मेरो दूरबिनले देखेको लाइफ स्किल

मेरो दूरबिनले देखेको लाइफ स्किल

सन्दर्भ जीवन र जीविकाबीच भैपरी आउने सानातिना ज्ञानको । नीतिकथा यस्तो छ । गुरुबाट आचार्य दीक्षित भएपश्चात् एक युवक ज्ञान बाँड्न हिँडेछ । बाटोमा डुङ्गाबाट खोला तर्दै गर्दा उनले माझीसँग गफिने क्रममा ‘ब्रह्माण्ड, रसायनशास्त्र र राजनीतिको बारेमा तिमीलाई के थाहा छ ?’ भनेर सोधेछन् । माझीलाई यस विषयमा कुनै पनि ज्ञान नभएको देखेर युवकले माझीलाई अज्ञानी भनी हीनभाव देखाउन थालेछ । मनचित्त दुखे पनि माझीले जीविकाको इज्जतका लागि मुख फर्काएनछ ।

अर्को दिन सोही डुङ्गा प्रयोग गरी युवक फर्किने क्रममा आधा बाटो पुग्दै गर्दा आँधीबेहरी चल्न थालेपछि माझीले युवकलाई पानीमा पौडिने ज्ञानको बारेमा सोधेछन् । युवकले यो आफूले नसिकेको बताएपछि माझीले युवकलाई अर्को जुनीमा सबैभन्दा पहिले अत्यावश्यक जीबनका सीपहरु सिक्न आग्रह गर्दै आफू भने पल्टन आँटेको डुङ्गाबाट पौडिएर ज्यान बचाएछ । पौडिन जानेकाहरु पौडिएछन् । नजानेकाहरुले नियती भोगेछन् । सामान्य बचाऊ गर्न सकिने मार्शल आर्ट, तैरिन सकिने पौडी सीप, आधारभूत सोमत, सामाजिक बन्ने तरिका, हाँस्ने हँसाउने, नाच्ने नचाउने, खेल्ने खेलाउने आदित्यादी लाइफ स्किल अर्थात् जीवन ज्ञानहरु हुन् । यी ज्ञानको आर्जन सामान्यभन्दा बढी भएपछि व्यावसायिक बन्न पनि सकिन्छ ।

जनजिब्रोमा  ‘ज्याक अफ अल, मास्टर अफ नन्’ भन्ने कथन प्रचलित छ । सुन्नमा राम्रो सुनिन्छ, यद्यपि मास्टर अफ नन् हुनु खासै उपयोगी होइन । ज्याक अफ अल नै एक प्रकारको लाइफ स्किल हो भने मास्टर अफ नन् चाँहि विशेष दक्षता भने कुनैमा पनि नभएको भन्ने हो । कुनै एउटा विषयमा दक्षता हासिल गरेको व्यक्ति ज्याक अफ अल लुकाउन थाल्दछ र आफ्नो मास्टरीमा फोकस गर्दछ । आदर्श के हो भने ‘ज्याक अफ अल, मास्टर अफ सम’ । विबिध विषयमा चाहिएको हदसम्म जानी राख्न भने जरुरी छ । मैले स्कुलमा पढेको बीजगणीत, जियोमेट्री खासै कहिल्यै उपयोगमा आएन । उत्तोलक र घिर्नीको प्रयोग कति गरें त्यो पनि याद भएन । सम्भावनाको खोजीमा त्यो सबै पढें । पढ्नको लागि पढें । आखिरमा जीवनमा जान्नुपर्ने कुराहरु के–के हुन् ? कुनै एउटा विषयको सम्पूर्ण ज्ञान हासिल गर्न एउटा मानव जीवन पर्याप्त छैन भने हामीले कुन–कुन सीप सिक्ने ? वास्तवमा हामीले २ सीप जान्न जरुरी छ । पहिलो आवश्यक, दोस्रो अत्यावश्यक । प्रश्न जायज छ, कुन आवश्यक ? कुन अत्यावश्यक ?

हामीलाई प्रोफेशनल स्कीलले जीवन निर्वाह गर्न मद्दत गर्छ भने लाइफ स्कीलले बच्न मद्दत गर्दछ । निर्वाह गर्न सिकिने सीप आवश्यक हो भने बच्न सिकिने सीप अत्यावश्यक हो ।

एउटा तथ्याङ्क लेख्छु, नतर्सनुस् । ६ जना अमेरिकनमध्ये १ जनाले एण्टी डिप्रेशनको औषधी सेवन गर्ने गरेको छ । अफ्रिकी अमेरिकन भन्दा गोरा अमेरिकनले दोब्बर यो औषधी सेवन गर्दछ । एसियनको औसत ५ प्रतिशत छ । जुन तुलनात्मक कम देखिन्छ । बाँच्न नजानेपछि मनमा बढी अभावका कुरा खेल्न थाल्दछ । थेअरी अफ डेभियशनका अनुसार आफैँले आफँैलाई सोधेका उत्तर आफैँसँग नभएपछि बिचलन बढ्न थाल्दछ । यसको अर्थ हुन्छ उच्च महत्वाकांक्षी र जीवनसँग रमाउन नजान्नेहरु अमेरिकामा बढी छन् । व्यस्त जीवनशैली, समुदायलाई र सँग कम समय, पारिवारिक बिचलन अनि जीवन बाँच्ने कलाको कमी हुनु यसका कारक हुन् । जब मानिसको लाइफ स्किललाई प्रोफेशनल स्किलले मेट्न थाल्दछ तब मानिस असामाजिक बन्न थाल्दछ । आत्मकेन्द्रित बनेपछि बिस्तारै नैराश्यमा जान थाल्दछ । यसर्थ लाइफ स्किलको महत्व सबै दृष्टिकोणले उच्च छ । गुगलले यसलाई सबै खालको परिस्थितिमा प्रभावकारी ढंगले सामना गर्न सक्ने क्षमता र सीप आर्जन गर्नु नै लाइफ स्किल भनेको छ ।

पुस्तकभित्र राखेको विद्या र अरुको हातमा दिएको धन झट्ट आपत पर्दा कसैलाई काममा आउँदैन । यसर्थ आवश्यक ज्ञान आफैँले सिकिराखौं ।

पुस्तकस्था तु या विद्या, परहस्तगतं च धनम् ।

कार्यकाले समुत्तपन्ने न सा विद्या न तद् धनम् ।।

 

ygshdngl@yahoo.com

 

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार