कविता– झरी

कविता– झरी
दिपा राई पुन, बोस्टन, अमेरिका

बोस्टनमा झरी परिरहेछ

मेरो मनमा किन

कृष्ण भीर झरिरहेछ ?

बस ट्रेन भरी यात्रुहरू

गजक्क न्यानो बसेका छन्

म घुम ओढेर

घरतिर आउँदै गरेको

भेल काट्न दौडन्छु

घरी आली लगाउँछु

घरी कुलो काट्छु

यी यात्रुहरू जस्तो हात बाँधेर

कहिले बस्नु होला कल्पन्छु

 

म चढेको बसलाई उछिनेर

स्कूल बस गयो

मलाई हेरेर हाँस्दै

केटाकेटीहरू हात हल्लाई रहेथ्यो

म नदी किनारमा उभिएर

सुस्केरा लगाउँदै

तुइन चढ़ी स्कूल जाने केटाकेटीहरूलाई

निस्शब्द हेरेर प्रार्थना गरिरहे

सकुशल घर फर्कि आउँनु है भन्दै

हातमा च्यापिएको किताब होकी भाग्य

हरेक दिन मृत्युसँग युद्ध गरेर

भविष्यको कर्मठ होकी निरास बेरोजÞगार

छाती चसक्क भएर झरेको आँखाको पानी

झरीसँगै बिलाई रहेथ्यो

 

टोलाएँ र झ्यालबाट बाहिर हेरें

ठूलो क्षेत्रफलमा बृद्धाश्रम रहेछ

जहाँ बृद्ध बृद्धाहरू

कोही पढिरहेथे

कोही हिडदै, बिस्तारै उफ्रदै थिए

कोही हाँस्दै जोड़ी हिडिरहेथे

कोही चिया र कफीको चुस्कीसँग

सँगीतको धूनमा मस्त थिए

बुढेस कालमा पनि

साँच्चै जीवन बाँचिरहेथे

म हातको मोवाइलमा

एक पछि अर्को समाचार पढदै थिए

आफ्नै छोराले बृद्ध आमालाई

पशुपतिमा छाडेर भाग्यो

बुहारीले बृद्ध अशक्त ससुरालाई

घरबाट निकाली दियो

गाउँमा बृद्ध बा आमाहरू

भोकलाई पटुकीमा कसेर

मृत्यु पर्खिरहेका छन्

 

बाहिर हेरे झरी रोकियो

मन भित्र झरी रहेछ कृष्णभीर ।

 

दिपा राई पुन, बोस्टन, अमेरिका

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग