धेरै बच्चा जन्माउन सुझाव

धेरै बच्चा जन्माउन सुझाव

जर्मनीको एउटा गाउँको जन्मदर एक्कासि बढ्न थाल्यो । सरकारी टोलीले अनुसन्धान गर्दा उक्त गाउँको बीचबाट बिहानको ४ बजे रेल कुद्न शुरु भएदेखि यस्तो भएको प्रतिवेदन बुझायो । जर्मनी जनसङ्ख्या नपुगेको देश हो । अब हाम्रो कुरा गरौं । अहिले नेपालको जन्मदर १ दशमलव ९ प्रतिशत । विश्वको १ थोप्लो १२ । हामी अल्छी भयौं या सचेत ? हामीलाई चाहिने जनसङ्ख्या कति ? कति ठीक, कति गलत ? सन् २००१ मा नेपालको जन्मदर २ थोप्लो ३ थियो । घट्नुको कारण के होला ? यसरी पनि नघटोस् कि युरोपमा जस्तो जनसङ्ख्या नबढेको चिन्ता सरकारले लिन परोस् ।

रातको नौ बजेपछि डोल्मा घडीको विज्ञापन बज्थ्यो । त्यसपछि परिवार नियोजनको अस्थायी साधनको विज्ञापन ‘दोस्रो बच्चा कहिले पहिलो स्कुल जान्छ जहिले... दुई सन्तान ईश्वरको बरदान’ पटक–पटक बजिरहन्थ्यो । रेडियो नेपालको व्यवस्थापनले कुन उद्देश्यले रात परेपछि परिवार नियोजनको अस्थायी साधनको विज्ञापन बढी बजाउँथ्यो, उनै जानुन् तर त्यसको प्रभावकारिता अवश्य थियो । नेपालमा दुई सन्तान वा एक सन्तान जन्माउने होड नै चल्यो । जनआन्दोलनले पारेको पारिवारिक विचलन र वैदेशिक रोजगारीले यसमा ठुलो असर पा¥यो । मृत्यु मानिसको शशमा हुँदैन, तर जन्म हुन्छ । जन्मलाई मानिसले बशमा पा¥यो । वास्तवमा जनसङ्ख्या नियन्त्रण गर्नु ठीक होइन । पृथ्वीमा २९ प्रतिशत जमिन र ७१ प्रतिशत पानी छ । २९ प्रतिशत जमिनमा बस्ने ७ बिलियन मानिसले खेतीपातीसहित केवल जमिनको ३ प्रतिशत मात्र अंश ओगटेको छ । हामीले ६ प्रतिशत प्रयोग गरेर ९४ प्रतिशतलाई पर्यावरण र अन्य जीवजन्तुलाई छोड्यो भने पनि वातावरणीय सन्तुलन बिग्रँदैन । अहिलेकै जन्मदर रहने हो भने सन् २१०० मा विश्वको जनसङ्ख्या ११ थोप्लो २ बिलियन पुग्नेछ । त्यतिबेला अत्याधुनिक समाजले उक्त जनसङ्ख्यालाई सहजै व्यवस्थापन गर्नेछ ।

भारत र चीन भीमकाय जनसङ्ख्या भएको दुई मुलुक हुन् । हामी संसारको सबैभन्दा बढी जनघनत्व भएको क्षेत्रमा नै पर्दछौं । चीनले सन् १९७९ मा लागू गरेको एकल बच्चाको कानून यतिबेला जनसङ्ख्याको महत्व बुझेर आंशिक खुल्ला गरेको छ । जनसङ्ख्या अर्थात् मानव साधनस्रोतको बलमा चीनले आज आर्थिक छलाङ मारेको छ भने जापानले जन्मदर माइनस ० थोप्लो २ सहित कामदार विदेशबाट झिकाउनुपरेको छ । याद रहोस् जापानमा हाल करिब २७ प्रतिशत जनसङ्ख्या ६५ वर्षभन्दा माथि उमेर समूहका छन् ।

कामकाजी जीवन, व्यस्त दैनिकी, आत्मकेन्द्रित प्रवृत्ति, प्रविधिको प्रयोगले एक्लै रमाउने बानी, कुकुर र बिरालोलाई नै सन्तानका रुपमा स्वीकारेर बच्चा चाहिँदैन भन्ने नयाँ पुस्ता, बच्चा हुर्काउन झर्को मान्ने आचरण इत्यादिले बिस्तारै नेपालीलाई पनि छुँदै छ । हामीलाई सबै आकर्षक जस्तो देखिने बस्तुले चाँडै छुन्छ ।

न्यूयोर्कको विलियम्सबर्ग भन्ने ठाउँमा ओर्थोडोक्स जुइसको ठूलो जनसङ्ख्या बस्दछ । यो जेरुसेलमपछिको संसारकै बाक्लो जुइस बस्ती हो । यी जुइसको औसत जन्मदर ६ रहेको छ । कसैको १३ बालबच्चा, कसैको १७ ओटा भन्दा सामान्य ठान्दछन् । त्यसपछि अर्को बच्चा बढी जन्माउनेमा मुस्लिमहरु पर्दछन् । अनि स्पानिसहरु । हामी भने पैसा समात्ने दौडमा परिवार बिस्तार गर्न पछाडि देखिन्छौं । भएको श्रीमान्–श्रीमती छुट्नु र नेपालमा भएका जोडीलाई बिर्सिएर यतै रमाउनेहरुको कथा बिस्तारै लेख्दै गरौंला । अहिलेलाई सन्तान कम जन्माउनेहरुलाई नै कोट्याउँछु ।

परिवारको दुई किसिमको ढाँचा हुन्छ । जोइन्ट फेमेली सिस्टम र न्यूक्लियर फेमेली सिस्टम । पहिलो पूर्वीय संस्कार, दोस्रो पश्चिमा । सभ्यताको विकास पूर्वबाट शुरु भए पनि पश्चिमाको प्रभावले जित्दै गएकाले अब हामी पनि थोरै सन्तान बनाउने र १८ वर्ष लागेपछि घरबाट बाईबाई गर्ने परिपाटी पछ्याउँदै छौं । आखिर सन्तान, सन्तती, संस्कार र समुदाय नै सुखी जीवनको साँचो हो । ठूलो परिवारभित्र सुखदुःख जे परे पनि भोग्न सहज हुन्छ । हामी यति यान्त्रिक भइसक्यौं कि मानवीय गतिविधिभन्दा रोबोटको गतिविधिमा जीवन खोज्छौं । मानवलाई मानव बनाइराख्ने माया र ममता हो, जसको शुरुवात परिवारबाट हुन्छ । परिवारलाई पिरामिड जस्तो बनाउनु पर्छ ।

ygshdngl@yahoo.com

 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा