हावर्ड युनिभर्सिटी पुग्दा

हावर्ड युनिभर्सिटी पुग्दा
आरएल श्रमजीवी ( बोस्टनबाट)  
 न्युयोर्कको सन्निसाइ स्थित मामाघरमा १३ दिन बसेर बोस्टन पुगेपछि बल्ल अमेरिका पुगेको अनुभुति भयो  । युरोपको जीवन देखेको भोगेको मलाइ न्युयोर्क अत्यन्तै भिडभाड लाग्यो । बोस्टनमा भर्खर हिउ परेर जहातही सेताम्मे थियो  हिउँको रमाइलो , शान्त सफा शहर त्यस माथि बनेपाका साथी भेट्दा मिनि बनेपा यतै हो कि जस्तो लाग्ने दिपक थापाले साउथ स्टेशन सम्म लिन आउनु भएको थियो ।  रामहरी धितालले हिमालयन रेस्टुरेन्टमा  न्यानो आथिथ्यका साथै मिठो खाना पुराना स्मृति केलाउदा औधि रमाइलो भयो ! बोस्टनको क्याम्ब्रिज स्थित संसार कै पुरानो मध्यको हावर्ड युनिभर्सिटी पुग्दा यो मनमा धेरै प्रश्नहरु खडा भए । जा‘न हार्वर्डका नाममा स्थापित यो युनिभर्सिटीमा पुग्दा २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएका राजा बिरेन्द्र शाहको सम्झना आयो । यो युनिभर्सिटी पढ्ने राजा बिरेन्द्र पहिलो नेपाली हुन् । युनिभर्सिटी क्षेत्रमा एक क्याफे बेकरीमा म्यानेजर पदमा काम गरिरहनु भएकी बनेपाली रश्मिला भोछिभोया र दीपक थापाका अनुसार अहिले ५ जना नेपाली प्रोफेसर यो युनिभर्सिटीमा पढाउने गर्छन । यहा पढ्ने नेपाली बिद्यार्थीहरु पनि धेरै छन । बोस्टन पुगेका जो कोहि पर्यटक यहा पुगेर सबैले युनिभर्सिटककको प्राङ्गणमा रहेको जा‘न हावर्ड ( जसले युनिभर्सिटी स्थापना सन् १६३६ मा गरेका थिए) को प्रतिमाको पाउ छोएर फोटो खिच्ने गर्छन । बोस्टन अमेरिकाको मात्र होइन विश्वकै प्रख्यात एजुकेशन हव हो । हावर्ड युनिभर्सिटी संगै संसारका २ प्रशिद्ध बोस्टन युनिभर्सिटी र एम आइ टी बिश्वबिद्यालय बोस्टनमा छन् ! एक सय शीर्ष विश्वविद्यालय मध्ये  नेपालको त्रिभुवन विश्वविद्यालयको  स्थान छैन भारतको त् कुनै बिश्वबिद्यालय छैन भने हाम्रो देशको कसरी पर्नु ?  १००को  सूचीमा अधिकांश विश्वविद्यालय अमेरिका र बेलायत कै छन् । गतसाल देखि त्रिभुवन बिश्वबिद्यालय एक हजारको सुची भित्र परेको  छ । हावर्ड उच्च शिक्षाको सबै भन्दा पुराना संस्था हो। अहिले यो युनिभर्सिटीमा २१०० भन्दा पढी  फ्याकल्टीमा पढाई हुन्छ । अमेरिका देश स्पेनको उपनिवेशिक कालमा स्थापना भएको यस युनिभर्सिटीमा पुरानो शैक्षिक कल्रिकुलम अनुसार अध्यापन गराइन्छ । स्थापनाको शुरुवाती दिनमा   द कलेज अफ न्यू टाऊनको नामबाट चिनिन्थ्यो । १३  मार्च १६३९ पछि यसको नाम बदलेर हार्वर्ड कलेज राखियो। पहिलोपल्ट  मैसाचुसैट्स संविधान(सन् १७८० मा हार्वर्ड कलेज शब्द हटाएर  हावर्ड  यूनिवर्सिटी शब्द जोडियो। दायाबाया ठुलाभावन सहित २६  अरब डलर सम्पत्ति छ । हरेक बर्ष २१ हजार नया बिद्यार्थी भर्ना हुन्छन  त्यस मध्य बिदेशी ७ हजारको कोटा छ । यतिका बर्षको  एजुकेशन रैंकिंगमा अमेरिकामा हावर्ड विश्वविद्यालयको स्थान शीर्ष एक मै कायम छ।      यो बिश्वबिद्यालय अमेरिका स्वतन्त्र हुनुभन्दा दुइसय बर्ष अघि स्थापना भएको आफ्नो नम्बर एक साखलाइ यसले जोगाइ रहेको छ । बोस्टनका बिस्वप्रसिद्ध युनिभर्सिटी कै प्रांगणमा  पुगेर अवलोकन गर्न पाउदा आफु नपढे पनि आफ्ना साखा सन्तानले पढ्न  पाउन भन्ने मनै देखि कामना गरियो ! 
               सम्झन्छु नाता सम्बन्धहरु ब्यबहारबाट अस्थाई र स्थाई हुन्छन  । आफैलाई अचम्म लाग्छ आफैले गरेको सम्बोधनका शब्दबाट कहाको कहाको मान्छे आफन्त झैँ लाग्छ  ।  रगतको नाता भन्दा पनि गाढा अनि प्रिय ठानिदा रहेछन यस्तै भएको थियो न्युयोर्कमा बसोबास गर्नु हुने  बनिता कतिला दिदीसंग । बनेपा पुर्खौली घर भनेर बताउने बनिता दिदीसंग ३ बर्ष अघि फेसबुककै माध्यामले कुराकानी भएको थियो  ।  उहा मलाइ भेट्न मामाघरमै  भिनाजु दिल श्रेष्ठलाइ लिएर आउनु हुँदा मैले आफ्ना दिदी भिनाजुलाई सम्झीए । हामीले भेटेकै दिन  नेपाली फिल्म “भैरे“ हेर्न गयौ  । बनिता दिदीकै माध्यमले न्युयोक रहेका नेपाली समुदायका नामी ब्यापारी ब्यबसायी वकिल पत्रकारसंग साक्षत्कार भयो  । हाम्रो  बिचार एउटै भएका हामीले नेपालको राजनीति एनआरएनएको  गतिविधिमा कुरा भए ।उहाले बर्तमान बसाइ  घर परिवार बारे चासो राख्नु भएकोमा खुसि लाग्यो ।  कहिले काहिँ सानो सानो कुराले पनि ठुलो खुसि दिदोरहेछ । 
                बनिता कतिलालाइ भेटे जस्तै गरि भेट्भयो बोस्टनमा बनेपाली दिदी रश्मिला भोछिभोयासंग त्यो भेट अति रमाइलो भयो  ! घर भित्र बस्दा त्  बिश्वराम प्रजापति दाइले बनेपा तीनदोबाटोमा बनाएको नयाँ घर त होईन जस्तो लागि रहेता पनि बाहिर हेर्दा बोस्ट्न शहरको रिभेरमा हामी थियौ  !  त्यो रमाइलो बर्णन गरिसाध्य छैन  ! रमाइलोलाइ रमाइलोले जितेको  पल थियो  ! उहाहरुसंग रहदा अमेरिकाका स्कुलमा कसरी पढाई हुँदो रहेछ भन्ने जानकारी  नजीक बाट देख्न पाइयो ! रश्मिला दिदी र बिश्वराम दाइले आफ्ना छोराछोरी पढ्ने स्कुलमा घुमाएर धेरै कुरा थाहा पाउने अवसर मिल्यो मलाइ  ! तेश्रो दिन म लालगोपाल सुवेदी दाइको घरमा बस बस्न पुगे  ! नेपाली साहित्यमा लालगोपाल सुवेदी चिनाइ रहनु पर्ने नाम होइन ! उहाँ नेपाली भाषा साहित्यमा त्रिभुवन बिश्वबिद्यालयबाट स्नातकोत्तरमा गोल्ड मेडलिष्ट हुनुहुन्छ ! एक दर्जन भन्दा बढी उहाँका साहित्यिक कृति छन ! सुबेदी त्रिबिबि पढाउदा पढाउदै डिभी परेपछि अमेरिका भासिनु भएछ  !  सुवेदी सङ्ग  बोस्टन स्थित सामुन्द्रिक तट , कुकुर पार्क साना साना गाउ र जंगल घुम्दा कतै म काजीको बन भित्र घुम्दैछु कि भन्ने बाल्पनको स्मृतिले सतायो   !  फराकिलो सडकमा एकसय बिस गतिमा कारमा कुदा शहरको त्यो  दृश्यवालोकन  मज्जा फेरी पनि पाइएला र ?  पाँचखाल देखि प्रहरी दिपेन्द्र स्कुल हालको पुलिस स्कुल उहाले  पढाउदा भएका हाम्रा भेट घर परिवार , अमेरिकी जीवन बारेका  थुप्रै कुरा लेखि साध्य छैन  !  फेस्बुकमै मैले बोस्टन शहर घुमेका फोटा पेष्ट गरेको थाह पाएर हाम्रो गाउकै बहिनी लक्ष्मी आचार्यले म्यासेन्जरमा फोन गरिन ! क्याम्ब्रिज को केण्डल स्टेशन मा ज्वाई परशुराम फुयाल र मामा केशब आचार्य मलाइ लिन आउनु भयो । .बहिनिको परिवारै  बोस्टन शहर मै बस्छन भनेर थाह नपाएको मलाइ सोच्दै नसोचेको  खुशी प्राप्तिले  मन रमायो । 
 
जीवन एक यात्रा  हो  !  कहाँबाट ,को, कुन बेला कहा पुग्छ थाह नहुने रहेछ  ! समय र संयोगले कुन घुम्तीमा पाइला मोडिने हो केहि थाह पत्तो नहुने रहेछ ! जीवनमा आइपर्ने अस्वाभाविक घटनासंग कहाँ बिज्ञ हुन सकिने रहेछ र ? एक ठाउँ भनेर हिडेको बाटो अर्कै घुम्तीको  मोडमा पुग्दा नफर्कनु न त्यहि बाटो पछ्याइरहनु  जस्तै भएको छ मलाइ यो अमेरिका  ! आफुले  आफैलाई निर्णय लिन  निक्कै कठिन हुदोरहेछ आधा उमेर बिते पछि जिन्दगीको यो लामो यात्रामा ! आज भन्दा सात बर्ष अघि  युरोपको  बिमानस्थलमा झर्दा  आहा ! कति मिठो सपना थियो  तर सपनाहरु  त् भ्रम पो  हुँदा रहेछन ! बिपनाको यथार्थले मस्तिष्कलाई आघात पार्ने रहेछ !  कति टर्रो बिपना ! खालि सत्य सत्य मात्र बिपना ! किन देख्छ मान्छे सपना  ? किन गर्छ मान्छे कल्पना  ? के मनलाई नबाँधेर हो  ? यो छाडा मन कै कारणले दुख पाउँदो रहेछ मान्छेले ! बास्तबिक धरातलमा जीउन त् मान्छेले मनलाई बाँध्न पर्ने रहेछ ! धेरै सपना देख्न पनि घातक पो हुने रहेछ !  भो पुग्यो अब सपनाहरु नआए हुन्छ ! यी हरफ लेखि रहदा अमेरिकाको शैक्षिक गन्तब्य मानिएको बोस्टनको क्याम्रिज  शहरमा छु उता युरोप हुँदा भिसा लागे देखि दिउसै अमेरिकाको सपना देख्थे नेपाल हुँदा युरोपका सपना ! राती रातीका बास्तविक सपनाहरु त्  खालि त्यहि गाउका धैरिणी डाँड़ो खोका खोल्सो डाँफे र अँधेरीखोला ,मामाघर ,अग्लेकोट बनेपा र काठमाण्डौको मात्र !  ३५ बर्ष काटेर म जस्तै विदेश  पसेकाहरुको राति देखिने सपनाहरु आफ्नै सालनाल गाडिएका ठाउ कै देख्ने  होलान हगि  ?  दिउसा देख्ने सपनाले भन्दा राति देख्ने सपनाको संबेदनसिलता  यहा बर्णन गर्न सकिदैन  !  समय हो मान्छेलाई कहा बाट कहा पुर्याउछ छ !  अमेरिकाको बोस्टन शहर घुमिरहदा मन त्यहि रमाउन सकेन  !  यत्रो बैभवशाली मुलुकको हावर्ड जस्तो प्रख्यात विश्वबिद्यालयमा पढेका राजा बिरेन्द्रले त्यत्रो बर्ष शासन गर्दा पनि किन नेपाललाइ बिकसित र सम्पन मुलुक बनाउन सकेनन भन्ने प्रश्न मनमा आइरह्यो ! पंचायती शासनको ३० बर्ष मध्ये २० बर्ष राजा बिरेन्द्रको प्रत्यक्ष शासनकालमा प्रजातन्त्र दिन त् रोकियो बिकास के कारणले भएन ?आज  दैनिक १५ सय युवा काम र मामका लागि अर्काको देशमा यसरी भौतारिनु त्  पर्दैनथ्यो नि  !     
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग