागजी शेयर कारोबारको प्रक्रियालाई विस्थापित गरिरहेको छ । यस्ता नयाँ विकास र प्रविधिको प्रयोगले आम लगानीकर्ताहरुका लागि राम्रो लगानी शिक्षाको आवश्यकता, तथा थप सुदृढीकरण र व्यापक बनाउनुपर्ने आवश्यकताको निर्देशन गर्दछ ।

यही प्रक्रियागत परिवर्तनहरुलाई स्वदेश वा विदेशमा रहेका लगानीकर्ता, नयाँ तथा सम्भावितसम्म पु¥याउने उद्देश्यले शेयर बजारमा कसरी पहिलो पटक शेयर किन्ने ? त्यसका लागि के–कस्ता प्रक्रिया पूरा गर्नुपर्दछ ? नयाँ तथा सम्भावित लगानीकर्ता जो स्वदेशकै विभिन्न स्थान, जहाँ शेयर बजारको पहुँच नपुगेको तर इन्टरनेटको सुविधा रहेको, वा विदेशमा बसेर पनि नेपालको आईपीओ (प्राथमिक बजार)मा लगानी गर्नका लागि के–के प्रक्रिया पूरा गर्नुपर्दछ ? भन्ने बुँदाहरु यहाँ उल्लेख गरिएको छ ।

नेपाली शेयरबजारमा अहिले पनि केही अनलाइन सुविधाहरु रहेको र आईपीओ, एफपीओ, वा राइट शेयरहरुमा अनलाइन प्रक्रियाबाट नै लगानी गर्न सकिन्छ भन्ने कुराको जानकारी दिने प्रयास यहाँ गरिएको छ । विशेषतः विदेशमा हुने नेपालीहरुले पनि नेपाली शेयरबजारमा, केही आवश्यक प्रक्रिया पूरा गरी, नयाँ लगानी तथा पुरानोमा राइट शेयर भरी थप लगानी पनि गर्न सकिन्छ भन्ने कुराको जानकारी गराइएको छ ।

आईपीओ/एफपीओ/राइट शेयरहरुमा लगानी गर्नका लागि निम्न संस्थाहरुबाट आवश्यक प्रक्रिया पूरा गर्नुपर्दछ ।

१. बैंक खाताः सबैभन्दा पहिलो कुरा बैंकमा खाता हुनु जरुरी छ र बैंक खातालाई अनलाइनबाट प्रयोग गर्नका लागि लगानीकर्ताले आफ्नो बैंकबाट अनलाइन एक्सेस (युजरनेम र पासवर्ड) लिनुपर्दछ ।

२. डी–म्याट खाताः हाल सञ्चालनमा रहेका सबै लाइसेन्स प्राप्त डिपोजिटरी पार्टिसिपेन्ट्स (डीपीएस, डिपोजिटरी पार्टिसिपेन्ट्स)हरुबाट लगानीकर्ताहरुले आफ्नो डी–म्याट खाता खोल्न सक्दछन् । एउटा लगानीकर्ताले बढीमा दुई वटासम्म डी–म्याट खाता खोल्न मिल्ने प्रावधान छ ।

३. शेयर ब्रोकरबाट लिने खाताः यदि शेयर ब्रोकरको अफिसमा नै डी–म्याट खाता खोलेमा, त्यहीँबाट वा अन्य कुनै ब्रोकरबाट पनि आफ्नो शेयर कारोबार गर्ने खाता नम्बर लिन सकिन्छ । तर, यदि मर्चेन्ट बैंकर वा अन्य डिपोजिटरी पार्टिसिपेन्ट्सबाट डी–म्याट खाता खोलेमा पुनः कुनै पनि ब्रोकर अफिसमा गई आफ्नो शेयर कारोबार गर्ने खाता खोल्नुपर्दछ । यो ब्रोकर खाता आफूलाई पायक पर्ने एक वा एकभन्दा बढी ब्रोकरहरुबाट पनि खोल्न सकिन्छ ।

यी तीन प्रक्रिया पूरा गरिसकेपछि लगानीकर्ताले आफ्नो ब्रोकरबाट प्राप्त अर्डर फर्म भरी दोस्रो बजार (सेकेन्डरी मार्केट)मा शेयर खरीद तथा विक्री आदेश दिन सक्दछन् । साथै, शेयर निस्काशनको बेला आवेदन फर्म भरि प्राथमिक बजार (आईपीओ, इसिसियल पब्लिक अफरिङ)मा पनि लगानी गर्न सक्दछन् ।

आईपीओ, एफपीओ वा राइट शेयरमा लगानी गर्न मिल्ने अनलाइन सुविधाका लागि निम्न थप प्रक्रिया पूरा गर्नुपर्दछ ।

४. मेरो–शेयरको अनलाइन एक्सेसः मेरो–शेयरको अनलाइन एक्सेसका लागि लगानीकर्ताले डिपोजिटरी पार्टिसिपेन्ट्ससमक्ष एक अनुरोध फर्म भर्नुपर्दछ । डिपोजिटरी पार्टिसिपेन्ट्सले सीडीएस तथा क्लियरिङ लिमिटेडसँगको समन्वयपश्चात् मेरो–शेयर वेबसाइटमा प्रवेश गर्ने युजर नेम र पासवर्ड प्रदान गर्दछन् ।

५. बैंकबाट सीआरएन (सीआरएन, सी–आस्बा रजिष्ट्रेशन नम्बर) लिनेः मेरो–शेयर अनलाइनको एक्सेस लिएपछि आफ्नो खाता भएको बैंकमा गई सीआरएन फर्म भरी सीआरएन प्राप्त गर्न सकिन्छ । यस प्रक्रियामा बैंक खाता र मेरो–शेयर खाता जोड्ने काम हुन्छ ।

यी पाँच प्रक्रिया पूरा गरेपछि लगानीकर्ता आफैंले मेरो–शेयर वेबसाइटमा लगइन गरी नेपाली शेयर बजारमा विभिन्न समयमा खुल्ने प्राथमिक सेयर (आईपीओ)हरु वा अरु केही लगानीका अवसरहरु जस्तै– एफपीओ, राइट शेयर आदिमा अनलाइनको माध्यमबाटै स्वदेशमै वा विदेशमा रहेर पनि लगानी गर्न सक्दछन् । यस्तो प्रक्रियाबाट लगानी गर्दा आवश्यक रकम आफ्नो बैंक खातामा नै रोक्का हुने र शेयर परेको खण्डमा मात्र लगानी बराबरको रकम आफ्नो खाताबाट घट्ने हुन्छ ।

हाल सञ्चालनमा रहेको नेपाली शेयरबजारको अनलाइन सुविधा भनेको यही नै हो, तर आगामी दिनमा छिटै प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्न तथा शेयर कारोबार गर्न मिल्ने गरी पूर्ण रुपको अनलाइन सेवा अहिले नेप्सेले टेस्ट गरिरहेको सञ्चारमाध्यमहरुमा सुन्न र पढ्न पाइन्छ । साँच्चै कस्तो प्रकारको अनलाइन आउँदै छ त ? भन्ने थाहा पाउनका लागि चाहिं थप केही समय कुर्नुको कुनै विकल्प छैन ।

सम्बन्धित सरोकारवालाहरु तथा आम लगानीकर्ताहरुको जानकारीका लागि अमेरिकाको शेयर बजारमा कसरी अनलाइन प्रक्रियाबाट शेयरको कारोबार हुन्छ भन्ने कुरा यहाँ संक्षिप्त रुपमा देखाउन खोजिएको छ ।

१. बैंक खाताः नेपालमा जस्तै अमेरिकामा पनि शेयर बजारमा प्रवेश गर्नका लागि पहिलो आवश्यकता भनेको बैंक खाता नै हो । कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई आवश्यक कागजपत्रहरु तथा प्रक्रिया पूरा गरी सजिलै बैंक खाता खोल्न सकिन्छ । बैंक खाता अनलाइनबाटै वा प्रत्यक्ष बैंकमा नै गएर पनि खोल्न सकिन्छ ।

२. ब्रोकर खाताः दोस्रो र महत्वपूर्ण कुरा भनेको राम्रो शेयर ब्रोकरको छनौट र ब्रोकर खाता खोल्नु नै हो । अमेरिकामा सबै ब्रोकरहरु अनलाइन ब्रोकरहरु नै हुने गर्दछन् र पूर्ण रुपमा आफ्नै घर वा ब्रोकर अफिसमा गएर ब्रोकर खाता खोल्ने सकिन्छ । शेयर कारोबार एक व्यवसाय भएको हुनाले व्यक्ति वा संस्थाले आफ्नो सामाजिक सुरक्षण नम्बर (सोसियल सेक्युरिटी नम्बर) वा व्यावसायिक कर नम्बर (बिजनेस ट्याक्स आईडी)को प्रयोग गरी ब्रोकर खाता खोल्न सकिन्छ । यो एक अनिवार्य प्रक्रिया हो, जसले गर्दा आर्थिक वर्षको अन्त्यमा लगानीकर्ता वा व्यवसायले आफ्नो आम्दानी विवरणमा वार्षिक कारोबारबाट प्राप्त गरेको नाफा–नोक्सानमा कर तिर्नु वा कर छुट लिनुपर्दछ ।

नेपालभन्दा फरक अमेरिकामा शेयर ब्रोकरहरु एकआपसमा प्रतिस्पर्धा गर्न पाउँछन् साथै ब्रोकर सेवाको मूल्य आफँै निर्धारण गर्न पनि पाउँछन् । जसले गर्दा नयाँ, पुराना तथा सम्भावित लगानीकर्तालाई आफ्नो ग्राहक बनाउने होडमा विभिन्न विज्ञापन, सेवा शुल्कमा छुटका सुविधा तथा निरन्तर लगानी शिक्षाका कार्यक्रमहरु सञ्चालन गरी आफ्नो व्यापार प्रवद्र्धन गरिरहेका हुन्छन् । जस्तै– सीमित समयका लागि फ्री मा शेयर किन्ने र बेच्ने अवसर, ब्रोकर फी मा कटौती, निश्चित रकम ब्रोकर खातामा राखेवापत केही थप नगद उपहार, विभिन्न स्तरको ब्रोकर सेवाहरु हुने भएकाले कुनै निश्चित समयका लागि कुनै सेवाहरुको निशुल्क प्रयोग गर्ने अवसर, तुरुन्त कारोबार राफसाफ (सेटलमेन्ट)को सुविधा, केही समयका लागि निशुल्क मार्जिनको सुविधा, आदि–इत्यादि । यसका साथै विगत केही वर्षदेखि नयाँ तथा पुराना व्यक्तिगत लगानीकर्ताबीच सबैभन्दा मन पराइएको – पूर्ण रुपमा निशुल्क शेयर किन्ने र बेच्ने दिने – निशुल्क ब्रोकरहरु !!! जसले विश्वमा शेयरबजारको विकासक्रमलाई थप नयाँ उचाइँमा पु¥याएको मान्न सकिन्छ । हालको यस्तो विकासले प्रचलित ब्रोकर व्यवसायको आगामी दिनलाई ठूलो प्रश्न चिह्न खडा गरिदिएको छ । स्मरण रहोस्, सबै किसिमका ब्रोकरहरुका आ–आफ्नै फाइदा र बेफाइदाहरु भने हुन्छन्, त्यसैले राम्रो ब्रोकरको छनौट गर्नु लगानीकर्ताको एक महत्वपूर्ण निर्णय हो । यसका साथै अमेरिकी शेयर ब्रोकरहरुले लगानीकर्ताहरुलाई आवश्यक पर्ने लगानीसम्बन्धी शैक्षिक सामग्रीहरु, बजार वा कम्पनी अनुसन्धानका रिपोर्टहरु  तथा बजार विश्लेषण गर्नका लागि आवश्यक सफ्टवेयरहरु आफ्नो अनलाइन प्लेटफर्ममार्फत प्रायः पूर्ण निशुल्क रुपमा प्रदान गरिरहेका हुन्छन् । तथापि, विस्तृत अध्ययन र लगानी सीप–विकासका लागि भने लगानीकर्ता आफैँले नै थप शिक्षा तथा प्राप्त ज्ञानलाई निरन्तर बजारमा प्रयोग गरी आफ्ना लगानी रणनीतिहरु बनाउनुपर्दछ ।

अन्त्यमा बुझ्नुपर्ने कुरा, कुनै पनि शेयर बजारमा लगानी गर्दैमा वा लगानी गर्न जान्दैमा आफ्नो लगानीमा राम्रो प्रतिफल लिन सकिन्छ भन्ने छैन ! लगानी भनेको अनिश्चितता र भविष्यसँग जोडिएको हुन्छ । त्यसैले अन्य कुराका साथै लगानीकर्ताले कसरी लगानीका निर्णयहरुमा धैर्यताको सीमा बढाउने भन्ने कुराको प्रयोग गर्नु अति आवश्यक हुन्छ । साथै, बजारमा देखिने धेरै लगानीकर्ताको मनोविज्ञानबाट प्रेरित गलत लगानीका निर्णयहरुबाट आफ्नो लगानीलाई वा आफू कसरी सुरक्षित हुने भन्ने कुरा जान्नु पनि उत्तिकै आवश्यक हुन्छ । यसका लागि सूक्ष्म अध्ययनबाट राम्रा लगानीयोग्य कम्पनीहरुको छनौट र बजारमा आफ्नो लगानीको प्रवेश र निष्काशन कसरी र कुन समयमा गराउने भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । यी सबै नाफामूलक सीप विकासका लागि बजारको अध्ययन र प्राप्त ज्ञानको निरन्तर प्रयोगबाट मात्र सम्भव हुन सक्दछ ।

निस्कर्षमा,

शेयर बजार एक निरन्तर प्रक्रिया भएको हुँदा समय–समयमा सबै क्षेत्रमा हुने परिवर्तनहरु जस्तै यो क्षेत्रमा पनि विभिन्न परिवर्तनहरु भइरहेका हुन्छन् । यो क्षेत्रमा हुने परिवर्तनहरुलाई तुलनात्मक रुपमा बढी नै प्राथमिकताका साथ हेर्ने गरिन्छ किनकि शेयर बजार प्रत्यक्षरुपमा पैसासँग सम्बन्धित हुन्छ । नेपाली अर्थतन्त्रमा शेयरबजारको महत्व हुँदाहुँदै पनि हुनुपर्ने मात्रामा यो क्षेत्रको विकास भएको पाइँदैन चाहे त्यो आवश्यक कानुनको आवश्यकताको कुरा होस् वा कानुन तर्जुमा र कार्यान्वयनको कुरा होस् । शेयरबजारले सम्पत्तिको मूल्यलाई तरलतामा राख्ने भएको हुनाले आवश्यक कानुन तथा यसको कार्यान्वयन सरल र एकदमै छिटो हुनुपर्ने हुन्छ । बजारको विकाससँगै यससँग जोडिएका विसंगतिहरु आजभोलि देखा पर्न थालेका छन् । यस्ता अवाञ्छनीय क्रियाकलापहरु बजार विकासका क्रममा जहाँ पनि हुने गर्दछन् तर यसलाई नियमन गर्नका लागि सम्बन्धित निकायको ध्यान जानु अत्यन्त जरुरी छ । त्यस्तो नभएको खण्डमा विश्वासिलो लगानीको वातावरण सिर्जना नभई सम्भावित साना तथा ठूला लगानीहरू देशभित्र वा बाहिरबाट नआउने सम्भावना हुन पनि सक्दछन् । तर, त्यस्तो नहोस् भन्ने सम्पूर्ण लगानीकर्ता तथा सरोकारवालाहरुको एकमुष्ट उद्देश्य हो ।

हाल नेपाली शेयर बजारमा प्राप्त सुविधाअनुसार खासगरी देशका विभिन्न ठाउँमा बस्ने सम्भावित लगानीकर्ताहरु, साना लगानीकर्ता वा विदेशमा विभिन्न कारणले हाल बसोवास गर्दै आएका नेपाली नागरिकहरुले अनलाइनको माध्यमबाट पनि लगानी गर्न सक्ने प्रक्रिया माथि उल्लेख गरिएको छ । साथै, पूर्ण रुपको अनलाइन शेयरबजारको जानकारीका लागि अमेरिकाको शेयरबजारका बारेमा पनि छोटो जानकारी दिएको छ । यसले आम लगानीकर्ता, नियामक निकायहरु, शिक्षक तथा विद्यार्थीवर्गहरु, खोज तथा अनुसन्धानकर्ताहरु र अन्य सरोकारवालाहरुलाई केही सकारात्मक सन्देश दिन्छ होला भन्ने विश्वास यो स्तम्भकारले गरेका छन् ।

(लेखक शेयर बजारको अनुसन्धानकर्ता तथा सन् २०१२ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमफिल व्यवस्थापन संकाय (वित्त शास्त्र)का स्वर्ण पदकधारी हुन् । यस लेखसम्बन्धी सुझाव, सहयोग तथा अन्य जानकारीका लागि su.kadariya@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ ।)

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार