कहिले पलाउला धमिराको प्वाँख ?

कहिले पलाउला धमिराको प्वाँख ?

एक वर्षअगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेसलाई धमिराको संज्ञा दिएर आलोचना गरेपछि दिमागमा धमिराबारे साह्रै कौतुहलता जागेको थियो । बाहिर सफा रहेको हल्ला गरे पनि कांग्रेस भित्रभित्र धमिरा लागेर खोक्रो भइसकेको भन्दै मोदीले धमिरा वर्णन सुनाएपछिको सकसकको परिणाम हो आजको बसाइ । उसै पनि भारतको कांग्रेस र नेपालको कांग्रेसको अवस्था र चरित्रमा उस्तो बेमेल भेटिन्न भन्छन् विद्वानहरु । त्यसैले प्रकृति र पर्यावरणबीच मात्र होइन राजनीति र धमिराबीच सम्बन्ध केलाउन पाए हुन्थ्यो भन्ने लाग्यो । 

गत वैशाखमा धनुषा पुगेर नेपाली कांग्रेसका झण्डैका उपसभापति बिमलेन्द्र निधिले सरकारमा आन्तरिक धमिरा लागिसकेको दाबी गरे । निधिले धमिराको जात र गोत्र त बताएनन्, तर सरकारलाई सरकारभित्रैको धमिराले धराशयी पार्ने बताएर मुसुमुसु हाँसे । होला नि त भन्ने लाग्यो खोजी गरिएन ।

राजा र गणतन्त्र दुबैको लहरोमा चढ्न खप्पिस कमल थापाले पनि गत भदौमा सरकारमा धमिरा लागेकाले चाँडै ढल्छ भन्दै खुसी मनाए । मान्छेहरुले टिप्पणी गरे, ‘मुसा प्रवृत्तिका मुखियाले धमिरा प्रवृत्तिको बखान छाँटेको सुहाएन ।’ अरुको टिप्पणीमा उति चासो राखिएन, मुन्टो बाङ्गो बनाएर हिंडियो । 

अगाडिकै सरकारका सञ्चारमन्त्री मोहन बस्नेतले धमिराका कारण नेपाल टेलिकम नामको संस्था डुब्ने भविष्यवाणी दिए । सरकारको तलब खाएर निजी क्षेत्र पोस्ने धमिराको बारेमा जानकारी भए पनि भन्न नमिल्ने भन्दै बस्नेतले धमिरा लुकाए, जनतालाई देखाएनन् । त्यसैले बस्नेतलाई जनताले पनि पत्याएनन् ।

बीमा संस्थानको कुरा आयो, सबैले भने संस्थानमा जताततै मान्छेको रुपमा धमिरा भएकाले त्यो उँभो लाग्न सकेन, लाग्दैन । त्यहाँ पनि लुकाउनै पर्ने धमिरा रहेछन्, बाहिर निकाल्ने ‘माई का लाल’ कोही भएनन् ।

हुँदाहुँदा नेपाल प्रहरीका मुख्तियार सर्वेन्द्र खनालले प्रहरी संगठनमा लागेको धमिरा फाल्न खोजिरहेको भनेर ढोल पिटे । निर्मला पन्तको हत्या प्रकरणमा आफैं लप्सीको गेंडो जसरी फनफनी घुमिरहेका खनालले चिनेको धमिरा दुनियाँले देख्न पाएनन् । ती धमिरै गायब भए ।

बादल उपनामले चिनिने गृहमन्त्री रामबहादुर थापाले यसै हप्ता नेपालमा सस्तो दरमा नागरिकता विक्रीवितरण भइरहेको र विदेशीलाई पनि नागरिकता दिन धमिराहरुबीच ठूलो चलखेल भइरहेको बताए । शरमको यो हद नाघेर बोल्दा उनलाई त लाज लाग्दैन, उनको बोली टप्प टिपेर लेख्न मलाई केको लाज ?

आठ महिनाअगाडि चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा धमिरा आतंक भेटियो । अमेरिकाको म्याक्स फाउन्डेसनले अनुदानमा उपलब्ध गराएको औषधीमा बिरामीले भन्दा धमिराले आनन्द लिए । लाग्यो, क्यान्सर धमिरालाई पनि त लाग्दो हो, त्यसैले खोजीनीति गरिएन । मानवीय सेवाका खातिर कसैले उपलब्ध गराएको ओखतीमै त्यत्रो धमिरा लाग्दा पनि चाल नपाउने अस्पताल प्रशासन संवेदनशील तक्माको हकदार हुनुपर्छ भनेर केही लेखिएन ।

केन्द्र सरकारमा मन्त्रालय सम्हालिरहेका हरेकजसो मन्त्री मन्त्रालयको छिद्रछिद्रमा धमिरा लागिरहेको भाषण गर्दा रत्तिभर लाज मान्दैनन् । बरु धमिरैलाई लाज लाग्दो हो । संसद्मा माधवकुमार नेपालले नाउ डुब्न लागेको गीत गाए । माझी बोलाए । दुई चार दिन रमाइलै भयो । तर, काठै खायो धमिराले, पात खायो किराले, यो ज्यान खायो तिम्रै पीरले भन्दै गीत गाउनेको लहर कम भएन ।

यति हुँदा पनि मैले धमिराको बारेमा उत्ति चासो राखिन । लाखौं वर्षदेखि पृथ्वीमा अस्तित्वमा रहेको धमिरा उर्फ काठेजुका उर्फ सेतो कमिलाले देशको हरेक संरचनामा कसरी घर बनायो भनेर खोज्ने सामथ्र्य ममा थिएन र छैन पनि । त्यसमाथि तीन हजारभन्दा बढी प्रजातिका धमिरा दुनियाँमा रहेछन्, एसियामै चार सयभन्दा बढी प्रजातिका रहेछन्, नेपालको राज्य संयन्त्रमा कुन जाति र प्रजातिको धमिराको बिगबिगी छ भनेर खोज्ने मुर्खता म किन गर्थें ? गरिन । 

वैज्ञानिकहरुले इजिप्टको प्राचीन पिरामिडभन्दा पनि पुरानो अवस्थामा रहेको धमिराको सुरुङ र कलात्मक प्राकृतिक संरचनाहरु पत्ता लगाए । माटोको परीक्षण गर्दा ३ हजार ८ सय २० वर्ष पुरानो मानिएको धमिराका ती सुरुङ पूरा नाप्दा लम्बाईबाट दुईवटा नेपाल बन्दोरहेछ । अर्थात् झण्डै दुई हजार किलोमिटर । र, आकारमा चाँहि हालको बेलायत भन्ने देशबराबर । अर्थात् २ लाख ३० हजार वर्ग किलोमिटर क्षेत्रफल बराबर । र, वैज्ञानिकहरुले २० करोडभन्दा बढी सुरुङहरु धमिरा निर्मित रहेको पनि दाबी गरेका छन् । मलाई लाग्यो यस्तै प्रजातिका केही धमिराले नेपाल खाल्डोमा घरजम ग¥यो र शनैःशनैः खोक्रो बनायो ।

२८ वर्षदेखि प्राणी र वनस्पती अध्ययन–अनुसन्धानमा सक्रिय रहेर उच्च स्थान बनाइसकेको ‘करेन्ट बायोलोजी’ पत्रिकामा एक हप्ताअगाडि धमिरा प्रतिवेदन देखेपछि झनै आश्चर्य लाग्यो । ब्राजिलको उत्तरपूर्वी इलाकामा केन्द्रित उक्त अनुसन्धानको निष्कर्ष पढेपछि वातावरण र पर्यावरण चक्रमा जिज्ञासा राख्ने भएकाले मनले मानेन र, यो लेख्न बसेंको हुँ ।

खासमा धमिरा विभिन्न रंगमा हुने रहेछन् । कालो, खैरो, रातो, सेतो इत्यादि । यसमा रातो टाउको भएको चाहिँ लडाकू स्वभावको रे, सेताचाहिँ सोझा वा काम मात्र गरिरहने मजदुर वर्गजस्ता हुन्छन् रे । अनि केलाएँ, देश हिजो पञ्चको पहेंलो धमिराले बिगारे भनियो, त्यसपछि कांग्रेसको सेता धमिराले खाएछन् र अबको पालो रातो धमिराको रहेछ भन्ने ठानेर चित्त बुझाएँ ।

विज्ञान भन्दो रहेछ– सूर्यको प्रकाशमा निरन्तर आएपछि धमिराको दोहोलो हुन्छ र तिनीहरु भागाभाग गर्दछन् । तर, हामीकहाँ जसै राज्यसत्तामा हँसिया हथौडा र सूर्यको राप र ताप देखियो धमिराहरुको बोलवाला र मस्तीको ग्राफ झनै उकालो चढ्दो छ । अस्ति मात्र संसद्को सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिद प्रकरणमा ६ अर्बको तलमाथि रहेको बताएपछि राता धमिराको बिगबिगी खोज्न अन्त जानै परेन । आयुर्वेदले नीमको पात वा नीमको तेल, तुलसी वा अन्य गाढा गन्धयुक्त पदार्थको उपयोग गरेर धमिराबाट आराम पाउन सकिने विधि सिकाउँछ । तर, हाम्रो देशमा सत्तापक्ष र प्रतिपक्ष दुबै धमिराकै गोलोबाट उत्खनन् भएर आएका प्राणीजस्ता भएकाले यो विकल्प पनि खेरै गएझैं लाग्यो ।

अन्तिममा, धमिराले खाडल खन्छ । पक्का हो । सुरुङ बनाउँदै जान्छ । पक्का हो । भोजनका लागि आहार भण्डारण गर्दै जान्छ । यो पनि पक्का हो । तर, एक दिन त्यही दुलोमा मुसा छिर्छ, राज्य गर्छ र धमिरा स्वाहा बनाउँछ । कि धर्ती नै खोक्रो भएपछि एकदिन त्यो खस्छ र धमिराको काल पर्छ । नत्र बुढो भएपछि त्यसको पनि पखेटा पलाउँछ र हावामा उड्न थाल्छ । नेपालीमा आहानै छ, ‘कमिलाको प्वाँख पलाउँछ’ भन्ने । खासमा प्वाँख पलाएपछि कमिला मात्र होइन, धमिराको पनि राज सकिन्छ । केही होला कि त भन्ने लागेको दुई तिहाईको वामपन्थी गठबन्धन आफैं धमिराको गोलोमा परिक्रमा गर्न थालेको प्रशस्त गतिला दृष्टान्तहरुको ठेली नै बन्दै गएपछि यसको पनि प्वाँख पलाउने दिन कुर्नुको विकल्पभन्दा अरु के नै छ र ?

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार