परमेश्वरको अधिराज्य आफैंभित्र— सबैमा मेरी क्रिसमस !

परमेश्वरको अधिराज्य आफैंभित्र— सबैमा मेरी क्रिसमस !

सर्वप्रथम त इसाई धर्मावलम्बी मित्रहरुमा यो पवित्र क्रिसमस पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

क्रिसमस जिसस क्राइष्टको जन्मदिवसलाई स्मरण गरेर मनाइने पर्व हो । हरेक वर्ष डिसेम्बर २५ मा संसारभर छरिएर रहेका इसाई धर्ममा आस्था राख्ने र यस धर्मप्रति सद्भावना प्रकट गर्ने अन्य मानिसले समेत यो पर्व मनाउँछन् । इसाई धर्ममा आस्था राख्ने बहुसंख्यक मानिसका लागि यो पर्व विशेषतः धार्मिक र आध्यात्मिक महत्वको पर्व हो भने अन्यले यसलाई धार्मिक र सांस्कृतिक सद्भाव प्रकट गर्नका निम्ति र केहीले केवल यसलाई बिदा वा छुट्टीको अवसरका रुपमा मनाउँछन् । ऐतिहासिक रुपमा जिसस क्राइष्टको जन्म कुन मितिमा भएको थियो भन्ने विषयमा विभिन्न पक्ष र सरोकारवालाबीच केही मतभेद देखिए तापनि बहुसंख्यकले स्वीकार गरेको र सर्वमान्य बन्दै गएको दिन डिसेम्बर २५ नै हो । जिससको जन्म भएको यो २००० वर्षको इतिहासमा इसाई धर्म सातभन्दा बढी सम्प्रदायमा विभाजित भएर पनि विश्वको अधिकांश मुलुकमा यो फैलिएको छ र यो धर्मको धर्मग्रन्थ बाइबल विश्वको सबैभन्दा बढी भाषामा उल्था गरिएको ग्रन्थका रुपमा स्थापित छ ।

यो पावन घडीमा म आजभन्दा २० वर्षअगाडि पहिलो परिचय भएको भएको हाल ७९ वर्षीय प्रोटेस्टेन इसाई धर्म मान्ने साथी (म उनलाई गडफादर वा धर्मपिताका रुपमा मान्दछु)लाई पवित्र हृदयले सम्झेको छु, जसको कारणले मैले धेरै पटक युरोप भ्रमण गर्ने अवसर मात्र होइन, इटलीको राजधानी रोम नजिकै रहेको सानो राज्य वाटिकनमा अवस्थित इसाई धर्मावलम्बीहरुको सबैभन्दा ठूलो सेन्ट पिटर्स बेसिलिका लगायत युरोपका विभिन्न शहरमा रहेका प्रोटेस्टेन, रोमन क्याथोलिक र अर्थोडक्स चर्चहरु घुम्न र युरोपेली कलाकृति, संस्कृति र धार्मिक पक्षहरुको अति नजिकबाट अवलोकन गर्ने अवसर मिल्यो । उनीसँगै विविध चर्च र क्याथेड्रलहरुको भ्रमणका क्रममा एक जना व्यक्तिले उनलाई सोधेका थिए– कतै तिमीले आफ्नो साथीलाई इसाई त बनाउँदै छैनौं ? उनको जवाफ थियो– ‘मेरो साथी हिजो जे थियो आज पनि त्यही रहन्छ र भोलि पनि त्यही रहन्छ किनकि हामी असल साथी हौँ र म उनलाई राम्रोसँग चिन्दछु ।’

सन् १९९९ मा नेपालको कञ्चनजंघा हिमालमा २२ दिनको ट्रेकिङ जाँदा विकसित भएको हाम्रो मित्रता आज २०औं वर्षमा प्रवेश गर्दा यो पंक्तिकार उनको जीवनमा जिसस क्राइष्टको करुणा, प्रेम र सेवाभावको साक्षात प्रतिविम्ब पाउँदछ । हप्ताको कम्तीमा दुई चोटी यो पंक्तिकारको टेलिफोनको प्रतीक्षामा रहने उहाँ मित्र अहिले जर्मनको म्युनिखस्थित एउटा अस्पतालमा बायाँ घुँडाको अपरेशन गराएर स्वास्थ्य लाभको प्रतीक्षामा छन् । यो पंक्तिकार उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ र हर समय उनको अविस्मरणीय भनाइलाई याद गरिरहन मन लाग्छ– ‘तिमी संसारको जुनसुकै कुनामा पुगे तापनि आफ्नो माटो, भाषा, संस्कृति र धर्मलाई कहिल्यै नभुल्नु है !’

यो पंक्तिकार बुद्ध जयन्ती र कृष्ण जन्माष्टमी जस्तै क्रिसमस पर्व पनि मनाउँछ । मेरो अनुभवमा श्रद्धा धर्मको साँघुरो घेराबन्दीभन्दा पर फैलिन्छ र श्रद्धा जनाउन सकिएन भने कम्तीमा सद्भाव जनाउन सकिन्छ, विश्व शान्ति र भातृत्वका लागि यो एक अत्यन्तै महत्वपूर्ण कुरा हो ।

इसाई धर्ममा भजन र प्रार्थनालाई धार्मिक परम्पराको मेरुदण्ड वा आध्यात्मिक जागरणको आधारशिला मानिन्छ । अपरिचितलाई पनि प्रेम अनि सेवा गर ! यो आध्यात्मिक इसाईहरुको जीवन व्यवहार हो । जिसस क्राइष्टको भनाइ भएको बाइबलको अनुच्छेदलाई शान्त र पवित्र मनले पढिसकेपछि आँखा चिम्लेर त्यो भनाइ वा विचार भावमा विलय वा अनुवाद नभएसम्म मनलाई त्यसैमा टिकाइराख्नुलाई उनीहरु ‘कन्टेम्प्लेसन’ भन्दछन्, यता हाम्रो पूर्वीय योगदर्शनमा यसलाई धारणा भनिन्छ । इसाईहरुमा पनि रोमन क्याथोलिक परम्परा सबैभन्दा पुरानो र सबैभन्दा बढी संख्यामा विश्वासीहरु भएको परम्परा हो । जति यो परम्परा विशाल र प्राचीन छ, उति नै ठूलो तथा गहिरो प्रशासनिक संरचना र विकृतिहरु पनि छन् । वाटिकन राज्यमा अवस्थित सेन्ट पिटर्स बेसिलिका चर्चको प्रमुखलाई पोप भनिन्छ र उनलाई संसारमा अत्यन्त नै शक्तिशाली व्यक्तित्वको रुपमा लिइन्छ । संसारभरिका क्याथोलिक चर्चहरु सञ्चालन, व्यवस्थापन र इसाई धर्मको संरक्षण र सम्बर्धनका गतिविधिहरुमा अहिलेसम्म पनि पोप र सेन्ट पिटर्स बेसिलिका चर्चप्रति उत्तरदायी रहन्छन तर विश्वासीहरुको दोस्रो ठूलो जमात रहेको प्रोटेस्टेन्ट खेमा बढी चुस्त, औपचारिकतामा कम अल्झेको, बढी व्यावहारिक र प्रष्ट देखिन्छ । रोमन क्याथोलिक चर्चहरुमा सिसाको बाकसमा सजाएर र देखाएर राखिने धेरै पहिले नै मृत्यु भइसकेका पादरीहरुको अस्थिपञ्जर शरीर प्रोटेस्टेन्ट चर्चहरुमा देख्न पाइँदैन, अपवादमा कहीँ भए त्यो अर्को कुरा हो । 

अब क्रिसमस पर्वको यो उल्लासमय घडीमा इसाई धर्मग्रन्थ बाइबलमा उल्लेखित जिससका केही वचनहरु यहाँ प्रस्तुत गर्न चाहन्छु जुन मलाई अत्यन्त प्रिय लाग्छ ।

लुके १७:२०–२१ ‘केजेभी’ (किङ् जेम्स बाइबल)

भावानुवाद– ‘तिनीहरुले ऊ त्यहाँ छ, ऊ यहाँ छ भनेर भन्न सक्छन् तर हेर ! परमेश्वरको अधिराज्य तिमी आफँैभित्र छ ।’

जिससको यो छोटो वचनभित्र अथाह रहस्य लुकेको छ, प्रार्थना र भावपूर्ण हृदय इसाई परम्परामा स्वयम्को भित्र प्रवेशको माध्यम हो, योबाहेक अन्य विधिहरु पनि हुन सक्ने सम्भावनालाई नकार्न सकिंदैन । पूर्वीय योग दर्शनमा क्रिया योगा र विभिन्न ध्यान पद्धतिहरु व्यक्ति स्वयम्को भित्र प्रवेश गर्ने विधिहरु हुन् । खोजी त्यही चीज या वस्तुको हुनसक्छ, जुन विद्यमान त छ, तर हराएको छ अथवा त्यो कहाँ छ भन्ने वास्तविकताप्रति हामी जागरुक छैनौं । यस मानेमा जिससको यो वचन उनको सम्पूर्ण शिक्षाको सार हो भन्दा फरक पर्दैन ।

र अन्त्यमा, बोस्टन म्यासेचुसेटमा काम गर्दा २ वर्षसम्म मसँगै क्रिया योगसँग सम्बन्धित ध्यान गर्ने इसाई धर्म अँगाल्नुभएका आदरणीय एक जना मामाका लागि मैले लेखिदिएको यो छोटो इसाई भजन यहाँहरुसमक्ष प्रस्तुत गर्न चाहें–

भजी राख्न पाम प्रभु, भजी राख्न पाम

तिम्रै मिठो नाम प्रभु, भजी राख्न पाम

 

तिम्रै प्रेममा सिंचिएको, यो नशामा रगत !

कुन नाउँले तर्ने हो प्रभु मायाको रंगीन जगत ?

भजी राख्न ....... ।

 

शान्ति छैन, सुख छैन जीवन मृत्युको सागरमा

लैजाउ मलाई तिम्रै राज्य ज्योतिर्मय जगतमा !

भजी राख्न ....... ।

 

जन्म हुन्न, हुन्न मृत्यु, प्रभुमा जीवन अनन्त

सुख हुन्न, हुन्न दुःख प्रभुमा आनन्दै आनन्द !

भजी राख्न ....... ।

 

लोभ होइन, लालसा हैन, हैन रिस राग

उनकै रुपको विम्ब हामी जाग मनुष्य जाग !

भजी राख्न ............. ।

यो क्रिसमस विशेष बनोस्, तपाईंहरुको सुख, समृद्धि, सुस्वास्थ्य र शान्तिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु !

 

कनेक्टिक्ट

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग