गुड हुने कि ब्याड श्रीमान् ?

गुड हुने कि ब्याड श्रीमान् ?
कुमार न्यौपाने, काठमाडौं
 
द गुड, द ब्याड एण्ड द अग्ली
सुन, पैसा पावरको खिचातानी
द्वन्द्व र सपना
तिनै पात्रहरुको व्यथा
क्लिन्ट इस्टवुड एक जो
फिल्मी दुनियाँमा हिरो बन्ने कथा ।
 
मिल्दोजुल्दो छ
वर्षौं तपाईंहरुले रुचाएको द्वन्द्व
अमेरिकी सिभिल वार पछिका
पद, पैसा र सुनको गाथा
काउब्वाई, लेनिन टोपी र रिभल्वरको घोडा
के यो हलिउड सुपरहिट भन्दा कम छ र ?
अहिले
गिर्दै गरेकोे राजनीतिक षड्यन्त्रको कथा
के यो जर्ज अर्बेलको उम्दा सटायर भन्दा कम छ र ?
 
शब्द नै काफी छ
राम्रो, नराम्रो र झन् नराम्रो
के हुने ? राजा, शासक या सुपरम्यान ?
समयले अवसर त दिन्छ
र पनि
सधैं सबै राम्रो हुँदैन
कोही जन्मँदै नराम्रो हँुदैन
तर क्रमशः नराम्रो मात्रै हुनु
दलदलमा फस्नु
तपाईंको कर्म नै हो भन्छ गीता ।
 
तपाईं भित्रको तुच्छ लोभ, अहम् र असहिष्णुपन
पोल्टामै परेको खजाना झैं
मान गुम्छ है भन्दै
खलपात्रमा दरिदै झन् माथि माथि
उही रङ्ग र उचाइको घोडा त चढ्नुहोला
तर त्यो अहंकारको कुदाइ
आँखाभरि देखिन्छ उचाइबाट श्रीमान्
लडेको उधोमुन्टो भै ।
 
मान्छेहरु
बिना पर्खालका झुपडी सुख भोग गर्छन्
सफेद चस्मा लगाई हिँड्छन्
त्यसैले त प्रष्ट देख्छन्
महलका भोजभतेरहरु
मलाम जाँदा र फेरी लाउँदाको
शङ्ख ध्वनी सुनेका मान्छेहरु
तिम्रो अट्टाहास अझ स्पष्ट सुन्छन्
त्यही त कान र आँखा
दुरुस्त छ मष्तिस्क ।
 
जन्मँदा अहा ! कस्तो राम्रो सर्लक्क परेको नाक
हुर्कंदै गर्दा कति ज्ञानी भन्दै गरेका
शब्दहरु याद छ ?
श्रीमान्
आज किन थेप्चिदै छ तपार्इंको नाक
आज किन खिइँदै छ तपाईंको मस्तिष्क
बुलेटप्रुफ भित्र भित्रै ।
 
तैपनि यी
तपाईंका स्वर्णिम दिनहरुमा
सुनको लेपन छ चारैतिर
मान्छेहरु विषालु कणहरु भित्र छोपिएर
सुदूर बाटोहरुमा चिप्लिई पछारिइरहेछन्
तपाईंमा युवा जोश हुँदा
निस्वार्थी आवाजमा न्याय माग्दा जे सोच्नुहुन्थ्यो
हो ! त्यही माग्दैछन् आम मान्छेहरु
ब्ल्याक एण्ड ह्वाइटमा बिताइएका
दिन रातहरुबाट जसरी उम्किनु भो
हो ! त्यस्तै दिनहरु त्याग्न चाहन्छन्
यहाँ मान्छेहरु
तपाईंको पोल्टाको अलिकति उज्यालो माग्दै ।
 
मौका छोपी
पोडियमबाट रातो आँखा पार्दै भन्नुहुन्छ
ए ए !
तिमीहरु मान्छे हौ र ?
भए पनि मेरा हौ ?
बोल्न मिल्दैन, हेर्न मिल्दैन
जब आगो बाल्ने कि निभाउने ? अनि
गफ र ज्ञानको बिच फरक देख्नुहुन्छ नि महाशय
तब
हात खुट्टा अठ्याइएको पाउनुहुनेछ
जुत्ता पुछ्न न रातो कार्पेट
हो, उही खिया लागेका
खाली बन्दुकको भरोसामा शत्रु ढाल्ने
सपनामा
तपाईंको निसाना
मान्छेको त के कुरा
तपाईंको द्रव्य दाना उग्राउने त्यो घोडा
कोशौं पर पुगिसकेको हुनेछ
कथाको प्रथम पात्रझैं
 
त्यसैले त समय छँदै
सुटुक्क भन्नुस् न
गुड हुने कि ब्याड श्रीमान् ?
 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार