गाउँबाट उदाएकी फुटबलर लक्ष्मी– यसरी बढाइन् दुनियाँमा नेपालको सान

गाउँबाट उदाएकी फुटबलर लक्ष्मी– यसरी बढाइन् दुनियाँमा नेपालको सान

न्यूयोर्क । फुटबल, नामै सुन्नेबित्तिकै नेपालका हर तन्नेरीदेखि बूढापाकासम्मकै कान ठाडा हुन पुग्छन् । यो खेलप्रति नेपालका कुना–कन्धरासम्म फैलिएको बेजोड प्रेमकै कारण नेपाली टोली दक्षिण एसियामा शक्तिशाली टोलीका रुपमा लामो समयदेखि स्थापित छ । गाउँ–गाउँमा कपडालाई डल्लो पारेर डोरीले बाँधी बल बनाएर खेलिरहेका दृश्य धेरैतिर देखिन्छ । यसरी कपडाको बलबाटै फुटबलसँगको सानिध्यता सुरु गरी राष्ट्रिय–अन्तर्राष्ट्रिय छवि बनाउन सफल नेपाली महिला खेलाडी हुन्– लक्ष्मी पौडेल ।

पौडेल जन्मेको रौतहट जिल्लास्थित बागमती गाउँमा पनि फुटबलको रौनक नेपालमा अन्य ठाउँ जस्तै उत्साहजनक नै थियो । गाउँका तन्नेरी केटाहरु सबै फुटबल खेल्न नजिककै बागमती माविको मैदानमा दिनहुँ भेला हुन्थे । लक्ष्मी पौडेल भने एक किसिमकी अपवाद थिइन् । गाउँमा आफूसँग फुटबलका लागि घरबाट बाहिरिने किशोरी धेरै थिएनन् । त्यसैले उनी स्थानीय दाइहरुसँग खेल्दै फुटबलमा रमाउन थालिन् । खेलमा उनको लगाव र कौशलबाट स्थानीयहरु मज्जैसँग लोभिएका थिए । उनी आफूलाई पनि फुटबलबाट टाढा जान मन थिएन । स्थानीय अगुवा दाइहरुको सहयोगमा थाहा पाइन्, जिल्लाको चन्द्रनिगाहपुरमा फुटबल सिकाउने गुरु छन्– शेरबहादुर दर्लामी । २०६० सालमा उनी केही साथीलाई लिएर गुरु दर्लामीकहाँ पुगिन् । अब उनी फुटबलको औपचारिक शिष्य बनिन् । गुरु दर्लामीबाट खेलका प्राविधिक सीप र रणनीतिहरु सिक्न थालिन् । स्कुलबाट जिल्लास्तरका प्रतियोगिता खेल्दै थिइन् । एकपछि अर्को ठाउँमा गएर खेल्न थालेपछि २०६३ सालमा उनी सशस्त्र प्रहरीको एपीएफ क्लबको नजरमा परिन् । उनको कौशलबाट लोभिएर क्लबले काठमाडौं बोलायो । सुरुमा तीन महिना करारमा राख्यो । त्यसपछि खेलाडीका रुपमा जागिर नै प्रस्ताव ग¥यो ।

अब उनका दिन काठमाडौंमा बित्न थाले । एपीएफको मैदानमा नियमित प्रशिक्षण हुन थाल्यो । देशभरका विभिन्न प्रतियोगितामा भाग लिन जान थालिन् । मिडफिल्डमा उनलाई टक्कर दिने खेलाडीको मुलुकमै अभाव देखिन थाल्यो । नभन्दै सन् २०१० मा उनको सपनाको दिन आयो । उनले राष्ट्रिय टिममा डेब्यु गरिन् । बङ्गलादेशको ढाकामा सम्पन्न ११औं साउथ एसियन गेममा उनले पहिलो पटक राष्ट्रिय जर्सी पहिरिइन् । सानदार प्रदर्शन गर्दै नेपाली महिला फुटबल टोली उक्त प्रतियोगितामा दोस्रो भएको थियो । त्यही वर्ष बङ्गलादेशमै साउथ एसियन फुटबल फेडरेसनको आयोजनामा सम्पन्न भएको पहिलो वुमन्स साउथ एसियन फुटबल च्याम्पियनसिपमा पनि लक्ष्मी सहभागी नेपाली टोली दोस्रो नै भएको थियो ।

त्यसको दुई वर्षपछि श्रीलङ्कामा आयोजना भएको दोस्रो वुमन्स फुटबल च्याम्पियनसिपमा पनि नेपाल दोस्रो भएको थियो भने टोलीको प्रमुख मिडफिल्डरको भूमिका लक्ष्मीले नै निभाएकी थिइन् । अन्तर्राष्ट्रिय फुटबलमा पुरुषभन्दा नेपालको महिला टोली अगाडि छ । फिफा बरियतामा नेपाली पुरुष टोली १ सय ६५ स्थानमा छ भने महिला टोली १ सय २ स्थानमा । लक्ष्मीजस्ता प्रतिभाशाली खेलाडीकै कारण महिला टोली अगाडि रहन सफल भएको हो । लक्ष्मी सम्मिलित राष्ट्रिय टोलीले सन् २०१३ मा कुवेत र कतारलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको थियो । सन् २०१६ मा भारतमा आयोजित साफ गेममा पनि उनी सम्मिलित नेपाली टोली दोस्रो भएको थियो । लक्ष्मीले यही वर्ष विश्वभरका महिला फुटबल खेलाडीहरुले गिनिज वल्र्ड रेकर्ड बनाएको इक्वल प्लेइङ फिल्डमा पनि सहभागिता जनाएकी थिइन् । अफ्रिकाको सबैभन्दा अग्लो पहाड किलिमञ्जरो एवम् जोर्डनको मृत सागरमा ३० देशका ५६ खेलाडीले सहभागिता जनाएका थिए । उक्त खेलमा लक्ष्मी नेपालको प्रतिनिधित्व गर्दै जोर्डनमा खेलेकी हुन् ।

अन्तर्राष्ट्रियसँगै उनले राष्ट्रिय प्रतियोगितामा समेत दर्जनौं पुरस्कार एवम् अवार्ड जितेकी छिन् । राष्ट्रिय टोलीमा सहभागी हुनुअगावै सन् २००८ मा गृहजिल्ला रौतहटमा आयोजित क्विक्स अन्तर क्षेत्र महिला फुटबल प्रतियोगितामा उनी सर्वाेत्कृष्ट मिडफिल्डर चयन भएकी थिइन् । उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताबाट लाखौं पुरस्कार प्राप्त गरेकी छिन् । हरेक अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सफलताका कारण उनलाई राज्यले पटक–पटक सम्मान प्रदान गरिसकेको छ । आफ्नो बाल्यकालदेखिको फुटबलमा स्थापित हुने सपना आज साकार भएको पाउँदा धेरै खुसी लागेको लक्ष्मी बताउँछिन् । न्यूयोर्कको शेर्पा समुदायले आयोजना गर्ने शेर्पा किदुक फुटबलमा पनि उनी पछिल्ला दुई वर्ष लगातार सहभागी भइसकेकी छिन् । दुबै पटक उनी सम्मिलित टोलीले ट्रफी जितेको थियो भने उनी उत्कृष्ट गोलकर्ता चयन भएकी थिइन् । उनको राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचानका कारण रौतहटस्थित मुनड्रप्स वाटरले उनलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा