गजल

गजल

सिधा बाटो हिड्दा लाग्छन् नजर कति–कति !

आफन्तकै हातमा हुन्छन् पत्थर कति–कति !

 

कैयौं साथी नदीझैं छन् सुख बगाउन

दुःख रोक्न जिन्दगीमा बगर कति कति !

 

सयौं गजल लेखें तर हातमा लाग्यो शून्य

यौटै शेरले चित्त बुझ्दा कदर कति कति !

 

खोजी हिडें तातो कफी कल्पिएर अधर

भेटें चिसो हिउँ जस्ता अधर कति–कति !

 

यौटा बाटो बिराउनु पर्छ जिन्दगीमा

आँखा नजिक भेटिनेछन् नहर कति कति !

 

अलिकति चिनी फाल्नू मान्छे चिन्नलाई

देखिनेछन् कमिलाझैं लस्कर कति कति !

 

मैले हेर्ने दृष्टि अनि तिम्ले हेर्ने दृश्य

वस्तु यौटै, हेराइभित्र अन्तर कति कति !

 

जान्नेलाई ‘आनन्द’ छ कठिन काममा पनि

नजान्नेलाई मायामा नि हण्डर कति कति !

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार