अन्तराष्ट्रिय प्रतियोगितामा दुई वर्षपछि महिला क्रिकेटर

समुह विजेता बन्दै अन्तिम चारमा

अन्तराष्ट्रिय प्रतियोगितामा दुई वर्षपछि महिला क्रिकेटर
काठमाडौ  
नेपालको महिला क्रिकेट टोली थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल लगातार चौथो खेलमा जित निकालेको हो । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरमा पूरा गरेको थियो । नेपालका लागि ममताकुमारी चौधरीले आठ, नेरी थापाले पाच र डोली भट्टले दुई रन संगै खेलमा जित हासिल गरेका थिए । टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली थाइल्याण्ड नेपाली बलरसामू निरीह बन्दै १९ रनमा समेटिएको थियो । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले ३ विकेट, इन्दु बर्मा र सरिता मगरले २–२ तथा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले १–१ विकेट लिए । घरेलु टोलीका लागि तान्चानोक फोप्लुकले सवर्धिक चार रन बनाइन् । थाइल्याण्डका पाच खेलाडी शून्यमा आउट भएका थिए । समूह ‘ए’ बाट संयुक्त अरब इमिरेट्स (युएइ) समूह उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेशिया र तेस्रो खेलमा यूएइलाई पराजित गरेको थियो । राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोलीले करीब दुई वर्षपछि अन्तराष्ट्रिय महिला प्रतियोगिता खेलेको हो । यसअघि नेपाली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आइसिसी टि–२० विश्वकपको एशिया क्षेत्रको क्वालिफायर खेलेको थियो । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् । प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएइ), मलेशिया र थाइल्याण्ड ‘ए’ तथा समूह ‘बी’मा हङ्गकङ्ग, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मार छन् । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार