कविता संग्रह 'न्यास्रो जन्मभूमिको' - एक समीक्षा

कविता संग्रह 'न्यास्रो जन्मभूमिको' - एक समीक्षा
 
 
राधाकृष्ण काफ्ले
 
 
आजकल म कटुसको छहारीमा छु,
जिन्दगीको हिंडाईमा एउटा उकालो बिसौनीमा छु,
केहीबेर सुस्ताएर फेरी उकालो लाग्नेछु,
बुझिसकें यो यात्रा चलिरहने रहेछ,
फर्केर जाने बाटाहरु, आाफै बन्द हुनेरहेछ,
कसैले यसरी नै, जीवनचक्र घुमाइरहेको रहेछ ।
 
यो थियो कवि बैकुण्ठराज आचार्य द्वारा लिखित कविता संग्रह न्यास्रो जन्मभूमिको बाट अनन्त यात्री शीर्षक भित्रका कविताका केही अंशहरु । हुन त यो कविता संग्रह लेखक को प्रथम कृति हो तर यो संग्रहमा समेटिएका कविताहरु पढ्दा उनको यो प्रथम कृति हो जस्तो लाग्दैन ।
 
डालासक्षेत्रमा साहित्यकार, कलाकार र नेपाली भाषा साहित्य को लागि केही गरौं भन्ने अभियानमा लागेका विद्वतवर्गहरु को समुह द्वारा संचालित स्रष्टा सााझ, अमेरिकाको पहलमा प्रकाशनमा ल्याएको हो, हुन त एस्को सर्वाधिकार लेखक मै सुरक्षित रहेको देखिन्छ ।
 
स्रष्टा साँझ, अमेरिकाले बिगत केही दिन अगाडि यो कृति को नेपालमा बिमोचन र अमेरिकाको अर्विनमा विशेष समारोहको आयोजना गरेर लोकार्पण गर्‍यो । यस्ता कार्यले सबै लेखक, कवि, साहित्यकारहरु लाई थप हौसला मिलेको छ ।
 
अब न्यास्रो जन्मभूमिको कविता कै कुरा गरौं, हो कविता लेख्छु भनेर लेखिंदैन । विशेष क्षणमा आउने अनुभूति, कल्पना र भावलाई कलात्मकरुपमा पस्किंदा कविताको सिर्जना हुन पुग्छ । आचार्यको हकमा पनि उनको प्रतिभा, अध्ययन, चिन्तन, अनुभवबाट तिनै विशेष परिस्थितिमा लेखिएका ४१ कविताहरु को सागालो हो न्यास्रो जन्मभूमिको। तिनै कविताहरु मध्ये कै कविता न्यास्रो जन्मभूमिको शीर्षक बाट नै यो कृति को नामाकरण गरिएको छ ।
 
‘तिमी आयौ लाग्यो,
 
गोदावरीको फूलवारीबाट,
 
फूलैफूलको वास्ना लिएर आयौ,
 
दामनबाट लालिगुरासको झुप्पै लिएर आयौ,
 
लाग्यो जानकी मन्दिरबाट अगरवत्तीको बास्ना आयो,
 
स्वर्गद्वारीको हवनकुण्डबाट अखण्डज्योतिको अंश आयो,
 
पशुपति मन्दिरबाट चन्दन को बास्ना आयो ।।।
 
 
यस्तै यस्तै सुगन्ध छ यो कविता भरी जन्मभूमिको अगाध स्नेह, प्रवास रहंदाको न्यास्रोपन र आफ्नै देशको सुगन्ध पोखिएको छ सबै कविताभरि र एउटा कविताको अत्तर बनाएका छन् कवि बैकुण्ठराज आचार्यले आफनो कविता संग्रह न्यास्रो जन्मभूमिकोलाई ।
 
फुल्नु पारिजातको प्राकृतिक थियो,
 
बास्ना फैलनु स्वाभाविक थियो
 
तर बटुवाहरुको व्यवहार खै कुन्नी के थियो र
 
भेटिंदैन आजकाल त्यो बाटोमा
 
त्यो पारिजात को बोट ढल्यो कि काटियो
 
कस्लाई के मतलब भयो र 
 
बढ्दो शहरीकरण र वातावरणको तालमेल मिल्नु पर्छ, विकासले बिनास नल्याओस् भन्ने चिन्ता कविले कवितामा ठाउँ ठाउँमा लेख्न छोडेका छैनन । पारिजात र काठमाडौं शीर्षकको मार्मिक कविताभित्रका अंश हुन यी ।
 
 उता स्वदेशमा बसेका लाई विदेशमा बस्ने आफन्तहरु को न्यास्रोपन, विदेशमा बस्नेहरु लाई स्वदेशमा बस्ने आफन्तहरु को सम्झना, गाउाबेसी र तीनै छहरा, पहराको तिर्सनाले सताएको कुरा कविता कवितामा भेटिन्छन् कविको । प्रवासमा बस्ने चाहे नेपाली हुन या नेपालीभाषी र नेपाल लाई माया गर्ने जोसुकै को ब्यथा बोलेको छ, छट्पटी बोलेको र आफ्नै देशको कला संस्कृति, प्राकृतिक छटा र यिनै सुमधुर भावनाहरु छताछुल्ल भएका छन यी सबै कविताभरि ।
 
 भन्छन नि देश सिमानाभित्र मात्रै हुन्न,
 
देश बाहिर पनि हुन्छ, राख्नेले आफ्नो देशलाई,
 
मुटुभित्र राखेको हुन्छ । 
 
भावनाको देश शीर्षकमा कवि बैकुण्ठ प्रवासी सबैको पीडा पोख्छन प्रतिनिधि पात्र बनेर ।
 
झेलन तिमी उस्तै चन्चल छ्यौ, उस्तै सुन्दर छ्यौ,
 
उस्तै मुस्कुराउछ्यौ, उस्तै मस्किन्छ्यौ,
 
उस्तै निर्मल छ्यौ, उस्तै लोभ्याउछ्यौ ।
 
यो कुनै प्रेमिका वा प्रेमकी पात्रलाई पोखेको भाव होइन, हो त उही धरतीकी छोरी कश्मिरमा अवस्थित झेलम नदी किनारमा बसेर उनैको बयानमा कविले लेखेको कविता हो  ।
 
मुसुक्क हाँसेर थोरै बोल्ने, मीठो बोल्ने र अनुभवले खारिएका व्यक्तित्वका धनी कवि आचार्यको कामको अनुभव, देशदर्शनको अभिव्यक्ति र अझै दिगो विकास र पर्यावरणप्रति उनी धेरै समवेदनशील देखिन्छन जुन कुरा उनका कवितामा पनि अभिव्यक्त भएको पाईन्छ । 
 
 झेलम, वागमती, सेती तिमीहरु साधै यसरी नै प्रदुषित नभई बगिरहनु ,
 
ता कि हाम्रा सन्ततिले पुर्खाको नासो सम्झेर तिमीलाई धेरै माया गरुन 
 
प्रवासमै भए पनि देश दुखेको कहा खप्न सकिन्छ र रु देशमा भएको अन्याय, अत्याचार र बेथिती कहा हेर्न सकिन्छ र  हो कवि हुनु को अर्को कर्तब्य उनी कविता मै पोखेर भन्न चाहन्छन् ।
 
 कति छट्टुहरु देश लुटेर, ठूला देशभक्त भए ,
 
कति सोझाहरु आाफू लुटिएर परदेशी भए,
 
उता स्वदेशमा विभिन्न तिगडम गरी
 
कति छट्टुहरु हालिमुहाली गरिरहे
 
यता परदेशमा हातमुख जोर्न,
 
बिहान, दिउँसो, राती
 
कति सोझाहरु हड्डी घोटिरहे ।
 
यो थियो  अब त्यस्तो नहोस् शीर्षक भित्रको एक अंश ।
 
बिट मार्नु अघि म के भन्न चाहन्छु भने कावयको सुुरु देखी अन्त्य सम्म अत्यन्त्य सरल, कलात्मक शैलीका साथ देश प्रेम, प्रकृति प्रेम, कला र सांस्कृतिकको डोरी मिलाई मिलाई बाटिएको यो कृति एकपटक पढ्नुस् जस्ले गर्दा तपाई भित्रको पनि कवित्व उजागर हुनेछ र कविता लेख्न मन लाग्नेछ ।
 
साहित्यकारहरुका लागि पनि यो कृति संग्रह योग्य छ नै । कवि बैकुण्ठराज आचार्य ज्यू का अरु कृतिहरु पनि छिट्टै पढ्न पाईयोस हार्दिक शुभकामना । 
 
हाल टेक्सस,अमेरिका
 
 
कृति न्यास्रो जन्मभूमिको कविता संग्रह
 
 कवि बैकुण्ठराज आचार्य
 
संस्करण पहिलो, विं. सं २०७५ (सन २०१८) 
 
सर्वाधिकार कविमा
 
प्रकाशक स्रष्टा साँझ, अमेरिका
 

 

मूल्य देश बाहिर १० अमेरिकी डलर 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार