अनभिज्ञतामा लुकेको मेरो अभिमान– मनोवाद

अनभिज्ञतामा लुकेको मेरो अभिमान– मनोवाद
पुस्कर तिम्सिना

बिहानै निद्राले छोड्यो, एयरपोर्ट पुग्नुपर्ने तीन घण्टा अगाडि नै । हतार–हतार बिहानीको नित्यकर्म सकेर लगाउनका लागि तयार पारेर राखेको लुगातिर लम्किएँ । ऐनाअगाडि उभिएर कपाल कोर्दै सोचें– म केमा कम छु र ? बाहुलादार रातो सर्ट, निलो जिन्स, डिंगो जस्तो जुत्ता अनि कालो कोट । नेपाली टोपी नि छोड्ने कुरै भएन, मेरो स्वाभिमानको निशानी ।

ट्याक्सी आयो है भनेर सँगै बस्ने साथीले भन्नुभो । कस्सेर बाँधेको झोला साथीको सहयोगबाट ट्याक्सीमा हालेर बिदावारी भएँ । एयरपोर्ट टाढै थियो । करिब एक घण्टामा पुगियो । पैसा तिरिओरी ट्रलीमा झोला हालेर चेकिङ काउन्टरतिर लागें । पालो आई पनि हाल्यो । काउन्टरमा बस्नेले झोला यता राख भनेपछि सकिनसकी उचालेर तौलिने ठाउँमा राखें । ‘ए तपाईंको तौल अलि धेर भयो– चार किलो जति निकाल्नुस् ।’

म अक्क न बक्क परें । मलाई थाहा थियो मेरो ब्यागमा अलि धेरै नै सामान थियो । भनसुन गर्दा केही सिप चलिहाल्छ कि भनेर नै मैले केही बढी अत्तर, क्रिम इत्यादि सामान किनेको थिएँ– आमा, दिदीबहिनी, भाउजू, बुहारी खुशी होलान् भनेर । बिन्ती चढाएँ– ‘केही गर्न मिल्दैन त सर ।’ ‘कि सामान निकाल्नुस् नत्र प्रतिकिलो पचास दिरहम तिर्नुपर्छ,’ जबाफ आयो । हिसाबकिताब गर्दा सामानको मूल्यभन्दा बढी रकम तिर्नुपर्ने जस्तो भो । हिजो मात्रै भिडिओमा के–के सामान हालें भनेर देखाको थिएँ । छोड्ने आँट आएन । पैसो तिरें । तत्पश्चात् इमिग्रेसन काउन्टरतिर लागें । पासपोर्टमा छाप लाग्यो । ड्युटी फ्रीमा एउटा ब्ल्याक लेबल किन्ने रहर भए पनि सोध्ने आँट आएन । साहस बटुलेर मसिनो स्वरमा एउटा सुटमा उभिएको इन्डियन स्टाफलाई सोधें । नेपालीको अंग्रेजी सुन्नेबित्तिकै ‘ए यो त बहादुर रैछ, ल यता आऊ’ भनेर रक्सी नै रक्सीको भण्डारमा पु¥यायो । खल्तीको वजनअनुसारको एउटा बोतल र प्लेनमा पिउनलाई अर्को गरी दुई ओटा बियर बोकें । हिन्दीमा धन्यवाद दिएर हिँडें । अंग्रेजीमा फर्काउने हिम्मत जुटेन !

छिट्टै चेकिङ अनि इमिग्रेसनको काम सकिएकाले उडानका लागि दुई घण्टा समय थियो । यताउता रहल्लिएपछि अलि भोक लाग्यो । फूड काउन्टरमा गएर बिरयानी अर्डर गरें । काउन्टरवालाले ‘नेपाली भाइ, यो अलि महँगो पर्छ, समोसा खानेकी ?’ भनेपछि मेरो कन्सिरी तात्यो । ‘कति पर्छ र ? जाबो एउटा बिरयानी त हो नि !’ पेट अटसमटस भयो । हातमा रक्सीको झोला र ह्याण्ड क्यारी बोकेर बोर्डिङ लाइनमा लागें । बल्लतल्ल सबै चेक सकेर प्लेनभित्र छिरियो । धन्न सिटचाहिँ झ्यालतिरै परेछ । मनमनै खुसी भएँ । अबको चार घण्टामा त काठमाडौं !

प्लेन उड्नुअघि केबिन क्रिउले अनाउन्स् गरिन्– यो यात्रामा मद्यपान निषेध गरिएको छ । मलाई छट्पट भो । नियम नमिचे के मज्जा ? जे पर्ला–पर्ला, मनमनै कुरा खेल्न थाल्यो । जहाज उड्यो । खानापछि मलाई कतिखेर बियर खोल्ने आतुरी भो । ओभर हेडमा राखेको झोलाबाट बियर निकालेर एकै सासमा क्यान रित्याएँ । अर्को पनि पिएर आधाउधी हुँदो हो– केबिन क्रिउ आएर मेरो हातबाट दुबै क्यान लगे । सम्झाए– ‘हेर्नुस, प्लेनको नियमबिपरीत यसो गर्दिनु भएन ।’ मनमनै रिस उठ्यो । जवाफ फर्काउन मन थियो, तर उपाय थिएन । मनमा कुरा खेल्दाखेल्दै प्लेन त काठमाडौं एयरपोर्टमा अवतरण हुन पो लागिसकेको रहेछ । छाती भुक्क फुलेर आयो ।

प्लेनले रनवे टेक्यो । मलाई आतुरी भो ब्याग निकाल्न ओभर हेडबाट । उठें । प्लेन पार्किङतिर जाँदै थियो । झोला निकाल्न हतार–हतार क्याबिन खोल्दा कसैको ब्याग झरेर टाउकोमा ठोक्कियो । धन्न सानो रैछ, त्यति दुखेन ।

प्लेनबाट ओर्लिएर नेपाली इमिग्रेसन काउन्टरमा पुगें । पट्यारलाग्दो लामो लाइन । दुबई, मलेसिया, कतार, चीन, अन्य ठाउँबाट लगभग एउटै समयमा प्लेन उत्रेको रहेछ । बग्रेल्ती नेपाली– म त छक्क परें । हैन, नेपाली युवा सबै बिदेसिएकै हुन् त ? बल्लतल्ल मेरो पालो आयो । इमिग्रेसन अफिसरले मलाई के ‘यता हेर्नुस् त’ भन्या थे– मेरो थुतुनो मात्तियो । सबैलाई घुस्याहा देख्ने प्रवृत्तिले ममा एक किसिमको अन्धोभाव जागेको होला सायद । देश कसरी बिग्रेको छ र कसरी बनाउन सकिन्छ ? भन्नेबारेमा आफ्नो ज्ञानको घमण्ड मसँग भन्दा ज्यादा कोसँग छ होला र ? पासपोर्टमा छाप लागेपछि कड्के नजरले हेर्दै ब्यागेज कलेक्शनतिर गएँ । सुस्त अनि बाफिएको वातावरण । सरकारलाई धिक्कार्दै ब्यागसहित बाहिर निस्कन खोज्दा फेरि रोक्यो । ‘खोइ भाइ, यो ब्यागमा के छ ?’ रिसलाई नियन्त्रण गरें । लामो सास फेरेर सरसर्ती बताएँ । अन्यथा नभनी ल जानुस् भन्यो ।

मोलतोल गरेर ट्याक्सी बन्दोबस्त गरें । ‘ए सर यो विदेश होइन, बेल्ट लाउनु पर्दैन’ भन्यो चालकले । झ्याल खोलेर अलिअलि चिसो अलि धेरै धुँवा अनि असाध्यै धुलो खाँदै आठ किलोमिटरको यात्रा एक घण्टा लगाएर घर पुगियो । घरको गेट खोल्दै गर्दा मनमनै सोचें– ‘मेरो खोक्रिएको अभिमान आकासे सपना होला, वास्तविकता त त्यही जमिन अनि जमिनको धुलो नै रहेछ !’ तर, के ममा वास्तविकता स्वीकार्ने क्षमता होला ?

संयुक्त अरब इमिरेट्स

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार