क्यापुचीनदेखि मदर मुनसम्म

क्यापुचीनदेखि मदर मुनसम्म
पुरुषोत्तम लम्साल

साताअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ ट्वीट आयो– किराँत, हिन्दू र बौद्ध तीर्थको त्रिवेणी हलेसीबाट । उनको मुखारबिन्दुबाट मैले पटक–पटक विकासमा धर्म नै बाधक रहेको उद्गार सुनेको छु । उनले हिन्दू धर्मलाई सबैखाले अविकास र अशान्तिको जड जसरी व्याख्या नगरेका पनि होइनन् । सनातन धर्ममाथि हिजोका दिनमा जति नै प्रहार गरिए पनि ‘आखिर श्रीकृष्ण रहेछ एक’को शैलीमा भट्टराई वाणी पढ्दा मन पुलकित भो ।

जनयुद्धको समयमा जात र धर्मको मानसिक विभाजनको बीज रोपिएकै हो । बाबुराम र प्रचण्डले यसलाई परिवर्तनको अंश मात्रको रुपमा व्याख्या गर्लान्, त्यो अलग कुरा हो । तर, यसले उब्जाएको स्थायी आन्तरिक द्वन्द्व र सामाजिक मनोदशा आजको तथ्य हो । हिजोका दिनमा हामीबाट धर्मको ठाउँमा यो–यो गल्ती भयो भनेर चाहिँ बाबुरामले कहिल्यै बोलेनन् । दरबारिया र माओवादी समूहको चक्रब्यूहमा परेर माओवादीकै बन्दुकबाट मारिएका पण्डित नारायण पोखरेलको उदाहरण पछि चर्चा गरौंला । तर, बहुधार्मिक समाजमा एउटा धर्मविरुद्ध मच्चाइएको बितण्डाबारे मुखै नखोल्नु, यो चाहिँ उदेक लाग्ने विषय हो ।

भट्टराईले कहिलेकाहीँ इसाइकै कार्यक्रममा पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्दा पनि तिनबाट समभावको अभिव्यक्ति आइदिएको हुँदो हो त मलाई यो उदेक लाग्ने थिएन । संस्कारी छन्, संस्कृत छन्, तीर्थाटन गर्छन्, रुद्री लाएनन् होला तर दशैं तिहारमा टीका माला उन्छन्, केही भएन । खुसी लाग्छ । अस्ति चाहिँ हलेसीथान पुगेर धार्मिक सहिष्णुता र समभाव नमूना उवाच भएछ । हिन्दू राष्ट्रका लागि आन्दोलन थाल्ने घोषणा गरेका कमल थापाप्रवृत्ति लक्षित सन्देश पनि रहेछ । जनताको धार्मिक भावना भड्काएर सत्तास्वार्थको रोटी सेक्ने कुचेष्टा कसैले नगरुन् भनेर चेतावनीको भाषामिश्रित सन्देश गलत पनि थिएन ।

उसै पनि कमल थापाको ट्विट र उनको विचार फलोअप गरिरहनुपर्ने विषय होइन । जुन समूह विचारभन्दा फाइदा औ नाफाको बाटोमा लिप्त हुन्छ त्यसबारे चासो राखिन । चुल्हो मिले गणतन्त्र ठीक, चुल्हो नमिल्दा धर्म नासियो, ‘राजा आऊ देश बचाऊ’ भन्ने रुवाबासी सुनेर अत्यास लाग्छ, टिप्पणी नगर्दा उचित हुन्छ ।

जता हावा त्यतै तालको उदाहरण विख्यात लेखक खगेन्द्र संग्रौलाबाट पनि लिन सकिन्छ । किनकि, उनी पनि यस्तै रमाइला ट्विट खेल्छन् । दश दिन अगाडि ‘केपी ओली अहंकारवादी हिन्दू शाषक भएर उदाउन खोजे’ लेख्छन् । दश दिन पछाडि ‘ओली नेपाली धर्म र संस्कृतिको खिलापमा उभिएर इसाइको बुई चढे’ लेख्छन् । लेखकका रुपमा कुन्साङ काकाको यो अस्थिरता नाकाबन्दीताक पनि थियो, सिके राउत प्रकरणमा नि बेलाबेला पोखिन्छ ।

पृष्ठभूमिका उल्लिखित सन्दर्भको गुदीचाहिँ काठमाडांैमा साताअघि एउटा अन्तर्राष्ट्रिय चर्चले आयोजना गरेको कार्यक्रम र त्यसमा नेपाल सरकार र देशको साँचो हातमा लिएर बसेका ठूलाबडाको सहभागिता र संलग्नताको हो । सरकारले नाम मेटेर औपचारिक सहयोग गरेकै हो, माधव नेपाल कार्यक्रमको मुख्तियारै हुन् । अरु बाँकी लेखौंला ।

चर्चले कार्यक्रम गर्नै नपाउने होइन, मज्जाले पाउँछ । स्थानीय चर्चले पनि पाउँछन्, क्षेत्रीय चर्चले पनि पाउँछन् । इसाइको कार्यक्रममा सरकार र सरकारी मान्छेहरुले उपस्थिति जनाउनै हुँदैन भन्ने हुँदै होइन । मज्जाले जाँदा हुन्छ, भुँडी फुट्ने गरी खाँदा हुन्छ । तर, आयोजकले ढाँट र छल गरी कुत्सित र नियोजित अभिष्टले सरकारको र सरकारले अख्तियारको दुरुपयोग गर्छन् भने त्यो बेला इन्द्रेका बाउ चन्द्रेको पनि आलोचना र प्रतिकार जायज हुन्छ । अझ त्यसमा संदिग्ध पात्र र सन्देहपूर्ण उद्देश्य घुसाएर सरकारको मान र मर्यादाकै खिल्ली उडाइन्छ भने संगठित रुपमा बोल्ने स्वभाव र धर्म दुबै पूरा गर्नुपर्दछ ।

साँच्चै, मिसिनरीको एउटा शाखाले नेपाल सरकारलाई च्याम्पटी नै बनाएको हो ? हल्ला मात्र हो या सरकार नै गलत हतियारको मतियार बनेको हो ? के हामी फिलिपिन्सकरण हुँदैछौं ? लोकसेवाको परीक्षामा सोधिने सामान्यज्ञानमा संशोधन गरेर मन्दिरको शहर काठमाडांैबाट चर्चहरुको शहर काठमाडौ स्थापना गर्न उद्यत् हुँदै छौं ? कि मनको बाघकै आक्रमणबाट आहत मात्र भइरहेका हौं ? छाल सकिए पनि तरङ्ग बाँकी छ । कुण्ठा र आवेगलाई नियन्त्रणमा राखेर बहस हुने हो भने दूधको दूध पानीको पानी निकाल्न नसकिने चाहिँ होइन । 

युनाइटेड मिसन टू नेपालले ४० वर्ष अगाडि प्रकाशन गरेको एउटा सामग्रीमा सन् १८८१ देखि १९२५ सम्म जम्माजम्मी २ सयजना यूरोपियन इसाई नेपालमा बसोवास गरेको उल्लेख थियो । नेपाल एण्ड द गोस्पेल गड शीर्षकमा त्यो अंकित छ । यो संख्या २०२८ सालमा तीन हजार, २०३८ सालमा चार हजार, २०४८ सालमा पैंतिस हजार हुँदै २०६८ मा आइपुग्दा चार लाख पुगेको छ । तर, पछिल्लो आँकडाअनुसार नेपालमा दश लाख क्रिश्चियन धर्मावलम्बी पुगेका फरक–फरक दाबी छन् । क्रिश्चियन टुडेको दाबी मान्ने हो भने नेपाल विश्वमै तीव्र इसाइकरण भइरहेको अग्रपंक्तिको देश हो, जहाँ जनसङ्ख्याको तीन प्रतिशत वा दश लाख इसाई धर्मावलम्बी पुगेका छन् ।

सबैले पृथ्वीनारायण शाहले कान्तिपुर शहरबाट इसाई पादरीहरुलाई देश निकाला ठोकेपछि नेपालको राजतन्त्रविरुद्ध पश्चिमा देश अनुदार भए भन्ने स्थापित थेगो जस्तै छ । थेगोमा प्रमाण खोजिन्न । अढाई सय वर्षअघिको तूष पूरा गरेर तुष्टी लिन नेपालमा धर्मान्तरणको खेती उत्कर्षमा पुगेको हल्लाबोल छ । कथ्य र तथ्य अलग–अलग केलाउने काम चाहिँ बिरलै हुन्छ । किनकि, बुढा अध्येताहरु कर्क पेट्रिकको किताबबाट बाहिर आउनै सकेका छैनन् । अध्ययनले देखाउँछ, त्यतिबेला पनि बहादुर शाह र प्रतापसिंह शाह दुबै इसाई मिसिनरीप्रति उदार थिए । तर, भारतमा मिसिनरीको चालबाट वाकिफ पृथ्वीनारायण शाह अरुभन्दा चतुर र दूरदर्शी दुबै थिए, त्यसैले धर्ममा स्वार्थ बोकेर हिँड्नेलाई लगाम कसे । कुरा यत्ति हो ।

३ सय ९० वर्षअघि कान्तिपुर राजा लक्ष्मीनरसिंह मल्लबाट अनुमति लिएर प्रवेश गरेका फादर क्याब्रलबाट नेपालमा इसाई प्रवेश (सन् १६२८) को औपचारिक कथा शुरु हुने रहेछ । प्रताप मल्ललाई बेलायती दूरबिन उपहार दिएर लोभ्याउने फादर डुर्बल र गोर्बिलको चर्चा पछि गरौंला । राजा भाष्कर मल्लको समयमा तिब्बत मिसनको सहायक अंगका रुपमा कान्तिपुर ओर्लिएको समूह भने आवासीय समूह बनेछ । यसरी हेर्दा उपत्यकामा इसाईको संगठन बनेको १७७२ देखि गनेर ल्याउँदा ३ सय २ वर्ष पुगेछ ।

क्यापुचीन मिसन (इटलीमा गरिब र विपन्नका लागि खुलेको सेवामूलक संस्था जुन पछि इसाई विस्तारको अंग बन्यो) का सदस्यको रुपमा कान्तिपुर र भादगाउँ छिरेका मिसिनरीले अभावको बहानामा प्रभावको खेती गरेको नसिहत चाहिँ १८२६ मा पृथ्वीनारायण शाहले उनीहरुलाई देशनिकाला (५७ जना नेपाली क्रिश्चियनसहित) गरेर बिहार खेदेपछि मिल्ने रहेछ (इन सर्च अफ क्रिश्चियन नेवार) । खासमा क्यापुचीनको मिसन तिब्बत असफल भएपछि भारतको गोवा र सुरत केन्द्र बनाएर नेपालमा विस्तार भएको दृष्टान्त भेटिन्छ । तिब्बत मात्र क्यापुचीनको निशानामा किन बन्यो ? यसको महाभारत केलाउँदा अर्को अध्याय बन्छ, त्यता नजाम् । तर, यो काण्डपछि पूरै दुई सय वर्ष नेपालमा इसाइकरणको खेतीको ढोका बन्द जस्तै भएको पाइन्छ । किनकि, अनुदार राणा शासनमा पनि यो खेती मौलाउने र फस्टाउने बाटो बन्द जस्तै त थियो, तर बन्दै चाहिँ थिएन ।

किनकि, चन्द्र शमशेर अगाडिका राणा प्रधानमन्त्री बीर शमशेर जसले घण्टाघर बनाए, तिनका नाति कर्णेल नरराज शमशेर जबरा पनि बाप्टाइज्ड भएका (२००९ सालमा) क्रिश्चियन रहेको औपचारिक तथ्य छ । चन्द्र शमशेरकै शासनमा नेपाल–भारत सीमाको नौतनहवामा खडा गरिएको नेपाल बोर्डर फेलोसिप (विस १९८४), मेडिकल मिसन, हालको इन्टरनेशनल नेपाल फेलोसिप (विस २०००) इसाइकरणका सन्दर्भमा संगठित अभियान रहेको छुटाउन हुँदैन । यसलाई नेपाल प्रवेश गर्न तयार रहेको रुपमा सीमा क्षेत्रमा अड्डा जमाएका मिसिनरीको अर्थमा बुझ्न युक्तिसंगत हन्छ । जस्तै, इलाम नजिकको सुखियापोखरी, विराटनगर नजिकको जोगबनी, बीरगञ्ज नजिकको रक्सौल, बुटवल नजिकको नौतनहवा, नेपालगञ्ज नजिकको रुपैडिया, महेन्द्रनगर नजिकको टनकपुर, उत्तरी सुदूरपश्चिमका लागि झुलाघाटमा मिसिनरी कार्यालय रहेबाट बुझ्न सकिन्छ । आजको मितिमा जसरी नेपालका पहाडी इलाकाहरुमा चर्चको घेराबन्दी बढ्दो छ, हिजोका दिनमा सीमा क्षेत्रबाट भएको रणनीतिक घेराबन्दीले दिने अर्थ महत्वपूर्ण र संवेदनशील मान्न चाहिँ तपाईंलाई पनि करै लाग्छ ।

अर्को तथ्य, नेपालमा भानुभक्तको रामायण अगाडि नै बाइबलको प्रकाशन र वितरण उधुम थियो । राणा शासन ढलेलगत्तै (विस २००९ मा) माथि उल्लेख गरिएको संस्था आइएनफले पोखरामा घर गरेको हो । यसैले रामघाटमा नेपालको पहिलो चर्च बनाएको हो । गोरखापत्र प्रकाशन भएकै समयमा प्रवासबाट ‘गोर्खे खबर कागत’ निकाल्ने पहिलो नेपाली पादरी गंगाप्रसाद प्रधानको परिवारलाई राणा शाषकले ठहिटीबाट खेदेर देश निकाला नगरेको हुँदो हो त नेपाली भाषामा बाइबल प्रकाशन हुन अझ केही वर्ष कुर्नपथ्र्यो । परिबन्ध र बाध्यतालाई सर्लक्क कज्याएर अवसर र स्वार्थको बीउ रोप्न कसैले पादरी र फादरहरुबाट सिकुन् ।

अर्को सत्य के हो भने त्यतिबेलामा धर्ममा विश्वास र आस्था खोजिन्थ्यो आजजस्तो चाउचाउको पुरिया र सिटामोल मात्र खोजिदैनथ्यो, फरक त्यति हो । त्यतिबेला समाज र संस्कृतिलाई महत्व दिने पादरी र फादरहरु थिए आजभोलि धर्मको नाममा व्यापार गर्ने र चन्दाबाट उठेको पैसाले च्यारिटीको नाममा हजम गर्ने मादरचोदहरु बढी छन् । फरक यति हो । 

२००७ सालको राजनीतिक परिवर्तनपछि नेपालका लागि विश्व र विश्वका लागि नेपाल खुल्ला भयो । यो सँगै शोधार्थी पेरीको भाषामा नेपालमा इसाई स्थापना गर्ने ‘पहिलो सय वर्षको मिसन पूरा भएर अर्को सय वर्षको मिसन शुरु भएको’ हो । 

अर्को अंकमा हामी २००७ सालको राजनीतिक परिवर्तन, पञ्चायतले भरथेग गरेको इसाईकरण, २००७ पछि तय भएको अर्को सय वर्षको मिसनबारे चर्चा हुनेछ । महेन्द्रको राष्ट्रवादको व्याख्या यो मिसनमा जोडेर गरिनुपर्दैन ? राजाको सात खत चाहिँ माफी दिने ? आजका केपी ओली र माधव नेपाल मोहर हुन् कि मोहरा ? अर्को बसाइमा भेटौंला ।

बाँकी अंश अर्को अङ्कमा...

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग