शून्यको दर्शन या एकको पहिचान ?

शून्यको दर्शन या एकको पहिचान ?
धन लामा

रहस्यदर्शीहरु भन्दछन् कि यो जीवन र जगत रहस्यमय छ, अनि भौतिकवादीहरु पनि भन्दछन् कि यो पदार्थगत जगत रहस्यमय छ । भौतिक विज्ञानमा वैज्ञानिकहरु पदार्थको सूक्ष्म विश्लेषण गर्दै पदार्थलाई अणु, अणुलाई तत्व र तत्वलाई  प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनको तहसम्म पुगेर विश्लेषण र विच्छेदन गर्न समर्थ बनेका छन् ।  

विज्ञानको ज्ञानले आकार ग्रहण गर्नुभन्दा हजारौं वर्षअगाडि नै पूर्वीय रहस्यदर्शीहरुले भनेका थिए कि यो दृश्य र अदृश्य जगत तम, रज र सत्व जस्ता त्रिगुणहरुको एकता र संघर्षबाट निर्देशित छ । समयक्रममा बुझाइको सरलताका लागि उनीहरुले यसलाई शिव, विष्णु र ब्रम्हा भने । यो जगतमा मानव सभ्यतामा संस्कृतिहरु थपियो, समाजको गतिशीलतासँगै कैयन कला र कृतिहरु त थपियो नै, साथ साथमा अनगिन्ती संस्कृति र विकृतीहरु पनि थपियो किनभने समाजका सबै रहस्यदर्शी थिएनन् । बुझ्नलाई भन्दा पुज्न सजिलो भयो त्यसैले मूर्ति बनाइयो, मन्दिर बनाइयो । कसैले शिवलाई माने, कसैले विष्णुलाई र कसैले ब्रम्हालाई माने । जस जसले मात्र माने उनीहरुले शिवत्वलाई जानेनन्, विष्णु तत्वलाई जानेनन् र ब्रम्हा तत्वलाई पनि जानेनन् किनकि मान्न सजिलो थियो, तर जान्न गाह्रो थियो, जान्नका लागि यात्रा गर्नुपर्ने हुन्छ, जान्नुको यात्रा कठिन हुन्छ, यसका लागि अदम्य साहस र समर्पण भावको जरुरत हुन्छ, त्यसैले मान्नेहरुको जमात बढ्यो । आस्था र विश्वासको आधारशिलामा सामुदायिक धर्मको प्रादुर्भाव भयो । कसैले शिवलाई मानेर शैव बने, कसैले विष्णुलाई मानेर वैष्णवी बने, कसैले कृष्णलाई मानेर कृष्ण प्रणामी बने । तर कुनै पनि दरखास्तका फारामहरुमा आफूलाई सगौरव ‘हिन्दू’ लेख्ने बहुसंख्यक जमातहरू आफ्नो धर्मको असली सार के हो ? जान्न र बुझ्न जरुरी सम्झदैनन्, त्यसैले शक्ति र भक्ति मार्गले पूर्वीय वैदिक संस्कृतिमा प्रधानता पायो । जान्न र बुझ्नका निम्ति विवेकको कसीमा बुद्धिलाई खियाउनुपर्छ, भक्ति र शक्ति मार्गमा हृदयको समर्पण भए पुग्दछ, तर कत्तिपय अवस्थामा हृदय ज्ञानसम्मत र विज्ञानसम्मत नहुन सक्छ र नदेखिन सक्छ र फलस्वरुप शक्ति मार्ग द्वन्द्व सिर्जनाको कारक बन्न सक्दछ किनकि शक्ति दोस्रोको अस्तित्वलाई करिब करिब अस्वीकार गर्छ । 

उता मध्यपूर्वबाट उदाएको ज्ञान नक्षत्रको उज्यालोमा पश्चिमी रहस्यदर्शीहरुले पवित्र आत्मा, परम पिता र पुत्रको रुपमा जीवनको जगतलाई देखे । तर, समयक्रममा त्यता पनि ज्ञान नक्षत्रको उज्यालोमा सत्य खोजीको यात्रामा निस्कनुभन्दा पनि उही आस्था र विश्वासको आधारशिला या जगमा नयाँ नयाँ धार्मिक सम्प्रदाय खडा गर्न सजिलो माने । कसैले बाउलाई मात्र माने, कसैले छोरालाई मात्र माने, कसैले पवित्र आत्मालाई मात्र माने, हुँदाहुँदा कसैले त आमालाई मात्र माने तर स्वयम् जिससबाहेक अरुले सायदै भन्न सक्छन् कि सत्यलाई मैले वास्तवमै जानें ।

यो जीवन र जगतको परम सत्यको अनुभूति जिससलाई थियो, त्यसैले उनले बोले र आधिकारिकताका साथ बोले, जीवनको परम सत्यको अनुभूति बुद्धलाई भयो र उनले जे बोले हृदयले बोले । त्यस्तै नानक, महावीर र मोहम्मदले पनि बोले, सत्यलाई शब्दमा रुपान्तरण गर्न सकिंदैन, व्यक्ति स्वयम्को अनुभूति मात्र एक मात्र उपाय हो, त्यसैले उनीहरुले काव्यात्मक बोले, विम्बात्मक बोले । उनीहरुको प्रस्थानपछि पृथ्वीमा बाइबल, कुरानदेखि वेद, पुराणसम्म रचियो र आआफ्ना समर्थकहरुले सत्यलाई आआफ्नो बुझाइको धरातलबाट व्याख्या र विश्लेषण गरे । तिनै धर्मग्रन्थहरुको आधारशिलामा खडा भएको धार्मिक सम्प्रदायहरुमा आज विश्वमा करिब २.१ बिलियन इसाई, १.३ बिलियन इस्लाम, ९०० मिलियन हिन्दू, ३९४ मिलियन परम्परागत चाइनिज धर्म, ३७६ मिलियन बौद्ध र ३०० मिलियन परम्परागत आदिवासी धर्म मान्ने जनसंख्या भएको र प्रविधि, विज्ञान र ज्ञानले सुसज्जित यो पृथ्वीलाई के स्वर्गै घोषणा गर्न सकिंदैन ? तर, अहिलेकै हालतमा यो सम्भव छैन र विगत हजारौं वर्षको अनुभवले भन्छ, भविष्यमा पनि यो सम्भव हुने छैन किनकि हरेक एक धर्मले अर्को धर्मको अस्तित्वलाई स्वीकार नगर्ने मात्र होइन कि जसरी हुन्छ स्वर्ग र नर्क, पुण्य र पापको, लोभ र डर देखाएर आफ्नो धार्मिक आस्थाको साम्राज्य फैलाउन हरेक एक धर्म लागिपरेका छन् । धर्म र धार्मिक आस्था व्यक्तिको सार्वभौमिक वैयक्तिक छनोटको अधिकार हुनुपर्नेमा, जुन सम्प्रदायमा जन्म भयो त्यही सम्प्रदायको धर्म मान्नुपर्ने एउटा बाध्यात्मक अवस्था एकातिर छ भने अर्कोतिर धन वा पैसाको प्रलोभनमा पारेर वा परेर आज धर्म परिवर्तन गर्ने जुन अवस्था बनेको छ यो वास्तवमै असली धर्मसँग केही लिनुदिनु छैन । त्यसैले आज विश्व परिदृश्यमा देखिएको धर्महरुको भाषा र परिभाषा– धर्म कम, संस्कृति ज्यादा हो, स्वीकृति कम विकृति ज्यादा हो । त्यसैले या त धर्मको नाममा युद्ध हुन्छ, या त युद्ध गर्न र गराउन राजनीतिज्ञहरु धर्मको उपयोग गर्दछन् । त्यसैले त संसार अशान्त छ, यो वा त्यो बहानामा लडाइ र युद्ध भइरहेको छ, अनाहकमा निर्दोष मानिसहरु मरिरहेका छन् । देश–देशको बीचमा घृणा बढ्दो छ ।  धर्मको नाममा द्वन्द्व हुनु अथवा द्वन्द्व सिर्जनाका लागि धर्मको उपयोग गर्नुजस्ता कारणले नै हुन सक्छ, भौतिकवादी दार्शनिक कार्ल माक्र्सले धर्मलाई जनताका लागि अफिम भएको उद्घोष गरे, तर उनैका चेलाहरु भने प्रभुको सुसमाचार सुन्ने र परम प्रभुको आशिर्वाद थाप्ने अवस्थासम्म आइपुगेको छ । आज माक्र्स स्वर्गमा हुँदो हो र यहाँ धर्तीमा मञ्चन भइरहेको नाटक देख्दो हो भने भन्दो हो, मेरा चेलोहरुले मैले बुझाउन खोजेको कुरो बुझेनन् वा यो त फगत राजनीतिक चालबाजी मात्र हो । यीद उनले पनि यसलाई राजनीतिक चालबाजी मानें भने भन्नुपर्ने हुन्छ । धर्मलाई दूषित बनाउनुमा, धर्मलाई विकृत बनाउनुमा पर्दा पछाीड राजनीतिज्ञहरुको र पर्दा बाहिर धर्मकै  ठेकेदारहरुको ठूलो हात छ किनकि भिडको कुनै धर्म हुँदैन, आज संसारमा धर्म मान्छौं भन्नेहरुको अनेक अनेक भिड छ तर भिडभित्र साँचो धर्म मरेको छ ।  

अर्का जर्मन दार्शनिक फ्रेडेरिख नित्सेले पनि भने कि ईश्वर मरिसक्यो, ईश्वरलाई हामीले मा¥यौं, यो अवस्थामा हामी कसरी चयनको श्वास फेर्न सक्छौं ? यो पापको मैलो केले पुछ्ने हो ? कुन जल छर्केर हामी शुद्ध हुने हो ? हो, यहाँ नेर आउँछ योगको कुरो, प्रयोगको कुरो ।  प्रयोग विज्ञानवादी हुन्छ, प्रयोग व्यवहारवादी हुन्छ र प्रयोग सारवादी हुन्छ तर मात्र दर्शन त केवल समयको बर्बादी हुन्छ । मात्र मानवीय चित्त वृत्तिको निरोधका लागि पातंजल योग सूत्रमा वर्णित अष्टांग योग, बुद्धको आर्य अस्टाङ्गिक मार्ग, शिवको विज्ञान भैरव तन्त्र, क्रिया योगको विज्ञान वा आजको कम्प्युटर विज्ञान र तत्व विज्ञानको  रहस्यलाई बुझ्न सकेमा मात्र शून्य र एकको महत्वलाई बुझ्न हामी सक्षम हुनेछौं । यी विज्ञानहरु पढेर मात्र बुझिंदैन, यथार्थमा जीवनमा उतारेमा मात्रै सत्यको बोध हुन्छ, तर आजभोलि कुनै पनि नाममा बजारमा उपलब्ध धर्म एक व्यक्तिको सर्वाङ्गीण रुपान्तरणको विषयमा मौन छ । भौतिक विज्ञान भन्छ, यो जगतमा पदार्थको अस्तित्व मात्र त्यसको तत्वको परमाणुमा भएको इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनको संख्याले गर्दछ, कम्पुटर विज्ञानले भन्दछ कि ० र १ मात्र, यो सारा भच्र्युअल विश्वको अन्तिम सारगत रहस्य हो, अध्यात्मको विज्ञान भन्छ– संसार मनको विस्तार हो, संसारबाट सारसम्मको यात्रामा मन बाधक छ । अध्यात्म भन्छ, मनलाई हटाउनेबित्तिकै जो शेष रहन्छ, त्यो शून्य वा शून्यता नै जगतको सार हो । आज हामी आशावादी हुन सक्दछौं, तिनै मत राख्नेहरुको एउटै मत बनोस् र एउटै त्रिवेणी बनोस् र भनोस् कि– त्यो शेष एक नै शून्य हो र त्यही शून्य नै एक हो र पनि जगतको सम्पूर्ण अनेकताको कारण हो ।

र, अन्त्यमा मानवतावादी राजा जय पृथ्वी बहादुर सिंहको यो भनाइलाई राख्दै यो विचार मन्थनलाई बिट मार्छु आज– ‘मानवता जनावरता भन्दा माथि छ र वास्तवमा यथास्थितिबाट दिव्यताको माथिल्लो खुड्किलोमा उक्लन सक्ने प्रशस्त सम्भावनाहरु छन् ।  दिव्यता सृष्टिको त्यो उच्चतम अवस्था हो, जहाँ प्रत्येकको आवश्यकता बोध गरिन्छ, विभिन्नताको ध्रुव सत्यलाई स्वीकार गरिन्छ अनि परस्पर निर्भरताको आवश्यकताले एकअर्काको मूल्य–मान्यता र सबैको एकतालाई आत्मसात गरिन्छ । विभिन्नतामा एकता ब्रह्माण्डको सिद्धान्त हो, मृत सामन्जस्यता होइन ।’

कनेक्टिक्ट

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग