बेराको डायरी–४

बेराको डायरी–४

न्यूयोर्क । आकाशेखेती मौलाएको वर्ष न्वागीमा खीर खाएजस्तै राम्रो ग्रूप परेको सिजनमा सबै पर्यटन व्यवसायी र कर्मचारी मालामाल हुन्छन् । होटल, ट्रेकिङ, टिकट, टुर, सपिङ जताततै कमिसन नै कमिसन । पैसा चिन्नेहरू पैसाको सही सदुपयोग गर्छन्, मनोरञ्जन गर्न जान्नेहरू पैसा उडाउँछन् र आनन्द लिन्छन । पैसा पनि बडो गज्जबको चिज छ, नहुँदा सात फिटको बहुप्रतिभाशाली मानिसलाई पनि संकुचित र पुड्के बनाइदिन्छ । जब पैसा हुन्छ, तीन फुटियाको कद पनि बढेर दश फिटको बनाइदिन्छ । हाउभाउदेखि हिँड्ने–खाने कलामा बिछिट्ट रवाफ देखिन थाल्छ । हुने र नहुनेको संगत पनि लामो टिक्दैन कहीँ न कहीँ टकराव वा बिमती आइहाल्छ । भेंडा भेंडासँग, बाख्रा बाख्रासँग भनेको यही होला, हुनेखाने रेष्टुरेन्टतिर नहुने भट्टीतिर ।

लब्धप्रतिष्ठितहरूको संगत, हिमचिम र उठबसले ल्याएको बृहत परिवर्तनले उसमा छुट्टै किसिमको बदलाव आयो । पुराना साथीसंगती टाढिए । गाउँसँग बिरानियो । बोलीचाली लवज अर्कै भयो । कोही इष्र्या गर्ने भए त कोही जल्न थाले । सबै काम पैसाको आडमा चल्न थाल्यो । जुन तेस्रो विश्वको मनुवालाई लाग्ने सबैभन्दा नराम्रो रोग थियो ऊसलाई पनि स¥यो । कलेज बन्द भयो । गइहाले पनि क्यान्टिन गन्हाउने भयो । बाहिरै बसेर खाजा अर्डर गर्नु, सबैको बिल तिरिदिनु अरूको आस्था र अस्मितामा घोचपेच र अपमान गर्नु सामान्य बन्दै गयो । गाउँपाखा प¥यो । बाबुआमा गरिब बने । दिनचर्या बदलियो ।

सोमशाला, मधुशाला, रसरंग र भोगविलास आदत बन्यो । जिन्दगी बिस्तारै बाँसको झ्याङमा फलेको लौका जस्तो जो–कसैको हातमा आउनै नसक्ने बन्दै गयो । व्यापार–व्यवसाय रछ्यानको मूला बनेर दिनानुदिन मौलाउँदै थियो । समय न हो राम्रो हुँदा सलल बग्छ, जब नराम्रो हुन्छ तब तराईमा बाढी पस्छ । हिमाल पहिरो बनाउँछ, पहाड डाँडै बगाउँछ, त्यसैले भनिन्छ नि सबै लागोस् तर खराब समय नलागोस् ।

२००१ को स्प्रिङ सामान्य थियो । व्यापार–व्यवसाय राम्रै चलेको थियो । मे महिनाभरिको तयारीपश्चात् मे ३१ साँझ पोखरामा होटल लिने निर्णय ग¥यो । जुन निर्णय कोदालो खुट्टा काट्टिनु वा बन्चरोले औंलो चिरूनु बराबर साबित भयो । जुन १ तारिख दिनमा सबै पैसा चुक्ता ग¥यो राति दरबार हत्याकाण्ड भयो ।

रातको १२ बजेको हुँदो हो, भर्खर सुतेको थियो एक सहकर्मी भाइको फोन आयो– ‘ए दाइ मुला दिपेन्द्रेले त बाउआमालाई गोली ठोकेर मारे छ नि !’ दिमागमा आफूले चिनेकामध्ये कुनै दिपेन्द्र दिमागमा नआएपछि सोधें– को दिपेन्द्र ?

मुला त्यो राजाको छोरो के त !  उसले थप्यो । मैले भनेको हैन, कोकिन खान्छ, पशुपतिको छोरीसँग लागेको छ रे, यसले दरबार सकाउँछ दाइ ।

ऊ स्तब्ध भयो । भारतीय ग्रूप दरबार अगाडि ऊडल्याण्ड र याक एण्ड यतीमा बसेका थिए । कफ्र्यू लाग्ने डर भयो । आँखा अगाडि दराजमा आफूले टाँसेको बुद्ध र राजा वीरेन्द्रको फोटोका आँखाले उसलाई हेरिरहेका थिए । चिनेजति सबैतिर फोन घुमाएँ । सबैलाई ब्रेकिङ न्युज दिने ऊ भएछ । पहिला सबैले पागल भने । रातभरि फोन बजी नै रह्यो । ३ बजेतिर कन्फर्म भएपछि सुत्यो । सबै अन्तर्राष्ट्रिय फ्लाइट्स क्यानसिल भयो । यूरोपबाट आउने टिवेट टूर अलपत्र प¥यो । अमेरिकाबाट आउने टोली बाटैबाट फर्किए । इण्डियन टोलीको जिम्मा भारतीय कन्सुलेटलाई हस्तान्तरण गर्न उचित ठान्यो ।

बिहानै प्रकाश पुरी, कन्सुलरसँग सामान्य परिचय भएकाले फोन ग¥यो । धेरै प्रयासपछि उनको सोर्सफोर्ससँग कुरा भयो । राय उचित मानेछ, सबै भारतीय नागरिकलाई दूतावाससँग सम्पर्कमा रहन भनियो । सबैभन्दा चाखलाग्दो पक्ष– एक भारतीय पुलिस अफिसर प्रताप सिंह नेपाल आएका थिए, हनिमुनका लागि । दरबारकाण्ड सुन्नेबित्तिकै भन्यो– ‘देखो अगर इस् हनिमुनमे मेरा बच्चे हो गई तो उसको नाम हत्या वा त्रासदी रखुङ्गा ।’ दरबार हत्याकाण्ड रहस्यमय, कौतुहल र दुखद रह्यो । ठमेलका भारतीय ठाकुरहरू पनि कपाल मुढेर चोक–चोकमा कपाल खौरिदिन थाले । बजारभरि टाउको खुइल्याउनेको लाइन लाग्यो । कालधारातिरका मुसलमानले पनि कपाल खौरिए । राजा वीरेन्द्रप्रतिको मोह बाटाभरि पोखियो ।

ग्रूपको सही व्यवस्थापन र तह लगाउन धेरै गाह्रो प¥यो । बुकिङ एड्भान्स फिर्ता गयो । बजारको उधारोले पेल्दा थाल खाउँ कि भात खाउँझैं भएछ उसलाई । संसारभर नेपालको बदनामी चर्चा भयो । नेपाल आउने पर्यटक ठप्प भयो । दिनानुदिनको आम्दानी रोकियो, तलब दिन गरगहना बेच्नुपर्ने भयो ।

ठमेल सुक्यो । पोखरा ठप्पै भयो । माओवादी युद्धले विकराल बनेको पर्यटन क्षेत्रमा अभावको डँढेलो नै लाग्यो । धेरै पर्यटन व्यवसायी विदेश पलायन भए । भारतबाट आउने भिसा एक्टेन्सनको टोलीले बचाएको थियो उसलाई । हल्का कम भए पनि आमोदप्रमोद र पार्टीचाहिं कम भएको थिएन ।

चाइनाबाट टुरिष्ट ल्याउन करिब ९० जति ट्राभल एजेन्सीले अनुमति पाए । चाइनाका ट्राभल एजेन्सीसँग करेस्पोण्डिङ चल्दै थियो । आँखाभरि खासा बजार र फोस्सी सुन्दरी नाच्न लागेको थियो । भेडाबाख्रासरह चाइनिज पर्यटकलाई लुम्बिनी पोखरा टुरिष्ट बसमा घुमाउने, काठमाडौंमा चेन होटल चलाउने, चाइनामा कम्पनी सम्पर्क कार्यालय खोल्ने सबै सपना तुहिएर आँखाबाट रगत बग्दै थियो ।

हातमा अमेरिकाको भिसा त थियो, तर अमेरिकाबाट टुरिष्ट झर्ने सम्भावना थिएन । भर्खर नेट खुलेको थियो, व्यापार राम्रै दिन्थ्यो । इन्टरनेटले एक किसिमले ठूला कम्पनीको मोनोपोली खोसेको थियो । गोराहरू र स्थानीय टुर एजेन्टसम्म राम्रै पहुँच थियो । माउण्ट कैलाश जानेहरू लाइनमा थिए । त्यसैले अमेरिकी गन्तव्य एक पन्थ दो काज थियो ।

भिसा लागेपछि समूहको बकुल्ला भएको थियो ऊ । सबैले मल्टिपल भिसा त ग्रीनकार्ड नै हो । बाटोभरि डलर फल्छ, अमेरिकामा यता किन बरालिएर बसेको ? भन्थे भने एकाध चाहिं कम्पनी ठीक उडान भर्ने बेला भएको छ, घुम्न जानु तर पलायन नहुनु भन्थे ।

एक दिन, दुई दिन गर्दै अमेरिका उड्ने नै निर्णय ग¥यो । फ्री टिकट थियो, लुकाएको दुई–चार हजार डलर काममा आउँदै थियो । जाने दिन तय भयो । बजारभरि हल्ला चल्यो सबै पार्टी माग्न थाले । पार्टी होटल एभरेष्टको डिस्कोथेकमा ओपनआवर चल्यो । आठौं तल्लामा आनन्द कार्की गजल गाउँदै थिए । कहिले डिस्को त कहिले गजल सबै बोस र भीभीआईपी सुपर मस्तीमा थिए ।

नशा न हो, थोरै चढेपछि मान्छेले आफ्नो औकÞात ओकल्छ । त्यहाँ पनि त्यही भयो, कसैको मुखबाट फुस्कियो– ‘यो अमेरिका भाँडा माझ्न जानेहरूको पार्टी हो ।’

जलन, इष्र्या, जाँड र भाँडले संगम जुटायो । हल्का तानातान के भएको थियो, भरिएको बोतल टाउकोमा बज्रियो ।

कुनै चोट पटक त लागेन तर नजिकैको रेगुलर सर्भरले पेन्ट्रीमा लगाउने कपडाको नैपकिनले पुछपाछ गरिन् । आफनो स्यानल पर्फ्युम छर्किदिइन् । हात चपक्क समातेर बाटोतिर ल्याइन् । हामीलाई त बिर्सिसिन्छ होला अमेरिका गएर ! के गरिसिन्छ ? वेटर गरिसिने भए मैले चिनेका केही साथीहरू सर्भर छन् । फोन नम्बर दिन्छु । उनी भावुक भइन् । जोडले नजिकै टाँसिइन् । रेगुलर ग्राहक, टिप्स र हँसीमजाकभन्दा थोरै भावनामा बगेछिन् सायद ।

पछाडिको बाटो एलिवेटरबाट तल झारिन् । उनको हात छुटेको थिएन । दुई चार नम्बर नोटबुकमा टिपेर बगलीमा हालिदिइन् । तल साथी गाडी स्टार्ट गरेर बसेको रहेछ, उनले हग गरिन् । अमेरिकाको सम्पर्क नम्बर मागिन् । भोलि मेरो अफ हो, हिमालयन जाभामा भेटौं अनि कतै बसौंला । म सर्भरको सामान्य फरमुला सिकाइदिन्छु ।

उनी बाई गरेर गइन् । साथीले गाली गर्दै जिप कुदायो ।

साला कसो टाउको फुटाइनस् । अमेरिका यै हुन्थ्यो तेरो ! टोलाएछु... त्यहाँ गएर आँखाभरि सेतो सर्ट, कालो पाइन्ट र नाङ्लो जस्तो ट्रे नाच्न थाल्यो । आमिर खानले रङ्गिला मुभीमा टाम्भी इधर आ... भनेको तस्वीर आँखा अगाडि आयो । पेरिसतिर हार्ड रक क्याफेमा सुन्दरीहरूलाई वा‘न स्वा, वोना पति, मेक्सिवुकु, अ‘ाभ्वा‘... भन्ने अभिलाषा जागेर आयो । दरबार मार्गमा साकाल कुरेर बसेको थियो । उड्याण्डको २४ घण्टेमा बार्गेनिङ चल्दै रहेछ । त्यहाँ चार जना पिकअप गरेर गाडी हात्तीवन रिसोर्टतिर लाग्यो । गाडीमा आम्मैले भन्थी धाराको पानी... चलिरहेको थियो, उसको दिमागमा एभरेष्ट होटलको बेरा र भविष्यमा सम्भाव्य बेराको चलचित्र चलिनै रहेको थियो ।

क्रमशः

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार