डेमोक्र्याटका उदाउँदा स्टार बेटो

डेमोक्र्याटका उदाउँदा स्टार बेटो

सन् २०२० मा ट्रम्पलाई घर पठाउलान् ?

न्यूयोर्क । अमेरिकामा गत अक्टोबर ६ मा सम्पन्न मध्यावधि निर्वाचनबाट चुनिएका जनप्रतिनिधि शपथ ग्रहणको तयारीमा जुटिसकेका छन् । आउँदो जनवरीबाट निर्वाचित प्रतिनिधिले कार्यभार सम्हाल्नेछन् । चुनाव सकिए पनि यसका बाछिटाहरुबारे भने अमेरिकी राजनीतिक बृत्तमा निरन्तर बहस जारी छ । विशेषगरी यो चुनावको परिणामले दुई वर्षपछि हुने राष्ट्रपतीय निर्वाचनमा पार्ने प्रभावबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् ।

चुनावमार्फत अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टीले आठ वर्षपछि आफ्नो बर्चस्व फिर्ता गरेको छ भने माथिल्लो सदन सिनेटमा रिपब्लिकन बहुमत कायम रहेको छ । स्विङ स्टेटको रुपमा चिनिएको फ्लोरिडाबाहेक सबैतिर डेमोक्रेटिक पार्टीले उत्साहजनक सफलता हात पारेको छ । यसले सन् २०२० को चुनावमा डोनाल्ड ट्रम्पलाई पराजित गर्न सक्ने उत्साह डेमोक्र्याटहरुमा थप चुलिएको छ । फ्लोरिडामा भने बहालवाला डेमोक्रेटिक सिनेटर बिल नेल्सन अप्रत्यासित रुपले रिपब्लिकन उम्मेदवार रिक स्कटस पराजित भए । यस्तै, सारा सर्वेक्षण एवम् प्रक्षेपण विपरीत फ्लोरिडाको गभर्नरमा पनि रिपब्लिन उम्मेदवार रोन डेसान्टिसले डेमोक्र्याट एन्ड्यु गिलमलाई पराजित गरे । अत्यन्त झिनो मतान्तरमा नेल्सन र गिलमले भोगेको पराजय भने डेमोक्र्याटका लागि महँगो परेको छ ।

फ्लोरिडालाई बिर्सने हो भने २०१६ मा ट्रम्पले हत्याएका महत्वपूर्ण स्विङ स्टेटहरु पेन्सिलभेनिया, विस्कन्सियन र मिचिगनमा डेमोक्र्याटिक गभर्नर निर्वाचित भएका छन् । त्यसबाहेक तुलनात्मक रुपमा रिपब्लिकन बहुल मानिने एरिजोना सिनेटर पनि डेमोक्र्याटले हत्याएको छ । यस्तै, ओहायोबाट पनि डेमोक्र्ेटिक सिनेटर सेरोड ब्राउन पुनः निर्वाचित भएका छन् । यसपालीको नतिजा कायम राख्न सके सन् २०२० मा डेमोक्र्याट उम्मेदवारले सजिलै ह्वाइट हाउस यात्रा तय गर्न सक्नेछ ।

यसपाली डेमोक्र्याटका लागि सबैभन्दा ठूलो उत्साह भने टेक्सासको नतिजाले दिलाएको छ । दशकौंसम्म रिपब्लिकनको एकछत्र प्रभाव रहेको टेक्सासलाई एक ४६ वर्षे युवाले ‘टस अप’को अवस्थामा ल्याइपु¥याएका छन् । उनी हुन बेटो ओ’रर्क । टेक्सासको दक्षिणी सहर एल पासोमा जन्मिएका बेटो एक बर्ष अघिसम्म गृहराज्य बाहिर खासै चिनिएका राजनीतिकर्मी थिएनन् । टेक्सासको १६औँ कंग्रेसनल डिष्ट्रिक्टबाट सन् २०१३ यता हाउस अफ रिप्रिजेन्टेटिभ रहँदै आएका बेटोले रिपब्लिकन पार्टीभित्रकै प्रभावशाली सिनेटर टेड क्रुजलाई चुनौती दिँदै देशभर चिनिएन् मात्र डेमोक्रेटिक पार्टीमै नयाँ उत्साह सञ्चार गराएका छन् । क्रुजलाई आच्छु–आच्छु बनाएका बेटो दुई लाख मतान्तरमा पराजित भए, जुन आम अपेक्षा र अड्कलबाजीभन्दा धेरै माथिल्लो कोटीको नतिजा हो ।

कुल ३८ इलेक्ट्रोरल कलेज रहेको टेक्सास अमेरिकाको दोस्रो ठूलो राज्य हो । ५५ इलेक्ट्रोरल कलेज रहेको क्यालिफोर्निया डेमोक्र्याटका लागि सबैभन्दा ठूलो ब्याकबोन हो भने टेक्सास रिपब्लिकनका लागि । बेटोले यसपाली टेक्सासमा रिपब्लिकनको उक्त बर्चस्वमाथि प्रष्ट धावा बोलेका छन् । टेक्सासका सबै निर्वाचित निकायमा रिपब्लिकन बहुमत रहने गरेकोमा यसपटक राज्यको तेस्रो र पाचौं पुनरावेदन अदालतमा डेमोक्र्याट बर्चस्व स्थापित भएको छ । उनकै कारण राज्यको १५० सदस्यीय तल्लो सदनमा रिपब्लिकनका १२ स्थान डेमोक्र्याटले खोसेका छन् भने ३१ सदस्यीय सिनेटमा पनि थप दुई सिट हत्याएका छन् । जनवरीपछि सिनेटमा १९ रिपब्लिकन र १२ डमोक्र्याट सिनेटर हुनेछन् भने हाउसमा ८३ रिपब्लिकन र ६७ डेमोक्र्याट सदस्य रहनेछन् । टेक्सासमा रिपब्लिकनको आधार यति गहिरो ढंगले खल्बल्याउनुमा सबैले बेटोलाई नै जस दिएका छन् । डेमोक्रेटिक पार्टीका राष्ट्रिय अध्यक्ष टोम पेरेजले टेक्सासमा डेमोक्र्याटको नयाँ आधार निर्माण गरेको भन्दै बेटोलाई बधाई दिएका छन् ।

बेटोको चुनावी चन्दा संकलन क्षमताले सबैलाई चकित तुल्याएको छ । सिनेटको उम्मेदवार बन्दै गर्दा बेटोले कुनै पनि संगठित पोलिटिकल एक्सन कमिटी (प्याक)को सहयोग नलिने घोषणा गरे । उनले व्यक्तिगत चन्दा मात्र लिने र त्यो पनि एक जनाले २७ सय अमेरिकी डलरभन्दा धेरै दिन नपाउने कानुनअन्तर्गत मात्र हुनुपर्ने सर्त राखे । आफू सिनेटमा निर्वाचित भए पनि कुनै पनि स्वार्थ समूहको प्रभावमा नपरी जनताको पक्षमा काम गर्न संगठित पैसा नलिएको उनको भनाइ थियो । बेटोको उक्त कदमले उनको लोकप्रियता ह्वात्तै बढायो । सुरुमा २०–२५ जनाको समूहलाई सम्बोधन गर्दै सुरु भएको उनको क्याम्पेनले निर्वाचनको क्षणसम्म आइपुग्दा साँच्चिकै रहरलाग्दो उचाइ लिइसकेको थियो । उनका चुनावी सभामा सहभागी हुनेको संख्या टेड क्रुजको भन्दा धेरै हुन थालेको थियो । लामो समय बलियो ‘रेड स्टेट’ रहेका कारण गहिरिएको रिपब्लिकन प्रभावले नै मात्र क्रुजको बिजय सम्भव भएको विश्लेषकहरुको भनाइ छ । क्रुजका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले चुनावी सभा गरेका थिए भने बेटो कुनै ठूला नेताको आशिर्वादबिना स्वयंसेवकहरुको साथमा मान्छेका घर–घर धाएर आफ्नो सपना बुझाउँदै हिँडेका थिए । टेक्सासका २५४ काउन्टीमै आफ्नो चुनावी क्याम्पेन लिएर पुगेका उनले कुल ३२८ वटा टाउन हल भ्याए ।

संगठित समूहबाट पैसा नलिने बेटोको घोषणाले सर्वसाधारणलाई यति चाँडो छोयो कि उनले सुरुदेखि नै चन्दा संकलनमा क्रुजलाई उछिनेका थिए । उनको चुनावी क्याम्पेनका लागि सात करोड अमेरिकी डलरभन्दा धेरै संकलन भयो, जुन क्रुजको भन्दा दोब्बर बढी हो । बेटोले सबै रकम आफ्नै क्याम्पेनबाट संकलन गरेका हुन् । उनलाई दुई लाख बढी सर्वसाधारणले आर्थिक सहयोग गरेका थिए र उनीहरुमध्ये अधिकांश टेक्सासवासी नै थिए । ३ करोड ३४ लाख डलर चन्दा पाएका क्रुजको आफ्नो क्याम्पेनले भने २ करोड ६० लाख मात्र संकलन गरेको थियो । बाँकी पैसा अरुले उठाइदिएका थिए ।

राष्ट्रपतिमा अघि बढ्न दबाब

बेटोको यो सफल क्याम्पेनले उनलाई एकाएक हिरो बनाएको छ । यति मात्र होइन सन् २०२० मा राष्ट्रपति ट्रम्पलाई परास्त गर्न गर्ने डेमोक्रेटिक उम्मेदवारका रुपमा नै उनको चर्चा हुन थालेको छ । बेटोले अहिलेसम्म राष्ट्रपति उम्मेदवार बन्ने घोषणा गरेका छैनन्, तर विभिन्न ठाउँका डेमोक्र्याटहरुले उनलाई अघि बढ्न दबाब दिइरहेका छन् । कैयनले पूर्व राष्ट्रपति बाराक ओबामाको क्याम्पेन र नेतृत्व कौशलसँग बेटोको तुलनासमेत गर्न थालेका छन् । ओबामा र उनका भित्रियाहरुले पनि बेटोको क्याम्पेनलाई सन् २००८ अघिको आफूहरुको चुनावी यात्रासँग मिल्दोजुल्दो रहेको उल्लेख गरेका छन् ।

बेटोले क्याम्पेनका लागि कुनै विशेषज्ञ र अनुभवी व्यक्ति नियुक्त गरेका थिएनन् । युवा स्वयंसेवकहरुले नै उनको क्याम्पेन अघि बढाएका थिए । उनीबाट प्रभावित भएर कैयन् युवाले भोट हाल्नकै लागि मतदाता नामावली फर्म भरेका थिए । तन्नेरीहरुलाई आकर्षण गर्न सक्ने उनको यही खुबी अहिले अमेरिकाभर चर्चामा छ । नोभेम्बर ६ को चुनाव पछाडि भएका दुई सर्वेक्षणले पनि आसन्न राष्ट्रपति उम्मेदवारमा बेटोलाई चाहने डेमोक्र्याटको संख्या उत्साहजनक देखाएको छ । डेमोक्र्याट र स्वतन्त्र मतदातामाझ चुनावपछि गरिएका दुई सर्वेक्षणमध्ये एउटामा बेटो तेस्रो रोजाइमा छन् भने अर्कोमा चौथो रोजाइमा ।

हार्वर्ड क्याप्स÷ह्यारिस पोलले द हिलमार्फत सार्वजनिक गरेको सर्वेक्षणमा बेटो चौथो नम्बरमा रहेका छन् । हिलारी क्लिन्टनको पनि नाम समावेश गर्दा उनी चौथो नम्बरमा पुगेको जनाइएको छ । उक्त सर्वेमा सबैभन्दा धेरै २५ प्रतिशत मत पूर्व उपराष्ट्रपति जोए बाइडेनले पाएका छन् । उनी २०१६ को निर्वाचन यताका हरेक सर्वेक्षणमा डेमोक्र्याटहरुको पहिलो रोजाइको उम्मेदवारका रुपमा देखिँदै आएका छन् । यस्तै, १५ प्रतिशत मतसहित सिनेटर बर्नी स्यान्डर्स दोस्रो स्थानमा छन् भने क्लिन्टनले १३ र बेटोले ९ प्रतिशत मत पाएका छन् । भर्खरै उम्मेदवारका रुपमा नाम आएका बेटोले त्यति मत पाउँदा लामो समयदेखि चर्चामा रहेका सिनेटर कमला ह्यारिस, कोरी ब्रुकर लगायत भने धेरै पछाडि छन् । बेटोभन्दा धेरै मत पाउने बाइडेन र स्यान्डर्स दुबै उमेरले पाको भइसकेको एवम् क्लिन्टन दोहो¥याएर उम्मेदवार नहुने कारणले पनि उनको सम्भावना धेरै रहेको विश्लेषण हुन थालेको छ । १४ सय जनामाझ सर्वेक्षण गरिएको संस्थाले जनाएको छ ।

यस्तै पोलिटिको÷मर्निङ कन्सल्टले गरेको सर्भेक्षणमा बेटो तेस्रो सर्वाधिक रुचाइएको उम्मेदवारका रुपमा रहेका छन् । उक्त सूचीमा पनि पहिलो बाइडेन र दोस्रो स्यान्डर्स नै छन् । उनीहरुले क्रमशः २६ र १९ प्रतिशत मत पाएका छन् भने बेटोलाई आठ प्रतिशतले रुचाएका छन् । यो सर्वेमा पनि ह्यारिस, बुकर लगायतका सम्भावित उम्मेदवारले तीन–चार प्रतिशत हाराहारी मात्र मत पाएका छन् ।

टेक्सास जस्तो रिपब्लिकन बहुल राज्यमा उनले राष्ट्रपति ट्रम्पका मुद्दामा चुनौती दिएरै आफ्नो तर्कमा मतदातालाई सहमत गराएका थिए । उनले राष्ट्रगान बज्दा नउठ्ने एवम् घुँडा टेक्ने एनएफएल खेलाडीले गरेको शान्तिपूर्ण विरोधलाई अमेरिकी तागतको रुपमा अथ्र्याएका थिए । राष्ट्रगान बज्दा घुँडा टेक्नुलाई राष्ट्रपति ट्रम्पले अमेरिकी झण्डा एवम् सेनामाथिको अपमान भन्दै राष्ट्रवादको मुद्दा बनाउँदै आएका थिए । बेटोले त्यसरी घुँडा टेक्ुनलाई बिनाकारण अश्वेत युवाहरुमाथि हुने गरेको विभेद र हिंसाप्रतिको प्रतिकात्मक विरोधका रुपमा बुझ्नुपर्ने जवाफ दिए । उनको यो भनाइले काला जातिमाझ पनि उनी भाइरल भएका छन् । विभिन्न काला जातिका संघ–संगठनले उनलाई आफूहरुको मर्म बुझ्ने नेता भन्दै प्रशंसा गरेका छन् । त्यति मात्र होइन उनले गैरकानुनी तरिकाले सीमा नाघेर आएका इमिग्रान्टका बालबालिकालाई परिवारबाट छुट्याउने, मुस्लिम प्रतिबन्ध लगाउने, प्रेसलाई जनताको शत्रु भन्ने लगायत ट्रम्पका कैयन् नीति एवम् भनाइको पनि कडा प्रतिवाद गरेका थिए । ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीश सिफारिश गरिएका विवादित ब्रेट काभानागलाई सिनेटले पारित गर्नुहुन्न भनेर उनले प्रष्ट अभिव्यक्ति दिए । जबकी रिपब्लिकन बहुल वेष्ट भर्जिनियाका डेमोक्रेटिक सिनेटर जोए मान्चिनले पुनर्निर्वाचित हुनकै लागि काभानागको पक्षमा मतदान गरेका थिए ।

बेटोले सन् २०१२ मा हाउस अफ रिप्रिजेन्टेटिभ उम्मेदवार बन्दा नै उनको नेतृत्व र क्याम्पेन क्षमता प्रस्तुत गरेका थिए । डेमोक्र्याटको बलियो प्रभाव रहेको टेक्सासको १६औँ कंग्रेसनल डिष्ट्रिक्टको प्राइमरी चुनावमा उनले आफ्नै पार्टीका बहालवाला सांसद सिल्भेष्ट्रे रेएजलाई पराजित गरेका थिए । अमेरिकामा प्राइमरी चुनावमा आफ्नै दलको बहालावाला पदाधिकारीलाई पराजित गर्न धेरै कठिन मानिन्छ । त्यसमाथि बेटोले मेक्सिकन बहुल रहेको क्षेत्रमा मेक्सिकन मूलकै रेएजलाई हराएका थिए । आफू पनि फरर स्पेनिश बोल्न सक्ने बेटोले आफ्नो मुद्दाकै कारण रेएजलाई पाखा लगाउन सफल भएका थिए भने यसपाली क्रुजलार्ई आच्छु–आच्छु पारे ।

सन् २०१४ को सिनेट चुनावमा टेक्सासका डेमोक्रेटिक उम्मेदवार डेभिड अलामिलले १६ लाख मत पनि ल्याएका थिएनन् । उनका प्रतिद्वन्द्वी रिपब्लिकन जोन कोर्निनले साढे २८ लाख मत ल्याएका थिए । बेटोको उम्मेदवारीका कारण त्यस बेलाको तुलनामा यो मध्यावधिमा झण्डै दोब्बर मत खसेको हो । अहिले क्रुजले ४२ लाख ४४ हजार मत ल्याए भने बेटोले ४० लाख २४ हजार । क्रुजको मत उनले ६ वर्ष अघि पाएको तुलनामा दुई लाखले घटेको हो । त्यसबेला डेमोक्रेटिक उम्मेदवार पौल स्याडलरले भने ३१ लाख मात्र मत पाएका थिए । २०१६ को राष्ट्रपति चुनावमा ट्रम्पले झन्डै ४७ लाख मत पाएका थिए भने हिलारीले ३९ लाख पनि पु¥याउन सकेकी थिइनन् ।

सिनेट क्याम्पेन अवधिभर आफूले चुनाव जितेमा कार्यकालभरि राष्ट्रपति लगायत कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका बेटोले पराजयपछि भने सोचेर निर्णय लिने बताएका छन् । धेरैले उनी राष्ट्रपतिको उम्मेदवार बन्ने अपेक्षा गरेका छन् । विशेषगरी सन् २०१६ को अप्रत्याशित हार बिर्सन र ट्रम्पलाई ह्वाइट हाउसबाट निकाल्न बेटो जस्तै चमत्कारी उम्मेदवारको खाँचो रहेको तन्नेरी पुस्ताका डेमोक्रेटिक वृत्तको बुझाइ छ, जसले मत हाल्न जान अल्छी गर्नेहरुलाई पनि भोटको दिन बुथसम्म जान आकर्षित गरुन् ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार