एनआरएन अमेरिकाको सदस्यता किन ?

एनआरएन अमेरिकाको सदस्यता किन ?

कुल जनसंख्याको एक चौथाई अर्थात् लगभग ७० लाखभन्दा बढी विदेशी भूमिमा आफ्नै पहिचान बनाउने संघर्षमा जुटेका मानिसहरुको प्रतिनिधित्व गर्ने संस्था एनआरएनको विश्वभर ७८ वटा मुलुकमा सञ्जाल भएको नेपाली संस्था हो । नेपाल सरकारले पनि आफ्नो आर्थिक विकासको अभियानमा आशा र भरोसाका रुपमा हेरेको यस संस्था नेपालको संविधानमा उल्लिखित छ । धनाढ्यहरुको क्लब तथा दुई वर्षमा दशैं मनाउन आउने नेपालीहरुको समूह भन्दै आलोचना भोग्दै आए पनि देशमा आएका ठूलो विपतको बखतमा यसले उल्लेखनीय भूमिका निर्वाह गरेको छ भन्ने कुरा महाभूकम्प र अघोषित नाकाबन्दीका बेलामा प्रमाणित गरिसकेको छ ।

साथै, प्रवासमा बस्ने नेपालीहरुको विदेशमा जन्मेका सन्ततीहरुलाई नेपाल फर्काउने बाटो खोल्ने काम पछिल्लो संविधान संशोधनमार्फत भएको छ, जसमा एनआरएनले ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । यति हुँदाहुँदै पनि मानिसहरु यस संस्थाको सदस्यता लिने कुरामा किन चुपचाप छन् ?

एनआरएनको विश्वभर रहेको शाखाहरुमध्ये सदस्य संस्थाको हिसाबले सबैभन्दा ठूलो मानिएको एनआरएन अमेरिका हो, जसले करिब अमेरिकामा बसोवास गर्ने ५ लाख नेपालीको प्रतिनिधित्व गर्दछ । तर, सदस्यता संख्या हेर्ने हो भने करिब १४–१५ हजारको हाराहारीमा मात्र संगठित सदस्यहरु देखिन्छन् । ती पनि स्वस्फूर्तरुपमा सदस्य बन्नेका संख्या भने अझै न्यून छ । पछिल्लो निर्वाचनको बखतमा भएको चरम राजनीति र नेपालको राजनीतिक आस्था र विकासको आधारमा हुने गरेको गुट–उपगुटको क्रियाकलापबाट दिक्क भएका कारणले पनि संस्थाप्रति निराश हुँदाहुँदै पनि अमेरिका बसाइँको बखतमा परेको ठूलो आपतविपतको क्षण होस् वा ठूलो सफलता हात पारेको क्षण होस्, यसै संस्थालाई साथ लिँदै आफ्नो अगाडिको यात्रा तय गर्ने गरिएको देखिन्छ ।

वर्तमान कार्यसमितिले पनि आफ्नो स्रोत र साधनले सम्भव भएसम्म विभिन्न कार्यक्रममार्फत आफूलाई प्रस्तुत गर्दै छ भन्ने कुराको २४ घण्टे हेल्प डेस्क फोनलाइन, परिचयपत्र, छात्रवृत्ति र ई–लाइब्रेरी जस्ता सेवाले प्रमाणित गरिसकेको छ । यति हुँदाहुँदै पनि अमेरिकावासी नेपालीहरुले किन सोंचेअनुरुप सदस्यता लिइरहेका छैनन् त ? र, यसतर्फ कसरी सबैको साझा संस्थाको अनुभूति दिलाउन सकिन्छ त भन्ने एउटा ठूलो प्रश्न डायस्पोरा अगाडि तेर्सिएको छ ।

स्थानीय नेपाली समाजसँग हातेमालो

अमेरिकाका विभिन्न राज्यमा एक वा सोभन्दा धेरै संख्यामा नेपाली समाज रहेका छन्, जसको मुख्य उद्देश्य त्यस क्षेत्रका मानिसलाई अपनत्व भावनाको विकास गर्दै नेपाली कला, संस्कृति, भाषा र साहित्यको विकासमा जोड दिने गरेको पाइन्छ । जसका लागि विभिन्न राज्यमा सामुदायिक भवनको पनि स्थापना गरेका र गर्ने क्रममा छन् । तसर्थ ती समाजसँग हातेमालो गर्दै साझा उद्देश्य पूर्तिको दिशामा सहकार्य गर्न सकेको खण्डमा छिटोछरितो आफ्ना उद्देश्य प्राप्त गर्न सकिन्छ ।

हुन त एनसीसी, आईसीसी तथा स्थानीय समाजका विधानअनुसार आ–आफ्ना कार्य गर्दछन् । तर देश, काल, परिस्थिति र आवश्यकताअनुरुप आफूहरुलाई परिमार्जन गर्दै नजाने हो भने संस्थैसंस्था, गुट–उपगुट र आपसी मतभेदमा रुमलिँदा कुहिरोको काग हुन नपर्ला भन्न सकिन्न ।

कसरी गर्ने हातेमालो ?

नेपाली समुदायको पहिचान, अधिकार तथा सामुदायिक भावनालाई स्थापित गर्दै प्रवासमा समृद्ध नेपाली बनाउने साझा उद्देश्य बोकेका यी संस्थाहरुले अब मूलधारको राजनीतिमा पनि आफ्नो उपस्थिति जनाउन एकआपसमा सहकार्य गर्नुपर्छ भन्ने कुरा बुझिसकेका छन् । तसर्थ, ती सम्पूर्ण नेपाली समाजमार्फत सदस्यता वितरण र नवीकरण कार्यलाई सुचारु गर्ने र संकलित सदस्यता शुल्कको ५० प्रतिशत ततराज्यका नेपाली समाजलाई नै फिर्ता गर्दा धेरै सदस्यता वितरण पनि हुने तथा संकलित रकमले सबै संस्थालाई स्थापित हुन बल पनि मिल्न सक्छन् ।

स्थानीय समाजले पनि आआफ्नो विधानमा संशोधन गरी एनआरएनको प्रतिनिधित्वका लागि एक कार्यकारी पदको सृजना गर्ने र आफ्ना सम्पूर्ण गतिविधिमा हातेमालो गर्दै नेपाली समाजको हितमा धेरैभन्दा धेरै कार्यक्रम गर्दै जानुपर्दछ ।

एनआरएन अमेरिकाले के गर्न सक्छ ?

सबैको साझा संस्था बनाउन एनआरएन अमेरिकाले निम्न भूमिका निर्वाह गर्न अति आवश्यक छ–

१, स्थानीय समाजसँग हातेमालो गर्दै धेरैभन्दा धेरै राज्यमा सामुदायिक भवन निर्माण गर्ने कार्यमा जोड दिने ।

२, स्थानीय र केन्द्र सरकारलाई विभिन्न क्रियाकलापमा सहभागी बनाउँदै समस्या र उपलब्धिका बारेमा जानकारी दिने ।

३, नवआगन्तुक नेपालीलाई अमेरिकामा आधारभूत कानूनका साथै कसरी सहज तरिकाले जीवन यापन गर्न सकिन्छ भन्ने कुरा थाहा पाउन संयन्त्र तयार गर्ने ।

४, यहीँ जन्मेका र सानै उमेरमा आएका युवावर्गलाई लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने र संस्थाहरुसँग सहकार्य गर्ने । बालक, किशोर तथा युवावर्गलाई मूलधारमा जाने बाटो देखाउने ।

५, विद्वत्वर्ग, जसलाई खासै समावेश गर्न नसकेको वर्तमान अवस्थामा युवावर्गलक्षित कार्यक्रम सञ्चालनका लागि जिम्मा दिने ।

६, रोजगारीका साथसाथै व्यवसायप्रति आकर्षित गराउन हाम्रो समुदायलाई ती क्षेत्रमा भएका विशेषज्ञसँग राय–परामर्श गर्न सहज वातावरण सृजना गर्ने ।

७, आईसीसीमा आफ्नो पहँुच बढाउन सबै मिली संगठित योजना बनाउने ।

विश्वसामु नेपालीहरुलाई चिनाउँदै समृद्ध नेपाली समाज बनाउने महाअभियानमा लागेको यस संस्थालाई सघाउन आईसीसीमार्फत नेपाल सरकारसँग हाम्रो आर्थिक, सामाजिक, राजनीतिक तथा संवैधानिक अधिकार प्राप्तिको दिशामा अर्थपूर्ण कार्य गर्न र एनसीसीमार्फत अमेरिका बस्ने नेपालीहरुको प्रमुख संस्थाका रुपमा विकास गर्दै मूलधारको राजनीतिमा आफ्नो बलियो उपस्थिति बनाउनका लागि सम्पूर्ण नेपालीभाषीहरुले सदस्यता लिनुपर्ने देखिन्छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग