जेनरल मोटर्सले अमेरिकामा ५ फ्याक्ट्री बन्द गर्ने

जेनरल मोटर्सले अमेरिकामा ५ फ्याक्ट्री बन्द गर्ने

१४ हजारको जागिर गयो

न्यूयोर्क, (एजेन्सी) । अमेरिकाको सबैभन्दा ठूलो मोटर कम्पनी जेनरल मोटर्सले उत्तर अमेरिकामा रहेको आफ्ना पाँच फ्याक्ट्री बन्द गर्दै १५ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले सोमबार बिहान मिचिगन, ओहायो, मेरिल्याण्ड एवम् क्यानडाका दुई प्लान्ट बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो । यसका साथै, केही सेडान कारको उत्पादन पनि बन्द हुनेछ । यीमध्ये केही फ्याक्ट्रीमा इन्जिनसमेत उत्पादन हुन्थ्यो । खर्च कटौती र नाफा बढाउने प्रयोजनका लागि यो निर्णय लिएको कम्पनीको भनाइ छ ।

रिटेल व्यापारमा प्रसिद्ध सेयर्सले टाट उल्टिएको घोषणा गरेको डेढ महिनामै अमेरिकी अर्थतन्त्रमा यो अर्को नकारात्मक घटना भएको हो । जेनरल मोटर्सले पछिल्लो पटक सन् २००७–०८ को आर्थिक मन्दीको चोटबाट ब्युँझन २०१० मा प्लान्ट बन्द गरेको थियो । एक समय अमेरिकी सडकमा एकछत्र राज गरेको कम्पनीले आगामी दिनको लगानी मोटरभन्दा पनि प्रविधिमा केन्द्रित गर्ने जनाएको छ । त्यसमाथि अमेरिकी उपभोक्ताको एसयुभीप्रतिको बढ्दो लगावका कारण सेडान कारको लगानी निरर्थक बन्दै गएको कम्पनीको भनाइ छ ।

कम्पनीले पछिल्लो समय नयाँ नारा अख्तियार गरेको छ– ‘जेरो क्र्यासेस, जेरो इमिसन, जेरा कन्जेसन’ । यसले जेनरल मोटर्स बिस्तारै सेल्फ ड्राइभ विद्युतीय कारतिर केन्द्रित हुन थालेको समेत संकेत गरेको छ । कम्पनीले यी प्लान्ट सन् २०१९ को अन्त्यसम्ममा बन्द गरिसक्ने जनाएको छ । त्यसो गर्दा २०२० को अन्त्यदेखि ६ अर्ब डलर बचत हुने र त्यो नतिजामुखी क्षेत्रमा लगानी गर्ने जनाइएको छ । यी प्लान्ट बन्द गरी प्रविधिमा लगानी बढाउँदा नयाँ कार निर्माण र लागत दुबै छोट्टिने कम्पनीको दाबी छ । कम्पनीले आउँदो वर्षको अन्त्यसम्ममा उत्तर अमेरिका बाहिरका तीन प्लान्ट बन्द गर्ने भएको छ । तीमध्ये कोरियाको प्लान्ट बन्द गर्ने जानकारी त गत वर्ष नै दिएको थियो ।

कम्पनीको निर्णयका कारण ८ हजार तलबी कर्मचारीले रोजगारी गुमाउनेछन् भने ६ हजार ज्यालादारी कर्मचारीको पनि जागिर जानेछ । कम्पनीले गत महिना १८ हजार तलबी कर्मचारीका लागि स्वैच्छिक अवकाश योजना पनि ल्याएको थियो ।

सन् १९०८ मा स्थापना भएको कम्पनी २००७–०८ को आर्थिक मन्दीबाट भने अत्यन्त कष्टले मात्र बाँच्न सफल भएको हो । सन् २००९ मा कम्पनीले ब्यांकरप्सी नै फाइल गरेको थियो । त्यसपछि ओबामा प्रशासनले ठूलो राहत प्याकेज दिएर कम्पनी बचाएको थियो । त्यसपछि सन् २०१० मै कम्पनी नाफामा गएको थियो । त्यसयता कम्पनीको वित्तीय अवस्था सबल नै रहे पनि प्रमुख बजारका रुपमा रहेको उत्तर अमेरिका र चीनको व्यापार घटेर चुनौती थपिएको छ । प्रमुख कार्यकारी अधिकृत मेरी बाराले त्यही चुनौती सामना गर्न र नयाँ दिशा तय गर्न प्लान्ट बन्द एवम् कर्मचारी कटौती योजना ल्याएको बताएकी छिन् ।

कम्पनीले नाफा बिस्तार र नयाँ क्षेत्रमा लगानीका लागि भन्दै गरेको घोषणाको सेयर बजारले पनि स्वागत गरेको छ । सोमबार कम्पनीको शेयरमूल्य पाँच प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । तर, यसले राज्य सञ्चालकहरुलाई भने दुखी बनाएको छ । क्यानडाका प्रधानमन्त्री जष्टिन टेडेरुले जेनरल मोटर्सको निर्णयका कारण रोजगारी गुमाएको प्रति सहानुभूति व्यक्त गर्दै उनीहरुलाई राज्यले सहयोग गर्ने उल्लेख गरेर ट्विट गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सोमबार अपराह्नसम्म यसबारे प्रतिक्रिया दिएका छैनन् ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार