कृष्णलाल कांग्रेसको एउटा इतिहास

कृष्णलाल कांग्रेसको एउटा इतिहास
 
 
जसले आवश्यक देख्छन् नेतृत्व, विधान अनि संस्कार परिवर्तन  
 
 
 सुरज भण्डारी
 
उमेरले आठ दशक टेकेको छ । नेपालमा यो विचमा धेरैं व्यवस्था परिवर्तनका लागि आन्दोलन भए । यी आन्दोलनहरुमा कृष्णलाल सापकोटा यसका साक्षी मात्र बसेनन् सक्रिय सहभागिता नैं जनाए ।   पुरानो कांग्रेसी वृत्तमा कृष्णलाललाई चिनाई राख्नुपर्दैन । जव चितवन कांग्रेसको प्रसंग निस्कन्छ कृष्णलाल कहिल्यैं नछुट्टिने नाम बनेर आउँछ । चितवनका अग्रज कांग्रेस नेताको परिचय बनाएका छन् कृष्णललाले । उमेरले मात्र नभई अनुभव, पार्टीमा लगानी, भूमिका, जिम्मेवारी र त्यागले समेत यिनी पाका कांग्रेसी हुन् । 
हरेक दृष्टिकोणले पाका कांग्रेसी यिनले नजिकवाट चिन्नेहरु माझ भने  समाजवादी क्रान्तिकारी कांग्रेसीको छवी बनाएका छन् । विश्वेश्वर प्रसाद कोइरालाको समाजवादवाट प्रेरित कृष्णलाल त्यो नैं कांग्रेसको मुटु भएको मान्छन् । विपिको सिद्दान्त र विचारवाट नैं पार्टी अगाडि बढ्न सक्नेमा विश्वस्त उनी पार्टी अहिले त्यो धारवाट टाढा गैरहेको देख्छन् । विचार र व्यवहारमा दुरी बढिरहेको उनी ठान्छन् । गलतलाई गलत र सहीलाई सही भन्न नसक्ने अवस्थामा कार्यकर्ता पंक्ती पुगेकाले पार्टी नेतृत्व चरित्र खराव बन्दैं गएको उनी ठान्छन् । 
पार्टीमा लाग्नेहरु व्यक्ति भन्दा विचार निर्देशित हुनुपर्ने पक्षका हिमायती उनी खुल्ला रुपमा नेताहरुले गलत गर्दा गलत र सही गर्दा सही भनेर बोल्न सक्ने भएकाले यिनलाई चितवन कांग्रेसीहरुले क्रान्तिकारी कांग्रेसी भन्ने गर्छन् । जिवनको लामो समय कांग्रेस पार्टीमा खर्चिएका उनी अहिले पनि उत्तिकैं सक्रिय रहेको बताउँछन् । 
कृष्णलाल १९९५ मा तत्कालिन बाग्लुङ जिल्ला हालको  म्याग्दी जिल्लाको फुलवारी गाउमा जन्मिएका थिए । २०१२ सालमा कांग्रेसको क्रियाशिल सदस्य बनेका उनी परिवारसहीत  २०१७ सालमा  चितवनको शिवनगर गाउपालिका (तत्कालिन गाविस) को भगवापुर गाउमा आएका थिए । बाग्लुङमा शिक्षण पेशामा रहँदैं गर्दा राजनितिक विचारले अभिप्ररित हुदैं कांग्रेसका सक्रिय उनले चितवन झर्दा आफ्नो सहीत १० परिवारलाई चितवन  ल्याएका थिए । तत्कालिन राप्ती धुन विकास विभागले वितरण गरेको जग्गामा उनी सहीतको परिवार वसाई सरेको थियो । त्यो वेला उनले ५ विघालाई सात मोहोर तिरेको बताउँछन् । 
 
२०१५ सालमा भएको आमचुनावको समयमा वाग्लुङ कृष्णलालको गाउ विपि चुनाव प्रचार प्रसारमा पुगेका थिए । त्यो बेला विपि सँग भएको भेटले कांग्रेसमा आफूलाई सक्रिय बनाउन भूमिका खेलेको उनी सम्झन्छन् । संसद विघटन गरी महेन्द्रले निरकुंशता जव लादेका थिए त्यो समय कांग्रेस भएर खुल्ला रुपमा काम गर्न नसक्ने  दिन थिए, ति दिन पनि कृष्णलाल कांग्रेसको संगठन निर्माणमा सक्रिय थिए । देखिएका कांग्रेसीहरु पनि कोही जेलमा हुन्थे, कोही भारत गएका थिए , कोही कांग्रेसीभएर पनि होइनौं भन्थे समय त्यस्तो थियो, उनी सम्झन्छन् । त्यो वेला केही गर्न सक्छ जस्तो लाग्यो भने प्रहरी प्रशासनले कांग्रेसीहरुलाई पक्रिहाल्थ्यो, नभन्दैं  बाग्लुङमैं रहँदा देखि सक्रिय उनी चितवन झरेको १५/२० दिनमा गिरफ्तारीमा परे । झण्डैं २ वर्ष भद्रगोल जेलमा कृष्णलाललाई राखियो । जेलवाट छुटेपछि सवैंले कृष्णलाल कांग्रेसी रहेछ भन्ने बुझे र उनको चितवनमा प्रभावमा बढ्न पुग्यो । कृष्णलाल २०१७ सालमा काठमाण्डौंमा भएको सातौं महाधिवेशनवाट महासमिति सदस्य भएका थिए । 
निरंकुशताका विरुद्ध भएको आन्दोलन सफल भयो, प्रजातन्त्र पुर्नस्थापित भयो । पंचायती व्यवस्थाको अन्त्य भयो । कांग्रेसप्रतिको विश्वास जनतामा झन् बढेर गयो । त्यो वेलाको कांग्रेस यस्तो कहा थियो र उनी भन्छन् विपि कोइराला, सूर्वण शमशेर, गणेशमान सिंहहरुको पाला कांग्रेसका लागि त्यो युग स्वर्णिम युग थियो । तत्कालिन समयमा राजाले प्रजातन्त्र मासेर थुपारेको पंचायती व्यवस्थाले अहिलेसम्म अवशेष बाँकी छोडेको उनी ठान्छन् । राजाले पंचायती व्यवस्था सुरु गरेसी त्यसले प्रजातन्त्र मात्र नभई चरित्र समेत मासेको उनको बुझाई छ । प्रजातन्त्र त आयो र चरित्र भने पंचायती व्यवस्था मासिएपनि नासिन नसक्दा पार्टीहरुमा अहिले  समस्या देखिएको उनी ठान्छन् ।   
पढेलेखेका मान्छ पनि अहिले छोइसक्नु छैनन् उनी भन्छन् यो त  कलियुग नैं हो, यो कलियुग कांग्रेस भित्र मात्र मात्र नभई सबैं पार्टीमा देखिएको छ ।  पार्टीहरुमा सही मान्छे छैनन् । 
 पंचायतले चरित्र परिवर्तन गरेको रहेछ, अहिले विस्तारैं त्यसको असर देखिदैंछ । उनी थप्छन्  पोखरी धमिलो भएपछि पानी कहा सङ्लो हुन्छ र ? अहिले धन आर्जनको लागि सत्तामा जान चाहने र शक्ति आर्जनका लागि जे पनि गर्न पछि नपर्नेहरुको वहुमत पार्टीहरुमा देख्छन् उनी । 
अव महत्वपूर्ण काम  चरित्र निर्माणको अभियान चलाउनुपर्ने ठान्छन् उनी । चरित्र नैं खराव भएकाको हातमा  पार्टी र सत्ता जाँदा देश डुब्ने खतरा उत्तिकैं रहेको उनको बुझाई छ । पहिला राजनिति सेवा थियो अहिले  पेशा भएको छ उनी भन्छन्  राजनितिलाई व्यापार बनाइएको छ, नाफा घाटाको माध्यम बनाइएको छ । 
अहिले राजनितिमा लाग्नेहरु ठेक्का पाइएला,जागिर पाइएला,घुस खान पाइएला, गलत काम गरे कारवाही वाट बच्न सकिएला भन्ने स्वार्थमा केन्द्रीत भएकाहरुनैं बढी भएको बताउने उनी जनता असल र नेता खराव नहुदा मात्रैं देशको विकास संभव रहेको बताउँछन् । खराव सोंच बोकेका र धनी शक्तिको नाफा घाटामा बढी ध्यान दिनेहरुकैं जमात पार्टीमा बढेको उनलाई लागेको छ । २ पटक मनोनित र २ पटक सर्वसम्मत चितवनका निर्वाचित सभापति रहेका कृष्णलाल कांग्रेस भएकै कारण जेल जानु पर्ने, प्रहरीको डण्डा खानुपर्ने, फासी जानुपनि पर्न सक्ने स्थितिवाट आफू आएकाले अहिले जे भैरहेको छ, यसले सही दिशामा पार्टी जान नसक्ने लागेको सुनाउँछन् । 
अहिलेको नेतृत्ववाट कांग्रेसले पार पाउन नसक्ने पक्षका उनी अहिले प्रतिपक्षमा कांग्रेस रहँदा चिन्ता गरिहाल्न नहुने बताउछन् । बरु यसलाई उपयोग गर्दै संगठन निर्माणमा लाग्नुपर्ने कृष्णलालको भनाई छ ।  
राम्रो काम गर्दै प्रशिक्षणहरु गर्दै जानुपर्दछ ।  अहिले पनि कांग्रसको संख्या छ, त्यसलाई व्यवस्थापन गर्न जरुरी छ । पार्टीमा अहिले नेतृत्वमा भएकाहरुले वदनाम कमाएका छन्, उनीहरुवाट अव हुँदैन । उनी भन्छन् विचार अनुसारको नेतृत्व आउनुपर्छ, पार्टी चल्ने जनताको विश्वासले हो, जुन जनताको विश्वास अहिले नेतृत्ववाट उठिसकेको छ, नेतृत्व परिवर्तन हुदा फेरि जनताले पत्ताउछन् । सरकारले गल्ती गर्दा प्रश्न उठाउदैं जनतामा प्रशिक्षण गर्दै अघि बढ्नुपर्दछ । 
स्थानीय,प्रदेश देखि केन्द्रीय तहको अधिवेशन महाधिवेशनहरु छिटो गरिनुपर्छ । पाका यी कांग्रेसी नेता भन्छन् एउटै पदमा २ कार्यकालभन्दा बढी वस्न नपाउने, एउटै व्यक्तिले एउटा भन्दा बढी कार्यकारी पद लिन नपाउने, योग्यताको आधारमा कार्यविभाजन र सिनियारीटीको आधारमा पद विभाजन, विधान अनुसारको व्यवहार, संस्थागत ढंगवाट पार्टी कार्यसंचालन अव कांग्रेस पुर्नजिवनको शर्त हुनपर्दछ । 
केही अवसर वा पद प्राप्तिकोलागि चाकडी गर्ने मानसिकता कार्यकर्ताहरुले समेत त्याग्न आवश्यक देखेका कृष्णलाल आफूभन्दा तहगत रुपमा माथि हुने वित्तिकैं ती नेताका गलत कार्यलाई पनि चुप लाग्ने संस्कृतिले पार्टीलाई घाटा गरिरहेको ठान्छन् । हुुकुमी शैलीले कांग्रेसलाई चलाउन खोज्दा यो अवस्था आएको बताउने उनले कांग्रेस सुधारका लागि  नेतृत्व, विधान अनि संस्कार परिवर्तन आवश्यक देखेका छन् । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा