दुबई, म र हामी– यो १८ वर्ष

दुबई, म र हामी– यो १८ वर्ष

विगतका अठार वर्ष फर्केर हेर्दा आफू कति बुढो भइएछ भन्ने तरंगले सम्पूर्ण शरीर निथ्रुक्क भिज्छ । खस्रक्क खुम्चिएका मनलाई सान्त्वना दिँदै ऐना अगाडि उभिन्छु– कपाल पनि टन्नै फुलेछन् । चस्माले आँखा छोपेको धेरै वर्ष भइसके । गाला चाउरी अनि फुस्रा । प्रसंग दुबईको, के–के फेरियो त यो १८ वर्षमा मेरो जस्तै दुबईको ?

तथ्याङ्कको बलियो आधार नभए पनि सन् २००१ ताका इमिरेट्समा नेपालीको संख्या जम्मा २० हजारको हाराहारीमा रहेको अनुमान गरिन्थ्यो । कहीँकतै नेपाली भेटिए भने कति मन खुलेर आउँथ्यो । भेटघाट हुने ठाउँ बर दुबई । जसको दुई कारण थिए । पहिलो त्यहाँ मन्दिर थियो । दोस्रो बसपार्क, जहाँ लेबोर अकोमोडेसनमा सार्वजनिक साधनको सुविधा थियो । त्यसमाथि देरा शहर नहर पारि सानो डुङ्गामा जान सहज ।

नेपाली खाना कतै थिएन । गोजीले भ्याउने त्यही साउथ इन्डियन खाना खाँदा खाँदा वाक्क भइन्थ्यो । बिस्तारै नेपाली रेस्टुरेन्ट पनि खुल्न थाले । नेपालीको जनसङ्ख्या बढ्दै गएको अनुभूति हुन थाल्यो । नेपालको माओवादी युद्धबाट विस्थापित भएका जवानहरु विदेश विस्थापित भएका कारण हुनसक्छ । बढ्दो नेपालीले बर दु्बई ढाकिन थाल्यो । हरेक शुक्रबार पेरिसडाँडा ढाकिन्छ अझै । फाट्टफुट्ट नेपालीले आफ्नो पर्व मनाउन थाले । नोष्टाल्जिया कम हुन्थ्यो । तीज, दशैं, तिहारमा खास चहलपहल बढ्न थाल्यो । तर, समस्या कहिलेकाहीँ कोलाहलले उग्र रूप लिएर स्थानीय प्रशासनलाई समेत नचिढाएको भने चाहिँ हैन । आजको दिनमा त्यही ठाउँमा टन्नै नेपाली रेस्टुरेन्ट पसलहरु खुलेका छन् । नेपालको जस्तै दालभात तरकारीको लागि न्यास्रिनु पर्दैन ।

नेपालीले ढाक्दै गएको ठाउँमा साना व्यापार देखिए पनि समग्र व्यापारिक हिसाबले पछाडि नै रह्यो । कम्प्युटर, सुनचाँदी, ब्राण्डेड कपडाका व्यापारीहरू बिस्तारै अन्यत्र सर्न थाले । नयाँ दुबईका नयाँ संरचनाहरुले पुराना ठाउँलाई पछाडि छाडे ।

दुबईले फ्रिहोल्ड प्रोपर्टिज शुरु गरेर विदेशीलाई घर तथा अपार्टमेन्ट किन्ने सुविधा दिएपछि त झन् यहाँको शहर बिस्तार अति नै तीव्र गतिमा भएको छ । जताततै गगनचुम्ने भवनहरु, चिल्ला अनि फराकिला बाटा । हातमा गन्न सकिने देरा सिटी सेन्टर, घुरेर सेन्टर, वाफी मल, ल्यम्सि प्लाजा अनि मर्कयाटो मल सबै ३–४ वर्षको अन्तरालमा नगन्नेमा परे । कोभन्दा को कमको होडबाजीमा मरिना, रेसिडेन्टल भिलेजहरु, कृत्रिम रुपमा बनाइएका विशाल आइल्याण्ड र त्यसमा बनेका बिलासी शहरहरुको चर्चा हुन थाल्यो । दिन दुई गुना रात तीन गुनाले दुबईको भौतिक स्वरूप बदलियो । संसारकै सबैभन्दा ठूला मलहरु (दुबई मल, ईबन बतुता मल, मल अफ इमिरेट्स), अग्लो भवन बुर्ज खलिफा, सात तारे होटल बुर्ज अल अरब, सबैभन्दा अग्लो होटेल, सबैभन्दा लामो चालकबिनाको मेट्रो, सबैभन्दा व्यस्त बन्दरगाह जबेल अलि, सबैभन्दा व्यस्त एयरपोर्ट दुबई, सबैभन्दा ठूलो ड्युटि फ्रि दुबई, सबैभन्दा ठूलो एयरपोर्ट मख्तुम इत्यादि ! रोड सिस्टममा पनि यो शहर नम्बर एकमा दरियो । विश्वका दुई चार वटा ठूल्ठूला शहरहरु घुमेको छु– यहाँको जस्तो स्मुथ रोड कतै भेटिन । तर, शहर बिस्तारको अति तीव्र चापले होला शुरुशुरुमा अफिसबाट घर पुग्न (६० किमि) २७ मिनेट लाग्थ्यो भने अहिले लगभग एक घन्टा लाग्दछ । त्यो पनि अफ अफिस आवर्समा ।

सन् २००१ मा साथीको जन्मदिन मनाउन घन्तुत भन्ने ठाउँमा जाँदा एउटा मु्लुक नै पार गरें जस्तो लागेको थियो । अहिले पानी पधेंरोसरह भाको छ ।

पठानले चलाउने प्राइभेट ट्याक्सी विस्थापित भएर व्यवस्थित कर्पोरेट ट्याक्सी व्यवस्थाको रातारात लोकप्रियता बढेको छ । केटाकेटी बोक्ने स्कुले बसहरु पनि अत्याधुनिक बनाएका छन् । अहिले यतिसम्म नियम लागू गरेका छन् कि हरेक स्कुल बसमा कन्डक्टर महिला हुनुपर्दछ । शहरभित्र सार्वजनिक साधनको नेटवर्क जताततै फैलिएको छ ।

लोडसेडिङको अनुभव अहिलेसम्म एकचोटी भयो– सन् २००६ मा । पानीको मुहान नै नभएको देशमा प्रतिव्यक्ति पानी खपत विश्वमै सबैभन्दा धेरै छ । धारामा पानी सुकेको अहिलेसम्म अनुभव छैन । राति दुई बजे एक्लै कुनै पनि कुनामा निर्धक्क हिँड्न सकिन्छ । शान्तिसुरक्षा भरपर्दो छ । कहीँ पनि समस्या परे फोन गरेको ५ मिनेटभित्र सहयोग मिल्छ– दमकल, एम्बुलेन्स या पुलिस । जाँड खाएर हिँड्न नसकी बाटामा लरबराएको बेला पुलिसको गाडीमा घरसम्म इज्जतका साथ पुगेका कथा सुनाउनेहरू पनि छन् ।

सानातिना ग्रोसरीहरु सबै सुकेर सुपरमार्केट कल्चर भित्रियो । हरेक शुक्रबार घरमा फोन गर्न लाम लाग्ने टेलिफोन बुथहरु अहिले खोज्नुपर्छ । नाम सुनेका नसुनेका सबै ब्रान्डेड आउटलेट, रेस्टुरेन्ट सबै भएको ठाउँमा माल्बारिका क्याफेटेरिया भने नचलेका चाहिँ होइनन् ।

अत्याधुनिक प्रविधिलाई नेपालीले कहिलेकाहीँ पछाडि छाड्दछ । एजुकेट गराउने कार्यहरू सम्बन्धित निकायले गराउनु पर्दछ । नेपालको इमिग्रेशन अफिसरले मलाई साहै्र कचकच गरे– पासपोर्टमा छापा खोई भनेर ? बरा ई–गेट सिस्टमको के थाहा यिनीलाई ।

फेरि अर्को कुरा, आफ्नोपन र खाना भुल्न थालिसकें । टाढा किन जानुप¥यो र कुरो बुझ्न ! बर दुबईमा च्याउझैं खुलेका नेपालीका पसलहरुमा नेपाली मसला किन्न भनेर गत हप्ता गएको तर कतै पाइएन ! मेरो कपालझैं ३६० को डिग्रीमा बदलिएको दुबईमा बस्ने हामी नेपालीको बानी जस्ताको त्यस्तै । असनको मसला बेच्ने पासा र बर दुबईमा पसल चलाएर बस्नेको बानी व्यहोरा उस्तै ! दुनियाँ बद्लिए आधुनिकता र सभ्यतामा हामीलाई त्यो हावाले खासै छुन सकेन । नाम मात्रको जय स्वाभिमानतामा रमायो बस् ।

‘यो जन्मँदै जगतमा कयौं प्रहार आए, साम्राज्य दुई हारे हारेन शान हाम्रो’ गीत गाउन छाडेका छैनौं ।

संयुक्त अरब इमिरेट्स

 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार