अमेरिका भन्छ– नेपाली विद्यार्थी संख्या बढ्यो

नेपाल भन्छ– ट्रम्पको आप्रवासन नीतिले घट्यो

अमेरिका भन्छ– नेपाली विद्यार्थी संख्या बढ्यो
काठमाडौं । अमेरिकाले हालै सार्वजनिक गरेको सन् २०१७ को ओपन डार्स प्रतिवेदनमा नेपाली विद्यार्थीको संख्या बढेको देखिएको छ । विभिन्न विश्वविद्यालयमा भर्ना हुनेमा नेपाली विद्यार्थीको संख्या बढेको पाइएको छ । सन् २०१७ को प्रतिवेदनअनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या बढी रहेको उल्लेख छ । अमेरिकाको इन्स्टिच्यूट अफ इन्टरनेशनल एजुकेसन र अमेरिकाको विदेश मन्त्रालयअन्तर्गत रहेको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्यूरोले हरेक वर्ष यससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।
 
ब्यूरोले अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीका विषयमा अनुगमन गर्ने गरेको छ । प्रतिवेदनमा नेपाली विद्यार्थीको भर्नादर निकै बढेको देखाइए पनि नेपाल सरकारले भने अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको उदयपछि अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या उल्लेख्य घटेको दाबी गरेको छ । तर, अमेरिकाले नेपाली विद्यार्थीको भर्ना दर २० प्रतिशतले वृद्धि भएर झण्डै १३ हजार पुगेको जनाएको छ । स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी विदेश पठाउने शीर्ष देशमध्ये नेपाल १२औं स्थानमा रहेको छ । अमेरिकामा अहिले १० लाख ८० हजारभन्दा धेरै विदेशी विद्यार्थी अध्ययनरत छन् । नेपालस्थित अमेरिकी अधिकारीहरुले हरेक वर्ष शैक्षिक तथा व्यावसायिक विकासका लागि उपलब्ध अवसरको लाभ लिन हजारौं नेपाली विद्यार्थी अमेरिका जाने गरेको बताएका छन् । उच्च शिक्षाका लागि नेपाली विद्यार्थीले अर्बौं रुपैयाँ खर्च गर्ने गरेका छन् । एक विद्यार्थीले नेपालबाट लैजाने रकम मात्र कम्तीमा २० लाखसम्म हुने गरेको छ । यो शुल्क भाषा कक्षा तयारी, भिसा, कलेज र आउजाउ गर्ने मात्र हो । त्यसभन्दा धेरै त उनीहरुले श्रम गरेर खर्च गर्ने गरेका छन् । नेपालमा रोजगारीको अवसर राम्रो नहुँदा अमेरिका पढ्न जाने र त्यहाँ अन्य केही लाभ लिने गरेको देखिएको छ । प्रतिवेदनअनुसार उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या पछिल्ला तीन वर्षमा लगातार बढिरहेको छ ।
 
अमेरिकाले नेपाली विद्यार्थी बढेको दाबी गर्दैगर्दा नेपाल सरकारले भने सन् २०१७ मा उल्लेख्य मात्रामा नेपाली विद्यार्थीको संख्या घटेको जनाएको छ । पछिल्ला वर्षहरुमा अमेरिका पढ्न जाने विद्यार्थीको सख्ंयामा कमी आएको छ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार सन् २०१७ को झण्डै एक वर्षको अवधिमा अमेरिकाका लागि करिब तीन हजारले स्वीकृतिपत्र लिएका छन् । यो संख्या अघिल्लो वर्षको जस्तै भए पनि अमेरिका जाने विद्यार्थी भने घटेको पाइएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि नेपाली विद्यार्थीको रोजाइ अमेरिकाभन्दा अन्य देशमा बढ्न थालेको छ । अमेरिकामा आप्रवासीलाई ट्रम्प प्रशासनले कडाइ गरेपछि नेपाली विद्यार्थीको रोजाइमा अमेरिका प्राथमिकतामा नपरेको शिक्षाविद्हरुले बताएका छन् । सन् २०१८ मा पनि यो संख्या यस्तै रहेको अनुमान गरिएको मन्त्रालयका अधिकारीहरुले बत(ाएका छन् । नेपालबाट विदेशमा उच्च शिक्षाका लागि जानेहरुको संख्या भने बढिरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
 
अहिले संसारका विभिन्न ७२ देशमा नेपाली विद्यार्थी अध्ययनका सिलसिलामा पुगेका छात्रवृत्ति शाखाका प्रमुख देवीप्रसाद पौडेलले बताए । नेपाली विद्यार्थीको पहिलो रोजाइमा भने अहिले अष्ट्रेलिया परेको छ । त्यहाँ झण्डै ३० हजार नेपालीले अध्ययनका लागि जान स्वीकृतिपत्र लिएको देखिएको छ । तर, अध्ययनका नाममा विदेश जानेमध्ये आधाको मुख्य उद्देश्य पढाइभन्दा पनि रोजगार हुने गरेको छ । त्यसैले सम्बन्धित देशको कानुन र अवस्थालाई हेरेर नेपाली युवायुवती विदेसिने गरेका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार अहिले विभिन्न ७२ देशमा नेपाली विद्यार्थी पुगेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा झण्डै ७० हजार नेपाली विद्यार्थीले पढ्न जानका लागि स्वीकृतिपत्र अर्थात् मन्त्रालयले दिने नो अब्जेक्सन लेटर लिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । अघिल्लो वर्ष झण्डै ५० हजार नेपाली विद्यार्थी नो अब्जेक्सन लेटर लिएका थिए । अहिले पनि नेपाली विद्यार्थीको रोजाइ विकसित देशहरु नै भएको छ ।
 
नेपालबाट अहिले पनि सबैभन्दा धेरै विद्यार्थी जाने देश अष्टे«लिया हो । नेपाली विद्यार्थीका लागि अष्टे«लिया सबैभन्दा धेरै आकर्षक बनेको छ । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा धेरै अष्टे«लियामा पढ्नका लागि शाखामा नो अब्जेक्सन लेटर माग गरेर निवेदन दिएका छन् । क्रमशः जापान, चीन, भारत, पोल्याण्ड, दक्षिण कोरियाका लागि पनि १ हजारले स्वीकृतिपत्र लिएको शाखाको तथ्याङ्कमा उल्लेख छ । रोमानिया, भियतनाम, युक्रेन र आइसल्याण्ड लगायतका देशमा पनि नेपाली विद्यार्थीले पढ्नका लागि स्वीकृतिपत्र लिएका छन् । नो अब्जेक्सन लेटर लिनेको संख्यालाई आधार मान्दा अमेरिकामा अष्टे«लिया र जापानपछि परेको छ । पहिले–पहिले नो अब्जेक्सन लेटर लिनेको संख्यामा अमेरिका पहिलो स्थानमा थियो । पछिल्लो समय नेपालको छिमेकी देश चीन नेपाली विद्यार्थीको प्रमुख आकर्षक गन्तव्य बन्न थालेको छ । 
 
आप्रवासन नीतिमा कडाइ गरेपछि नेपालबाट अमेरिका जाने विद्यार्थीको संख्यामा कमी आए पनि त्यही नीतिका कारण अमेरिकी तथ्याङ्कमा नेपाली विद्यार्थीको संख्या बढेको हो । पछिल्लो समय आप्रवासन नीतिमा कडाइ भएपछि  नेपाली आप्रवासीहरु पनि कलेज भर्ना हुन थालेका कारण संख्या बढेको पाइएको शिक्षाविद्हरुले अनुमान गरेका छन् । नेपालबाट विद्यार्थी धेरै गएरभन्दा पनि विभिन्न तरिकाले अमेरिका गएका र पहिले पढ्न गएर काममा केन्द्रित भएकाहरु पनि भर्ना भएकाले संख्या बढेको धेरैको अनुमान छ । पछिल्लो समय आप्रवासी नीतिका कारण नेपाली आप्रवासीहरु पनि अमेरिकाको बसाइँ लम्ब्याउने उपायस्वरुप विभिन्न विद्यालय तथा कलेज भर्ना हुने गरेको दाबी नेपाली शिक्षाविद्हरुले गरेका छन् । यसले गर्दा अमेरिकी सरकारको तथ्याङ्कमा नेपाली विद्यार्थीको संख्या बढेको र नेपाल सरकारको तथ्याङ्कमा विद्यार्थी संख्या घटेको पाइएको शिक्षाविद्हरुको भनाइ रहेको छ । आप्रवासन नीतिका कारण नेपालबाट अमेरिका जानेहरुको संख्यामा पनि कमी आएको दाबी यस क्षेत्रका जानकारहरुले बताएका छन् ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार