वामदेवको बालहठ

वामदेवको बालहठ

नेपाली राजनीतिले लामो समयदेखि सीमित व्यक्तिलाई परिक्रमा गर्दै आएको छ । मिडियामा चर्चा, मतदानमा विजयी र मन्त्री पदमा विराजमान हुनेजस्ता कार्यमा पनि त्यही वृत्तकै बर्चस्व रहेको छ । त्यो वृत्तभित्रकै एक व्यक्ति हुन्– नेकपाका प्रभावशाली नेता वामदेव गौतम ।

गौतमले झण्डै दुई दशकअघि एमाले पार्टी फुटाएर माले बनाए । केही वर्ष सत्तामा रजाइँ गरेर पुनः माउपार्टीमै फर्किए । आफू फर्कंदा आफ्ना हितचिन्तक, जसले पार्टी फुटाउँदा उनलाई साथ दिएका थिए, तीमध्ये अधिकांशलाई दोबाटोमै छाडेर एमाले फर्किए । तीमध्ये कतिपय अहिले ठूलो राजनीतिक संकटमा छन्, तिनलाई संस्थापनले पत्याएको छैन । संस्थापनले पार्टी फुटाउने नाइके वामदेवलाई सुनपानी छर्किएर भित्राएन मात्रै, ठूलै जिम्मेवारीमा पनि राखिदियो । उनी पटक–पटक महत्वपूर्ण मन्त्रालयको मन्त्री भए । तर, उनले पार्टी, देश र आफूलाई विजयी बनाउने जनता कसैका निम्ति पनि स्मरणीय काम गरेनन्– गर्न चाहेन । बरु कतिपय अवस्थामा विवादित काम गर्न हौसिए । तिनै वामदेवलाई २०७४ को संसदीय निर्वाचनमा बर्दियाको क्षेत्र नम्बर १ का जनताले हराइदिए, उनको वास्तविक मूल्याङ्कन गरेर त्यहाँका जनताले उनलाई साइजमा ल्याइदिए । उक्त निर्वाचनमा कमजोर हुन पुगेको नेपाली काङ्ग्रेसका उम्मेदवारसँग उनी हारे । निर्वाचन परिणाम आफ्नो पक्षमा नआएकोमा उनी अत्यन्तै चिन्तित थिए । उनले आफ्नो दुखेसो सर्वप्रथम पुष्पकमलसँग पोखे । पराजित हुँदा पनि सांसद बन्ने इच्छा उनीभित्र जीवितै थियो । त्यही इच्छाको प्रकट रुप अहिले आएर विस्फोट हुन पुगेको हो । सोही इच्छाबमोजिम उनले पूर्वी रुकुम, बर्दिया, ललितपुरलगायतका निर्वाचन क्षेत्रका पार्टीका तर्फबाट विजयी सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमा उम्मेदवार बन्ने खेल खेल्न थाले । राजीनामा दिएर उनका निम्ति बाटो खोलिदिने सांसदलाई उनले विभिन्न पदीय प्रलोभन पनि दिँदै आएका छन् । उनको खेल निरन्तर असफल बन्दै गएपछि पछिल्लो पटक उनले ताक्न पुगे– काठमाडौंको क्षेत्र नम्बर ७ ।

वामदेवले विभिन्न तिकडम लगाएर संसद् प्रवेश गर्ने बाटो खोजिरहँदा पार्टीका विभिन्न नेताको धारणा सार्वजनिक हुन पुग्यो । स्थानीय मतदाताको अभिमत पनि सञ्चारमाध्यमले बाहिर ल्याए । अधिकांश जनता र नेताको धारणा उनको चाहनाको विपक्षमा रहेको देखिन पुग्यो । तर पनि उनी आफ्नो हठ छाड्न मानिरहेका थिएनन् । सर्वत्र विरोधको आवाज मुखरित भएको सुनेपछि उनी केही हच्किए । ७ नम्बर क्षेत्रका जनताको आवाजले उनलाई तर्साइदियो । तर, लामो समयसम्म यो आवाज स्वयम् वामदेव र उनको पार्टीले नसुन्नु वा नसुनेको जस्तो गर्नु कालान्तरमा ठूलै हानि बेहोर्नु हो भन्ने तथ्य सर्वविदित छ ।

भनसुन, लोभ, दबाबजस्ता सारा उपाय लगाउँदा पनि आफ्ना लागि संसद् पद त्याग्न कोही तयार नरहेको देखेपछि केही दिन वामदेवले थकाइ मारेको अनुमान गरिएको थियो । तर, गत साता काठमाडौं–७ का रामवीर मानन्धरलाई मनाउन उनी सफल भएका थिए । दुई पटक वडाध्यक्ष निर्वाचित मानन्धरले २०७० र २०७४ मा पनि सांसद्मा चुनाव जिते । २०७४ को निर्वाचनमा वामगठबन्धनको प्रभाव उनलाई जिताउन पर्याप्त भयो । पञ्च पृष्ठभूमिका उनी पछिल्लो समय दह्रो र प्रभावशाली वामपन्थी बन्न सफल भएका छन् ।

गत स्थानीय तह तथा संसदीय निर्वाचनलाई आधार मान्दा उक्त क्षेत्रमा वामबर्चस्व रहेको देखिन्छ । वामबर्चस्वको अर्थ जहाँबाट–जोसुकै उम्मेदवार ल्याएर उठाए पनि जनताले खुरुखुरु वा कुनै प्रश्न नै नगरी गौतमलाई जिताउने हो ? के–कति कारणले वामदेव संसद् प्रवेश गर्न चाहन्छन् ? अनि के पाउन ७ नम्बर क्षेत्रका जनता तथा नेकपाका कार्यकर्ताले उनलाई मत दिने ? पार्टीले लौरो उठाए पनि मत दिन कार्यकर्ता विवश छन् ? त्यस्ता कार्यकर्ता भएको पार्टीले जनहितका लागि के काम गर्ला ? प्रश्न व्यक्ति वामदेवतर्फ मात्र होइन, नेकपातिर पनि सोझिन्छ । समृद्धि र राष्ट्रवादको नारा दिएर नथाक्ने प्रधानमन्त्री केपी शर्मा ओली अहिले आफूलाई मन्त्री र नेताहरुले टेर्न छाडेको गुनासो गर्न थालेका छन् । सरकार जनताको जिउधनको सुरक्षामा जसरी असफल बन्दै गएको छ, उसैगरी विकासका काम, रोजगारी सिर्जना, विश्वसनीय प्रशासन निर्माणमा पनि चुक्दै गएको आभास हुन्छ । दण्डहीनता र भ्रष्टाचार अनि व्यापारीको कुतखोरी त झनै उचाइँ लिइरहेको छ ।

नेपालको संविधानमुताविक प्रतिनिधिसभाका उम्मेदवारले राजीनामा गरेका खण्डमा पद रिक्त हुन्छ र त्यहाँ उपनिर्वाचन गर्न सकिन्छ । मानन्धरले राजीनामा दिएपछि निश्चित रुपमा पद रिक्त हुन्छ । तर, जित्नका निम्ति त मत अधिक ल्याउनैपर्छ । आगामी दिनमा मानन्धरले के भनेर राजनीति गर्ने र मत माग्ने ? यसको जवाफ सर्वसाधारण मात्र होइन, नेकपाका कार्यकर्ताले पनि खोज्नुपर्छ ।

यतिखेर सरकार क्रमशः आलोचित हुँदै गएको छ । सरकारका निर्णयहरु जनताले पत्याउन गाह्रो मान्न थालेका छन् । यस्तो प्रतिकूल समयमा उपनिर्वाचन किन गर्नुप¥यो ? मुलुकको ढुकुटी कुनै एउटा पार्टीको एक नेतालाई सांसद बनाउन प्रयोग गर्नु कहाँको लोकतन्त्र हो ? पाँच वर्षको म्यान्डेट पाएको सांसदलाई एक वर्षमै राजिनामा गराउँदै जाँदा संघीय–संसद्प्रति जनताको भरोसा टिकिरहला ? के यसले नेकपाको आगामी दिनलाई कठिन बनाउँदैन ? संघीय संसद्मा अत्यावश्यक वा नभइनहुने पात्र हुन् गौतम ? यो प्रश्न नेकपाका जिम्मेवार नेता, कार्यकर्ता तथा आमजनताले सतहमा ल्याउनु जरुरी छ । 

प्रश्नहरु यतिमै सीमित रहनु हुँदैन । वामदेवलाई सांसद बनाउन लागिपरेका भनिएका नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेललगायतका नेताको उद्देश्य के हो ? तिनमा निहित खोट पत्ता लगाउनु पनि उत्तिकै जरुरी छ । मानन्धर के पाउन वामदेवका निम्ति राजीनामा दिन तयार भएका हुन् ? राजीनामा दिने मानसिकतामा पुगिरहँदा उनले दिएको वक्तव्य झनै निन्दनीय छ । ‘नेतृत्वको निर्णय हो, यो जनताको जित हो– धोका होइन, जनताभन्दा पार्टी ठूलो हो,’ मानन्धरले भनेका छन् । जनता मान्न तयार छन्– उनको पार्टीको निर्णय भयो होला भनेर । तर, जनताले पाँच वर्षका लागि जिताएर पठाएको ठाउँमा वर्ष दिनमै अनौठो कारण देखाएर अर्को निर्वाचन गराउनु कसरी जनताको जित हुन्छ ? यो जनता हराउने खेल हो । यस्तो गलत अभिव्यक्तिले मानन्धरकै राजनीतिक भविष्यमा कालो पोतिन पुगेको छ ।

सतहमा छताछुल्ल विषम् परिस्थितिबारे कुनै ज्ञान वामदेव जतिका चतुर राजनीतिक खेलाडीलाई नहोला भन्न सकिन्न । तर पनि उनी केटाकेटीको जस्तो हठ गरिरहेका छन्, त्यो पनि पटक–पटक । साँच्चै नै उनलाई आफ्नो हठ पूरा नगरी नहुने अवस्था छ भने, यो निर्वाचनमा लाग्ने खर्च नेकपा वा उनै वामदेवले बेहोर्न तयार हुनुपर्छ । राज्यको ढुकुटी यस्तो अलोकतान्त्रिक, लाजमर्दो र एकजनाको हठपूर्तिका निम्ति खर्च गर्नु राज्यकोषमाथि गरिएको अपराध हो । जनताले वामदेवका निम्ति राज्यकोषको दोहन भएको हेर्न सक्दैनन् । उनी निर्धक्क जित्ने अनुमानका साथ निर्वाचन लडेको क्षेत्रका जनताले नै उनलाई पत्याएनन् र नै हार बेहोर्न बाध्य भए । त्यहाँका जनताले देखाइदिए, मुलुकका कुनै पनि निर्वाचन क्षेत्र कुनै पार्टीको बिर्ता होइन र जनता रैती पनि होइनन् । जनताको विवेकका अघिल्तिर कस्तै तानाशाह पनि हार खान्छ भन्ने दृष्टान्त अनेक छन् । 

त्यसो त, नेकपा (तत्कालीन एमाले)मा चुनाव हारेको व्यक्ति सांसद बन्ने, बन्न लालायित हुने वामदेव एक्लो र पहिलो पात्र भने होइनन् । माधव नेपालबाट यस्तो काम सुरु भएको हो । पार्टीका वरिष्ठ नेता नेपाल सुशील अमात्यलाई राजीनामा गराएर २०६४ सालको संविधानसभा सदस्य बने । सदस्य मात्र बनेका भए त ठीकै थियो, २०६६ सालमा प्रधानमन्त्रीसमेत हुन पुगे । के वामदेवको आँखा पनि त्यतै लोभिएको हो ? यस्तो लोभलाई बेलैमा त्याग्न नसक्दा गौतमको आगामी राजनीतिको बाटो नै नटुङ्गिएला भन्न सकिन्न ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार