मिना राईसँग जम्काभेट

मिना राईसँग जम्काभेट
ल्याबको अपोइन्टमेन्ट परेकै दिन हिउँ पर्नुलाई ‘स्टार क्रस्ड’ ठानेर ज्याक्सन हाइटको ल्याब कोर्पभित्र भित्ताले सुन्लाझैं गरी नेपालमा गफ गर्दै थिएँ । एक्कासी छेउबाट ‘तपाईं पनि नेपाली हो ?’ भनेर आवाज आयो । ‘हैन, म त फ्रेन्च हुँ’ भनेर उत्तर दिएँ । एकैछिन हाँसो छुट्यो । पालो नै आउँदैन हेर्नुुस्न भनेर गफ छेडिन् । मलाई पनि फुर्सद नै थियो । यहीँकै रैथानेले झैं केहीबेर मौसम र दिन कस्तो बित्दै छ ? भनेर बातको बान्की मिलाएँ । ज्याक्सन हाइट्स नै बस्ने रहेछ । उमेर दुई बीस कटेको अनुमान लगाउन मलाई गाह्रो परेन । नाक र आँखाले नै धेरै कुरा बताइसकेको थियो । तैपनि सोधें नाम मिना राई भनिन्, पछि थुलुङ भनेर थपिन् । गफ गर्ने खालको लागेर ‘हाम्रो कुराकानी रमाइलो भयो भने पत्रिकामा छाप्छु है ?’ भनेर सोधें । एकछिन् झस्किन् । तपाईं पत्रकार हो ? मैले ‘होइन, अलपत्रकार’ भनेर सजिलो बन्दिएँ । ‘हुन्छ क्यै छैन भाइ, जे–जे छाप्नु छ छाप्नुस् ।’ मलाई भाइ भनेर सुरक्षित महसुस गरिन् । म पनि नेपाली पारामा उत्रिहालें । 
अनि दिदी तपार्इंको नेपाल कहाँ नि ?
अहिले त थुलुंग नगरपालिका भाको छ, खासमा सोलुको मुक्की बासबोटे हो । ४९ सालमा एसएलसी पास गरेपछि ५० सालमा काठमाडौं देखेको मान्छे भाइ ।
 
मैले अनुमति लिएर रेकर्ड गर्न थालें, काठमाडौंमा को थियो नि ?
 
कोही थिएन । दुखै गर्न परेपछि ठूलै ठाउँमा गर्ने भनेर गाको नि । अहिले पनि त्यही भएर न्यूयोर्क नै बसेको । मलाई ठूलो ठाउँ मन पर्छ ।
 
यहाँ को–को हुनुहुन्छ ?
 
साथीभाइ छन् । अरु सबै नेपालमा । आमा ७६ वर्षको हुनुहुन्छ । बुबा ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो, म ११ वर्षकी हुँदा बित्नुभाको । त्यसपछि त दुःख शुरु भयो नि । मेरो श्रीमान् मोहन राई, दुई छोरी र एउटा छोरा उतै छन् । कागज बन्दियो भने सबैलाई ल्याउने जिन्दगीको एउटै सपना छ ।
 
याद आउँछ नेपालको ?
 
विदेशमा बस्ने जसलाई नि आउँछ नि भाइ । तपार्इंलाई आउँदैन ? नेपालको माया लाग्ने भएर त मैले यहाँ आएपछि नेपालमा दुःख पाएकाहरुलाई थुप्रै सहयोग गरेकी छु । नाम चाहिन्छ ?
 
हैन, पर्दैन दिदी । बरु अमेरिकाचाहिं कसरी, कहिले आइपुग्नु भो ?
 
कथा लामो छ भाइ । मैले आईए पास गर्न सकिन । काम गर्दै पढ्नुपर्ने । बुढाले ट्रेकिङ गाइड भएर धेरै दुःख गर्दा पनि काठमाडौंमा ३ वटा बच्चा हुर्काउन गाह्रो भयो । अनि विदेश जान भनेर कोरियाका लागि ईपीएस क्लास पढें, तर परीक्षा पास गर्न सकिन । बेकारमा पोखराको ओम गुरुङ भन्नेले डेढ लाख खाएर बेपत्ता भयो । हामी त आत्महत्या गर्ने अवस्थामा पुगेका थियौं । पछि फेरि धेरै दुःख गरेर ऋणबाट उत्रियौं । केही गर्दा पनि नेपालमा टिक्न नसकेपछि एजेन्टमार्फत ३ वर्षको काखे छोरा, छोरीहरु र बुढालाई छाडेर म रुँदै डिसम्बर २००८ मा इजरायल उडेको मान्छे भाइ ।
 
इजरायलमा पैसा कमाउनु भो त ?
 
५ वर्ष ३ महिना इजरायलमा डबल–डबल काम गरें । केयर गिभरमा एउटा बुढा र एउटा बुढी हेर्नुपथ्र्यो । ३० लाख जति पैसा कमाएँ । छोराछोरी, बुढालाई नेपालमा सुखसँग राखें ।
 
अमेरिका चैं कसरी आउनु भो ?
 
पख्नुन भाइ । रेकर्ड गर्ने मान्छेले पूरै सुन्नुन । इजरायलमा मैले फेसबुक चलाउन थालें । फेसबुकमा भेटेको एउटा साथीको सहयोगमा हाउसकिपिङ कामको लागि फ्री भिसामा सन् २०१३ मा क्यानाडा छिरें । एडमोन्टन भन्ने ठाउँमा २५ महिना दुःख गरें । असाध्यै चिसो ठाउँ रैछ क्यानाडा, पटक्कै चिसो मन परेन । साथीभाइको सहयोगमा क्यानाडाबाट अमेरिकाको टुरिष्ट भिसा पाएँ, अनि क्यालगेरी हुँदै अमेरिका सन् २०१५ मा प्रवेश गरें । यहाँ आएर १८ दिन जर्जिया एटलाण्टामा मेरो छ्यामाको छोरासँग बसें । त्यहाँ पनि खासै मन नलागेर न्यूयोर्क आएको । यो ठाउँ त रमाइलो लाग्छ ।
 
अब कतै जान बाँकी छ कि दिदी ?
 
अब त कागज बनाएर टन्न पैसा बोकेर काठमाडौं जाने अनि त्यहाँ घर बनाउन बाँकी छ ।
 
परिवार कत्तिको मिस गर्नुहुन्छ ?
 
त्यो नसोध्नुस् । बहुलाउँछु म ।
   प्रस्तुती ः योगेश आदी
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार