जम्काभेट

जम्काभेट

जम्काभेटले जुन अर्थ राखे पनि हाम्रो यो भेट सुनियोजित हो । एउटै शहरमा बसे पनि मेरो र उहाँको भेट बिरलै हुने गर्दछ । जम्काभेट हुने छाँटकाँट नदेखिएपछि चिया बहानामा मौका छोपेको छु । २०÷२२ वर्षअघि उहाँसँग बोल्न पाए पनि हुने हुन्थ्यो । अहिले उहाँलाई खोतल्न पाए पनि हुने भइरहन्छ– मलाई । मेरो लागि हमेसा जिज्ञाशा र कौतुहलता बोकेको पात्र बनेको छ– महेश्वर घिमिरे । थोरैले पढ्न सक्ने शालिन व्यक्तित्वलाई मैले युनिभर्सिटी ठानेको छु– मैले पढ्न नसकेको । खासमा म उहाँबाट प्रभावित भएको कारण उहाँको संस्कृत र जापानिज भाषाको भरपूर ज्ञान । अरु थप आज निकाल्ने यत्न गर्छु । म चाहन्छु जम्काभेटमा भएका हरेक बातचितले संघर्ष, सफलता र सन्तुष्टीको कथाहरु बोकुन् । पाठकहरुका लागि वार्ता रोचक बनुन् । दाइ भन्ने गर्छु म । उहाँसँग अनौपचारिक नै गफ शुरु गरें ।

दाइलाई आज फेला पारें, किन हराउनु भएको ?

हराएको छैन भाइ । हराएको जस्तो देखियो । काम घर, फेसबुक नेपाल, अलिकति समाज र सम्बन्धमै रुमल्लिएको छु ।

बरिष्ठ पुरेत बाजेको छोरा । ७ वर्षको उमेरदेखि नै कर्मकाण्ड गरेर खप्पिस भएका । लामो समय शिक्षण पेशा । हजुरबा बनिसकेको मान्छे । जापान अमेरिका गरेर १५÷२० वर्ष विदेशमा बिताइसकेको अग्रजलाई के कुन सीमा राखेर कुरा शुरु गरौं भइराखेको थियो ।

दाइ अमेरिकामा त मन्दिर नै मन्दिर छ, पण्डित बनेर पुरेत्याइँ गर्न पाए पुण्य पनि पैसा पनि हुन्थ्यो जस्तो लाग्दैन ?

पुरेत्याइँ मेरो दुःख हो भाइ । मैले स्कुल नसक्दै मेरो बुबा स्वर्गवास हुनुभएपछि एउटै मात्र छोरा भएको कारणले मैले स्कुलको कक्षा छोडी छोडी कसैको व्रतबन्ध, कसैको विवाह, कसैको रुद्री पूजा गर्दै पिंढी चहार्दै हिँड्नु प¥यो । सिदा उठाउन जाँदा साथीभाइले टपरे भनेको सुन्दा मुटु चिढिन्थ्यो । संस्कृत भाषा, वेद, पुराणको ज्ञान हासिल गरेर अरुलाई भगवानसँग जोडिदिने माध्यम बन्दिदा मागेर खाएको जस्तो व्यवहार देखाएको पटक्कै मन पर्दैनथ्यो । अहिले अरुको भावनाको कदर गर्ने संस्कार बढेको छ । त्यसैले अब मलाई कर्मकाण्ड गरेर खान्छु जस्तो लाग्दैन ।

संस्कृत भाषा कस्तो हुन्छ दाइ ?

यो भाषा आफैँमा ज्ञान हो । संसारको पुरानो भाषामध्ये एक हो । यो एक किसिमको क्लिष्ट र नियम बढी भएको भाषा भएकाले जनजिब्रो बनेर टिकिरहन सकेन ।

दाइलाई त जापानिज भाषा पनि राम्ररी आउँछ नि होइन ?

हो । मैले जापानिज भाषामा भाषण नै गरेको छु । म जसरी नेपाली, हिन्दी, अंग्रेजी बुझ्छु त्यसरी नै जापानिज पनि सजिलै बुझ्छु । जापानिज मेरो नेपालीपछिको शुद्ध भाषा हो । जापानिज भाषा र संस्कारले मलाई धेरै दिएको छ ।

साँच्ची अब नेपाल फर्कन्छु जस्तो लाग्दैन ? धेरै त विदेशमै बिताउनु भयो त ?

मलाई स्कुलले कर्मकाण्डतिर खेद्यो । घरले कलिलैमा जागिर खान बाध्य पा¥यो । जागिरले विदेसिनुपर्ने बनायो । २६ वर्ष अघि जापान जाँदा विदेसिने जुन उत्साह थियो, अहिले विदेश बसिराखु जस्तो उत्साह छैन । नेपाल फर्किने भनेर नै अहिले नयाँ घर बनाउन थालेको छु । बुढी आमा, श्रीमती, छोरा, नातिसँग बस्ने रहर कसलाई हुँदैन र ? मेरो कथा सुन्नलाई बाबु तिम्रो पत्रिकाको पूरै पानाहरुले पनि पुग्दैन ।

कथा रमाइलो भए सुनौं न त दाइ ?

अरुलाई सुन्दा रमाइलो लाग्छ किनकि मानिसलाई अरु चिप्लिएर लड्दा हाँसो उठ्छ । दुःखका कथाहरु हिट हुन्छ । मेरो त झन् सुपरहिट हुन्छ होला । अरुले देख्दा पण्डित जस्तो देखिन्छ, तर पण्डितको व्यथा कसले बुझ्ने ?

यहाँ अमेरिकाचाहिँ किन आउनु भाको ? कति जति भयो ?

औसत नेपाली जुन सपना बोकेर सपनाको देश अमेरिका पस्दछ, मेरो पनि अमेरिकी सपना नै हो । जापानदेखि युरोप हुँदै अमेरिकाको हवाईमा ३ वर्ष बसें । अनि न्यूयोर्कमा २ वर्ष । समय उडेको पत्तै नपाउने ठाउँमा कति भयो भन्नु ?

अमेरिकामा दुःख कि जापानमा दाइ ?

दुःख केलाई भन्ने ? म काठमाडौं डिप्लोमा पढ्न बस्दा बिहान एउटा स्कुलमा, दिउँसो अर्को स्कुलमा पढाउँथे अनि साँझमा त्रिचन्द्र कलेजमा पढ्न जान्थे । पुरेतको छोरा नेवार नै नेवारको बाक्लो बस्ती भएको टोखा जस्तो ठाउँमा बसेर नेपाली नै नबुझ्ने बच्चाहरुलाई समेत पढाएर बसें । के त्यो मैले सुखका लागि गरेको थिएँ र ? जापान होस् कि अमेरिका, नेपाल, काम जहाँ गए पनि गर्नुपर्छ । काम दुःख हो कि सुख हो आफैँ बुझे हुन्छ ।

नेपाली खस भाषा नै नबुझ्ने बच्चालाई कसरी पढाउनु भयो ?

घरको चित्र बनाएर ‘घर’ लेखेर देखायो भने ‘छें’ भनेर भन्दथे । यति लामो नाक लिएर नेवारको भोजमा बस्नु पथ्र्यो ।

समय रहेछ बलवान । समयका लागि धन्यवाद दिएर एकछिन हाँसेर बितायौं अनि छुट्टियौं ।

 

प्रस्तुती– योगेश आदी

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार