अमेरिकी पूर्व राष्ट्रपति कार्टरको सादगी जीवन

अमेरिकी पूर्व राष्ट्रपति कार्टरको सादगी जीवन
तस्वीर– वासिङ्टन पोस्ट

पौने दुई लाख डलरको घर, डलर जनरलमा सपिङ

न्यूयोर्क । अघिल्लो साता ४१औं राष्ट्रपति जर्ज एच डब्लु बुसको निधन भएपछि अब अमेरिकामा चार पूर्व राष्ट्रपतिहरु जीवित छन् । ३९औं राष्ट्रपति जिम्मी कार्टर, ४२औं बिल क्लिन्टन, ४३औं जर्ज डब्लु बुस र ४४औं बाराक ओबामा आ–आफ्नै शैलीमा निवृत्त जीवन बिताइरहेका छन् ।

उमेरले कार्टर सबैभन्दा वृद्ध हुन् । उनी ९४ वर्ष पुगिसकेका छन् । एक समय विश्वकै शक्तिशाली व्यक्तिका रुपमा शासन गरेको उनको जीवनशैली भने साँच्चिकै प्रेरक छ । अमेरिकी राष्ट्रपति लगायत प्रमुख नेताहरु निवृत्तपछि राजधानी वासिङ्टन डिसीमै बसिरहन्नन् । आफ्नै जन्मथलो फर्कने गरेका छन् । डिसीमा धेरैको बसाइ भाडामै हुने गरेको छ । कार्टर पनि त्यसैगरी जर्जिया फर्केर ५० वर्षभन्दा पहिले आफैंले निर्माण गरेको घरमा श्रीमतीका साथ बसिरहेका छन् ।

कार्टरको जीवनशैलीबारे गतवर्ष वासिङ्टन पोष्टले विस्तृत फिचर प्रकाशन गरेको थियो । जसअनुसार उनी आफैँले सन् १९६७ मा निर्माण गरेको दुई कोठे घरमा बसिरहेका छन् । जसको अहिलेको मूल्य १ लाख ७० हजार अमेरिकी डलर हाराहारी छ । जुन जर्जियाको घरहरुको औसत मूल्य १ लाख ८० हजारभन्दा पनि कम हो । कार्टरको आफ्नो निवासभन्दा बरु उनको सुरक्षाका लागि खटिएका सेक्रेट सर्भिस अधिकारीहरुको पार्किङ निर्माणको लागत महँगो छ । कार्टर निवास आसपासको डलर जनरलमा किनमेलका लागि पुगिरहेका हुन्छन् । जर्जियाबाट बाहिर जानुपरे उनका लागि प्लेन चार्टर्ड हुँदैन, नियमित उडानको इकोनोमिक क्लासमा बसिरहेका भेटिन्छन् । जहाजका सहयात्रीहरु एक–एकसँग हात मिलाउँदै छुटिन्छन् ।

कार्टर सन् १९७८ मा डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति निर्वाचित भएका थिए । आदर्श राजनीतिका पक्षपाती मानिने कार्टर तत्कालीन रिपब्लिकन राष्ट्रपति रिचार्ड निक्सन वाटर गेट काण्डका कारण पद छाड्न बाध्य भएपछिको पहिलो चुनावमार्फत अमेरिकाको कमाण्डर इन चिफ चुनिएका थिए । निक्सनले राजीनामा दिएपछि बाँकी रहेको तीन वर्ष राष्ट्रपतिको कार्यभार सम्हालेका तत्कालीन उपराष्ट्रपति जेराल्ड फोर्डलाई हराउँदै उनी राष्ट्रपति निर्वाचित भएका थिए ।

सन् १९८२ मा सम्पन्न निर्वाचनमा उनी दोस्रो कार्यकालका निर्वाचित हुन सकेनन् । उनको कार्यकालको दोस्रो वर्षपछि अमेरिकी अर्थतन्त्रमा मन्दी देखियो र त्यसको अपजस उनले पाए । अन्नतः रिपब्लिकनका तर्फबाट उम्मेदवार बनेका चतुर राजनीतिज्ञ रोनाल्ड रेगनसँग पराजित हुन पुगे ।

त्यसपछि सत्ता हस्तान्तरण गरेर उनले शान्त निवृत्त जीवन सुरु गरे । मानवअधिकार र शान्तिको क्षेत्रमा काम गर्न कार्टर सेन्टर स्थापना गरे । मानवीयता र शान्तिका पक्षमा कार्टर एक विश्वव्यापी दूतकै रुपमा चिनिएका छन् । सेन्टरले नेपालको शान्ति प्रक्रियामा पनि महत्वपूर्ण सहयोग पु¥याएको थियो । त्यसबखत कार्टरले नेपाल भ्रमण पनि गरेका थिए । उनी सन् २०१५ को महाभूकम्पपश्चात् पनि नेपाल जाने प्रयासमा थिए । तर, अन्तिम समयमा उनको भ्रमण रद्द भएको थियो ।

कार्टरले राष्ट्रपति निर्वाचित हुनुअघि एक कार्यकाल जर्जियाको गभर्नरका रुपमा काम गरेका थिए । त्यसअघि उनी राज्यको सिनेटर थिए । जर्जियाको राजधानी एटलान्टाबाट अढाई घण्टा दक्षिणतर्फ ड्राइभ गरेपछि उनको गाउँ प्लेन्स आइपुग्छ । जहाँ ९१ वर्षीय श्रीमती रोसालिन कार्टरसँग उनी जिन्दगीका उत्तराद्र्ध गुजारिरहेका छन् । पूर्व अमेरिकी राष्ट्रपतिका रुपमा उनले आजीवन पाउने सेक्रेट सर्भिसका सुरक्षा अधिकारी कार्टर दम्पतीको सेवामा खटिएका छन् । उनले पूर्व राष्ट्रपतिको रुपमा सरकारबाट वार्षिक २ लाख १० हजार पेन्सन पाउँछन् । त्यस्तै, सरकारले पूर्व राष्ट्रपतिहरुलाई यात्रा र कार्यालय सञ्चालनका लागि पनि निश्चित रकम उपलब्ध गराउँदै आएको छ । कार्टरले सन् २०१७ मा पेन्सन र यस्तो खर्च गरी कुल ४ लाख ५६ हजार डलर सरकारी रकम लिएका थिए । जुन जर्ज एचडब्लु बुसले त्यही समय लिएको ९ लाख ५२ हजार डलरको आधा पनि थिएन । न्यूनतम पाँच वर्ष फेडरल सरकारको सेवा गरेको हुनुपर्ने नियमका कारण उनी सरकारी स्वास्थ्यबीमा सुविधाबाट भने बञ्चित छन् । गत वर्ष उनले आफू ब्रेन क्यान्सरबाट मुक्त भएको घोषणा गरेका थिए ।

उनले पछिल्लो सयम आफ्नो कमाइको अधिकांश हिस्सा किताब लेखनमा खर्च गर्दै आएका छन् । कार्टरले कम्तीमा पनि ३३ किताब प्रकाशन गरिसकेका छन्, त्यसमा आफ्नो राष्ट्रपतीय कार्याकालको बालबालिकासम्बन्धी किताबसम्म पर्छन् ।

उनले कहिल्यै पनि कर्पोरेट बोर्ड एवम् दातासँग हातेमालो गर्न एवम् ठूलो रकमका लागि भाषणहरु दिन अस्वीकार गर्दै आए । उनकै भाषामा ह्वाइट हाउसमा रहनकै लागि आफूलाई अनावश्यक पैसाको पछि दौडाउन उनको आत्मसम्मानले दिएन । उनी यही आदर्श अडानकै साथ राष्ट्रपति निर्वाचित भए र ह्वाइट हाउसबाट बाहिरिए पनि । जबकी उनका प्रतिस्पर्धी एवम् ‘प्रेडेसेसर’ फोर्डले ह्वाइट हाउसबाट बाहिरिएपछि त्यस्ता आकर्षक कमाइका अवसर एकपछि अर्को पछ्याएका थिए । कार्टरका अलावा प्रायः सबै पूर्व राष्ट्रपति र तिनका श्रीमतीले यस्तो कमाइको अवसरलाई खेर जान दिएका छैनन् । कार्टरपछिका अमेरिकी राष्ट्रपतिहरु बिल क्लिन्टन र बाराक ओबामाले पनि यो अवसरको भरपूर उपयोग गर्दै लाखौं डलर कमाउँदै आएका छन् । क्लिन्टनले त सन् २००१ मा ह्वाइट हाउस छोड्दा डेढ करोड अमेरिकी डलर बढी ऋण लागेको र भाषण एवम् विभिन्न किताब यात्रामार्फत नै उक्त कर्जा चुक्ता गरेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । अपवादको रुपमा कार्टर दम्पती मात्रै छन् । ‘मैले यस्तो अवसरलाई कहिल्यै पनि गलत भनेको छैन र त्यस्तो ठान्दिन पनि, मैले आफ्नो सन्दर्भमा यति मात्र गरेको हुँ की ममा कहिल्यै पनि धनी बन्ने महत्वाकांक्षा पलाएन ।’

(एजेन्सीको सहयोगमा)

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग