अणु, अनुशासन, मन र जागरणको जुन !

अणु, अनुशासन, मन र जागरणको जुन !

मनको क्यानभासमा अनुशासनको आकृति

पदार्थको सबैभन्दा सानो रुपलाई परमाणु भने जस्तै यौगिकको सबैभन्दा सानो रुपलाई अणु भनिन्छ । मानिस मानसिक, भौतिक र रासायनिक तत्वहरुको एक जटिल मिश्रित संरचना हो । त्यसैले मानिसको जीवन विविध भौतिक तथा मनोवैज्ञानिक अणुहरुले बनेको छ भन्दा फरक पर्दैन । अनुशासन शब्द अनु उपसर्ग र शासन प्रत्यय मिलेर बनेको छ । सामान्य रुपले हेर्दा अनुशासन भन्नाले अणुमाथिको शासन, अणुमाथिको आधिपत्य, अणुमाथिको अनुगमनका रुपमा अथ्र्याउन सकिन्छ । सामाजिक जीवन व्यवहारमा अनुशासन भन्नाले हामी स्थान, समय र समाज सुहाउँदो आचरण व्यवहारलाई बुझ्दछौं । समाज विकासको क्रमसँगै हामीले विविधखाले अनुशासनहरुको अवलम्बन सामाजिक संस्कार, सांस्कृतिक परम्परा र मान्यताहरुको रुपमा गर्दै आएका छौं । वैयक्तिक र सामाजिक अनुशासनले समाजमा सौहार्दता, सहजता, सहअस्तित्व र सामन्जस्यताको अनुभूति दिलाउँछ । यहाँ अनुशासनलाई मन, तन र धनको सेरोफेरोमा राखेर विचार र विश्लेषण गरिएको छ । 

मन हाम्रो जीवनको वास्तवमै अत्यन्त जटिल वास्तविकता हो । बाह्य जगतमा हुने कुनै पनि जीवन व्यवहार, क्रिया र प्रतिक्रियाहरू मनको केन्द्रमा नै सिर्जित हुन्छन् र परिस्थितिको आवश्यकता र अनिवार्यता बमोजिम विवेकले बाह्य व्यवहारसम्म प्रक्षेपण गर्दछ । बुद्धि खुकुरी जस्तै र विवेक धार जस्तै हो । बुद्धि र विवेकको उपस्थितिले नै मानिसलाई अन्य प्राणीहरूबाट छुट्याएको छ । विवेकको आधारशिलामा नै अनुशासनको जन्म हुन्छ । देश, काल र परिस्थितिअनुसार अनुशासनको सीमा र परिधिहरू फरक–फरक हुन सक्दछन् । कार्यक्षेत्रमा अनुसरण गरिने अनुशासन, गाउँ समाजमा अवलम्बन गरिने अनुशासन, घर व्यवहारमा, साथी–संगी, प्रेमी–प्रेमिका र श्रीमान्–श्रीमतीमा देखाइने र देखिने अनुशासनहरूका प्रकृति फरक–फरक हुन सक्दछन् ! मान्छेको मन बलियोमा अत्यन्त बलियो र नाजुकमा अत्यन्त नाजÞुक वास्तविकता हो । मनमा उठ्ने सकारात्मक वा नकारात्मक विचारको प्रभावले मानिस अनुशासनको सीमा र दायरालाई नाघ्न पुग्दछन् र फलस्वरूप व्यक्ति, समाज र समुदायमा अवान्छित क्रियाकलापको जन्म गराउन पुग्दछन् । यौन र मनोरञ्जन मनको अत्यन्त सहज अवतरण र विचरणको क्षेत्र हो । अक्सर मानिसहरू भन्ने गर्छन् कि प्रेम अन्धो हुन्छ । वास्तवमा प्रेम होइन, वासना अन्धो हुन्छ । वासना यौनको सारथी हो । प्रेम र वासनाबीचको दूरी यति छोटो हुन्छ कि मनलाई ती अलग–अलग विषयहरू हुन् भनी खुट्याउनसमेत गाह्रो हुन्छ । मनले नै पहिचान नगरेको विषयमा बुद्धि र विवेक निस्प्राण प्रायः हुन्छन् । विवेकको अनुपस्थितिमा वासनाले गति र वेग लिन्छ र त्यही आवेगमा मान्छे अनुशासनका सारा सिमाना र परिधि नाघ्न पुग्दछन् ।

स्वधर्म र मन

धर्मको अर्थ यहाँ समाजमा प्रचलित संगठित धर्म होइन । धर्म भन्नाले यहाँ जीव या पदार्थको आफ्नो प्राकृतिक स्वभाव वा गुणलाई बुझ्नु पर्दछ । जस्तै– आगोको गुण जलाउनु हो र पानीको गुण भिजाउनु वा गलाउनु हो । आफ्नो प्राकृत गुणमा अवस्थित हुनु वस्तु अथवा पदार्थ प्रकृतिप्रदत्त अनुशासनमा हुनु हो । समुद्र जबसम्म आफ्नो तटीय मर्यादामा रहन्छ तबसम्म सुनामी र सामुद्रिक आँधी आउँदैनन् र प्राकृतिक विनासलीला पनि निम्त्याउँदैन । तर, घामको राप र हावाको झोकाप्रति जब ऊ लालयित र उत्प्रेरित हुन्छ, तब समुद्र आफ्नो तटीय अनुशासनको सिमाना नाघ्छ र सुनामी र सामुद्रिक आँधीको सिर्जना गर्दछ, परिणाम प्राकृतिक विनास हुन्छ । मानिसको मन सागर जस्तै हो, जबसम्म वासनाको हावाले उत्तेजित बनाउँदैन, राग र द्वेषको रापले आन्दोलित बनाउँदैन तबसम्म मन अविचल र आनन्दित रहन्छ तर जसै ती विषयहरूले मनको सागरमा प्रवेश गर्छन् तब वचन र तनको अणु, अणुमाथिको शासन र व्यवस्थालाई तरंगित बनाइदिन्छ र मानिसलाई अनुशासनको सीमा नाघ्न विवश बनाउन सक्छ । भलै भविष्यमा पश्चात्तापको आगोमा जल्नु किन नपरोस् ।

शास्त्रमा भनिएको छ– ‘शरेयान सवधर्मो विगुणः परधर्मात सवनुष्ठितात सवधर्मे निधनं शरेयः परधर्मो भयावहः’

अर्थात्, आफूलाई तर्कसंगत नलागे तापनि आफू आबद्ध संगठनले सुम्पेको जिम्मेवारी बहन गर्नुपर्दछ, न कि तर्कसंगत लागेर अरूको । युद्ध मैदानमा उत्रिसकेको सैन्य जवानले बुद्ध वचनहरू याद गरेर हुँदैन आफ्नो अफिसरले दिएको आदेशलाई शिरोधार्य गर्नु उसको परम धर्म र अनुशासन हो । त्यसले मात्र ऊ आफूलाई र आबद्ध संस्थालाई बचाउन सक्दछ । आफ्नो धर्म र आफ्नो आत्मानुशासनमा रहँदा यदि घाटा नै बेहोर्नु परे तापनि त्यो उत्तम नै हुन्छ, अरूको स्वार्थ र सिद्धान्तअनुकूल भइदिएर नाफा आर्जित गर्नुभन्दा किनकि अरूको पथको पथिक हुनु भनेको चरम विनासको आमन्त्रण गर्नु हो ।

यो ब्रह्माण्ड र सृष्टि त्यही स्वधर्म र अनुशासनको पृष्ठभूमिमा एक लयबद्धतासाथ चलिरहेका हुन्छन् । सम्पूर्ण ग्रह तथा नक्षत्रहरू आ–आफ्नो कक्ष र लक्ष्यमा ब्रम्हण्डिय नियम, अनुशासन र स्वधर्ममा रहेर रौं बराबरको पनि फरक नपारी आफ्नो कर्तव्य निभाइरहेका हुन्छन् । यदि सृष्टिको सानोभन्दा सानो पिण्ड, पदार्थ, ग्रह तथा नक्षत्र आफ्नो लक्ष्य र कक्ष भुलेर, आफ्नो स्वधर्म वा अनुशासनलाई अलिकति मात्र तल–माथि गरेमा सृष्टिमा नै महाप्रलय हुन्छ । एक दिन थकाइ लाग्यो भनेर चन्द्र वा सूर्य नउदाउने हो भने प्रतीकका रूपमा बुझ्नु होला, पृथ्वीले सूर्यलाई घुम्छ– यहाँ सृष्टिमा के हुन्छ ? हामी कल्पना पनि गर्न सक्दैनौं । 

मनको आकाशमा जागरणको जुन

भनिन्छ मन सबै समस्याहरूको जड हो र समस्या समाधानको धरातल पनि । मनकै आकाशमा विचारका बादलहरू मडारिन्छन् । मनकै तलाउमा स्मृतिका प्रतिविम्बहरू आवर्तित हुन्छन् र वासनाका तरंगहरू तरंगित हुन्छन् । अनि  मनकै क्यानभासमा कल्पनाका आकृतिहरू कोरिन्छन् । मनको रंग हुँदैन स्वच्छ र सफÞा पानी जस्तै । पानीमा जुन रंग मिसायो त्यही रंगको भइदिन्छ पानी त्यस्तै गरी मन लोभसँग लोभी भइदिन्छ, पापसँग पापी भइदिन्छ मन । वासना, रिस, राग र इष्र्या जस्ता विषयहरूसँग मनले आफ्नो रूप एकाकार गराई आफूलाई त्यसैको रूप, रंग र गुणमा अनुवाद गरिदिन्छ । मन जब कञ्चन पानी जस्तै शुद्ध हुँदैन, अनुशासित हुँदैन, आफ्नो स्वाभाविक स्वरूप वा धर्ममा हुँदैन तब मानिस त्यही विषयहरूको तरंगहरूमा तरंगित हुँदै अनेक कुकर्महरूमा सरिक हुन्छन् । अध्यात्मको सारा प्रयास मनलाई उद्वेलित र उत्तेजित गर्ने विषयरूपी बादलहरूमा चाँदीको घेरा जस्तै जागरणको जुन देखाई होसको दीप बाल्नु हो । जसरी फिलिमको पर्दामा देखिएको दृश्यलाई र घटनालाई परिवर्तन गर्नका लागि पर्दामा नै चैं हामी केही पनि गर्न सक्दैनौं त्यस्तै गरी विषयहरूको प्रभावमा गरिएका कर्मप्रति हाम्रो कुनै अधिकार रहँदैन तर परिणाम र प्रभावहरूको आवर्तनबाट भने हामी बच्न सक्दैनौं । त्यसैले कुकर्मबाट बच्नका लागि र हाम्रा कर्महरू सुकर्म होस् भन्नका लागि मनको मन्दिरमा होसको दीप बालेर जागरणको प्रकाश बढाउनाले वासनाका हावा र बतासहरू अनि विषयका बादलहरू स्वयम् हट्दै जान्छन् र मनको शान्त तलाउमा जागरणको जुनको प्रतिविम्ब प्रतिविम्बित हुन थाल्दछ । मानिसले मनको तरंगबाट मुक्त भएर निर्वाणको झलक पाउँछन्, निर्वाणिक मन या त निर्माण गर्छ या त निर्वाणमा नै स्थित रहन्छ ।

कनेक्टिकट

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार