सन् २०१८— महिला जितको वर्ष

सन् २०१८— महिला जितको वर्ष
न्यूयोर्ककी २९ वर्षीया एलेक्जेन्द्रिया ओकासिया कोर्टेज । उनी अमेरिकी इतिहासमै कान्छी सांसद भएकी छन्

सन् १८६६ मा एलिजावेथ सेडी स्टान्टन अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभका लागि प्रतिस्पर्धामा उत्रिएकी थिइन् । न्यूयोर्क राज्यमा स्वतन्त्र उम्मेदवार बनेकी उनी आफैँ भने मतदानका लागि योग्य थिइनन् । कुल १२ हजार मतदाता रहेकोमा एलिजावेथले २४ भोट पाएकी थिइन् ।

उनले प्रतिस्पर्धाका लागि हिम्मत गरेको ५० वर्षपछि बल्ल अमेरिकी संसद्मा महिलाको प्रतिनिधित्व भएको थियो । मोन्तानाबाट जन्नेत राङ्किन निर्वाचित हुँदै इतिहास रचेकी थिइन् । जन्नेतले इतिहास रचेको एक शतक र दुई वर्ष पुग्दा अमेरिकी राजनीतिमा महिला प्रतिनिधित्वबारे नयाँ रेकर्ड तय भएको छ । गत नोभेम्बर ६ मा सम्पन्न निर्वाचनबाट पहिलो पटक १०० बढी महिला हाउस अफ रिप्रिजेन्टेटिभको रुपमा अमेरिकी संसद् प्रवेश गर्दैछन् ।

आधुनिक अमेरिकी राजनीतिमा महिला प्रतिनिधित्वका लागि दुई शताब्दीदेखि अनेक संघर्ष र इतिहास निर्माण हुँदै आएको छ । यही क्रममा दुई वर्षअघि सम्पन्न राष्ट्रपति निर्वाचनमा प्रमुख पार्टीको तर्फबाट पहिलो महिला उम्मेदवारले टिकट पाएकी थिइन् । डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले डोनाल्ड ट्रम्पलाई हराउन नसके पनि उनको उम्मेदवारीले हजारौं महिलालाई राजनीतिप्रतिको जागरण ह्वात्तै बढाइदिएको छ । यसै क्रममा गतवर्ष सुरु भएको यौन हिंसापीडित महिलाहरुको आवाज मुखरित गर्ने ‘मि टु’ मुभमेन्टले उनीहरुलाई राजनीतिप्रति झनै आकर्षित ग¥यो । सोही कारण यसपाली इतिहासमै सबैभन्दा धेरै महिला चुनावी प्रतिस्पर्धामा होमिएका थिए । कंग्रेस र सिनेटका लागि मात्र होइन राज्य स्तरका हजारौँ पदमा पनि उत्साहसाथ महिला उम्मेदवारी परेको थियो ।

आउने जनवरीबाट कार्यभार सम्हाल्ने अमेरिकी संसद् साँच्चिकै समावेशी हुने भएको छ । पहिलो पटक अमेरिकी संसद्मा दुई मुस्लिम महिला निर्वाचित भएका छन् । यस्तै पहिलो पटक आदिवासी अमेरिकी महिलाको पनि संसद्मा प्रतिनिधित्व हुने भएको छ । सबैभन्दा कम उमेरकी महिला सांसदको रेकर्ड पनि आउँदो सदनमै बन्ने भएको छ । कनेक्टिकट, म्यासाचुसेट्स लगायतका प्रभावशाली राज्यबाट समेत पहिलो पटक आउँदो सदनमै ब्ल्याक महिला सांसदको प्रतिनिधित्व हुनेछ ।  

इल्हान ओमार र रासिदा त्लाइब गरी दुई मुस्लिम महिला आउँदो सदनमा हुनेछन् । उनीहरु दुबै जनाले डेमोक्रेटिक पार्टीबाट चुनाव जितेका हुन् । त्लाइबले मिचिगन १३ बाट सांसदको चुनाव जितेकी हुन् भने ओमारले मिनिसोटा ५ बाट । सोमालियामा जन्मिएकी ओमार १५ वर्षको उमेरमा शरणार्थीको रुपमा परिवारको साथमा अमेरिका आएकी थिइन् । यहीँ आएर अंग्रेजी सिकेकी उनले हासिल गरेको प्रगति सबैका लागि प्रेरक छ । प्यालेष्टाइन मूलकी त्लाइब भने मिचिगनमै जन्मिएकी हुन् । दुबै महिलाले यसअघि आ–आफ्नो राज्यको तल्लो सदनमा प्रतिनिधित्व गरिसकेका छन् ।

यस्तै, दुई आदिवासी अमेरिकी महिला पनि एकैपटक सांसदमा निर्वाचित भएका छन् । न्यू मक्सिकोबाट डेव हाल्याण्ड र कान्सासबाट शारिस डेभिड्स निर्वाचित भएका हुन् । उनीहरु दुबै जना डेमोक्रेटिक पार्टीबाटै चुनिएका हुन् । यसैगरी, हालसम्मकै कान्छी सांसदको रुपमा न्यूयोर्ककी २९ वर्षीया एलेक्जेन्द्रिया ओकासिया कोर्टेज पनि आउँदो सदनमा प्रवेश गर्नेछिन् । उनले हाउस डेमोक्रेटका चौथो बरियताका जोए क्राउलीलाई प्राइमरी चुनावमा हराउँदै पार्टीको टिकट हत्याएकी थिइन् ।

यस पटकको संसद्मा कम्तीमा १०२ जना महिलाको प्रतिनिधित्व निश्चित भएको छ । यो कुल सांसद संख्यामा झण्डै २४ प्रतिशत हो । अझै केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइनसकेका कारण यो संख्या अझै बढ्न सक्नेछ । चुनिएकामध्ये ३५ जना नयाँ अनुहार छन्् । उनीहरु स्थापित पुरुष उम्मेदवारलाई हराउँदै सांसद निर्वाचित भएका हुन् । संसद्मा प्रवेश गरेका नयाँ अनुहार महिलामध्ये अधिकांश उदारवादी विचारधाराका छन् । नयाँ ३५ महिला सांसदमध्ये एक मात्र रिपब्लिकन र बाँकी सबै डेमोक्र्याट रहेका छन् । यसरी महिला डेमोक्र्याट उम्मेदवारहरुले आफ्नो दललाई हाउसमा बहुमत पु¥याउन महत्वपूर्ण सहयोग गरका छन् । यसअघि १९९२ मा सबैभन्दा धेरै २४ जना नयाँ अनुहार महिला संसद्मा निर्वाचित भएका थिए ।

एजेन्सीको सहयोगमा

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार