समृद्ध नेपालका लागि ‘हामी नेपाली ग्लोबल’

समृद्ध नेपालका लागि ‘हामी नेपाली ग्लोबल’

न्यूयोर्क । कुनै जाति, वर्ग, क्षेत्र र राजनीतिबाट माथि उठ्दै ‘हामी नेपाली ग्लोबल’ नामक संस्थाको न्यूयोर्कमा औपचारिक उद्घाटन भएको छ । गत शनिबार न्यूयोर्कको क्विन्स पब्लिक लाइबे्ररीमा आयोजित उद्घाटन समारोहमा अमेरिकाका विभिन्न राज्यमा बसोवास गरिरहेका, क्यानडा, युरोप लगायत मुलुकबाट आएका नेपालीसहित करिब २ सयको सहभागिता थियो ।

संस्थाको स्थापनासँगै नवगठित कार्यसमितिको नाम सार्वजनिक गरिएको छ । हामी नेपाली ग्लोबलको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा अमृत लामा, प्रथम उपाध्यक्षमा नवराज केसी, द्वितीय उपाध्यक्षमा नारायण पुरी, तृतीय उपाध्यक्षमा टेक लामा वाइवा, महासचिव मंगलदास श्रेष्ठ, सचिव शंकर खड्का, कोषाध्यक्षमा रविन वज्राचार्य, सहसचिवमा पेमा यान्जी लामा रहेका छन् । बोर्ड अफ डाइरेक्टरमा उद्धब गिरी, पदम ठकुराठी, ढ्याग्लेपो पुनेल, घनेन्द्र ढकाल, टासी लामा, राधा शर्मा, अर्जुन खड्का, शैैलेन्द्र श्रेष्ठ, खेमलाल भट्ट, प्रदिप तिमिल्सिना, थमप्रसाद बास्तोला र चिरञ्जीवी गौतम रहेका छन् । 

विश्वभरि छरिएर रहेका नेपालीलाई एकत्रित गर्दै नेपाल र नेपालीलाई समृद्ध बनाउने उद्देश्यले हामी नेपाली ग्लोबलको स्थापना गरिएको जनाइएको छ । ‘हामीहरुले विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा लगानी गर्ने अभिप्रायले संस्था स्थापना गरेका हौं । नेपाललाई विकसित र समृद्ध बनाउने जिम्मा तपाईं–हाम्रै हो,’ हामी नेपाली ग्लोबलले सबैलाई समेट्ने जानकारी दिँदै संस्थाका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष लामाले भने– ‘हामी कुनै पनि जातजाति, वर्ग, क्षेत्र र राजनीतिभन्दा हामी माथि उठेर काम गर्न प्रतिबद्ध छौं ।’

उनका अनुसार अमेरिका, युरोप जस्तै विकसित भइदिएको भए हाम्रो देशका युवाहरु विदेसिनुपर्ने थिएन । विदेसिएको युवाहरुलाई तार्गेट गरेर बिभिन्न योजना बनाउन र काम गर्न सकिन्छ ।

अमेरिका, नेपाल लगायत विभिन्न २० मुलुकमा संस्थाको सम्पर्क कार्यालय बनिसकेको छ । नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारलगायतमा लगानी गरेर नेपालमै रोजगारी सिर्जना गर्ने योजना रहेको छ ।

आयआर्जनको काममा युवाहरुलाई लगाएर विदेसिएको युवा जमातलाई रोक्नका लागि संस्थाले विशेष ध्यान दिने संस्थाका महासचिव मंगलदास श्रेष्ठले बताए । ‘विशेषगरी खाडी मुलुकमा कामदारका रुपमा जाने युवाशक्तिलाई रोक्नका लागि हाम्रो संस्थामार्फत गृहकार्य सरु भइसकेको छ,’ उनले भने– ‘सम्बन्धित सरकारी निकायसँग छलफल भइरहेको छ । आर्थिक अभावका कारण पढ्न नसकेका बालबालिकाका लागि विशेष कार्यक्रम लगिनेछ ।’

सञ्चारकर्मी शैलेस श्रेष्ठले अमेरिकामा नेपालीहरुले संस्था खोल्ने तर कामभन्दा पनि पदमै लुछाचुँडी गर्ने प्रवृत्ति बढेकाले ‘हामी नेपाली ग्लोबल’लाई त्यसो नगर्न सुझाए । संस्थाका गतिविधिलाई निरन्तर निगरानी गर्ने प्रतिबद्धता गर्दै सञ्चारकर्मी श्रेष्ठले पदको लोभ लालचबाट माथि उठेर नेपाल र नेपालीका लागि काम गर्न सुझाव दिए । ‘हिजो कतै जित्न नसकेकाहरु, कतैबाट लखेटिएकाहरु कसो–कसो पदको लोलुपता भएकाहरुको झुण्ड त होइन ?,’ संस्थाका पदाधिकारीलाई इंगित गर्दै उनले भने, ‘मैले व्यक्ति नै किटान गरेर लेखेको छु । त्यो मेरो निगरानी हो । तपाईंहरुभित्र भएको त्यो कुण्ठा र सुषुप्त लोभ निकाल्नु प¥यो अनि मात्रै ‘हामी नेपाली’ बन्न सकिन्छ ।’ 

कार्यक्रममा सहभागी कंग्रेस वुमन ग्रेस मेङले ‘हामी नेपाली ग्लोबल’लाई विशिष्ट अवार्ड प्रदान गर्दै २०१८ को नोभेम्बर २४ लाई ‘हामी नेपाली डे’ का रुपमा मनाउन प्रस्ताव गरेकी थिइन् । उनले संसारभर छरिएर बसेका नेपालीलाई एकत्रित बनाउँदै समाज र समुदायका लागि काम गर्न सुझाव दिएकी थिइन् ।

संस्थाको औपचारिक उद्घाटन गर्दै कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष लगायत पदाधिकारी, बोर्ड सदस्य तथा संस्थापक सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

हामी नेपाली ग्लोबलमा ४ एम्बासडर, ३२ काउन्सिलर, सञ्चार, कानुन, स्वास्थ्य, सांस्कृतिक रिसोर्स, हुमेन केयर, आइटी, खेलकुद, तालिम, क्रिएटिभ डिजाइन, जनसम्पर्क बिभागहरु लगायत विभिन्न विभागमा विभाजन गर्दै संस्था सञ्चालन गरिने तय भएको छ ।

कार्यक्रममा नेपाली महावाणिज्य दूतावासका उप महावाणिज्यदूत पुष्पराज भट्टराई, वाणिज्यदूत कृषु क्षेत्री, विभिन्न संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मी, अधिकारकर्मी लगायत दक्षिण एसियाली समुदायका व्यक्तित्वहरुको पनि सहभागिता थियो । कार्यक्रममा क्यानेडेली नेपालीहरुको समूह ‘हिमालयन भाइब्स’ले मौलिक नेपाली गीत–संगीत प्रस्तुत गरेको थियो ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार