नेतृत्वले ढङ्ग नपुर्याउँदा कार्यकर्तामा निराशा छायो

नेतृत्वले ढङ्ग नपुर्याउँदा कार्यकर्तामा निराशा छायो
झलनाथ खनाल, पूर्वप्रधानमन्त्री

दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको सात महिना पुगेको छ । गत जेठ ३ गते राजधानीको राष्ट्रिय सभागृहमा दुई कम्युनिष्ट पार्टीबीच एकता भएको घोषणा गर्दा सो दलका कार्यकर्ता उत्साहित भएर केही मिनेटसम्म ताली बजाएर स्वागत गरेका थिए । तर, माथिल्लो तहमा एकीकरण भए पनि तल्लो तहमा हुन नसकेको एकीकरणले अहिले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तासमेत युद्धमा हारेर फर्किएका सिपाहीजस्ता बनेका छन् । एकता भएको सात महिना पनि बित्न नपाउँदै सो दलभित्र अहिले असन्तुष्टिको पहाड भुसको आगो जस्तै सल्किँदै गएको छ । त्यसो त शीर्ष नेताबीचको सम्बन्धमा समेत निकै ठूलो दरार उत्पन्न भएको छ । यद्यपि एकतापछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको छ । यो बैठकबाट केही अपेक्षा पनि गरिएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेको झलनाथ खनाल पूर्व पार्टी अध्यक्षसमेत हुन् । उनीसमेत असन्तुष्ट छन् । दुई कम्युनिष्ट पार्टीबीच भएको एकता उत्साहपूर्ण भए पनि त्यसको प्रभाव तल्लो तहसम्म पुग्न नसक्दा एकीकरणले समेत गति नलिएको अनुमान धेरैले गरेका छन् । यो बेला बसेको स्थायी कमिटी बैठक लगायतका बारेमा खनालसँग मोहन बास्तोलाले गरेको कुराकानी—

एकीकरण प्रक्रियाले पूर्णता नपाउँदा आम कार्यकर्ता निरुत्साहित बनेको भन्ने गरिन्छ नि ?

हो, एकीकरण भएको लामो समय बित्दा पनि एकीकरण प्रक्रियालाई तल्लो तहसम्म लैजान नसक्दा समस्या देखिएको छ । हामीले जेठ ३ गते एकीकरण गरेपछि सबै कमिटीलाई विघटन गर्ने काम ग¥यौं । त्यो गलत थियो । विघटन गर्नैपर्ने आवश्यकता थियो भने एकीकरण कम्तीमा दुईदेखि तीन महिनाका बीचमा सम्पन्न गरिसक्नुपथ्र्यो । त्यो सम्पन्न गर्न नसक्नु र एकतालाई अन्तिम रुप दिन नसक्नुको कारणले कतिपय ठाँउमा खासगरी हाम्रो पङ्तिमा निराशा पैदा भएको छ । त्यो निराशालाई स्थायी कमिटी बैठकले तत्काल समाधान गर्छ भन्ने अपेक्षा राखेका छौं ।

अहिले सबै दोष हामी सबै नेताहरुलाई लाग्ने गरेको छ । एकीकरण प्रक्रिया अघि बढ्न नसक्नुमा सबैभन्दा बढी दोषी दुबै पार्टी एकता गर्दा जो नेतृत्वमा हुनुहुन्थ्यो, नेतृत्वमा बसेका साथीहरु नै त्यसका जिम्मेवार हुनुहुन्छ । माथि एकता गरिसकेपछि तलसम्म एकताको प्रक्रिया कसरी गर्ने भन्ने सन्दर्भमा सामूहिक रुपमा राम्रोसँगले छलफल हुन सकेन । त्यो छलफल भएको भए विभिन्न खालका तरिका, प्रक्रिया, जुक्ति, बुद्धिहरु निस्कने थिए । त्यो नभई विघटन मात्र गरिदिने अनि एकता प्रक्रियालाई यथोचित तरिकाले अगाडि बढाउन नसक्ने कारणले गर्दा अहिले यो स्थिति उत्पन्न भएको हो । त्यसको निम्ति अरु कोही दोषी छैन, सम्पूर्ण कार्यकर्ताहरु कसैलाई पनि दोष दिन सकिँदैन । त्यसका लागि नेतृत्वले नै दोष लिनुपर्छ । जसले एकीकरण गरेको हो, एकीकरण गर्ने नेता साथीहरु अर्थात् हाम्रो नेतृत्व पङ्ति जो हो, त्यो नै दोषी छ ।

तपाईंहरुले नेतृत्व स्वेच्छाचारी भयो भनेर पनि आरोप लगाउने गर्नुभएको छ, त्यो हो ?

हाम्रो पार्टी एकीकृत भइसकेपछि विगतका सबै कमी–कमजोरीबाट मुक्त हुनुपर्छ । र, यो पार्टीलाई विधिसम्मत ढंगले, नीतिसम्मत ढंगले, सिद्धान्तनिष्ठ ढंगले अगाडि बढाउनुपर्छ । पार्टी केन्द्रीय कमिटी होस्, स्थायी समिति होस्, सचिवालय नै किन नहोस्, तिनीहरुका नियमित बैठक हुनुपर्दछ । तिनले यावत एजेण्डाहरु अघि सारेर ती एजेण्डाहरुमा केन्द्रित भएर बहस र छलफल गर्ने अनि निर्णय निरुपण गर्ने कामहरु गरिनुपर्दछ । त्यसरी मात्रै पार्टीलाई नियमित रुपमा अगाडि बढाउन सकिन्छ । त्यसका साथसाथै पार्टीलाई सामूहिक नेतृत्वको आधारमा र कमिटी प्रणालीको आधारमा अगाडि बढाउनुपर्ने हुन्छ । ती कुरामा तल–माथि भयो भने पार्टीको व्यवस्था बिग्रन्छ । पार्टीको सिस्टम बिग्रन्छ । सिस्टमलाई राम्रो ढंगले पालना गरेर त्यसलाई सुदृढ गर्ने हिसाबले पार्टीलाई अगाडि बढाएपछि मात्रै देशव्यापी रुपमा पार्टीमा र सरकारमा पनि गति पैदा हुन्छ ।

दुई तिहाई नजिकको वामपन्थी सरकारबाट जनता धेरै सन्तुष्ट हुन सकेनन् भन्ने आरोप लाग्ने गरेको छ । सत्य हो ?

हामीले संविधान निर्माण भइसकेपछि पहिलो निर्वाचनबाट केन्द्रमा झण्डै दुई तिहाई बहुमत प्राप्त गरेका छौं । ७ वटा प्रदेशमध्ये ६ वटामा आफ्नै सरकार बनाएका छौं । दुई नम्बर प्रदेशमा पनि हामी सबैभन्दा ठूलो पार्टीका रुपमा छौं । हामी अहिले पनि सबैभन्दा ठूलो आकारमा छौं । गाँउपालिका र नगरपालिकामा हामीले ६० प्रतिशतभन्दा बढी जित हासिल गरेका छौं । यी  अभूतपूर्व जितहरु हुन् । तर, ती उपलब्धिलाई सही ढंगले संरक्षण गर्दै अब मुलुकलाई समाजवादी लक्ष्यतर्फ लाने, देशलाई समृृद्ध र जनतालाई सुखी बनाउने दिशातर्फ अगाडि बढाउने अत्यन्त ठूलो र गुरुत्तर अभिभारा अहिले हाम्रो काँधमा छ । त्यो अभिभारालाई अगाडि बढाउने सिलसिलामा कुनै बाधाबिघ्न छैन । यो सरकार दुई तिहाइको सरकार छ । यो संविधानले अगाडि बढ्नुका लागि सम्पूर्ण बाटाघाटाहरु खुला गरिदिएको छ । तर पनि जनताको अपेक्षाअनुरुप सरकार अझै अगाडि बढ्न सकिरहेको छैन । कतिपय राम्रा कामहरु गरे पनि लोकप्रिय कामहरु सरकारले गर्न सकिरहेको छैन । त्यो हुनाले हामी सबैले भनिरहेका छौं कि सरकारले गति राम्रो लिओस् । तीव्रता प्रदान गरोस् । प्रभावकारी ढंगले सञ्चालित होस् । देश, जनता र राष्ट्रलाई गोलबन्द गरेर तीव्र ढंगले विकास र निर्माणको प्रक्रियालाई अगाडि बढाउन सकियोस् । यो हामी सबैको माग हो ।

तपाईंहरु नै नेतृत्वसँग खुशी हुनुहुन्न, त्यसको एउटा उदाहरण बालुवाटार बैठक बहिष्कार पनि हो भनिन्छ नि ?

बहिष्कार गर्नुको तात्पर्य के हो भने पार्टीलाई नियमबद्ध ढंगले, पद्धतिबद्ध ढंगले, नीतिबद्ध ढंगले अगाडि बढाउनुपर्छ भन्ने हो । हामीले बहिस्कार गर्नुको परिणामस्वरुप अरु बहुमत पाँचजना बसेर पार्टीको स्थायी कमिटीको बैठक बोलाउने निर्णय भयो । हामीले बहिस्कार नगरेको भए भए स्थायी समितिको बैठक अझै कहिले हुन्थ्यो कहिले ? कमसेकम स्थायी समितिको बैठक बोलाइयो । हाम्रो बहिस्कारले पार्टीलाई ठीक ठाउँमा ल्याउनका निम्ति महत्वपूर्ण भूमिका खेलेको छ भन्ने मलाई लाग्छ । अझ प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठकहरु बस्दा प्रभावित हुने खालको गतिविधि भयो, त्यसकारण पार्टी कार्यालयमा बैठक बस्नुपर्छ भन्ने कुरा पनि उठे । हामीले पनि त्यसलाई असहमति राख्ने भन्दा पनि पार्टीका बैठकहरु नियमित रुपले र पार्टी कार्यालयमा नै गराउन सकियो भने सबैभन्दा बेस कुरा हो भन्यौं । मेरो सन्दर्भको कुरा गर्ने हो भने त म अहिले मात्र होइन सधैं यसैको पक्षमा छु ।

एसिया प्यासिफिक सम्मेलनका कारण सरकार विवादमा आयो, यसबारे तपाईंको भनाइ के छ ?

यो संसारका कुनै पनि मतावालम्बी, पन्थवालम्बीहरुले आफ्ना बैठकहरु, सम्मेलनहरु आफूले चाहेको ठाउँहरुमा गर्न पाउनुपर्छ । मलाई त्यसमा आपत्ति लाग्दैन । तर, जुन प्रकारको संस्थाको सहआयोजक नेपाल सरकार भयो, त्यसको निमन्त्रणा पत्रमा नेपाल सरकारको लोगो प्रयोग गरियो, नेपालको संसद्को लागो प्रयोग गरियो । र, नेपालका तमाम गाउँपालिका र नगरपालिकाका प्रमुखहरुलाई ज्याकेटसम्म दिने प्रलोभन देखाएर त्यो सम्मेलनमा बोलाउने काम गरियो, त्यो गलत थियो ।  साथसाथै, अन्य विभिन्न कुराहरुमा आपत्तिजनक कामहरु गरियो । यी कुराहरुप्रति नेपाली जनताको आपत्ति छ । हाम्रो आपत्ति छ । मेरो पनि आपत्ति छ । त्यति मात्र होइन त्यो निमन्त्रणा गर्दा हाम्रो पार्टीकै कतिपय नेता त्यो निमन्त्रणासम्बन्धी समितिका अध्यक्ष बनेको पनि देखियो । यस्ता कुराहरु शोभनीय होइनन् । हाम्रो संविधानले जे दृष्टिकोण र भावना अगाडि सारेको छ, ती कुराहरु त्यो अनुरुप पनि छैनन् । हाम्रो राष्ट्रको भावनाअनुरुप पनि छैनन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग