मन्त्रीहरूले गफ बढी, काम कम गरिरहेका छन्

मन्त्रीहरूले गफ बढी, काम कम गरिरहेका छन्
रामनारायण बिडारी, प्रत्यायोजित व्यवस्थापन समिति सभापति, राष्ट्रियसभा

रामनारायण बिडारी कानुनी पृष्ठभूमिका व्यक्ति पनि हुन् । उनी खरो स्वभावको मात्रै छैनन् । नेकपा अध्यक्ष प्रचण्डलाई समेत कानुनी सल्लाह दिने उनी देखेको कुरा प्रष्ट भन्ने हैसियत राख्छन् । अहिले राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन समितिको सभापतिसमेत रहेका बिडारीसँग मोहन बास्तोलाले गरेको कुराकानी–

तपाईं राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन समितिको सभापति हुनुहुन्छ । यो समितिले के–के काम गरिरहेको छ ?

मेरो समिति अलिक जटिल खालको समिति पनि हो । प्रत्यायोजित व्यवस्थापन भन्ने विषय त्यसै पनि जटिल छ । संसद्बाहेक अन्य कुनै पनि निकायले कानुन बनाउने अधिकार राख्दैन । यो संसारभरिको अभ्यास हो । तर, हाम्रो मुलुकमा र अन्यमा पनि संसद्ले कानुन बनाउँदा कानुन बनाउने अधिकार अन्य केही निकायलाई प्रत्यायोजित गर्छ । त्यो प्रत्यायोजन गरेको भनेको नेपाल सरकारलाई हो । त्यसबाहेक संवैधानिक अंग, कानुनबमोजिम गठन भएका अन्य संस्था समेतले यो अधिकार पाउँछन् । ती निकायहरूले आफैंले नियम, नियमावली र निर्देशनहरू जारी गर्छन् । त्यस्तै, नेपाल सरकार मन्त्रिपरिषद्ले पनि त्यहीबमोजिम काम गर्छ । यी सबै कुरा व्यवस्थापिका संसद्ले बनाएको कानुन, ऐनबमोजिम छ कि छैन भनेर मसिनो गरी हेर्ने समिति यो हो । बनेको छैन भने त्यसलाई सच्याउन लगाउने र निर्देशन दिने र बदरसमेत गरिदिने काम यसले गर्छ । यसबाहेक हरेक आर्थिक वर्षमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्छ । त्यस्तै, बजेट प्रस्तुत गर्छ । यसबाहेक संसद्मा मन्त्रीहरूले वक्तव्य दिएको, संसद्भित्र प्रश्नोत्तर गरेको सन्दर्भमा जवाफ दिएकोलगायत कुरालाई छोटकरीमा सरकारले आश्वासन दिएको भनिन्छ । त्यो आश्वासन कार्यान्वयन भयो कि भएन भनेर हेर्ने काम पनि यही समितिले गर्छ ।

यो बाहेक पनि त यसको कार्यक्षेत्र होला नि ?

निश्चय पनि, यसबाहेक देशैभरि रहेका महत्वपूर्ण राष्ट्रिय दस्तावेजहरूको अभिलेख कसरी राखेको छ, त्यसको व्यवस्थापन कसरी भएको छ भनेर हेर्ने काम पनि यही समितिको पर्छ । नेपालले द्विपक्षीय र बहुपक्षीय भएर अन्तराष्ट्रिय सरकार र निकायहरूसँग गरेका सन्धिसम्झौताहरू र महासन्धिहरू कहाँ कस्तो हालतमा र यसको अभिलेख कसरी राखिएको छ भनेर हेर्ने काम पनि हामीले गर्ने हो । नेपालको विकासक्रमका विभिन्न शासनकालमा के कस्ता कानुनहरू बन्दै आए, ती कानुनहरूको अभिलेख कहाँ छन् भनेर त्यसको संरक्षण गर्ने काम पनि यही समितिले गर्छ ।

तपाईं त अलिक खरो मान्छे । तपाईंले जिम्मेवारी सम्हालेपछि यो समितिले पनि त आफ्ना गतिविधिलाई अघि बढाएको होला नि ?

अहिले हामी कार्यतालिका बनाएर अघि बढेका छौँ । सोही कार्यतालिकाअनुसार केही काम पनि सुरु गरीसकेका छौं । जसअन्तर्गत सञ्चार मन्त्रालयले सञ्चारसम्बन्धी कानुनमा कस्ता–कस्ता निर्देशनहरू जारी गरेको छ, कस्ता–कस्ता मापदण्डहरू बनाएको छ, कस्ता–कस्ता नियमहरू बनाएको छ भनेर अध्ययन गर्न एउटा उपकमिटी बनाएका छौं । त्यसले त्यो काम थालिसकेको छ । दोस्रो, सरकारी आश्वासनसम्बन्धी अध्ययन गर्न अर्को उपसमिति गठन गरिएको छ । त्यसले पनि काम थालिसकेको छ । त्यस्तै, अहिले कृषि मन्त्रालय र पर्यटन बोर्डजस्ता अटोनोमस बडीहरूले के काम गर्दै छन् भनेर अध्ययन गरिँदै छ । अध्ययन गरेर परिणाम निकाल्ने हो र हामीले अभिलेख सम्बन्धमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपालको केन्द्रीय पुस्तकालयको अवलोकन गर्ने र संसद्को पुस्तकालययमा कस्ता सामग्रीहरू छन् भनेर निरीक्षण गर्ने निर्णय गर्दै त्यो कामको सुरुवाती अनुगमन गरिएको छ ।

अहिले सरकार वामपन्थीको बने पनि काम भएन भन्ने गुनासो छ । तपाईंले कस्तो ठान्नुभएको छ ?

दुईवटा ठुला कम्युनिस्ट पार्टीहरू मिलेर वाम तालमेलका साथ चुनाव भयो । दुईवटै पार्टीको घोषणा पत्रमा कम्युनिस्ट दर्शन र आदर्शका कुराहरू लेखिएको र समाजवादकै दिशाहरू उल्लेख गरिए पनि त्यो बाटोतर्फ अहिले सरकार जान सकेको छैन । अबको बाटो त्यता लाग्नुप¥यो । अहिले मन्त्रीहरुले राम्रो का मगर्न सकेनन् कि भन्ने पनि गुनासो छ । अहिले उनीहरुले जे बोलिराखेका छन्, त्यो गलत छ । काम गर्नू, आफैं समाचार बनिहाल्छ नि । निर्णय गर्दिनू, कार्यान्वयनमा जोड दिनू, आफैं समाचार बन्छ । तर, त्यसरी मन्त्रीहरूबाट काम भइरहेको छैन । उनीहरूले समाचार बनाउने उद्देश्यले एकोहोरो बोलिहेको म पाँउछु । यसमा उनीहरूप्रति मेरो गम्भिर आरोप, त्यो के आरोप हो भने म फलाना–फलाना ठाउँमा कारबाही गर्छु भनेर भाषण गर्नुभन्दा अगाडि नै योजना नबनाइकन जसले भाषण गर्छ, त्यो त टेन्डर आह्वान गरेको जस्तो हो । त्यसैको प्रभावले विरोधी अर्थात् काम गर्न नदिनेहरू पनि सक्रिय हुन्छन्, संगै विभिन्न प्रकारका गलत मान्छेहरू पनि सक्रिय हुन्छन् । तस्कर, कालाबजारियाहरूले मन्त्रीलाई पहिला फकाउँछ, फकाँउदा मानेन भने तर्साउँछन्, त्यो गर्दा पनि मानेन भने भ्रममा पार्छन्, त्यो पनि मानेन हल्ला गर्छन् त्यो पनि मानेन भने काम गर्न दिँदैनन् । त्यस्तै, मन्त्रीहरू विभिन्न प्रकारका उद्घाटन, शिलान्यासमा हिँड्नेभन्दा आफ्नो मन्त्रालयअन्तर्गतका योजनाहरू बनाउने, नीतिहरू बनाउने र कार्यान्वयन गर्ने काममा तल्लीन हुनुपर्छ । यो कुरा नसुध्रिउन्जेल सरकारको काम अगाडि बढ्दैन । अहिले सरकारको काममा म पनि सन्तुष्ट छैन ।

नियुक्तिको विषयलाई लिएर पनि विवाद हुने गरेको छ । सरकार दलालको चंगुलमा फस्यो भन्ने पनि आरोप लाग्ने गरेको छ । त्यस्तै हो ? 

गरिव तथा अविकसित देशहरूमा यो समस्या छ । यो समस्या समाधान गर्न सबै पार्टी मिलेर दीर्घकालीन योजना बनाउनुपर्छ । चुनावमा करोडौंकरोड रकम उम्मेदवारहरूले कहाँबाट ल्याउँछन्, किन खर्च गर्छन् ? के कारणले खर्च गर्छन् अनि कहाँबाट ल्याउँछन् रकम भन्दा यो त व्यापारमा लगानी गरेका जस्तो भयो नि । यही कारणले गर्दा मन्त्री भइसकेपछि ती कालाबजारिया र तस्करहरू जसले चुनावमा पैसा दिएका थिए, तिनीहरूका काम गरिदिनुपर्ने, तिनीहरूलाई नियुक्ति गरिदिनुपर्ने, तिनीहरूलाई पैसा कमाउने बाटो बनाइदिनुपर्ने अनि कर्मचारीहरूलाई पनि कहाँ कहाँ घुस खाने ठाउँ छ, त्यहाँ त्यहा सरुवा गरिदिनुपर्ने खालको प्रचलन अहिलेको मात्र होइन, धेरै लामो समयदेखि नेपालमा चल्यो । अहिले पनि भइराखेको छ । त्यसकारण, संसदीय चुनावमा सांसदको उमेद्वारले खर्च गर्ने परिपाटी रहुन्जेल नियुक्ति पनि पैसा खाएरै गर्छन् ठेक्कापट्टा पनि पैसा खाएरै गर्छन् । कुनै सामान खरिदबिक्री गर्दा पनि पैसा खाएरै गर्छन् । कर्मचारीले नेतालाई पैसा बुझाउन घूस खान्छ । साना कर्मचारीले हाकिमलाई बुझाउन, हाकिमले मन्त्रीलाई बुझाउन, मन्त्रीले नेतालाई बुझाउन घूस खान्छ । त्यसकारण, यो अप्ठ्यारो भयो । आजको दिनसम्म जे भयो–भयो, अब सच्याउनुप¥यो भन्ने मेरो धारणा हो । त्यसका निम्ति एउटै उपाय छ ।

तपाईंहरुले नेतृत्व तहका एकता गरे पनि तल्लो तहसम्म त्यसको सन्देश जान सकेन भन्ने आरोप पनि छ नि ?

कम्युनिस्ट पार्टी संसारमै एकै हुनुपर्ने हो । दुईवटा शक्तिशाली र ठुला पाटीबीच एकता भयो । काममा जे–जस्तो भए पनि नाममा कम्युनिस्ट भएका दुई पार्टीले जुन एकीकरण गरे, त्यो राम्रो गरे । दुवै पार्टीमा दुवैथरी मान्छेहरू छन् । दुवै पार्टीमा पटकपटक आफ्नो भूमिका के हो भनेर चिन्तनशील मान्छेहरू छन् । कम्युनिस्ट एकताविरोधीहरू पार्टी्भित्र घुसेर एकतालाई कमजाोर पार्दै छन् । यसमा स्वदेशमा रहेका केही र विदेशमा रहेका विभिन्न मान्छे आवद्ध छन् । यस मामिलामा हाम्रो पार्टीका शीर्षस्थ नेताहरूले ध्यान दिनुपर्छ ।

आफू तल परिएला भनेर एकताको विरोधी कुरा गर्ने गरिएको छ, यसमा ध्यान दिनुप¥यो । पहिले म पोलिटब्युरो सदस्य थिएँ । अहिले केन्द्रीय सदस्य पनि छैन । कहाँ राख्नुहुन्छ, के हुन्छ मलाई नै थाहा छैन । तर, एकताको पक्षपाती हुँ । अहिले हाम्रो पाटीभित्र पनि एकताका विरोधीहरू छन् भने पूर्वएमालेभित्र पनि त्यस्ता तत्वहरू छन् । नेताहरूले कार्यकर्ता तहसम्म एकताका भाव जगाउने गरी काम गर्नुपर्छ । यो भै पनि रहेको छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार