बेराको डायरी ५– अमेरिकी सपनाको शुरूवात

बेराको डायरी ५– अमेरिकी सपनाको शुरूवात
अच्युत सिग्देल / न्यूयोर्क

अमेरिकामा विभिन्न कम्पनीसँग मिटिङ तय हुँदै गयो, कतिपय टुर अपरेटरले एक–दुई दिनको निम्ता दिए । कतिपय स्थानमा पेइङगेस्ट र कतिपय ठाउँमा होटल बुकिङ भयो ।

ऊसँग एफओसीमा उपलब्ध न्यूयोर्क रूट आधार थियो । कोलम्बस, क्लिभलैण्ड, ह्युस्टन टेक्सास, मिजोरी, टेनेसी, अल्वाकर्की, उटाहा, कोलोराडो, अरिजोना, क्यालिफोर्निया, नेभाडा, डालस, डिसी, बाल्टिमोर, पेन्सल्भानिया, न्यूयोर्क, न्यूजर्सी, भर्जिनिया र न्यूयोर्क गरी तीन महिनाको गतिलो स्केजुअल बोकेर अमेरिका हानिने सायद पहिलो नेपाली हुनुपर्छ ।

जुन महिनाको गर्मीले काठमाण्डू धपक्क बलेको थियो । जताततै नैराश्यता फाट्टफुट्ट व्यापार १७–१८ डलरमा एभरेष्टले रूम दिन थाल्यो । अलिअलि भएका टूरहरू पनि अपग्रेड माग्न थालेका थिए । माउण्ट कैलाश बन्द थियो । नेपाल छिर्ने टुरिष्टहरू जुत्ता खिइएका र भात पसलमा बार्गेनिङ गर्ने र एक रूपैयाँमा चिया पिउनेवाला थिए ।

वल्र्डकप सुरू भएको थियो । गल्ली–गल्ली फुटबल गुड्न थाल्यो । उसले अर्जेन्टिना छानेको थियो र इङ्ल्याण्ड त सदाबहार प्यारो टिम थियो । क्रेस्पो र माइकल ओवेन हिट लिस्टमा थिए । दुःखको कुरा जुन ७ तारिख ऊ हिँड्ने दिन थियो, तर इङ्ल्याण्ड र अर्जेन्टिना ग्रुप स्टेजमा भिड्दै थिए ।

अमेरिका उड्ने निधो के भएको थियो, सामान पठाउनेहरूको लाइन लाग्न थाल्यो । कोसेली बोकेर बाटोमा उभिनेहरू पनि थिए । दुई पिस लगेज रूल थियो । दुइटा एक्स्ट्रा लार्ज लगेज केसमा सकेसम्म सामान कोचेर एअरपोर्ट लाग्यो । इमिग्रेसन अफिसरले अमेरिकाको भिसा देख्न नपाउँदै किचकिच शुरू गरे । पैसा झार्नु थियो, तर पटक–पटक दिल्ली उडेको मान्छेसँग अध्यागमनको केही दाल गल्दैन । ११ बजे विमान बङ्लादेशको ढाका उड्यो । मनमा धेरै कुरा खेल्दै थियो । एकछिन पनि छोड्नै नमान्ने छोरा, गर्भवती श्रीमती र बुढ्यौली लागेका बा–आमाको जिम्मेवारीको उचित व्यवस्थापन नै नगरी करोडौंको भ्यालु बनाएको कम्पनी पार्टनरलाई छोडेर स्याचुरेटेड मार्केटिङका लागि आफ्नै लगानीमा उड्नु व्यापार घाटा त पक्कै थियो । तर, अमेरिकी भ्रमणको मोहले बाँकी सबैलाई तपसिलमा राखेको थियो ।

१२ बजे ढाका एअरपोर्टमा झरेर ट्रान्जिटतिर लाग्यो । ठूलो टिभीमा गेम सुरू भयो । ४३ मिनेटमा डि एरियामा पोचिनितोले माइकल ओवेनलाई फाउल हाने । इङ्ल्याण्डले पेनाल्टी पायो र ४४औं मिनेटमा डेभिड बेकहामले गोल गरे । १९९८ को पेनाल्टी सुटआउट र डिसअलाउड गोलको बदला लियो । इङ्ल्याण्डको गोलले पूरा एयरपोर्ट मौन बन्यो । एकाध अङ्ग्रेज उफ्रिए । फुटबलमा मस्त रहँदारहँदै उसको फ्लाइटले बोर्डिङ लिइसकेछ । कतिपटक बंगाली मैयाले नाम बोलाइसकेछिन् ऊसलाई थाहै भएन । गेम ओभर भएर काउन्टरतिर जाँदा त फ्लाइट रनवेमा गइसकेको रहेछ । एफओसी टिकट थियो । बोर्डिङ पास लिएको सुटेडबुटेड नेपाली देखेर सायद बंगाली हल्का प्रभावित भयो कि प्लेन रोक्न लगायो । भ¥याङ बोकेको बसले रन वे मा नै प्लेन चढायो ।

काठमाडौंदेखि ढाकासम्मको यात्रा त राम्रै थियो, प्यासेन्जर पनि ठिकै थिए, तर ढाकाबाट न्यूयोर्क जाने प्लेन अजिव थियो । ढाकाको स्थानीय बस जस्तै लाग्थ्यो, अझै पाइलटले सुरक्षासूचक घण्टी बजाएपछि त सबै लुगा फुकाल्न थाले । लुङ्गी लगाएर सुत्न थाले, घुर्नेहरूको आवाजले प्लेनलाई अजिब बनायो ।

प्लेन बेल्जियममा रोकियो । पुनः ट्रान्जिट लिनु थियो । हवाइजहाजबाट उत्रेर ताजा हावा खानु थियो ऊसलाई । एक नेपाली थापा कर्मचारी रहिछन्, तुरून्त दोस्ती भयो । उनले हल्का सपिङ सेन्टर घुमाइन् । दुवैले सँगै कफी पिए । रमाइलो कुरा भयो राजनीतिदेखि सिनेमासम्म । दुईघण्टा सजिलै बित्यो । उनले बोर्डिङसम्म छोडिदिइन् । सिट फेरबदल भयो । इरिनी नामको एक अस्ट्रियन महिला सँगै परिन् । नर्स रहिछन् । उनको अमेरिका यात्रा पहिलो थियो ।

नेपाल र नेपाली कला संस्कृती, पर्यटनको धाराप्रवाह प्रवचन रमाइलोसँग झेलिन् । आठ घण्टाको यात्रामा एकअर्काको सहारा बने । दुवै काँधहरू न्यूयोर्क नजिकियो । एअरलाइन्स क्रुले यात्रा विवरण र आई ९४ फर्म दिए । दुवैले सल्लाह गरेर भरे । बिहानको ११ बजेतिर जेएफके एअरपोर्टमा ल्याण्डिङ भयो । सामान्य सोधपुछपछि ६ महिनाको भिसा लिएर बाहिर निस्क्यो । ‘वेलकम टु युएसए, वेलकम टु न्यूयोर्क’को ठूलो साइनबोर्ड देखेर मन झसङ्ग भयो । एक पटक आफैँलाई चिमोटेर ‘ब्यागेज’को एरो पछ्याउँदै पछि लाग्यो ।

खादाले कसेको ठूला ब्याग ६ वटा एकैसाथ आयो पूरा नेपालका सेलरोटी कोसेली, लप्सीको अचार, गुन्द्रुक, तामा, थाङ्का, गरगहना बोकेर साथमा दुईजना टिबेटन नेपाली रहेछन् । बोस्टनतिर जाने लगेजले नै परिचय बनायो ।

इन्टरनेशनलबाट डोमेस्टिक टर्मिनल गयो । लगेज रिचेक र स्क्यानिङ गर्नुपर्ने रहेछ । भर्खर घटेको ९÷११ घटनाले हवाई यात्रा धेरै कठिन बनाएको थियो अमेरिकामा । जुत्ता, पेटी, वालेट, मेटल भएको सामान सबै निकाल्नु पर्ने ह्याण्डक्यारीको सेक्युरिटी लामो र कठिन भएकाले बचेखुचेका सामान सबै लगेजमा कोचिएको थियो । लगेज एयर टाइट प्याकिङ थियो । फुस्किहाले वा खोल्नुपरे पुनः त्यो भाँडोमा अटाउन प्रायः असम्भव नै थियो । अमेरिकामा भनसुन लाग्ने हैन, उसले बुझाउन खोजेको अफिसरले के बुझ्नु दुवै ब्यागेज खोलियो । नेपालीको परिचय असरल्लै पोखियो । तामा, गुन्द्रुक, सेलरोटीहरू, सुकुटीहरू एक–एक परीक्षण गरियो । फ्लाइट छुट्न लागेकले उनीहरूले उसलाई उड्ने अनुमति त दिए, तर लगेजको पत्तो थिएन । ह्याण्डक्यारीमा आएको थाङ्का पोलिथिन पाइपमा छुट्टै थियो । ठूला–साना गरेर पाँचवटा सामान थिए ।

हवाई यात्रामा सबै गोरा थिए । सबैको नजर एक–एक मिनेट उसमा आएर रोकिन्थे । कुनै पनि बेलामा मध्य पूर्व एसियनद्वारा जे पनि घटना घट्न सक्ने त्रासदी थियो उनीहरूसँग । सवा घण्टापछि एक्रन– क्यान्टन एअरपोर्टमा प्लेन ल्याण्ड भयो । ब्यागेज क्लेममा व्यागेज आएन । ट्याग परीक्षण गर्दा लगेज लोकेट नै भएन । अमेरिकामा स्थानीय रूपमा रिप्लेसमेन्टको कुनै सुविधा नै थिएन । न त लगाउने लुगा थियो, न फेर्ने । ऊनीहरूले न्यूयोर्क फोन गरेर लगेजको एस्वोरेन्स त गरे, तर कहिलेसम्म आउने ठेगान भएन । गन्तव्य माइल पर थियो । उनीहरूले लगेज पु¥याइदिने लिखित करार गरिदिए ।

बाहिर साथीहरू कुरेर बसेका थिए । लगेज चेकमा देखादेख भएकाले उनीहरू धैर्यपूर्वक कुरिरहेको थिए ।

नेपाली दालभातले हल्का लागेको पेट अरूको कपडा ठिक हुने कुरै भएन । वालमार्टमा आवश्यक ग्रोसरी ग¥यो र एकसरो मेड इन बंगलादेश लेखेको कपडा किन्यो । एक–एक गर्दै पाँचौं दिनसम्ममा सकुशल सामान आइपुग्यो ।

भोलिपल्ट एमजी कार ¥याली रहेछ । उसलाई चिफगेस्ट र बारवेक्यू लन्चमा बोलाएको थियो । सामान्य परिचय र नेपाल र ट्राभल प्लानिङ र सम्भाव्य टुरको बयान गरेपछि सबैले तालिमबारे प्रायसः ब्रिटिस आर्मीबाट अमेरिका सरेको भीभीआईपी रहेकाले सबैले नेपाल चिनेका रहेछन् । सबैभन्दा बढी भिक्टोरिया क्रस जित्ने नेपालीहरू रहेछन् । त्यसको सम्मान गरे, उनीहरूले उचालेर स्वागत गरे । स्याम्पियन, वर्वन, कोरोना टोस्ट चल्यो । नो बिफ, नो पोर्क भनेर साथीले भनेकोमा उनीहरू ओके बिफ नो पोर्क बुझेछन् । सबै खाना बिफ मात्र थियो । सबै मस्त रमाइरहेका थिए । उसले सलाद र मकैमा काम चलाउनु परेको थियो । साँझ बाटोमा बनाना वोट विथ बिस्कुट आइसक्रिम खाएर डिनर र लन्चको काम चल्यो ।

प्रसिद्ध राम्रा कलेज, विख्यात हस्पिटल, अमेरिकाकै राम्रो चिडियाघर, ऐतिहासिक म्यूजियम, क्लिभलेण्ड म्युजियमको कल्चरल प्रोग्राम विश्वप्रसिद्ध रहेछ । सफा, सुग्घर चिटिक्क काटेको बगैंचा, हरेक घर बाहिर अमेरिकी झण्डा क्लिभलेण्ड हाइट्स स्वर्ग जस्तै लाग्यो उसलाई । हरियाली नजिकै ठूलो लेक ईर्ई पोखरा जस्तै वातावरण । अमेरिका साँच्चै स्वर्ग जस्तै थियो । बाटोमा सबै अभिवादन गर्थे, के छ ? कस्तो छ ? सोधपुछ हुन्थ्यो ।

साँझ नेपालबाट आएको पिरो, अमिलो मन पराउने भएकाले साथीहरूले मेक्सिकन रेष्टुराँमा डिनर लगे । सबैभन्दा पिरो पोयो पिकान्ते स्पेशल अर्डर गरिएको रहेछ । ग्वाकोमोली, चिप्स, साल्साको साथमा कालो सिमी र हरियो सागपात हेर्दा मनमोहक लाग्ने डिस मुखमा हाल्न नपाई उसको होस उड्यो । ¥याल सिंगान नै झार्ने सायद यो दुनियाँकै सवैभन्दा पिरो खुर्सानीको बनाएको हुनुपर्छ । गोरा साथीहरू अझै पनि उसलाई यू वान्ट सम पोयो पिकान्ते भनेर जिस्क्याउँछन् ।

ऊसँग टिकट उधारो लिएका, पैसा सापट लिएर भाखा साँचेका दर्जनभन्दा बढी साथीहरू थिए । पहिलो पटक नम्बर नचिन्दा सबैले फोन उठाए । हाई हेल्लो भयो अर्को दिनदेखि कोही सम्पर्कमा आउनै चाहेनन् । जो जसले सामान पठाएका थिए, उनीहरू धेरै टाढा–टाढा स्टेटमा बस्दा रहेछन् । सबैले नामाङ्कन हुलाकबाट पठाइदिन अनुरोध गर्थे । नेपालमा किनेको डलर तिरितिरी सामान पठाइदिनु कम महानता त थिएन, तर अर्काको नासो गलाको पासो भनेझैं सामान नबुझाएसम्म धर पनि त थिएन ।

महिनौं बित्यो नेपाली बोल्न मात्र एक जना फ्रान्सेली केन्द्रमा फ्रेन्च पढ्दाको साथी डिज्नीमा काम गर्थे । उनको सेसन सकिएकाले तुरून्तै मुभ हुनुपर्ने थियो । उनी स्वयम् समस्यामा थिए । न्यूयोर्कमा रहेको कजन कहिले कलेज, कहिले काम भन्थे फोन सम्पर्क नै थिएन ।

नेपालबाट चाहिँ हरेक घण्टामा सोधपुछ हुन्थ्यो । कोही खाए–नखाएको सोध्ने, कोही कति बज्यो ? काम सुरू भयो ? कति डलर छापिस ? इत्यादि अनावश्यक प्रश्नले तनाव बढाउँथ्यो । बिपिन जो डिज्नीमा काम गर्थे उनी डिज्नी घुम्नअ ाएको एक परिवारको सहयोगमा बोस्टन जाने भए । बैङ्लोरमा होटल मैनेजमेन्ट पढेका बिपिन धेरै फरासिला थिए । इन्डियन रेष्टुराँमा कामदारको ठूलो डिमाण्ड हुने र उनीहरूले नेपालीहरूलाई राम्रो विश्वास गर्ने, एक्स्ट्रा स्किल्ड जब जो अमेरिकनले गर्न नसक्ने भएकाले ग्रीनकार्ड बनाउने राम्रो माध्यम रहेछ । नेपालबाट दुई वर्षको कार्य अनुभव प्रमाण मात्र भए पुग्ने र ऊ आफैँ होटल व्यवसायी भएकाले खासै गाह्रो पनि नहुने र यदि अमेरिका बस्ने भए रेष्टुराँमा सर्भर बेराको जब ज्यादा उपलब्धिमूलक हुने बिपिनले सल्लाह दिए ।

अमेरिका व्यापार गर्न आएको नेपाली सफल व्यापारी बिस्तारै कहिलेकाहीँ मनभित्र आफूलाई बेरामा ढाल्न थाल्यो । नेपालमा गरेका मोजमस्तीमा सम्मिलित हरेक बेराको चेहरा र उनीहरूको काम गर्ने तौरतरिका आँखा अगाडि नाच्न थाले । आफूमा एक उम्दाकोटीको बेरा लुकेको आभास हुन थाल्यो उसलाई ।

क्रमशः अर्को अङ्कमा

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार