पोर्चुगलमा संसारकै ठूलो च्याउ

पोर्चुगलमा संसारकै ठूलो च्याउ

नेपाली व्यवसायी सापकोटाद्वारा सार्वजनिक

काठमाडौं । विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक भएको छ । विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहुमूल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको हो । चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिसबनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक भएको छ । उनको यो कार्यक्रमलाई संसारका धेरै सञ्चार माध्यमले फलो गरेका छन ।

पोर्चुगलका राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत तीन दर्जन बढी पत्रकारको विशेष उपस्थितिमा सापकोटाले सार्वजनिक गर्दै उक्त च्याउ पाँच वर्षयताकै विश्वमै सबैभन्दा ठूलो भएको दाबी गरे ।

कार्यक्रममा सापकोटाले च्याउको प्रकृति, स्वाद, विश्व बजारमा यसको महत्व लगायतका विषयमा जानकारी दिएका थिएका थिए । सो च्याउको तौल एक किलो १५३ ग्राम रहेको छ । विश्वमै इटाली र क्रोएसियामा मात्र पाइने उक्त प्रजातिको ह्वाइट ट्रफल च्याउ विश्व बजारमा लाखौँ मूल्यमा खरीद बिक्री हुने गर्दछ । विश्व बजारमा अत्यधिक मूल्य पर्ने भएकाले यसलाई ‘ह्वाइट डायमण्ड’ भनेर पनि चिनिन्छ । खरीद मूल्य सार्वजनिक नगरिएको भए पनि तौल र यसको बजार मूल्यका आधारमा सर्वाधिक महङ्गो मूल्यको ठूलो च्याउ पोर्चुगल भित्र्याउने सापकोटा अहिलेसम्मकै दोस्रो व्यक्ति बनेका छन् । यसअघि सन् २०१६ मा एक पोर्चुगिज नागरिकले ६१८ ग्रामको ट्रफल च्याउ ३० हजार युरो अर्थात् करीब रु ३८ लाख नेपालीमा पहिलोपटक पोर्चुगल भित्र्याएका थिए ।

इटालीमा भएको लिलाम बिक्रीमा ८८० ग्रामको सोही प्रजातिको च्याउ हङ्कङका एक नागरिकले ८५ हजार युरो अर्थात् करीब रु एक करोड १० लाख नेपालीमा खरीद गरी हङकङ लगेका थिए । सो प्रजातिको च्याउ इटालीमा हरेक वर्ष नोभेम्बर ११ मा लिलाम बिक्री हुने गर्दछ । जहाँ विश्वभरका च्याउसँग सम्बन्धित ठूला व्यापारीहरु सो प्रजातिको च्याउ खरीद गर्न इटाली पुग्ने गर्दछन् ।

यस्तै प्रजातिका सानो–सानो कमसल प्रकृतिको च्याउको बजार मूल्य भने गत वर्ष चार हजार ५०० युरोे अर्थात् झण्डै रु छ लाख नेपालीप्रति किलो रहेको थियो । यो प्रजातिको धेरै तौल भएको च्याउ विश्व बजारमा दुर्लभ र बहुमूल्य मानिन्छ । खरीद मूल्य सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा सापकोटाले च्याउ अमूल्य भएको प्रतिक्रिया दिएका छन् । सापकोटाले च्याउको खरिद मूल्यभन्दा पनि विश्वकै ठूलो च्याउ प्राप्ति नै आफ्नो लागि सौभाग्य भएको बताए । बचतमध्येको हिस्साबाट लगानी गरेर च्याउ खरीद गर्न सफल भएको उनको भनाइ रहेको छ ।

संसारभर यो च्याउको आफ्नै महत्व र मूल्य छ । ‘यो च्याउ प्राप्त गर्न सक्नु मेरो व्यवसायिक जीवन कै सबैभन्दा ऐतिहासिक र खुशीको क्षण हो,’ उनले भनेका छन् । यस्तो दुर्लभ प्रजातिको च्याउ प्राप्तिले अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हात पारेको अनुभूति भएको उनको प्रतिक्रिया छ । सर्वाधिक महँगो र ठूलो च्याउ आफ्नो कब्जामा पार्न सफल हुँदै गर्दा एउटा नेपाली भएको नाताले नेपाल र नेपालीको गौरव बढेको महसुस भएको सापकोटाले बताए । मान्छेले फलाउन र खोज्नसमेत नसक्ने उक्त प्रजातिको च्याउ विशेष तालीम प्राप्त कुकुरबाट खोज्ने गरिन्छ । यो एक प्रकारको च्याउका रुपमा परिचित ‘ह्वाइट ट्रफल’ गिट्ठा जस्तै जमीनमुनि फल्ने ढुसीजन्य खाद्य वनस्पती हो ।

इटालीयन खानामा मिसाएर विशेष परिकारका साथमा यो च्याउ खाने प्रचलन छ । खानामा विशेष सुगन्ध र स्वादका रुपमा प्रयोग गरिने उक्त च्याउलाई पानीले पखालेर नपकाइकन खानाको परिकारमाथि खुर्केर हाल्ने गरिन्छ । विश्वमै सर्वाधिक महँगो खानाको परिकारका रुपमा यसलाई लिने गरिन्छ ।

यसैबीच सापकोटा इटालीमा सम्मानितसमेत भएका छन् । च्याउसम्बन्धी खानाको प्रचारप्रसारमा विशेष योगदान पु¥याएको भन्दै विश्वभरका २० जनामध्ये पोर्चुगलबाट सापकोटालाई सम्मान गरिएको हो । सापकोटा च्याउ खानासम्बन्धी पोर्चुगलका लागि ब्राण्ड एम्बासडरसमेत नियुक्त भएका छन् । सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिसबनमा तीन वटा इटालीयन र दुई नेपाली गरी पाँच ठूला रेष्टुराँ सञ्चालनमा रहेका छन् । सापकोटाले सञ्चालन गरेका र्फोनो दी ओरो रेष्टुरा विश्वकै उत्कृष्ट २० पिज्जा बनाउने रेष्टुराँमध्येको एक हो । जहाँ सुनको चुल्होमा खाना पकाइन्छ । संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को)ले सापकोटाले सञ्चालन गरेका दुई वटा पिज्जा रेस्टुराँलाई पिज्जा बनाउने (अद्वितीय सांस्कृतिक र खानपानको परम्परा) कलालाई विश्व सम्पदामा समेत समावेश गरेको छ । बागलुङका स्थायी बासिन्दा सापकोटा विगत २० वर्षदेखि पोर्चुगल बस्दै  आएका छन् ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार