न्यूयोर्कले झस्काएको नेपाली

न्यूयोर्कले झस्काएको नेपाली
अच्युत सिग्देल
सीमाको भित्री मन के थियो उसले अन्दाज गर्न चाहेको थिएन तर आवरणमा हल्का त्रास महसुस गरेको थियो । ‘डाक्टर टेक योर बेड, आई विल स्लिप अन सोफा’ –उसले भित्र पस्दै भन्यो । सीमाले लामो सुस्केरा फेरिन् । उनलाई करकाप नपारिने निश्चितता बाहिर निस्कियो । एकान्तमा उनको धड्कन र घडीको आवाज पालैपालो बजेको सुनियो ।
यु आर वेलकम टु प्लेजन्ट रूम, उसले रेस्टरूमतिर इङ्गित गर्दै सीमालाई भन्यो । सीमाले ‘यु कुड गो फस्ट’ भनिन् । रेष्टरूमबाट आउँदा सीमाले बेड डस्ट गरिसकिएकी थिइन् । बेडको बीचमा एक्स्ट्रा ब्लाङ्केटको बोर्डर बनाएको रहेछ । उसले सोफाको एउटा कुशन थपिदियो, जसमा लेखिएको थियो– ‘ट्रष्ट इज अ फ्राजल थिङ’ । 
युटाहा, एरिजोना, कोलोराडो, न्यु मेक्सिको, नाभाडाको दुई सप्ताहको भ्रमण सकेर उनीहरू अलग हुँदै थिए । सीमाको बिदा सकिएकाले एक घण्टा अगाडिको फ्लाइटमा फर्किसकेकी थिइन् । दुई हप्ता डिसी, भर्जिनियाको भ्रमण सकेर न्यूयोर्क जानु थियो । अल्वार्की, हुस्टन र न्युजर्सी रूट थियो । ऊ, जिमी, मार्कोस, ज्याकी र सिन्डिइलाई छोडेर एयरपोर्टतर्फ लाग्यो । युनाइटेड एयरको फ्लाइट चेकइन गरेर गेटतिर पाइला बढायो । सनलाइटले जलेर कालो बनेको एसियन हुलिया देखेर प्लेनमा सबैले एक–एक नजर लगाए ९–११ अपराधीको हुलिया मिल्यो कि सायद !
एक सवा घण्टा हावामा निदाएपछि हुस्टन ओर्लियो । टर्मिनल चेन्ज गरेर कफीसपको लाइनमा उभिदै गर्दा सीमा पास भइन् । आँखा मोड्न खोज्यो, मुन्टो तल गरेर नदेखेको अभिनय ग¥यो । सायद मनपर्नेको वासना नै कस्तपरी हुनुपर्छ । सीमाले देखिहालिन् । हातमा लिएको कफी थमाइन् अनि उसलाई समातेर बाहिर लगिन् । ऊ सानो बच्चा जस्तै लुरूलुरू पछि लाग्यो । सवा घण्टाको ट्रान्जिटमा सीमा साथ दिने भइन् । कफीमा लिपिस्टिक लागेको थियो, उसलाई के गरौं भयो । तर, केटीहरू जुठो खाइदिएको मन पराउने थाहा भएकाले उसले एक सिप तानिदियो । कफीसँगै साफोराको तीतो फ्लेवर रोमाञ्चकता बोकेर मन बाँध्न भित्र पस्यो ।
उसलाई कताकता सीमाको सीमारेखाबाट आफू हट्नुपर्छ भन्ने लागेर आयो । बिस्तारै कफी सीमालाई थमाउँदै ‘यू लुक सो प्रिटी’ भन्यो । सीमाको गालाभरि लालीमय ब्लसिङ्स छरिए । वीस, यु उड गो विथ मी, उसले लाडिएर भनिन् । सीमाले रिसाएको नखरा पार्दै भनिन्– ‘जब नजिक थियौ, टाढा बस्यौ, नजिक पर्न नै खोजेनौं । मलाई थाहा छ तिमी मलाई हर्ट गर्न चाहन्नौं । तिम्रो क्षणिक साथ पनि न्यानो लाग्छ । तिमी जे छौ त्यही बन । म तिमीलाई तिम्रो वाइफबाट, तिम्रो परिवारबाट खोस्न वा बाँड्न चाहन्न । जिन्दगी विश्वास, समर्पण र सम्झौता पनि हो । जब मान्छेले आफ्नो हद पार गर्छ, तब त्यसलाई पुनः पुरानो अवस्थामा फर्काउन सक्दैन । तिमी खुशी रहनु तिम्रो हँसिलो मुस्कान र लाइफलाई टेकिङ इजी लिने गुरुमन्त्र सम्झेर एक असल साथीको रूपमा लिन पाऊँ । सीमा बोली नै रहिन्, उसले सुनिरह्यो । सीमाको आँखा रसाएर आए, उसले कसिलो हात समातिदियो । सीमा नजिकै टाँसिइन्, सँगै बसेका वृद्धा सरिदिइन् । सीमा बसिन् । सँगै उसलाई पनि बसाइन् ।
उसलाई धेरै सजिलो भएको थियो । कहाँ र कसरी भन्ने भूमिका बाँध्दै कयौं रात प्लानिङमा नै बिताएको थियो । एकाएक सीमाको मुखबाट यति सजिलै सुन्न पाउँदा हल्का महसुस भएको थियो । उसले के–कसरी थाहा पायौ सोध्न चाहेन । आफ्नो कर्तव्यबाट नचुकेकाले होला उसलाई अरू भूमिका बाँध्न पनि मन पलाएन ।
सीमा उसको हात समातेर टाँसिइन् । नारकीय जिन्दगीलाई सजिलोसँग जिउन सिकाइदिएकोमा धन्यवाद दिइन् । एक असल बालक बाल सुलभ साथीसँग आफ्ना सबै कुराहरू निर्धक्क राखिरहेकी थिइन् । परिवारका लागि गिफ्ट किनिदिएको रहेछ । सपिङ ब्याग थमाएर गन्तव्य लागिन् । उसले न्यानो हग दिएर सीमालाइ बिदा दियो । मनमनै ग्रीनकार्डको अवसरलाई धन्यवाद दिँदै ‘किप इन टच, गन मिस यू’ भन्दै हात हल्लायो ।
हातमा न्यूयोर्कको सानो एमटीएले बनाएको नक्सा थियो । म्यानहाटनको घर नम्बर सजिलै पढ्न मिल्ने । स्ट्रिट र एभेन्यू सजिलै चिनिने । कुन ट्रेन कता जान्छ सजिलै थाहा हुने सानो हाते किताब हेर्दा सरल र न्यूयोर्क व्यवस्थित लाग्थ्यो । नेवार्कबाट एअरपोर्ट सटल लिएर पोर्ट अथोरिटी झर्न उसलाई खासै अपठ्यारो परेन । पीएचडी गर्न बसेका कजन दाजुलाई पठाएको एक बोरा कोसेलीचाहिं ठूलो चुनौती थियो ।
पोर्ट अथोरिटीमा एक जना भारतीय अमेरिकी काम गर्दिरहेछिन् । उसले नमस्ते भन्यो, आजसम्म कसैले नमस्ते नभनेकोमा उनलाई चमत्कार लागेछ । बाहिर आइन् र हातमा रहेको सानो चिट हेरिन् । सात नम्बरको ट्रेनको रूट देखाइदिइन् । सटल ट्रेन लिएर ग्रायण्ड सेन्ट्रल जान भनिन् ।
तीन–चार वटा झोला, पोका पुन्तुरा बोकेको, घामले डढेर कत्ला कत्ला निस्किएको कालो कालो एसियन इन्डिएन देख्दा अझै झस्किन्थे मान्छेहरू । नाइन एलावेनको असर अझै बाँकी नै थियो । गगनचुम्ने घरको पचासौं तल्लाबाट न्यूयोर्कको मधुरम रमझम हेर्ने लालसा बोकेर न्यूयोर्क आएको ऊ जब सेभेन ट्रेनले क्विन्सवोरो प्लाजÞा निकाल्यो तब उसको सपना चकनाचुर भएर फुटे । मुम्बई एअरपोर्ट ल्याण्ड गर्दा प्लेनबाट देखिने झुपडपट्टीले मन काँपे जस्तै टिनले छाएको पुराना घरको छतैछतबाट ट्रेन दौडँदा उसको मन हिस्स बुढी हरिया दाँत भए जस्तै भयो । मन नै मन अमेरिकामा दर्जन जति घुस्रिएर सँगै सुत्ने, श्रीमती अर्कैसँग सल्कने इत्यादि कहानी र सेल्टर होमको परिकल्पना आउन थाल्यो । 
५२ स्ट्रिटमा झरेर अनुमानित उत्तर दक्षिण दिशा अनुमान गर्दै दमकल, लाउन्ड्री क्रस गरेपछि दिइएको ठेगाना कतै मिलेन । जुलाईको प्रचण्ड र उदण्ड घाम, तीन चार वटा झोला बोकेर न्यूयोर्कको शहर परिक्रमा गर्नु सगरमाथा आरोहणभन्दा कम कष्टकर थिएन उसलाई । एक घण्टा चक्कर काटेपछि शरीरले काम गर्नै छोड्यो । बाटोमा झोला फालेर चोकको पसलमा छि¥यो । एउटा डायट कोकको चिसो क्यान सकाएपछि पसलेसँग ठेगाना सोध्यो, सोही घर रहेछ । लिफÞ्ट थिएन चौथो तल्ला चढ्नुपर्ने । उसले बङ्गाली पसलेसँग दोस्ती बनायो र पसलेले पनि एउटा झोला बोकेर चार तल्ला चढ्दिन तयार भयो । चौथो तल्ला पुगेपछि घण्टी बजाउँदा एक परिचित अनुहारले ढोका खोलिदियो । जोसँग एक घण्टा पहिला ट्रेनमा देखादेख भएको थियो । मनमनै को नेपाली परेछ भन्ने सोचेछ, बोलाउँ भने सहयोगमा फसिएला भन्ने डर ! अर्कोलाई नेपाली हो वा मेक्सिकन ? घेरै पटक नेपाली भनेर बोलाउँदा मेक्सिकन परेर अजित भइसकेको थियो ।
क्रमश...
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग