अमेरिकी संघीयताको सबल जग, यसरी पु¥याइएको छ समान अवसर

 अमेरिकी संघीयताको सबल जग, यसरी पु¥याइएको छ समान अवसर
 
प्रभात भट्टराई
न्यूयोर्क । अमेरिकी संघीयता विश्वमै उदारणीय छ । संघीय राज्य प्रणालीको वकालत गर्नेहरु धेरैले सफल मुलुकको नाम लिँदा अमेरिका नै उच्चारण गर्छन् । नेपालमा पनि संविधान निर्माणताका संघीय प्रणाली अपनाउनेबारे छिमेकी भारतको धेरै उदाहरण दिने गरिए पनि सम्पन्नता दर्शाउन अमेरिकाकै नाम लिइन्थ्यो । भारत र अमेरिका दुबै मुलुकले संघीय राज्य प्रणाली अपनाउनुको पछाडिका कारणमा लगभग समानता छ । ब्रिटिस उपनिवेश अगाडि भारत पनि एउटा सिंगो देश थिएन । स–साना राज्यहरुलाई हात लिँदै बेलायतले विशाल इष्ट इन्डिया कम्पनी खडा गरेको थियो । नेपाललाई पनि त्यहीँ मिसाउने अंग्रेज प्रयास सफल नभएपछि सानो हिमाली मुलुकले आजपर्यन्त सार्वभौम राष्ट्रका रुपमा शिर ठाडो पार्न पाएको छ । 
भारत सन् १९४७ मा अंग्रेजका पञ्जाबाट मुक्त हुँदा राष्ट्र निर्माणमा त्यही अवधारणा लागू भयो, जुन झण्डै दुई सय वर्षअघि अमेरिकी स्वतन्त्रताताका अवलम्बन गरिएको थियो । पहिलेका टुक्रे राज्यलाई प्रदेशको अवधारणा दिई एक विशाल मुलुकको छाताभित्र राख्ने, सम्बन्धित प्रदेशमै सरकार गठन गरी दैनिक शासन र विकास गतिविधि सञ्चालन गर्ने एवम् परराष्ट्र, रक्षा र मुद्राको अधिकार भने केन्द्रसँग मात्र रहने गरी संघीय शासन व्यवस्था सुरु हुन गयो ।
 
शासकीय स्वरुपमा भारतले अमेरिकाको सिको गरे पनि राज्यहरुमा समान विकास र अवसर उपलब्ध गराउनमा भने धेरै पछि छ । भारतबाट प्रभावित भएर अढाई सय वर्षदेखि एकै मुलुकका रुपमा रहेको नेपाललाई नयाँ संविधानमार्फत सात प्रदेशको संघीय खाकामा रुपान्तरण गरिएको छ । अब आर्थिक विकास र समृद्धिको यात्रामा छिमेकीलाई छिचोल्दै संघीयताको जननी मुलुककै रुपमा रहेको अमेरिकाको सिको गर्न सके नेपालले छिटो फड्को मार्ने आधार देखिन्छन् । 
अमेरिका नेपालभन्दा झण्डै ६७ गुणा ठूलो छ । १ लाख ४७ हजार वर्गकिलोमिटरको नेपालमा करिब तीन करोड मान्छे बस्छन् भने ९८ लाख ३३ हजार वर्गकिलोमिटरको अमेरिकामा ३२ करोड ५७ लाखको बसोवास रहेको छ । यस हिसाबले अमेरिकी जनघनत्व नेपालभन्दा पातलो र बस्ती अझै झरिएको छ । तर, सबै राज्यमा समान न्यूनतम सेवा–सुविधाका अतिरिक्त केन्द्र सरकारअन्तर्गतका विभिन्न ठूला कार्यालयहरु पनि विकेन्द्रित ढंगले स्थापना गरिएको छ । यसै कारण अमेरिकाको जुनै राज्यमा बस्ने सर्वसाधारणले पनि आफूलाई भौगोलिक दृष्टिले भेदभाव गरिएको महसुस गर्दैन । सुदूरपश्चिमको क्यालिफोर्निया, वासिङ्टनदेखि अमेरिकी राजधानी रहेको पूर्वको वासिङ्टन डिसीसम्मको सडक सञ्जाल, विद्युत्, विद्यालयजस्ता न्यूनतम पूर्वाधारमा कुनै फरक छैन । त्यसबाहेक विश्वभर अमेरिकी पहिचान बोकेका कुनै स्थान एवम् संरचना पनि उसै गरी छरिएका छन् ।
 
विश्वभरका वैज्ञानिकहरुको केन्द्रमा रहेको अमेरिकी अन्तरिक्ष संस्था नासा मध्य भूभागको टेक्सासमा छ भने बोइङ कारखाना सुदूर पश्चिमको वासिङ्टनमा । उच्च शिक्षाको पर्याय बनेका हार्वर्ड, एमआईटी लगायतका विश्वविद्यालयमा सुदूरपूर्वको म्यासाचुसेट्समा छन् भने विश्वकै प्रविधि राजधानीका रुपमा रहेको सिलिकन भ्याली पश्चिमको क्यालिफोर्नियामा अवस्थित छ । पूर्वको न्यूयोर्क विश्वकै आर्थिक राजधानीका रुपमा स्थापित छ भने पश्चिमको क्यालिफोर्नियास्थित हलिउड दुनियाँकै मनोरञ्जन केन्द्र । यस्तै उत्तरपूर्वको सानो राज्य न्यू ह्याम्पसायरमा केन्द्रीय पासपोर्ट कार्यालय स्थापना गरिएको छ । अमेरिकाभर वितरण हुने पासपोर्ट त्यहीँ छपाइ हुन्छ । यसरी साना–ठूला सबै राज्यमा समान अवसर पु¥याउन केन्द्र सरकार आफैँ चनाखो रहँदै आएको छ । त्यसबाहेक राज्यहरुले पनि आ–आफ्ना प्राथमिकता छनौट गरी प्रवद्र्धन एवम् निजी क्षेत्रलाई आकर्षण गर्दै आएका छन् । जस्तो सिलिकन भ्यालीलाई प्रविधिको राजधानीका रुपमा विकास गर्न क्यालिफोर्निया सरकारले तारतम्य मिलाएको थियो ।
 
आधुनिक अमेरिका निर्माणका क्रममा हरेक राज्यले आफ्नो फरक पहिचान दिने संरचना पनि बनाएका छन् । सान फ्रान्सिस्कोको गोल्डेन गेट पुलदेखि न्यूयोर्कको स्ट्याचु अफ लिबर्टी एवम् एम्पायर स्टेट बिल्डिङसम्म त्यसका उदाहरण हुन् । मिजउरीको ६ सय ३० फिट अग्लो गेटवे आर्टले सबैका आँखा लोभ्याउँछन् । यस्ता कुनै न कुनै विशेषता हरेक राज्यसँग छन् । त्यसैले कतिपय अमेरिकीमा आफ्नै ५० राज्य नटेकी के बाँकी विश्व भ्रमणमा निस्किनु भन्ने मानसिकता पनि पाइन्छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार