अमेरिकी राजदूत र मन्त्री पुनबीच छलफल

 अमेरिकी राजदूत र मन्त्री पुनबीच छलफल
 
काठमाडौं । नेपालका ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीबीच काठमाडौंमा एमसीसी परियोजनाका विषयमा छलफल भएको छ । मन्त्री पुनलाई भेट्न अमेरिकी राजदूत बेरी सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेका थिए ।
बिहीबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको पुनको सचिवालयले जनाएको छ । भेटमा ऊर्जामन्त्री पुनले नेपालमा संविधान निर्माण र शान्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको भन्दै हाल देशमा स्थिर सरकार भएकाले लगानीको लागि उपयुक्त वातावरण भएको धारणा राखेका थिए ।
 
ऊर्जामन्त्रीले नेपाल र अमेरिकाबीच न्यानो सम्बन्ध रहेको भन्दै अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । नेकपाका स्थायी समिति सदस्यसमेत रहेका नेता पुनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ नयाँ उचाइँमा पुग्ने विश्वास व्यक्त गरेका थिए । मन्त्री पुन र राजदूत बेरीबीच मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाको तयारीको विषयमा समेत छलफल भएको थियो । ऊर्जामन्त्री पुनले एमसीसी परियोजना निर्धारित समयभित्रै पूरा गर्ने गरी सरकारले तयारी गरिरहेको बताए । कानुनी जटिलताका कारण एमसीसी परियोजना रोकिने अवस्था आउन नदिने गरी काम भइरहेको मन्त्री पुनको भनाइ थियो । आर्थिक विकासको गतिको आधारमा ऊर्जा मन्त्रालयले ऊर्जा क्षेत्रको श्वेतपत्र जारी गरेको भन्दै मन्त्री पुनले नेपाललाई १० वर्षमा १५ हजार मेगावाट बिजुली आवश्यक हुने जानकारी गराए । उनले आफू ऊर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै प्रसारण लाइनको गुरुयोजना सार्वजनिक गरेको समेत बताए । मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता लगानी र आर्थिक विकास रहेको भन्दै त्यसका लागि नेपाललाई लगानी आवश्यक हुने भएकाले अमेरिकन लगानीकर्तालाई नेपालमा लगानीका लागि वातावरण बनाइदिनसमेत आग्रहसमेत गरेका छन् ।
 
नेपालका ऊर्जामन्त्रीसँगको भेटमा अमेरिकी राजदूत बेरीले नेपालको ऊर्जा क्षेत्रमा साझेदारी गर्न अमेरिका इच्छुक रहेको धारणा राखे । उनले एमसीसी परियोजनाबारे ऊर्जा मन्त्रालयको प्राथमिकताबारे चासो राखेका थिए । राजदूत बेरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग एमसीसी परियोजनालाई अघि बढाउने विषयमा महत्वपूर्ण छलफल भएको जानकारीसमेत दिए । ‘एमसीसी परियोजनामा साझेदारीका लागि धन्यवाद दिन चाहन्छांैै, यसको कार्यान्वयनपछि नेपालमा भौतिक पूर्वाधारणको विकास हुनेछ, त्यसका लागि आगामी दिनमा समेत हामी नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न चाहन्छौं ।’ ऊर्जामन्त्री पुनसँगको भेटमा अमेरिकी राजदूत बेरीले भनेका छन् । नेपाल आएलगत्तै अमेरिकी राजदूत बेरी सक्रिय भएका छन् ।
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार