ज्याक्सन हाइट्समा नेवारी समुदायको इन्द्रजात्रा

ज्याक्सन हाइट्समा नेवारी समुदायको इन्द्रजात्रा

न्यूयोर्क । ज्याक्सन हाइट्सको डाइभरसिटी प्लाजामा शनिबार साँझको रौनक छुट्टै थियो । कालो भुइमा रातो पारि गरेको सारीमा सजिएका नेवारी महिलाले धिमे बाजाको तालमा नाचिरहँदा नेपाली मात्र होइन बाटो हिँड्नेहरुसमेत रमिता हेर्न व्यस्त थिए । खचाखच मान्छेले भरिएको प्लाजाको मध्य भागमा राखिएको एउटा ठूलो टेबुलमा नेवारी खानाका विभिन्न परिकारहरु (समयबजी) सजाइएको थियो । प्रसंग थियो– नेवारी समुदायको विशेष चाड इन्द्रजात्राको । काठमाडौं, ललितपुर र भक्तपुर (उपत्यका)वासीले इन्द्रजात्रा मनाइरहँदा न्यूयोर्कमा बसोवास गरिरहेका नेवारी समुदायमा पनि जात्राको रौनकता उस्तै देखिन्थ्यो । पहिलो पटक इन्द्र ध्वजाको लिङ्गो लिएर जात्रामा निस्किएका नेवारी समुदायले आफ्नो पर्व सफल बनाउन कुनै कसुर बाँकी राखेका थिएनन् । उनीहरुसँगै गैर नेवारी समुदायका नेपाली पनि जात्राको रमाइलोमा मस्त देखिन्थे ।

अघिल्ला वर्षहरुमा अमेरिकाको बोस्टन, बाल्टिमोर र टेक्सासमा जात्रा मनाउँदै आए पनि न्यूयोर्कमा भने पहिलो पटक इन्द्रजात्रा मनाइएको हो । नेवा गुठीको आयोजनामा मनाइएको इन्द्र जात्रामा लिङ्गो ठड्याएर कुमारी देखाइएको थियो । काठमाडौंको भोटाहिटीमा भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि आश्विन कृष्ण पक्ष चौथीसम्म (८ दिन) इन्द्र जात्रा मनाइने गरिन्छ । यसलाई ‘येयाँ पुन्हि’ पनि भनिन्छ । नेवारी भाषामा ‘ये’ भनेको काठमाडौं र ‘याँ’ भनेको जात्रा हो । इन्द्रजात्राको भोलिपल्टको पूर्णिमामा मनाइने भएकाले यसलाई ‘येयाँ पुन्हि’ भनिएको हो । 

वर्षा र सहकालका देवता इन्द्रलाई पूजा गर्नाले धनधान्यले भरिपूर्ण हुने र परिवारमा सुख शान्ती मिल्ने किम्बदन्ती छ । आफ्नी आमालाई पूजा गर्नका लागि फूल टिप्न काठमाडौं आएका इन्द्र भगवानलाई पारिजातको फूल टिप्न लाग्दा चोर भनी नेवारी समुदायका तान्त्रिक गुबाजुहरुले बाँधेर बीच सडकमै जात्रा गरेको दिनलाई इन्द्र जात्राका रुपमा मनाउँदै आइएको हो । जात्रामा काठमाडौंको असन, इन्द्रचोक र हनुमान ढोका दरबार क्षेत्रमा गणेश, भैरव र कुमारीको तीन वटा रथ निकालिन्छ ।

‘काठमाडौं उपत्यकामा मनाइने नेवारी समुदायको इन्द्रजात्रा पर्वलाई न्यूयोर्कसम्म ल्याएर नेवारी संस्कृति र पहिचानलाई जगेर्ना गर्ने कोसिस गरेका हौं,’ नेवा गुठीका अध्यक्ष निर्मल प्रधानले भने– ‘वर्षौंदेखि भेट नभएका हाम्रो समुदायका विभिन्न व्यक्तिहरुसँग जात्रामै भेट्ने मौका मिल्यो । त्यति मात्र होइन हाम्रा छोरा, नाति, भावी सन्ततीले पनि बाउबाजेले मनाउँदै आएको पर्वमा रमाउने र जान्ने मौका पाए ।’ उनका अनुसार नेवार समुदायको भेषभूषा, भाषा र संस्कृतिलाई विदेशसम्म फैलाउन र समुदायलाई थप एकजुट गराउन यस्ता पर्वले ठूलो महत्व राख्नेछ । पर्वको रमाइलो मात्र होइन, जात्रा मनाउन आएका सबै एकजुट भएर आफ्नो संस्कार र संस्कृतिलाई कसरी जोगाउने, पछिल्लो पुस्तासम्म कसरी पु¥याउने भन्नेबारे पनि छलफल गरिएको उनले बताए । 

जात्रामा रमाइलो धिमेबाजा, लाखे नाच, कुमारीको दर्शन, पुलुकिसि, समयबजी लगायतको व्यवस्था गरिएको थियो । नेवारी परिकारहरु अण्डा, माछा, छोइला, मासु, आलु, हरियो साग, चिउरा, फलफुल रोटी, मिठाइ लगायत परिकार राखेर समयबजी सजाइएको थियो । फूल खोज्न गएका भगवान इन्द्र हराएकाले खोज्नका लागि ऐरावत हात्ती पठाइएको प्रसंगसँग जोडेर जात्रामा हात्ती जत्रो आकारको ठूलो सेतो प्रतिविम्ब निकालिएको थियो । ठूलो आकारको सेतो प्रतिविम्बलाई पुलुकिसी भनिन्छ । धिमेबाजा बजाएर नाचगान सकिएपछि कुमारीको दर्शन पनि गराइयो । इन्द्रजात्राको कुमारीको छुट्टै महत्व भए पनि यहाँ जात्राकै लागि मात्रै ६ वर्षीया बालिकालाई कुमारी निकालिएको प्रधानले जानकारी दिए । काठमाडौं उपत्यकामा भने इन्द्रजात्राका लागि कुमारी तोकिएको हुन्छ । ती कुमारीलाई वर्षभरि कुमारी घरमा राखेर इन्द्रजात्राका दिनमा मात्रै बाहिर निकाल्ने गरिन्छ । 

सबै समुदायका व्यक्तिलाई समेटेर भव्य रुपमा जात्रा मनाइएको बताउँछन् जात्राका कला संयोजक विजय नकर्मी । ‘आफ्नो नेवारी संस्कृतिलाई विदेशमा रहेका पछिल्लो पुस्तासम्म पु¥याउन, हाम्रो संस्कृति र पहिचान बचाइराख्न सबै मिलेर मनाएका हौं,’ उनले भने– ‘जात्रा भनेकै सबै मिलेर एकजुट भएर मनाउने पर्व हो । चाड पर्वले पनि समुदायलाई एकजुट बनाउँछ । न्यूयोर्कमै बसोवास गरिरहेका र वर्षौंसम्म पनि भेटघाट नभएका कतिपय व्यक्तिहरुसँग भेट हुने मौका मिल्यो ।’ न्यूयोर्कमा मात्र होइन टेक्सासको युलेसमा बस्ने नेवारी समुदायले पनि लिङ्गो ठड्याएर, कुमारी निकालेर इन्द्रजात्रा मनाएको छ ।

नेपालको एकीकरणको सन्दर्भमा पनि सबै इन्द्रजात्रामा रमाइरहेका बेला राजा पृथ्वीनारायण शाहले राजा जयप्रकाश मल्ललाई हराएर कान्तिपुर (काठमाडौं उपत्यका)मा विजयी गरेका थिए भन्ने किम्बदन्ती छ । इन्द्रजात्रा पर्वसँगै काठमाडौं उपत्यकामा दशंैको चहलपहल सुरु हुने गर्छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार