भेनेजुएलामा कम्युनिष्ट सत्ता संकटमा, अमेरिकाद्वारा बिद्रोहीलाई राष्ट्रपति दर्जा

भेनेजुएलामा कम्युनिष्ट सत्ता संकटमा,  अमेरिकाद्वारा बिद्रोहीलाई राष्ट्रपति दर्जा
 
न्यूयोर्क ।  
 
अर्थतन्त्र जर्जर बन्दै गए पछि प्रदर्शनमा उत्रिएका भेनेजुएलाका नागरिकले सडकबाटै सत्ता हत्याएको घोषणा गरेका छन् । जन प्रदर्शनको नेतृत्व गरेका बिद्रोही नेता हुवान गुवाइदोलाई अमेरिका, युरोपियन युनियन, क्यानडा, ब्राजिल, अजेन्टिना, पाराग्वे, पेरु, कोलम्बिया, ग्वाटेमाला, अष्ट्रेलिया लगायतका दुई दर्जन हाराहारी मुलुकले समेत आधिकारिक राष्ट्रपतिको रुपमा स्विकार्दै निकोलस मदुरोसँगको सम्बन्ध बिच्छेद गरेका छन् । 
गुवाइदोले बुधबार आफुलाई राष्ट्रपति घोषणा गर्दै मदुरोले सत्ता बस्ने अधिकार गुमाएको दावी गरेका थिए । त्यस लगत्तै उनको समर्थनमा अमेरिकी उप राष्ट्रपति माइक पेन्सले उनलाई समर्थन गर्दै विज्ञप्ति जारी गरेका थिए । 
मदुरो सन् २०१३ मार्चमा तात्कालिन राष्ट्रपति ह्युगो चाभेजको मृत्यु भए पछि सम्पन्न बिशेष निर्वाचन मार्फत सत्तामा पुगेका थिए । त्यस अघि उनी चाभेजको उपराष्ट्रपति थिए । चाभेजको समाजवादी (कम्युनिष्ट) नीतिलाई निरन्तरता दिएका मदुरोले शासन सम्हाले लगत्तै भेनेजुएलाको अर्थतन्त्र तिब्र गतिमा ओरालो लागेको थियो । नियन्त्रित अर्थ व्यवस्थाका कारण निजी क्षेत्रले प्रगति गर्न सकेको छैन भने सरकारी भ्रष्टाचार र कुशासनका कारण मुलुक जर्जर अवस्थामा पुगेको भन्दै विगत केही समय यता लाखौँ सर्वसाधारण सडकमा ओर्लिएका थिए । 
सडकको नेतृत्व ३५ बर्षिक गुवाइदोले गरेका छन् । बिद्रोहीले मदुरोलाई च्युत गरेको दावी गरे पनि सेनाको आडमा उनले सत्ता छोड्न मानेका छैनन् । उल्टो गुवाइदोलाई समर्थन गरेकोमा अमेरिकासँगको सम्बन्ध विच्छेदकोे घोषणा गरेका छन् र अमेरिकी कुटनीतिज्ञहरुलाई देश छोड्न ७२ घण्टे अल्टिमेटम जारी गरेका छन् । उनले अमेरिका स्थित आफ्ना दूतावास एवं कन्सुलेट समेत बन्द गर्ने घोषणा गरेका छन् । 
भेनेजुएलाले चाभेजकै शासनकालमा समेत आर्थिक रुपमा प्रगति गर्न सकेको थिएन । उनको निधन पछि भने झनै तिब्र निराशा सुरु भएको थियो । सन् २०११ मा भेनेजुएलाको पर क्यापिटा जिडिपी ११ हजा ५४० अमेरिकी डलर रहेकोमा सन् २०१८ मा तीन हजार ३०० डलरमा झरेको छ । यो बर्ष मुलुकको अर्थतन्त्र (जिडिपी) पाँच प्रतिशतले ऋणात्मक हुने पुर्वानुमान गरिएको छ । २०१४ देखि लगातार अर्थतन्त्र ऋणात्मक हुन थालेको थियो । २०१८ मा सबैभन्दा धेरै १६ प्रतिशतले भेनेजुएलाको जिडिपी खुम्चिएको थियो । 
उत्ताउलो मुद्रास्फितीले भेनेजुएलाको मुद्रा र बजार दुबैलाई डामाडोल अवस्थामा पुर्र्याएको छ । गत बर्ष अमेरिकी डलरको तुलनामा भेनेजुएलाको मुद्रा २५ लाख गुणाले घटेको थियो । अहिले एक अमेरिकी डलर खरिद गर्न दुई लाख ४८ हजार भेनेजुएलान भोलिभर खर्च गर्नु पर्छ । सन् २०१८ को मुद्रास्फिती १२ हजार ६१५ प्रतिशत थियो । 
सेनाको समर्थनमा सत्ता छोड्न नमानेका मदुरोलाई कम्युनिष्ट धारका मुलुकले समर्थन गरेका छन् । रसिया, चीन, क्युवा, टर्की, उरुग्वे, बोलिभिया, मेक्सिको, सिरिया लगायतका मुलुक मदुरोको पक्षमा छन् । रसियाले भेनेजुएला माथि कुनै भौतिक कारबाही नगर्न अमेरिकालाई चेतावनी समेत दिएको छ ।(एजेन्सीको सहयोगमा)
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार