प्रवास बसाइँ, नसा नेपाली राजनीतिकै

प्रवास बसाइँ, नसा नेपाली राजनीतिकै

२०३६ सालको जाडो आलुमा लाग्ने डडुवा नामक रोगले आलु खेती सखाप पारेको थियो । सबैले दोष आगामी जनमत सङ्ग्रहलाई दिन्थे । कोही–कोही राजा वीरेन्द्रको दशा बारीमा स¥यो भन्थे । विद्यार्थी आन्दोलनको सफलतापश्चात् राजा वीरेन्द्रले जनमत सङ्ग्रहको घोषणा गरेका थिए सायद ।

चिया पसलमा बिस्तारै बीपी, गणेशमान र काङ्गेसबारे खासखुस आवाज सुनिन थालेको थियो । गाइँगुइँ चीनतिरको माओको मृत्यु र भारतले सिक्किम लिएको कुरा हुन्थ्यो । भारत–पाकिस्तान युद्ध, बङ्गलादेश जन्मनुका कारण अमेरिका र रसियाको हात आदि बहस हुन्थे । हामी स–साना भएकाले कहिले कुरा नसुन्नु भनिन्थ्यो, कहिले लखेटिन्थ्यो । कसैले हामीलाई काङ्ग्रेस हुन्छ भन्थे, कसैले कम्युनिष्ट । सबैको ध्यान आकाशवाणी र समाचार स्रोत चाहिँ अल इन्डिया, बीबीसी, रेडियोको नेपाली समाचार मुख्य थियो । घरमा पाकेको खाना कुराएर कचहरीमा समय बिताउँथे मानिसहरू ।

पूर्वनिर्वाचित वडाअध्यक्षको नाताले होला हरेक हप्ताजस्तो हाम्रो फलैंचामा कचहरी भइरहन्थ्यो । दाजु कृष्णराज पौडेल प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँ पाखा पिंढीमा घोडा बाँधेर हु्क्का तानेर सभापतिको आशन ग्रहण गर्नुहुन्थ्यो, तर अन्तिम निर्णय गर्नुअघि साना बा (बुबा)सँग सल्लाह लिनु हुन्थ्यो । हामी हाँडीको मोसोमा तेल हालेर ल्याप्चे बनाउँथ्यौं । कहिलेकाहीं नेपाली कागजमा तमसुक पनि लेखिदिन्थ्यौं । लिखितम् धनीका नाम ... । लाइन सिधा नबन्दा गाली खाइन्थ्यो ।

समाजका सानादेखि ठूला मुद्दा छिनिन्थे । दुवै पक्ष राजी हुन्थे, जाडोमा चिया र गर्मीमा सर्बत बाँडिन्थ्यो । सभा सकिएपछिको शून्य समयमा देश–विदेशको बहस हुन्थे । मलाई सामाजिक शिक्षा मन पर्ने भएकाले राजनीतितिर अलि ध्यान दिन्थें । बेलाबेलामा राम्रै खप्की खाइन्थ्यो ।

जाडो सकिएको थियो, हरेक दिन हिम उप्रेती दाइ आउन थाल्नुभयो । उहाँको हातमा सबै निलो पोष्टर, मतपत्र र स्वस्तिक चिह्न हुन्थे । रूमालमा पोको पारेर ल्याउने भएकाले खोलेपछि देखिन्थ्यो, हामी ध्यान दिएर हेथ्र्यौं । जेठमा चुनाव जनमत सङ्ग्रह हुँदै थियो । हामीलाई एक–एक जोर थप स्कूल ड्रेस किनियो, जो नयाँ आकाशे रङ्गको थियो । हामीलाई भोट हाल्ने रङ्ग हाम्रो स्कूल यूनिफर्म भएकाले प्रचार गर्न सजिलो भएको थियो र हामीलाई अघोषित कार्यकर्ताका रूपमा प्रयोग गरियो । कसैले पहेंलो (पञ्चायत)मा भोट हाल्ने कुरा गरे हामीलाई खबर गर्न भनिएको थियो । हामी नमुना मतपत्रमा स्वस्तिक छाप लगाउँदै सर्टको रङ्गमा भोट माग्थ्यौं । पछि बिस्तारै थाहा भयो– हिमदाइ, काङ्ग्रेसको नेता भएको । हामीलाई बहुदल निर्दल के हो, पञ्चायत के हो ? किन निर्दल (पञ्चायत)मा भोट हाल्न हँुदैन, सिकाउनु हुन्थ्यो । हामी सकेसम्म कपी गथ्र्यौं । हाम्रो गाउँ पूरा नीलो थियो । जनमत सङ्ग्रहको रिजल्ट आउँदा सबै दुखी थिए । हिमदाइकै नेतृत्वमा पछि पञ्चायत भवन हान्ने काम भयो र पञ्चायत भवन अमारे सारियो । उहाँप्रति व्यावहारिक साइनोको अलावा एक क्रान्तिकारी नेताका रूपमा हामी इज्जत गथ्र्यौं । जनमत सङ्ग्रहताका हाम्रो सहयोगी भूमिकाका कारण हो कि हामीलाई पनि सधैं माया गर्नुहुन्थ्यो ।

३८–३९ सालको चुनावताका हाम्रो गाउँमा राजनीतिक सरगर्मी बढेको थियो । डा. प्रकाश र पीएचडी हामीलाई अर्कै ग्रहबाट आएको जस्तो लाग्थ्यो । अर्जुन केसी र गणेश पण्डितको नाता र कथा सुन्न रमाइलो लाग्थ्यो । यादव सर, चित्रकुमारी मिस, सुदर्शन पाण्डेहरूले ११ विद्यार्थी लिएर भूमिगत अखिलको सङ्गठन खोल्नुभयो । हामीलाई काङ्ग्रेस मानिन्थ्यो र खबरियाको व्यवहार गर्थे बैकुण्ठ पाण्डेहरू, जो अध्यक्ष थिए । अहिले काङ्ग्रेसको क्षेत्रीय अध्यक्ष छन् । पछि महाप्रसाद र चण्डी सर आउनुभयो । चण्डी सर अखिलको र महाप्रसाद पूरै काङ्ग्रेस । हामीलाई चण्डीसरसँग सङ्गत नगर्न भनियो, यिनीहरूले आमा दिदी भन्दैनन्, छोट्टा हुन्छन्, धर्म मान्दैनन्, यिनीहरू कुजात हुन्छन् भनियो । सङ्गत गर्दै जाँदा चण्डीसर बिल्कुल फरक, सहयोगी, उहाँ राजनीति मात्र विश्वविद्यालयमा हुनुपर्छ । कलिला बच्चाहरूको ध्यान पढाइमा ज्यादा केन्द्रित रहोस् भन्नुहुन्थ्यो । हामी बिस्तारै उहाँतिर तानिन्थ्यौं । बेलाबेलामा प्रेरक कथा सुनाउनु हुन्थ्यो । पछि थाहा पाएँ– त्यो जनवादी कथा रहेछ । बमकाण्डपछि जेल पर्नुभएको उहाँ कहिल्यै फर्किनु भएन । यता महाप्रसाद भने हामीलाई चण्डीसरको चियो गराउन खोज्नु हुन्थ्यो, कम्युनिष्टको सङगत गरे पाप नै लाग्छ, तिनीहरू मतीभ्रष्ट हुन्छन् सङ्गत नै नगर्नु भन्नुहुन्थ्यो । तर, पछि उहाँकै बहुविवाह भएको जानकारी बाहिर आयो । उहाँको कम्युनिष्टप्रतिको धारणा त काङ्ग्रेस स्कूलिङ र प्रशिक्षणको नतिजा रहेछ । नेपाली काङ्ग्रेस स्कूल राजनीतिमा पछि परेका कारण नै यही हो । खानदानी जो–जो आज्ञाकारी हुन्छन्, त्यो काङ्ग्रेस बन्छन, जो थोरै चासो राख्छन् समयानुकूल चल्न खोज्छन् तिनीहरू कम्युनिष्टतिर तानिन्छन् । अध्ययन सामग्रीले नै मान्छेको विचार र भावनामा बलियो आधार बनाइसक्ने रहेछ ।

हाइस्कूल पढ्न जाँदा यदाकदा अखिलको कार्यक्रम हुन्थ्यो । केशव, बैकुण्ठ, रामहरि, श्यामकुमार, उदय जो–जो जुङावाल थिए, सबै लुकीलुकी अखिलको कार्यक्रम गर्थे । राति–राति पोष्टर टाँस्ने काम गर्दा रहेछन् ।

बैकुण्ठ फेल भएपछि स्कूल छोडेका केशव पाण्डे, सुदर्शन, गणेश, नेपाली सरहरू सबै तत्कालीन मालेका कार्यकर्ता रहेछन् । रामहरि सचिव र श्यामकुमार अध्यक्ष थिए, उदय अध्यक्ष नपाएर विद्रोही बनेका रहेछन् । दुवै जना लड्ने तयारी भएकाले माइनुटिङ गर्न रामहरिले मलाई बोलाउनुभएको रहेछ । स्कूलको पाटीको उपल्लो तल्लामा मिटिङ थियो । बाहिर बहाना खोजेर एकआपसमा ग्याङ फाइट नै हुन्थ्यो । मिटिङपछि स्थिति सामान्य हुन्थ्यो । सबैको कुरा सकिएपछि मैले माइनुटिङ गरिदिएको थिएँ । मेरो नाम कतै उल्लेख नगरिने शर्तमा गएको थिएँ, त्यही भयो । हेडसर दिगम्बर साह सप्तरीबाट आउनुभएको अति कडक अनुशासन थियो । स्कूलमा केही गलत गरे सिमलीको भाटा भाँचिन्थ्यो । राजनीतिप्रति अलि उदार हुनुहुन्थ्यो । पछि थाहा भयो– उहाँ काङ्ग्रेसको ठूलो नेता हुनुहुँदो रहेछ ।

स्कूलमा भूमिगत राजनीति गर्नेहरूमा रामहरि र केशवबाहेक बाँकी सबै नेपाली काङ्ग्रेसमा छन् । अर्जुननरसिंह केसीको काङ्गेस पुनरागमनसँगै हिजोको पञ्च र खाओवादी, पूरै जाली–फटाहा पुनः काङ्ग्रेस बने भने हामीलाई फेरि नवकाङ्गेसले कम्युनिष्ट देख्न थाले । लोकजंग सर, ध्रुव अधिकारी, हिमदाइजस्ता पक्का काङ्ग्रेस पाखा लागे ।

आज नेपाली काङ्गेसको नियती र पार्टी पद्धती नै यही बनेको छ । राम्रा पाखा लाग्छन्, नराम्राले रजाइँ गर्छन् । डम्पिङसाइट जस्तो । जो–जो, जे–जे खसे, सबै काङ्गेस बने । न त वैचारिक चिन्तन चाहिन्छ, न अध्ययन नै छ । बीपीले भारतमा दुःखले सङ्गठित गरेको राजनीति आज मर्यादाहीन बनेको छ । हिजो नेपालमा नेताको सालो, ड्राइभर, पियन, गोठालो सबै ठूला–ठूला नेता बनेका छन् । पार्टी संस्कार नै छैन, एकअर्काप्रति सम्मान नै छैन । पार्टी पद्धतीमा सङ्गठन, झण्डाको माया हुनुपर्ने हो, त्यो पनि छैन । नेता अमेरिका आउँदा पछि लाग्ने, घुमाउने, फोटो खिच्ने, भाषण गर्ने र दुई–चार दिन सबै मिलेको नाटक गर्छन् । एक महिनापछि पुनः हालत उही भइहाल्छ । वर्षमा एक–दुई पटक ब्लड डोनेसन गर्नेभन्दा खास साङ्गठनिक औचित्य नै छैन । एकाध राम्रा कार्यकर्ता छन्, जसले आफ्नो काम छाडेर पनि समाज सेवा गरेका छन् । त्यसको मूल्याङ्कन गरिदिने कोही छैनन् ।

मलाई मदन भण्डारीको भाषण सुन्दा नेपालमा संसार हाँक्न सक्ने नेता भएको भान हुन्थ्यो । उहाँको भाषण बुझ्न धेरै कोसिस पनि गरें, वाकमेन नै किनेर भाषण सुन्थें । मलाई भैरव अर्याल र मदन भण्डारी मात्र नेपाल र नेपाली बुझेको मान्छे हो जस्तो लाग्छ । भैरव अर्यालको नेता नम्बर १०१ अहिले पनि दुरूस्तै मिल्छ ।

यता मदन भण्डारीको मृत्युपश्चात् टुहुरो बनेको एमाले सङ्गठनको हालत पनि विकराल छ । गुट–उपगुटमा विभाजित भएर तत्कालीन थापा–पाण्डे गुटभन्दा पनि कटाक्ष छ । एउटाले अर्काको अस्तित्व नमान्ने, सकेसम्म सिध्याउनै खोज्ने । जसरी हुन्छ आफ्नो गुटलाई माथि तान्ने । न्यूट्रल र राम्रो कार्यकर्ताको मानमर्दन गर्ने वा निरुत्साहित पार्ने । पार्टी एक ठेक्कापट्टा ठेकेदार समूह जस्तो भएको छ । स्नेह, भातृत्व, आदर र सम्मान पटक्कै छैन । एक गुट अर्को गुटसँग मुख लगाउन र देखादेख गर्न पनि चाहँदैनन् । एमालेको वर्गीय सङ्गठन पार्टीलाइनभन्दा अलि फरक हुन्थ्यो । सही र गलत छुट्याउन सक्थ्यो, तर यता प्रवासमा सामाजिक सङ्गठनको प्रस्तावना लिएर पार्टी गुटमा अल्झिनु कति दुःखद् कुरा होला ।

मसँगै जे–जति पनि पार्टी कार्यकर्ता प्रवास आए । चरम राजनीतिक उत्कर्षता बोकेर नै आए । आज नेपालमा नेपाली समाजको साेंचमा आमूल परिवर्तन आइसक्यो, तर प्रवास २०४६ सालतिरको राजनीति गर्दै छ । वामले काङ्ग्रेस विश्वास नै नगर्ने, काङ्गेस वामहरूलाई सरकार नै लगाएर खेद्न चाहने । यता केही काला कार्यकर्ताहरूबाट आउने चुनावमा आफ्नो टिमलाई जिताउन लबिङको उद्घोषण नै भइसकेको छ । राष्ट्रिय राजनीतिमा निकास दिन नसक्ने राजनीतिज्ञका झोले चेलाहरूले प्रवासमा एनआरएन जस्तो गैरराजनीति भएको सामाजिक संस्थामा के गर्लान् र खै ? यो सबैको चासोको विषय भएको छ ।

हामीले सिकेको आदर्श, संस्कार, आदर, सद्भाव सबै सकिएको छ । हामी प्रत्येकको राजनीतिक पृष्ठभूमि हेर्ने हो भने समसामयिक नेताहरूको भन्दा कम छैन । तर, हामीलाई एउटाको झोला बोकेर नेपाल फर्कनु छैन । मैले नेपालमा एक पटक स्थानीय चुनावमा काङ्गेसमा भोट हालेको हो । प्रवासमा एक कार्यकाल प्रवासी मञ्चमा काम गरेको हो । मैले प्रवासी मञ्चबाट राजीनामा दिइसकें र म कुनै पार्टी, म को हो र कताको हुनुपर्ने हो ? मैले आस्था किन बोकिरहनुपर्ने हो, ताजुब लाग्छ ।

हामीलाई अहिले प्रवासको मुख्य चुनौती भनेको नै यही ऊर्जाशील, तर अलमल जनशक्तिलाई कसरी स्थानीय मूलधारमा तान्ने वा कसरी राजनीतिक सोंचलाई सामाजिकीकरण गर्ने भन्ने हो । सामूहिक र साङ्गठनिक रूपमा प्रस्तुत भएर आफ्नो आवाज राख्न तत्काल यहाँ अमेरिकी मानो खाएर अमेरिकी माटोमा रमाउने एउटा प्लेटफर्मको आवश्यकता छ । यो केही हदसम्म एनआरएनले पूरा गर्न सक्छ । तर, चिन्ता यहाँ एनआरएन पुरातन राजनीतिक भयावहतिर तानिँदै छ । सामाजिक स्वार्थको वैज्ञानिक आधार र विना राजनीतिक सामूहिक धरातल निर्माण गरेर कङ्क्रिट गर्न नसके एनआरएनको औचित्य समाप्तितर्फ उन्मुख छ ।

आगामी एनआरएन निर्वाचनलाई नेपालको पुरातन राजनीतिबाट तानेर सामूहिक सङ्गठन बनाउनु हरेक नेपालीको कर्तव्य हो । सबैको सहभागिता र स्वामित्व र अधिकार, एनआरएनको सामाजिक आधार । हामीले सामूहिक सोंच राख्ने टीम प्लेयर खोज्नुपर्ने संवेदनशील बेला हो यो । सकेसम्म राजनीतिबाट हट्न सक्ने र स्थानीय सामाजिक पहुँच बनाउन सक्ने कुशल मान्छे चिन्न र चुन्ने बेला हो यो । रहर गर्नेलाई होइन, काम गर्नेलाई खोजौं । प्रवासमा नेपालको छुट्टै पहिचान बनाउने प्रयत्न गरौं ।

जय प्रवास, जय नेपाली ।

न्यूयोर्क

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा