कविता– स्वार्थ

कविता– स्वार्थ
जानुका वस्ती ढकाल, न्यूयोर्क

सब जन झुटो भइदियो स्वार्थमा

लिप्त भईकन

निस्वार्थ किन चुप बस्दछ

बुझ्नै सकिँदैन

तेरो कि मेरोमा हेर कति स्वार्थ

लुकेको छ

जन्मिन्छ स्वतः भावना अनि निस्वार्थ

त्यसै गुम्दछ

श्वास लिने हावा र उभिने पृथ्वी एउटै

भन्ने भुल्दछ

सन्तोषलाई टुक्र्याई फेरी दम्भलाई

नै अँगाल्दछ

सामुन्नेको आँखामा उसले देख्छ किन

यति क्रुरता

यही बुझ्न नसक्दा गुमाउँछ फेरि

मान्छेले संयमता

ममताको थोपा किन अड्किँदैन

पारी दिन्छ सुख्खा

‘फरक’ शब्दको अर्थ नबुझ्दा आफैँ

हुन्छ मख्ख

आहा ! कति राम्रो भन्नुमा पनि स्वार्थै

मात्र देखिन्छ

हृदयदेखि नै ननिस्किएमा निस्वार्थ

कहाँ भेटिन्छ ?

भ्रष्ट मती र व्यभिचारले धेरैको

न्याय छिन्दछ

उठ्न दिँदैन निस्वार्थलाई कप्लक्कै 

यस्ले निल्दछ

पार लगाउनु छ आफूले स्वस्फूर्त

नीति नियम

क्रोधित बनि अवलोकन गर्दैछ उसले

दिन्छ दिँदैन

चुकेनन् सृष्टिकर्ता यस्तो सुन्दर

रचना गर्नलाई

मनुष्य आफैँ भूल गर्दैछ सोच्दैन

उसले मर्नलाई

खै कसरी मुक्ति मिल्ला ? स्वार्थै हावी भएपछि

बन्दैन जगत सुन्दर निस्वार्थले

बाटो नपाएपछि

 

जानुका वस्ती ढकाल, न्यूयोर्क

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार