एनभीसीमार्फत केस अघि बढाउन मिल्छ कि मिल्दैन होला ?

एनभीसीमार्फत केस अघि बढाउन मिल्छ कि मिल्दैन होला ?
रमेश श्रेष्ठ

मैले ग्रीनकार्ड प्राप्त गरेपछि मेरो उमेर पुगेको छोरालाई ग्रीनकार्डका लागि भिसा पेटिसन केही वर्ष अघि पेश गरेको थिएँ । अब भिसाको पालो आयो भनेर एनभीसीले चिठी पठायो । तर, गत साल छोराको विवाह परम्परागतरुपमा सम्पन्न भए पनि दर्ता भने गरेको छैन । अब यो अवस्थामा उक्त भिसा पेटिसनको अवस्था के रहन्छ र उक्त पेटिसनलाई एनभीसीमार्फत केस अघि बढाउन मिल्छ कि मिल्दैन होला ? कृपया बताइदिनु भए आभारी हुने थिएँ । धन्यवाद ।

– पी. भट्टराई, न्यूयोर्क

पारिवारिक पेटिसनको आधारमा बुबाआमाले आफ्नो अविवाहित उमेर (२१ वर्ष) पुगेका छोरा वा छोरीलाई ग्रीनकार्डका लागि आई–१३० पेटिसन पेश गर्न सकिने व्यवस्था छ । तर, अध्यागमनको कानूनअनुरुप यदि सो अविवाहित छोराछोरीले विवाह गरेको खण्डमा उक्त पेटिसन कानूनी तवरबाटै रद्द वा काम नलाग्ने हुन जानेछ । तर, यस्तो अवस्थामा यदि ग्रीनकार्ड होल्डर बुबाआमा (अर्थात् पेटिसनर)ले अमेरिकी नागरिकता प्राप्त गरिसकेको खण्डमा उक्त बेनेफिसियरी छोराछोरीले विवाह गरे तापनि सो निवेदन अटोमेटिकली फेमिली थर्ड प्रिफरेन्स अर्थात् अमेरिकी नागरिकको विवाहित छोरा तथा छोरीको क्याटगोरीमा पर्न जानेछ र सो पेटिसन स्वतः खारेज हुनबाट बच्नेछ । तर, भिसा बुलेटिनमा इमिग्रान्ट भिसा उपलब्ध हुन आएमा र उक्त एफ–२बी का बेनेफिसियरीले विवाह नगरेको खण्डमा सजिलै एनभीसीमार्फत कन्सुलर प्रोसेसिङ गरेर यूएस कन्सुलेट अफिसबाट इमिग्रान्ट भिसा प्राप्त गर्न सक्नेछ । तर, यदि तपाईंको जस्तो अवस्था पर्न गयो अर्थात् एफ–२बी बेनेफिसियरीले विवाह गरिसकेको र पेटिसनरले अमेरिका नागरिकता पनि प्राप्त गरिसकेको छैन भने निवेदन स्वतः खारेजीको परिस्थितिमा आउन सक्छ र उक्त छोरा वा छोरीले उक्त निवेदनमार्फत ग्रीनकार्ड प्राप्त गर्न सक्नु हुनेछैन । तर, उपायको सन्दर्भमा भन्ने हो भने यदि परम्परागतरुपमा भर्खरै विवाह भएको, तर कानूनीरुपमा दर्ता गरिनसकेको भए पेटिसनरले योग्यता पुगिसकेको भए सक्दो छिटो अमेरिकी नागरिकताको प्रोसेस गरी नागरिकता लिएको खण्डमा उक्त नागरिकता प्राप्त गरे सो एफ–२बी क्याटगोरीको भिसा पेटिसन सजिलै सँग एफ३ भिसा क्याटगोरीमा परिवर्तन हुनेछ । सो परिवर्तन गर्नका लागि कुनै निवेदन युएससीआईएसमा पेश गर्न पर्दैन, तर भिसाको प्रोसेस गर्नका लागि एनभीसीलाई परिवर्तित वैवाहिक स्थितिका बारेमा जानकारी गराउनुपर्ने हुन्छ । सो सूचनाका आधारमा एनभीसीले भिसा प्रोसेस गर्नेछ ।

तर, यो अवस्थामा एफ–२बी बेनेफिसियरीको विवाह दर्ता र पेटिसनरको नागरिकता प्राप्त गर्ने टाइमिङ अति नै महत्वपूर्ण हुनेछ । त्यसैले अनुभवी कानूनी सल्लाहकारको सहयोग लिन सुझाव छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा