अध्यात्मको यात्रा र गुरु

अध्यात्मको यात्रा र गुरु
विनोद रोका

न्यूयोर्क । मैले बाल गुरुजीलाई भेटेको छैन । मेनुकाले भर्खरै भेटिन् र उहाँसँग फोटो पनि खिचाइन् । अनि मलाई १५ पटक फोन गरिछन् मेसेन्जरबाट– गुरुजीको दर्शन गराउनका लागि । तर, म ध्यानमा रहेको हँुदा उठाउन सकिन । ध्यानबाट निस्किएपछि मैले कलब्याक गरें । र, भिडियोबाट उहाँको दर्शन पाएँ, अनि आफ्ना भावहरु व्यक्त गरें । उहाँले आर्शिवाद दिनु भो । मेरा हर्षका आँसु बगे । मैले आफूमा उहाँको औराले स्पर्श गरेको अनुभव गरें ।

चिन्नेहरु सोध्नुहुन्छ– तपाईं उहाँलाई भेटेर मन्त्र वा आशिर्वाद लिन कहिले जानुहुन्छ भनेर । मेरो चिनारी उहाँलाई नभएकै अवस्थामा कलियुगको आदित्य ज्योतिपथ किताब राजुजीबाट मैले न्यूयोर्कमा पाएको छु । त्यो किताबमा उहाँले आफ्नो हस्ताक्षरमा ‘विनोदजी प्रेम भावसहित अर्पित’ भनी सही गर्नुभएको छ । मैले यसलाई आश्चर्य पनि मानिन । किनकि अध्यात्ममा विश्वास गर्ने व्यक्तिहरुले यस्ता घटनालाई सामान्य रुपबाट ग्रहण गर्छन् । ब्रह्मज्ञानी गुरुहरुमा यो विशेषता हुन्छ नै । त्यसमा पनि बालगुरु, जसले ५ वर्षदेखि ९ वर्षको उमेरका बीचमा दिएका महर्षिका जस्ता ज्ञानामृत र बुद्धत्वको गहिराइमा पुगेका ज्ञानीले झैं दिने ध्यानका गहिराइका अनुभूति हेर्दा लाग्छ, उहाँको चेतनाले स्पर्श नगरेको के र को होला ?

मेरो हालसम्मको बुझाइले के निष्कर्ष दिन्छ भने म शरीर, मन र बुद्धि होइन । अनि के हुँ त ? भन्ने जिज्ञासा उठ्नु स्वाभाविकै हो । अहिलेसम्म पढेका अनि सुनेका पूर्वीय दर्शनका शास्त्र र गुरुहरुका भनाइ वा अनुभवले दिने परिभाषामा कसैले जीवको स्वरुप शून्य हो भन्छन् । कसैले चैत्यन्य हो भन्छन् । जो न कहिले जन्मन्छ, न त मर्दछ । जन्मने–मर्ने त शरीर हो । जुन अतृप्त संस्कारको कारण वा प्रारब्धले गर्दा हुने गर्दछ । अनि यो चैतन्य वा शून्यको अनुभव आफैँले आफैँमा गर्न सकिन्छ । चैतन्य वा शून्यको अनुभव गर्ने गुरुहरुले आफूभित्र गरेको अनुभव वा सत्य मेरा लागि सत्य भएर पनि सत्य होइन । जबसम्म मैले त्यो आफूमा अनुभव गर्न सक्दिन । यो आफँैमा घटित हुने प्रक्रियाको साक्षी आफैँ नभइकन कसरी विश्वास गर्नु र ?

यो आध्यामिक बाटोमा हिँड्ने क्रममा मेरा धेरै गुरुहरु हुनुभएको छ । मेरो मस्तिष्कमा जसको भनाइले छाप छोड्यो, उहाँ पनि मेरो गुरु हो । म सबैलाई विश्वास गर्छु । धोखा दिने वा ठग्नेले पनि केही शिक्षा नै दिएका छन् । यद्यपि, यसबाट केही आर्थिक नोक्सानी र मानसिक तनाव भयो होला । तर, जीवन गएको छैन । यसै क्रममा एक जना गुरुजीले मलाई एक दिन भन्नुभयो– तपाईं त जुन गुरु आए पनि विश्वास गरेर सहयोग गर्नुहुन्छ । गुरुहरु कस्ता हुन्, ऊनीहरुका बारेमा बुझ्नुपर्छ । उहाँलाई मैले भनें– गुरु कसैले कसैलाई राम्रो भन्दैनन् अनि कोसँग, कसका बारेमा बुझ्नु र । मैले उहाँलाई भनें– मेरो यही बानी हो गुरुजी जसले गर्दा तपार्इंलाई पनि विश्वास गर्छु, यद्यपि कतिजनाले तपाईंलाई पनि विश्वास नगर्नु भन्छन् ।

मेरो के विश्वास छ भने गुरुहरुबाट गरिने र हामीद्वारा देखिने चमत्कारका कुराहरु भनेका केटाकेटीलाई पढाउने वा सही बाटो देखाउने क्रममा दिइने मिठाइ हुन् । त्यस्तै, गुरुले गर्ने वा गुरुद्वारा गरिएका चमत्कारी कार्य भनेको धर्मको बाटोमा हिँड्न प्रेरणा दिने प्रलोभन वा विश्वास हो । गीतामा कर्म गर, फलको आश नराख भनिएको नियममा म विश्वास गर्छु । मैले बुझेको धर्म भनेको पनि धारण गर्ने कुरा हो । जसरी नहिँडी पुगिँदैन, त्यसरी नै धर्मका नियमलाई आचरणमा ल्याई हृदयलाई पे्रममयी नबनाएसम्म गुरुले पनि मद्दत गर्न कठिन हुन्छ भन्ने ठान्दछु । अनि साधकले धर्मको आचरण इमानदारीका साथ गर्दै जाने हो भने गुरुले आफैँ आएर वा संयोग मिलाएर मार्गदर्शन गर्नुहुन्छ । मेरो अनुभव त्यस्तै छ । रजनिशले भनेझैं गुरु भनेको एउटा क्याटलिटिक एजेन्ट हो, जसले शिष्यमा रहेको दियो जलाउने कला सिकाइदिन्छ । तर, तेल हालिदिँदैन । भएको तेल देखाइदिन्छ । बाटो देखाइदिन्छ । काँधमा बोकेर हिँड्दैन । जस्तो कि, कालो बादलमा रहेको पानी बर्सनलाई बिजुलीको चमक नभई बर्सदैन ।

त्यसैले बालगुरुलाई सशरीर भेटेर दीक्षा नलिई छोड्दिन भन्ने हतारमा पनि छैन । उहाँले किताबमा पनि भन्नुभएको छ– ‘तिमी मसँग स्वर्गमा उड्न चाहन्छौं भने आफ्नो हृदयलाई सफा गरी त्यसमा धड्कनका सकारात्मक लय भर...’ जुन म गरिरहेकै छु विश्वासका साथ । यदि मलाई यो कामको सिलसिलामा मार्ग निर्देशन वा सहयोगको जरुरत प¥यो भने गुरुले आफैँ संयोग मिलाउनु होला । वा आफ्नो औराबाट मलाई ध्यानको समयमा सम्प्रेषण गर्नुहोला । म प्राणिक हिलिंकको विद्यार्थी पनि भएकाले मलाई यो विज्ञानमा विश्वास छ । किनकि औरामार्फत टाढा–टाढाका व्यक्तिहरुमा सकारात्मक वा नकारात्मक भावहरु सम्प्रेषण गर्न सकिन्छ । होइन भने मैले आफ्नो हृदय नै सफा नगरिकन उहाँसँग कसरी उड्ने ? म के माग्न जाने ? के सोध्न जाने ? पाठै नपढी गएको विद्यार्थीलाई गुरुजीले के सिकाउने अनि के दिने ? बालगुरुजी अहिलेसम्म केबल २७ जनालाई मात्र दिक्षा दिनुभएको र दीक्षा पाउनका लागि नाम लेखाउनेहरुको लामो सूची छ । उहाँद्वारा लिखित पुस्तक पढ्दा दीक्षा दिइएका शिष्यहरुलाई पनि १ प्रतिशत पनि दीक्षाको पालना गर्न नसकेको गुनासो गर्नुहुन्छ रे । अब म यो लाइनमा संख्या बढाउन मात्रै हतार गरेर किन जानु हृदय सफा नगरिकन ।

यो हृदय सफा गर्ने बाटोमा म बिस्तारै हिँड्दै छु । मेरो मान्यता के छ भने ढिलो हिँडे पुगिन्छ, कुदेमा भन्न सकिन्न । यो बाटोको लम्बाइ कति छ र गन्तव्यमा कहिले पुगिन्छ सायद कसैले भन्न सक्दैन । त्यसैले इमानदारीका साथ धर्मले बताएको नियममा हिँड्ने कार्य साधकको हो । मलाई लाग्छ– यो यात्राको गन्तव्यमा त्यही दिन पुगिन्छ, जुन दिन पुगिन्छ । न यो गन्तव्य टाढा छ, न त यो नजिक । जुन दिन मनको चाह र विचार सकिन्छ, त्यसै दिन गन्तव्य पनि हराउँछ । अनि पुग्ने बिलाउँछ, पुगिने भित्र जसरी बरफ पानीमा हराउँछ ।

मैले काठमाडांैमा रहँदा जीवनको पीडादायी अवस्थामा संघर्ष गरिरहेको थिएँ । यसैबेला एकजना मित्रबाट विपश्यनाको १० दिवसीय शिविरमा भाग लिने सल्लाह पाएँ सन १९९३ मा । त्यही बेला पुज्यगुरु सत्यनारायण गोयन्काज्यू काठमाडांैमा आउनुभएको रहेछ र मैले उहाँको उपस्थिति रहेको शिविरमा दीक्षा ग्रहण गर्ने अवसर पाएँ । त्यसपछि तीनवटा शिविर लिएँ । सतीपठन लिन्छु भन्ने समयमा १९९८ मा म न्यूयोर्क आएँ । अनि निरन्तर यो साधना गरिरहें र यहाँ पनि एउटा शिविर लिएँ ।

मलाई सत्तिपठन लिन नपाएकोमा केही पुगेन जस्तो लागेको थियो । किनकि मन्त्र, चक्र र कुण्डलिनीजस्ता प्रक्रियाहरुलाई विपश्यनाभित्र प्रयोग गर्दा के होला ? भन्ने जिज्ञासा जाग्दथ्यो । यहीबीच न्यूयोर्कमा स्वामी बालकृष्ण काठमाडौंबाट आउनु भो । उहाँका लागि कार्यक्रम गरियो । उहाँको सुन्दा मलाई लाग्यो– मैले खोजेको जस्तै गुरु पाएँ । सायद धेरैले त्यसबेला उहाँसँग दीक्षा लिएनन् । मैले पनि त्यो वर्ष लिइन । किनकि केही साधक साथीहरुले उहाँको उचाइ र औरामा शंका उठाए । अर्को वर्ष पनि उहाँ न्यूयोर्क आउनु भो । र, मलाई भन्नु भो– साधना गर्ने शिष्यहरु हुँदैनन् । किनकि मान्छेलाई केही नगरी चमत्कारी परिणाम दिने गुरु चाहिन्छ ।

उहाँले भनाइलाई निरन्तरता दिँदै भन्नुभो– मलाई लागेको थियो, तपाईं एकजनाले यो साधनाको दीक्षा लिनुहोला भनेर न्यूयोर्क पसेको हुँ । उहाँले विपश्यना साधनाको चर्चा गर्दै आफ्नो जीवनका घटेका चामत्कारिक घटनाहरु सुनाउनु भो । बुद्धको देहावसानपछि त्यही धर्मका अनुयायीहरुले महायान, हिनयान र बज्रयान आदि शाखाहरु बनाएको अनि ती शाखामा ध्यानसँगै मन्त्रतन्त्रको प्रयोग हुने गरेको दृष्टान्त दिँदै त्यो सम्प्रदायमा प्रचलित अतियोगको अध्ययन गर्ने सुझाव दिँदै आफूद्वारा गरिएको साधना वैदिक धर्ममा आधारित रहेको जानकारी दिनुभो ।

मैले उहाँले भनेका विषयमा अध्ययन गरें । अनि मलाई लाग्यो– गुरु मेरै लागि आउनुभएको रहेछ र दीक्षा लिएँ । यसपछि पनि गुरु डा. रमानन्द गिरी, आत्मानन्द गिरी, नेपाली बाबा, साईबहिनी र अन्य धेरै गुरुजी घरमै आएर मेरा कतिपय धार्मिक जिज्ञासाहरु मेटाई दिनुभएको छ । शीरीडी र पुट्टवर्ती जाने शौभाग्य मिलेको छैन । तर, साईभक्तहरुको संगत र भजनमण्डलीमा पुगेर साईकृपा पाएको छु । केही साईभक्तहरु त बाबाले सपनामा तपाईंकहाँ जाऊ भनेर आएको पनि भन्ने गर्नुहुन्छ । मैले जिस्कँदै भन्ने पनि गरेको छु, खै मलाई त त्यसो भन्नुभएन । उनीहरुको विश्वासले चिताएको काम पुगेको पनि देखेको छु । किनकि श्रद्धा र सवुरीले मान्छेलाई परिणाम दिने हो ।

त्यस्तै रजनिश, सद्गुरु, बेनप्रभु र अन्य गुरुहरु पनि धेरै हुनुहुन्छ । गुरु जीवित वा मृत जो पनि हुन सक्छ । किनकि उनका औराहरु चारैतिर छरिएका छन् । ऊनीहरुले बोलेका अनि लेखेका आधारबाट महसुस गर्न सकिन्छ । पण्डित श्रीराम शर्माज्यूले यही कुरालाई आफ्ना कृतिहरुमा भन्नुभएको छ । योगीको आत्मकथा आदिमा पनि यस्ता धारणाहरु छन् । मैले राजुजी र पन्थीदाइको संगतबाट यहीँ बसेर गायत्री परिवारसम्म पुग्ने अवसर पाएको छु । मेरो दिनचर्यामा गायत्रीमन्त्र अनि योग जोडिएको छ ललितशंकर योगीजीले सिकाइदिएको आशनसँगै । यसरी मलाई आवश्यक परेका बेला व्यक्तिगत वा अन्य माध्यमबाट धेरै गुरुहरुले मार्गदर्शन गराउनुभएको छ । उहाँहरुप्रति म आभारी छु ।

मैले कुनै गुरुहरुले भनेका कुरामा विरोधाभास देखेको छुइन । उहाँहरुले आ–आफ्नो भाषामा पानीको परिचय दिनुहुन्छ तिर्खा मेटाउनका लागि । शब्द फरक छन्, पानी एउटै । पाउने भनेको सुख, शान्ति र आनन्द केवल साधनहरु फरक । हिँड्ने हो भने जुन बाटोबाट गए पनि पुगिन्छ । होइन भने गुरुले देखाएका बाटाहरुको जानकारी केबल पाण्डित्यताका लागि मात्र हुन्छन् । मलाई लाग्छ– सबै गुरुले भन्न खोजेको विषय एउटै हो, जसलाई शब्दले बाँध्न सक्दैन । स्वस्थानीको कथामा भनिएझंै हजार जिब्रा भएको शेषनागले पनि वर्णन गर्न नसक्ने त्यो निराकार र आकारमा रहेको । दिनपक्ष देखिँदा रात पक्ष नदेखिने समस्त चैत्यन्य स्वरुपको व्याख्या कुन गुरुले शब्दमा भन्न सक्ला र । कतिपय गुरुजीहरुले धर्ममा विवाद छ भन्नुहुन्छ । तर म शिव, कृष्ण, अष्टावक्र, बुद्ध, कविर, महाबीर, मोहम्मद, ईशु, साई, रजनिश र सद्गुरु आदिले धर्मका एसेन्सका बारेमा भनेका कुरामा म कुनै विवाद देख्दिन । सायद यो मेरो अल्पज्ञानको कारणले पनि होला । र, विवाद देखिने हदसम्मको ज्ञान पनि ममा नआओस् कहिले ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार