बढी ‘ट्याक्स क्रेडिट’ लोभमा आय विवरण ढाँटे जीवनभर फसिन्छ

बढी ‘ट्याक्स क्रेडिट’ लोभमा आय विवरण ढाँटे जीवनभर फसिन्छ
आउदो जनबरी २८ बाट अमेरिकामा गत आर्थिक वर्षको कर तिर्ने सिजन सुरु हुँदै छ । तर, केन्द्रीय सरकार ‘सट डाउन’ भएको कारण इन्टरनल रेभेन्यु सर्भिस (आईआरएस)ले पूर्ण क्षमतामा काम गर्न नसक्दा सिजन सुरु हुने मिति केही लम्बिने अपेक्षा गरिएको छ । अहिले रिपब्लिकन र डेमोक्र्याट दुबै दल राजनीतिक मुद्दाको बन्धक ‘‘ट्रेजरी’’लाई नबनाउन सहमत रहेका कारण सरकारका सम्पूर्ण अंग सुचारु नभए पनि आईआरएस चाँडै खुल्ने संकेत पनि देखिएका छन् । अमेरिकामा काम गर्ने अनुमति पाएका सबैले वार्षिक रुपमा आयकर बुझाउनुपर्ने हुन्छ । परिवारको संख्या र आयको अवस्थापश्चात् सरकारले कम आम्दानी भएकालाई कर फिर्ता पनि दिने गरेको छ । यसरी ‘ट्याक्स क्रेडिट’को लोभमा आम्दानी कम देखाएर पछि समस्या झेल्नेहरुको संख्या पनि बढी रहेको छ । यिनै सन्दर्भमा विश्वसन्देशले करविज्ञ सीपीए विराज रिजालसँग गरेको कुराकानी—
 
कर तिर्ने व्यक्तिले सबैभन्दा पहिला ध्यान पु¥याउनुपर्ने विषय के के हुन् ?
 
कर तिर्न जानुभन्दा अगाडि सबैभन्दा पहिला चाहिँ डकुमेन्टमा नै ध्यान दिनुपर्छ । आफूले करमा जुन विवरण बुझाइन्छ, त्यसलाई पुष्टि गर्ने डकुमेन्ट साथमा हुनै पर्छ । त्यसपछि कोही कर कारोबारका लाइसेन्सप्र्राप्त जानकार वा एकाउन्टेन्टकहाँ गएर आफ्ना कागजात देखाई आवश्यक सरसल्लाह लिनु उपयुक्त हुन्छ । आवश्यक डकुमेन्टअन्तर्गत वर्षभरिको आयव्ययको विवरण त भई नै हाल्यो, त्यसबाहेक परिचयपत्र, बैंक खाताको विवरण, सोसियल सेक्युरिटी एवम् त्यो नहुनेलाई कर आईडी, काम गर्ने अनुमतिपत्र लगायत दुरुस्त राख्नुपर्ने हुन्छ । 
 
राज्यबाट अधिकतम सेवा सुविधा लिन पाउँ र कर न्यूनतम तिर्नु परोस् भन्ने त मानवीय स्वभाव नै हो । त्यो स्वभावका कारण करको रकम कम बनाउन आय लुकाउने या कुनै कागजात नदेखाउँदा आइपर्ने सक्ने जोखिम कस्तो हुन्छ ?
 
कर न्यूनतम नै तिर्ने हो । त्यो करदाताको अधिकार नै हो । तर, त्यो कानुनसम्मत भने हुनुपर्छ । कुनै डकुमेन्ट नै लुकाएर एकैचोटी ह्वात्तै कर बचाउँ या बढी छुट पाउँ भन्ने सोचले काम गर्नु हुँदैन । त्यसो गरेर एक पटक कर बुझाएको छ भने त्यो जहिले पनि छानबिनमा पर्न सक्छ । तत्काललाई केही रकम कर छल्दा बचत गरेँ भन्ने लाग्न सक्छ, तर वास्तवमा त्यो जानाजान अनावश्यक दायित्व सिर्जना गरेको हो । र, त्यो दायित्व सानोतिनो पनि होइन । भोलि ब्याज, जरिवानासहित कयौं गुणा बढी तिर्नुपर्ने हुनसक्छ । त्यति मात्र होइन ‘फ्रड’मा गयो भने त्यो ‘क्रिमिनल’ केसमा दर्ज भएर जीवन नै बर्बाद पनि हुन सक्छ ।
त्यसैले कर छल्नु त गैरकानुनी नै भइहाल्यो । कर न्यून तिर्न प्लानिङ गर्ने अधिकार भने कानुनले नै दिएको छ । त्यसका लागि बेलाबेला आफ्नो कर सल्लाहकारलाई आर्थिक कारोबारको अवस्था दर्साएर न्यून गर्ने उपाय सोध्न सकिन्छ । जस्तो कुनै कारोबार यो वर्ष नगरेर अर्काे वर्षमा सार्ने उपाय हुन सक्ला या त्यसलाई ‘ट्याक्स डिफर्ट’ गरेर केही पछाडि धकेल्न सकिन्छ कि ! यस्ता विषयमा चाहिं विज्ञसँग सरसल्लाह गरेपछि मात्र निचोड पुग्दा राम्रो हुन्छ । 
 
कुनै व्यक्तिले आम्दानी लुकाएर कर छल्यो भने कहिले त्यसमा छानबिन हुन सक्छ या कहिले सजाय भोग्नुपर्छ ?
 
यो त ‘फर्जुलेन्स’ केस भन्ने हुन्छ एउटा, जसमा २५ प्र्रतिशत कम आय देखाएको या २५ प्रतिशत बढी खर्च देखाइएको हुन्छ । त्यो केस जीवनभरमा जहिले पनि खुल्न सक्छ । कसैले सुइँको दियो भने त्यो व्यक्तिलाई आईआरएसले उसको नाम गोप्य राखेर इनामसमेत दिन्छ । त्यति मात्र होइन कसैले अस्वाभाविक कर बुझाएको छ भने आईआरएसको कम्प्युटरले नै अलर्टसमेत गर्छ ।  सानातिना सिम म्याचको केसमा भने करदाताले छुटेको थाहा हुनेबित्तिकै सच्याउन पनि सकिन्छ । तर, नियत नै राखेर छलिएको करमा भने कहिल्यै उन्मुक्ति पाइएला भन्ने नसोच्दा हुन्छ । 
 
कम शुल्कमै कर तिरिदिने एवम् बढी क्रेडिट पनि दिलाउने लोभ देखाएर करदातालाई आकर्षित गर्ने र अन्तिममा करदाता फस्ने सम्भावना पनि छ नि ?
 
त्यो हुनसक्छ । धेरैचाहिं यस्तो क्रियाकलाप लाइसेन्स नलिई करको काम गर्ने व्यक्तिहरुले गरिदिन सक्छन् । लाइसेन्स लिएका व्यक्ति भने भोलि करदाता पक्राउ पर्दा आफू पनि जवाफदेही हुनुपर्ने भएका कारण यसो गर्न हिच्किचाउँछन् । किनभने यस्तो केस सतहमा आए उनीहरुले वर्षौं दुःख गरेर लिएको लाइसेन्स नै खारेज हुन्छ । त्यसैले उनीहरुले बर्षेनी आचारसंहिता अन्तर्गतका विभिन्न तालिम एवम् कक्षाहरु लिइरहनु पर्छ । अब कोही व्यक्तिले करदातालाई यस्तो लोभ देखायो भने सम्बन्धित करदाताले ऊसँग सहमत हुनुअघि कम्तीमा अर्को एकजना व्यक्तिकहाँ गएर सुझाव लिएर मात्र कर बुझाउनु राम्रो हुन्छ । कोही चिनजानको छ, उसले सस्तोमा गरिदिन्छ या धेरै रिफण्ड आउने भयो भनेर बिल्कुलै लोभिनु हुँदैन । 
 
बैंक खातामा रोजगारीबाट प्राप्त मात्र नभई कसैले सापटी दिएको या उपहार दिएको रकम छ भने त्यो जानकारी आईआरएसलाई दिनुपर्छ कि पर्दैन ?
 
उपहारको छुट्टै प्रक्रिया छ । उपहार दिने व्यक्तिले कर तिर्ने हो । त्यसरी उपहार दिँदा चेकमै गिफ्ट भनेर खुलाएको एवम् एउटा प्रमाणपत्र पनि दिने हो भने सजिलो हुन्छ । त्यसो भएमा उपहार लिनेले विवरण बुझाइराख्नु पर्दैन । कुनै दिन प्रश्न आयो भने जवाफ दिन सजिलो हुन्छ । 
 
अर्कोचाहिं नेपाली समुदायमा धेरै व्यक्तिहरु गाडी चलाउने र १०९९ बाट कारोबार गर्ने चलन छ । अहिले त्यसमा दुई÷तीन वर्षअगाडिको विवरणबारे आईआरएसले चिठी पठाएर ठूलो मात्रामा जरिवाना तिर्नुपरेको सुनिन थालेको छ । यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?
 
यो समस्या ट्याक्सी या अरु कुनै आफ्नै नाममा काम गरेका ‘सोल प्रोप्राइटर’ बिजनेसहरुमा देखिएको छ । उहाँहरुले पनि अरु व्यवसायसरह वर्षभरिको आम्दानी र खर्चको विवरण राखेर ‘प्रोफिट एण्ड लस स्टेटमेन्ट’ बनाएर कर भुक्तानी गर्नुपर्ने हो । तर, ट्याक्सी व्यवसाय गर्ने सबै साथीहरुले वर्षभरिको विवरण बुक किपिङ गरेर राख्ने चलन त्यति छैन । अनि उहाँहरु आर्थिक वर्ष सकिएपछि कोही कर कारोबार गर्ने व्यक्तिकहाँ गएर १०९९ अनुसार मेरो यति आम्दानी भयो यसबाट यतिको कर तिरिदेऊ भनेर कुनै न्यून रकम दिनुहुन्छ । जस्तो एक लाख आम्दानी देखिन्छ भने २० हजारलाई नाफा देखाएर कर तिरिदिन भन्नुहुन्छ । त्यसपछि त्यो कारोबार गरिदिने व्यक्तिले अन्दाधुन्द खर्चको शीर्षकमा रकम हालिदिन्छ । त्यसरी अन्दाजको भरमा राखिएको रकम त पछि कुनै पनि हालतमा म्याच हुँदैन ।
 
त्यसैले सुरुमै बरु आधा एक घण्टा बढी समय लागोस् तर हचुवाको भरमा चाहिं विवरण भर्नु हुँदैन । कर तिर्ने सिजनमा कारोबारीहरु पनि व्यस्त हुन्छन्, त्यसैले यस्ता ग्राहक भेट्दा उनीहरु खुसी हुन सक्छन् तर करदाता आफैँ सचेत भएर आफ्नो आयव्ययको विवरणमा ध्यान दिनुपर्छ । आफूसँग भएको विवरणभन्दा बाहेकको खर्च देखाउनेबित्तिकै कुनै न कुनै समस्या पर्छ भनेर त माथि नै छलफल भइसक्यो । यसप्रति सदैव सचेत हुनुपर्छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग