ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

  ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा
 
बाल्टिमोर, (एजेन्सी) । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व मेयर माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई १ अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन् । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताएका छन् ।
 
बाल्टिमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि उक्त रकम विद्यार्थीलाई उपलब्ध गराइने जनाएको छ । अमेरिकी इतिहासमा कुनै विश्वविद्यालयले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो चन्दा रकम हो । विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्तिका रुपमा रकम उपलब्ध गराउने स्पष्ट पारेको छ र यस्तो रकम विद्यार्थीले पुनः भुक्तानी गर्नुपर्ने छैन ।
 
ब्लुमबर्गले जारी गरेको वक्तव्यमा ‘विश्वविद्यालयलाई एउटा उपहार दिएको’ उल्लेख गरिएको छ । अमेरिकाको सुप्रसिद्ध यो विश्वविद्यालय बाल्टिमोरका एकजना व्यापारी जोन्स हप्किन्सले उपलब्ध गराएको ७० लाख अमेरिकी डलरबाट सन् १८७६ मा स्थापना भएको थियो ।
 
ब्लुमबर्ग एलपीका संस्थापक ७६ वर्षीय माइकल ब्लुमबर्ग विश्वकै सर्वाधिक धनी व्यक्तिमध्ये पर्छन् । विश्वकै सर्वाधिक धनीको व्यक्तिको सूचीमा उनी ११औं र अमेरिकामा भने आठौं नम्बरमा पर्छन् । उनले जोन्स हप्किन्सबाट सन् १९६४ मा स्नातक गरेका थिए । उनी सन् २००२ देखि २०१३ सम्म न्यूयोर्क शहरको मेयर हुनुका साथै अमेरिकी राष्ट्रपतिका सम्भाव्य उम्मेदवार पनि हुन् ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार