नेपाली दूतावासले मनायो राष्ट्रिय दिवस

नेपाली दूतावासले मनायो राष्ट्रिय दिवस

न्यूयोर्क । नेपाली राजदूतावासले अमेरिकामा नेपालको राष्ट्रिय दिवस भव्यसाथ मनाएको छ । अक्टोबर ५, शुक्रबार वासिङ्टन डिसीमा सम्पन्न कार्यक्रममा कूटनीतिज्ञ तथा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमको शुरुवात नेपाल र अमेरिकाको राष्ट्रिय धुनबाट गरिएको थियो । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले अतिथि तथा नेपाली समुदायलाई स्वागत गर्दै नेपालको नयाँ संविधान २०१५ जारी भएको ३ वर्ष पुगेको जानकारी दिए ।

कार्यक्रममा राजदूत कार्कीले लामो समयदेखि नेपाललाई गरेको सहयोगप्रति अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए । उनले आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गर्दै आपसी सम्बन्ध अझ मजबुत हुने बताए । साथै, राजदूत कार्कीले नजिकिँदै गरेको नेपालीहरुको महान् चाड दसैँको उपलक्ष्यमा समेत शुभकामना दिए ।

परराष्ट्रसचिव शङ्करदास वैरागीले अमेरिकी सरकारले नेपाललाई दिएको सहयोगको प्रशंसा र सम्बन्धबारेमा चर्चा गरेका थिए । त्यसैगरी अमेरिकाका दक्षिण तथा मध्यएसिया मामला विभाग हेर्ने कार्यवाहक उपसहायक सचिव डेविड रेन्जले पनि नेपालको राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाल सरकारलाई बधाई दिएका थिए ।

रेन्जले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रममार्फत नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग गरेको चर्चा गरे । नेपाल अमेरिकी सरकारको यो सुविधा पाउने दक्षिण एसियाकै एक मात्र देश हो ।

कार्यक्रममा अमेरिका नेपाल सोसाइटी (एएनएस)का तर्फबाट नृत्य प्रस्तुत गरिएको थियो । नेपालबाट आएका विद्यार्थीहरुले समेत तामाङ सेलो गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

यसका साथै, श्याम नेपाली नेतृत्वको टोलीले सारङ्गी, मादल तथा बाँसुरीको साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । राष्ट्रिय दिवसको अवसरमा राजदूतावासका फोटोग्राफर कुमार श्रेष्ठले खिचेका तस्वीर प्रदर्शन गरिएको थियो ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार