लिम्बुहरूले देउसी–भैलो खेल्दै मनाए तिहार बलिहाङ तङ्नाम

लिम्बुहरूले देउसी–भैलो खेल्दै मनाए तिहार बलिहाङ तङ्नाम

न्यूयोर्क । अमेरिकामा बसोवास गर्दै आएका लिम्बु सुमदायले आफ्नो महान चाड तिहार ‘बलिहाङ तङ्नाम’ देउसी–भैलो खेल्दै भव्य रुपमा मनाएका छन् । आफ्नो मौलिक पहिचान र संस्कृतिलाई जर्गेना गर्ने र अमेरिकामा भएका पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यले गत शनिबार न्यूयोर्कमा उक्त देउसी–भैलो कार्यक्रमको आयोजना गरिएको हो । किराँत याक्थुङ चुम्लुङले आयोजना गरेको उक्त कार्यक्रममा लिम्बु समुदायका तीन महापुरुष इमानसिंह चेम्जोङ, श्रीजंगहाङ थेबे र फाल्गुनन्द लिङ्देनको तस्वीरमा सम्मानसहित माल्यार्पण गरिएको थियो ।

विगतका वर्षहरुमा लिम्बुहरुले आ–आफू भेला भएर तिहार मनाउँदै आए पनि यस पटक सम्पूर्ण नेपाली समुदायलाई आमन्त्रण गरेर पहिलो पटक भव्य रुपमा देउसी–भैलो खेल्दै तिहार मनाएको हो । 

नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा केलाङ समूहद्वारा लिम्बु समुदायको मौलिक नृत्य च्याब्रुङ नाच देखाइएको थियो भने गायक तथा नेपाल अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढामगरको नेतृत्वमा देउसी भाकामा देउसी–भैलो खेलिएको थियो ।

औपचारिक र सांस्कृतिक गरी दुई चरणमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङका सचिब राम लिम्बु, नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत कृषु क्षेत्री, नेपाल आदिवासी जनजाति अमेरिका (फिप्ना)का अध्यक्ष मानबहादुर रानामगर लगायतले लिम्बु समुदाय र सम्पूर्ण नेपाली समुदायप्रति दिपावलीको शुभकामना व्यक्त गरेका थिए ।

गायिका लिला सिंगकले लिम्बुवान आमालाई सम्बोधन गर्दै लिम्बु भाषाको गीत सुनाएकी थिइन् । बसन्त डान्स सेन्टरबाट साना नानीहरुको विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो भने चर्चित गायिका आभा गुरुङले आफ्ना गीतहरु प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा विशेष योगदान पु¥याएको भन्दै कलाकार सुमन बुढामगर, रुपा याखास र भीमा देवानलाई सम्मान गरिएको थियो ।

हामीले कहिले सिक्ने ?

उडसाइड नजिकैको गुल्सन ट्यारेसमा कार्यक्रम ठीक सात बजे सुरु हुने भनिएको थियो । निमन्त्रणा गर्दा समयमै (सार्फ ७ बजे) सुरु हुने भनिएकोले हामी हतारिँदै सात बजे त्यहाँ पुगेका थियौं । अमेरिकाको भ्रमणमा रहेकी राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिना, नेपाली कांग्रेसकी सक्रिय नेता तथा महासमिति सदस्य मृदुला कोइराला, ओहायो युनिभर्सिटीका पूर्व प्राध्यापक डा. गोविन्द कोइराला, समाजसेवी श्यामकाजी गुरुङ लगायतको टोली ७ नबज्दै त्यहाँ पुगेका थियौं । कार्यक्रममा साना बालबालिकाको नृत्य प्रदर्शन गर्ने भएकाले कार्यक्रम सुरु नहुँदै त्यहाँ आइपुग्न भनिएको थियो । मेरो ७ वर्षे छोरीसहितको समूह पनि नृत्यमा सहभागी हुने भएकाले म समयमै पुग्न निकै हतारिएको थिएँ । प्राध्यापक डा. कोइराला भन्दै हुनुन्थ्यो– ‘नेपालीहरुले कहिल्यै समयमा सुरु गरेको अनुभव छैन, तर म भने सधंै समयमै पुग्ने गर्छु ।’ हामीहरु हतारिँदै त्यहाँ पुग्दा फाट्टफुट्ट सहभागीहरु आउन थालेका रहेछन् । हामी कतिबेला कार्यक्रम सुरु होला भन्ने पर्खाइमा थियौं । ८ बज्यो कार्यक्रम सुरु हुने अत्तोपत्तो छैन । कार्यक्रम सञ्चालनमा निकै ढिला भयो भन्नेमा आयोजक पक्षलाई अलिकति पनि बोध थिएन । ९ बजेपछि बल्लतल्ल कार्यक्रम सञ्चालन गर्ने तयारी भयो । अनि सुरु भयो आसन ग्रहण र भाषण ग्रहण ।

स्टेजमा समूह–समूहलाई बोलाउँदै खादा लगाउने कार्यक्रम जारी रह्यो लगभग १ घण्टासम्म । कार्यक्रममा सहभागी आधा जतिलाई आसन ग्रहण गराउँदै र स्टेजमा बोलाएर खादा लगाउँदैमा करिब १० बज्न लागेको थियो । किन हामी अझै पनि कार्यक्रमलाई छोटो छरितो बनाउन सक्दैनौं ? आसन ग्रहण, खादा, सम्मान, भाषण नगरिकन कार्यक्रम सुरु गर्न सकिँदैन ? अमेरिकीहरुले सञ्चालन गरेका कत्रा–कत्रा कार्यक्रम आसन ग्रहण नगरिकनै सुरु हुन्छन् त । उनीहरुको राम्रो कुरालाई हामीले कहिले सिक्ने ?

कार्यक्रममा बच्चादेखि बूढासम्म सबैको उपस्थिति थियो । हलभित्र म्युजिकको तिखो आवाजले कतिपय सहभागीहरु झर्को मानिरहेका थिए । कार्यक्रम सुरु हुन नसकेपछि हलभित्रको वातावरणलाई पनि अलिकति सहज बनाउन सकिन्थ्यो । म्युजिकलाई थोरै मात्रै सानो आवाज गराएको भए पनि कार्यक्रम हलभित्र पुगेकाहरु एकअर्कासँग गफ गरेर समय व्यथित गर्थे होलान् । तर, चर्को म्युजिकले गर्दा एउटै टेबलमा बसेकाहरुले पनि कुराकानी गर्न सकेनन् । उनीहरुको ध्यान भने कतिबेला कार्यक्रम सुरु हुन्छ भन्नेमै थियो ।

कार्यक्रम अवधिभर आसनग्रहण गराउने क्रम जारी थियो । लिम्बुहरुको च्याब्रुङ नाच र देउसी–भैलो प्रस्तुत गरियो । ठूलाहरु देउसी–भैलोमा रमाउँदै गर्दा कार्यक्रममा सहभागी बालबालिकाको ख्याल हुने कुरै भएन । सात बजेदेखि नाच्नका लागि विभिन्न पोशाकमा तयार भएर बसेका ती साना नानीहरुको छट्पटाहट कसले बुझ्थ्यो होला ? ११ बज्दा पनि नाच्ने पालो नआउँदा कस्तो महसुस गरे होलान् ? कति भोकाए होलान् ? आमा भएको नाताले मैले महसुस गर्न सक्छु ।

अमेरिकाका धेरै पार्टीमा म पनि सहभागी भएको छु । ठूलाका लागि ८४ व्यञ्जन, मदिराको ‘च्वाइसेस’ कति हो कति ? तर, साना बालबालिकाले के खालान् ? ठूलाले खाने पिरो अचार, तरकारीहरु साना नानीहरुले कसरी खालान् ? यतातिर कसैको ध्यान गएको छ ? बालबालिकाको अधिकारको पक्षमा बलियो मुलुक अमेरिकामा बसेर पनि हामीले हाम्रा बालबालिकालाई गर्ने व्यवहारमा सुधार गर्नु पर्दैन ? 

नाच्न तयार भएर बसेको ४ घण्टामा पनि बच्चाहरुको पालो आउने छाँटकाँट छैन । पालो कतिबेला आउला भनेर बच्चाका अभिभावकहरुले पटक–पटक नृत्य प्रशिक्षक विजय नकर्मीलाई सोधिरहेका थिए । लामो समयसम्म बालबालिकाको पालो नआएपछि आयोजक पक्षलाई भेटेर चाँडो गराइदिन पटक–पटक अनुरोध ग¥यौं । त्यति गर्दा पनि २–३ वटा प्रदर्शनपछि मात्रै बच्चाहरुले आफ्नो प्रस्तुती दिए । औपचारिक कार्यक्रम सकिएर सांस्कृतिक चरण सुरु भएपछि सुरुवातमै साना नानीहरुको प्रदर्शन राखिदिँदा यसमा व्यवस्थापन पक्षलाई के अप्ठेरो पर्छ । मैले लिम्बु समुदायको त्यो कार्यक्रमलाई मात्रै केन्द्रित गर्न खोजेको होइन । कतिपय कार्यक्रमहरुमा त नृत्य देखाउन ठिक्क परेर बसेका बच्चाहरु पालो नआएर नाच्दै ननाची घर फर्किएको समेत मैले देखेको छु । हामीले कार्यक्रम सञ्चालन गर्दैगर्दा यी विभिन्न विषयको व्यवस्थापनबारे ध्यान दिनु पर्दैन ? यी विषय तपाईंलाई साना लाग्न सक्छन्, तर सम्पूर्ण कार्यक्रमको व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाउने हो भने यिनै विषयहरुमा महत्वपूर्ण ध्यान दिनुपर्छ ।

होइन भने हामी अमेरिकामा रहेर पनि अहिलेको नेपालको अवस्थाभन्दा धेरै पछाडि परिरहेका छौं । मैले लिम्बु समुदायलाई मात्रै केन्द्रित गर्न खोजेको होइन । नेपाली समुदायले सञ्चालन गरेको जुनसुकै कार्यक्रमभित्र भित्रिएको यो खराब प्रवृत्तिलाई हटाउने प्रयास तपाईं हामीले नै गर्नुपर्छ । आसन ग्रहण र भाषणलाई छोट्याऔं । कार्यक्रम समयमै सञ्चालन गरौं ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा