ज्याक्सन हाइटमा एनआरएनको ‘फिजिकल मिटिङ’

ज्याक्सन हाइटमा एनआरएनको ‘फिजिकल मिटिङ’
 
न्यूयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन एनसीसी) अमेरिकाले न्यूयोर्कमा पहिलो पटक भेला गर्दै छ । एनआरएन अभियानमा लागेकाहरुको विशेष भेटघाट गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको हो । निर्वाचनपछि न्यूयोर्कमा पहिलो पटक हुन लागेको यो प्रत्यक्ष भेटघाटलाई उनीहरुले ‘फिजिकल मिटिङ’ भनेका छन् ।  एनआरएन अमेरिकाका पदाधिकारी, सल्लाहकार, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएन आईसीसीका प्रतिनिधिहरुको सहभागितामा प्रत्यक्ष बैठक राखिएको हो ।
 
एनआरएन अमेरिका न्यूयोर्क च्याप्टरको संयोजकत्वमा यही जनवरीे १२ शनिबार ज्याक्सन हाइटको बलेजिनो हलमा हुने उक्त भेलाले आगामी निर्वाचनका लागि रणनीति तय गर्ने, सदस्यता दर्ता र नवीकरणका लागि काम गर्ने, सदस्यता भेरिफिकेसनका साथै विभिन्न राज्यमा भएका एनआरएन च्याप्टरका गतिविधिबारे छलफल गर्नेछ ।  उक्त भेलामा अमेरिकाका विभिन्न २१ च्याप्टरबाट प्रतिनिधिहरु आउनेछन् । २१ वटै च्याप्टरले गरिरहेका कार्य प्रगति विवरण पेश गर्नुका साथै छलफलसमेत गरिनेछ । एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीका अनुसार भेलालाई बिहान दिउँसो र बेलुका गरी तीन चरणमा विभाजन गरिनेछ ।  एनआरएन न्यूयोर्क च्याप्टरको संयोजकत्वमा हुन लागेको उक्त भेलाले बिहान च्याप्टरको कार्यक्रम गर्ने, दिउँसो एनआरएन बोर्डका पदाधिकारी, सल्लाहकार र आईसीसीका पदाधिकारी र सल्लाहकारबीच छलफल गर्ने र साँझको डिनरमा सदस्यता वितरण र नवीकरणबारे जानकारी दिने रहेको छ ।  पहिलो चरणमा सबै च्याप्टरका अध्यक्षहरुले आफ्नो कार्यकालको कार्य प्रगति विवरण प्रस्तुत गर्नेछन् । साथै, संस्थागत धारणा राख्नेछन् । दोस्रो चरणमा एनआरएन अमेरिकाको गतिविधि, भावी निर्वाचनको रणनीति लगायतमा छलफल हुनेछ भने बेलुकी ‘गाला डिनर’ कार्यक्रममा सदस्यता वितरण र नवीकरणबारे जानकारी दिइनेछ ।  
 
यसैगरी उक्त दिन एनआरएन आईसीसी र च्याप्टरहरुसहितको एनआरएन एनसीसी अमेरिकाको औपचारिक बैठकसमेत हुने जनाइएको छ ।  भेलामा विभिन्न राज्यका एनआरएनका प्रतिनिधि, एनआरएन आईसीसी र एनसीसीका ७० जनाभन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ । साँझको गाला डिनरमा २ सयभन्दा बढीको उपस्थिति रहनेछ ।  गाला डिनरमा मेम्बरसिप ड्राइभ कार्यक्रममार्फत ‘मेम्बरसिप रजिष्टे«सन’ हुनेछ । साँझको उक्त कार्यक्रममा एनआरएनका पदाधिकारीलाई १ सय डलर प्रवेश शुल्क लाग्नेछ भने अन्यलाई ५० डलर शुल्क लाग्नेछ ।  कार्यक्रम सम्पन्न गर्नका लागि एनआरएन एनसीसी अमेरिका, यस क्षेत्रमा रहेका आईसीसीका पदाधिकारी, न्यूजर्सीका अध्यक्ष र न्यूयोर्क च्याप्टर कार्यसमिति सहभागितामा बसेको बैठकले विभिन्न उपसमितिहरु बनाएको छ ।
 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार