३ कक्षा पास गरे ३६ हजार भत्ता

३ कक्षा पास गरे ३६ हजार भत्ता

पर्वत, पुस २२ ।
कक्षा तीन सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक भत्तासमेत वितरण गर्न थालेको छ ।

कुश्मा नगरपालिका १ पाङको मालढुङ्गामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयको कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गतवर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको हो । गत वर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् ।

भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित छन्। ‘छोराछोरी घरमै बसेर फाइदा हुन्छ,’ अभिभावक पवित्रा माझीले भनिन्, ‘पढ्न गएपछि बिहान–बेलुका उनकै सुसार गर्नुपर्‍यो।’ भत्ता पाएपछि भने नियमित विद्यालय पठाएको उनले बताइन्। कोरियाको एक विद्यालयका बालबालिकाले संकलन गरेको रकम वर्षमा २ किस्तामा आउने गरेको शिक्षिका गोलकुमारी श्रेष्ठले बताइन्।

विद्यार्थीलाई भत्ता दिने व्यवस्था भने काठमाडौंका सन्दीप चापागाईंले मिलाएका हुन्। ‘३ पास गरेपछि बस चढेर बाग्लुङ जानुपर्ने। बस भाडा नभएर धेरैले पढाइ छोडे,’ आचार्यले भने, ‘भाडा तिर्ने पैसा भए छाक टार्ने परिवार छन्। उनीहरूलाई पढाइको महत्त्व छैन।’ धेरै बालबालिकाले पढाइ बीचैमा छाडेपछि बस भाडा र चाडबाड खर्चसमेत पुग्ने गरी भत्ता दिने व्यवस्था मिलाइएको उनले बताए।

मालढुंगामा बसोबास गर्ने करिब सय परिवारका बालबालिकालाई लक्षित गरी २०६२ सालमा खुलेको विद्यालयमा कक्षा ३ भन्दा माथि पढाइ हुँदैन। ३ कक्षा पास गरेपछि माथिल्लो कक्षा पढ्न बाग्लुङ या पाङ पुग्नुपर्छ। पाङ पुग्न करिब एक घण्टाको उकालो चढ्नुपर्छ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग