अमेरिकी राष्ट्रपतिको वार्षिक कमाइ— सीईओको औसत आयभन्दा ३५ गुणा कम

अमेरिकी राष्ट्रपतिको वार्षिक कमाइ— सीईओको औसत आयभन्दा ३५ गुणा कम
प्रभात भट्टराई

न्यूयोर्क । लोकतन्त्रमा जनप्रतिनिधिको कमाइ या आम्दानी गौण हुन्छ । जनताको मत पाएर निर्वाचित हुनुको मूल मर्म आफ्नो समय सर्वसाधारणको हितमा खर्चिने भन्ने नै हो । त्यसो गरेवापत जनप्रतिनिधिले जीवन निर्वाह गर्ने रकम भने राज्यबाट पाउँछन् । विश्वकै सर्वाधिक शक्तिशाली अमेरिकाका राष्ट्रपतिले वार्षिक चार लाख अमेरिकी डलर तलब पाउँछन् । जबकी राष्ट्रपतिले तय गरेको नीतिनियमका आधारमा चल्ने अमेरिकी कम्पनीका प्रमुख कार्यकारीहरुको वार्षिक तलब औसत १ करोड ४० लाख अमेरिकी डलर रहेको छ ।

संसारकै सबैभन्दा शक्तिशाली र खर्चिलो सैनिक शक्तिका कमाण्डर इन चिफको रुपमा रहने अमेरिकी राष्ट्रपति सर्वाधिक ठूलो अर्थतन्त्रको स्वास्थ्यप्रति पनि जिम्मेवार छन् । अमेरिकाका राष्ट्रपतिको तलब सन् २००० सम्म २ लाख अमेरिकी डलर रहेको थियो । सन् २००१ मा संसद्ले राष्ट्रपतिको पारिश्रमिक दोब्बर बढाएको हो । त्यसबाहेक वार्षिक ५० हजार डलर ‘एक्सपेन्सेस अलाउन्स’ पनि उनले  पाउने गरेका छन् ।

अमेरिकी संविधान एवम् कानुन निर्माताहरुले राष्ट्रपतिको रुपमा जोसुकै नागरिक पनि चुनिन सकोस्, एवम् सम्पत्तिकै आधारमा कसैको पनि मुलुक हाँक्न सक्ने क्षमता नमरोस् भनेर राष्ट्रपतिको तलब बाध्यकारी गराएका छन् । त्यसअनुरुप प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिङ्टनको तलब २५ हजार अमेरिकी डलर थियो । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प तुलनात्मक रुपमा सम्पन्न राष्ट्रपति हुन् । त्यसैले उनले वार्षिक एक अमेरिकी डलर तलबका रुपमा बुझेर बाँकी रकम विभिन्न सरकारी निकायहरुलाई दान दिने गरेका छन् । यसअघि राष्ट्रपतिहरु जोन एफ. केनेडी र हर्वर्ट हुभरले पनि आफ्नो पारिश्रमिक विभिन्न निकायलाई दान दिएका थिए ।

अमेरिकी उपराष्ट्रपतिको वार्षिक तलब भने २ लाख ३० हजार ७ सय अमेरिकी डलर रहेको छ । उपराष्ट्रपतिको तलब पनि सन् २००१ मै वृद्धि भएको हो । त्यसअघि उनले १ लाख ८१ हजार ४ सय डलर पाउँथे । राष्ट्रपति र उपराष्ट्रपति दुबैले निवृत्त भएपछि केन्द्र सरकारबाट बाचुन्जेल पेन्सन पाउँछन् ।

मन्त्रीको हैसियतमा रहने अमेरिकी क्याबिनेट सेक्रेटरीहरुले वार्षिक २ लाख १० हजार ७ सय तलब पाउने गरेका छन् । केन्द्र सरकारअन्तर्गत विभिन्न १५ विभाग रहेका छन् । तिनीहरु मन्त्रालयको दर्जामा रहन्छन् । ती विभागका सेक्रेटरीबाहेक ह्वाइट हाउसका चिफ अफ स्टाफ, इन्भायरोमेन्टल प्रोटेक्सन एजेन्सीका प्रमुख (प्रशासक), अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटका निर्देशक, युएस ट्रेड रिप्रिजेन्टेटिभ र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतले पनि वार्षिक पारिश्रमिक त्यति नै पाउने गरेका छन् । उनीहरुको पनि पारिश्रमिक सन् २००१ मा बढेको हो । त्यसअघि सेक्रेटरीहरुले १ लाख ९९ हजार ७ सय अमेरिकी डलर तलब पाउने गरेका थिए ।

यस्तै अमेरिकी विधायिकाअन्तर्गत सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभहरुले वार्षिक १ लाख ७४ हजार पारिश्रमिक पाउँछन् । एक सय जना सिनेटर र ४ सय ३५ जना रिप्रिजेन्टेटिभ यो पारिश्रमिकको भागिदार रहन्छन् । सन् २००० सम्म उनीहरुले वार्षिक १ लाख ४१ हजार ३ सय पारिश्रमिक पाउने गरेका थिए ।

त्यस्तै हाउसका सभामुखले २ लाख २३ हजार ५ सय डलर तलब पाउँछन् । सन् २००१ मा १ लाख ८१ हजार ४ सय डलरबाट बढाएर उनको पारिश्रमिक त्यति पु¥याइएको हो । हाउस र सिनेट दुबैका मेजोरिटी र माइनोरिटी नेता दुबैको तलब १ लाख ९३ हजार ४ सय डलर रहेको छ । सन् २००० सम्म उनीहरुको पारिश्रमिक १ लाख ५६ हजार ९ सय डलर रहेको थियो ।

अमेरिकी न्यायपालिकाअन्तर्गत सर्वोच्च अदालतका प्रधानन्यायाधीशको तलब २ लाख ६७ हजार डलर रहेको छ । सर्वोच्चका अन्य ८ जना न्यायाधीशले वार्षिक २ लाख ५५ हजार ३ सय पारिश्रमिक पाउँछन् । सर्वोच्चका न्यायाधीशको तलब पनि पछिल्लो पटक सन् २००१ मै बढाइएको थियो । अमेरिकी पुनरावेदन अदालतका रुपमा रहने सक्र्युट न्यायाधीशको तलब २ लाख २० हजार डलर ८ सय रहेको छ । यस्तै, जिल्ला न्यायाधीशहरुले २ लाख ८ हजार डलर पारिश्रमिक पाउँछन् । न्यायाधीशहरुले अन्य फेडरल कर्मचारीसरह नै वबार्षिक आवास खर्च पाउने गरेका छन् ।

(एजेन्सीको सहयोगमा)

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग